श्रीपेच र राजदण्ड फिर्ता माग्ने आँट छ कि छैन ?

श्रीपेच र राजदण्ड फिर्ता माग्ने आँट छ कि छैन ?


bichar-लालकृष्ण धमला
विगत ०६२/०६३ को आन्दोलनले माग गरेअनुसार तत्कालीन राजा ज्ञानेन्द्रबाट ०६३ वैशाख ११ गते प्रतिनिधिसभा पुनस्र्थापना गरेपश्चात् तत्कालीन संविधान ०४७ बमोजिम राजाबाट नियुक्त भई राजासमक्ष संविधान मान्न प्रतिबद्ध छु भन्दै शपथ लिएका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफैँले शपथ लिएको संविधान ०४७ को खिलापमा राजालाई निलम्बन र स्वयम् आफूद्वारा आफैंलाई राष्ट्राध्यक्ष घोषित गरी गरेको असंवैधानिक कार्यको परिणति यतिबेला मुलुकले भोगिरहेको सत्यतथ्यलाई लुकाउन्जेलसम्म मुलुक अन्योलको जञ्जालमा रुमलिइरहने निश्चित छ ।
त्यसरी तत्कालीन संविधान ०४७ बमोजिम आफैँले नियुक्त गरेर आफैंसमक्ष ०४७ को संविधान मान्न प्रतिबद्ध छु भन्ने शपथ लिएका प्रधानमन्त्रीले संविधानविपरीत आफूलाई निलम्बन गरी प्रधानमन्त्री स्वयम्ले आफैँलाई राष्ट्राध्यक्ष घोषणा गर्दासमेत संविधानविपरीत भयो भनेर एक वचन नबोल्ने अनि त्यही अवैधानिक व्यक्ति र अवैधानिक सरकारले संविधानसभाको घोषणा गर्दै गराएको ०६४ को संविधानसभाको निर्वाचन र सो अवैधानिक संविधानसभाको बहुमतको नाममा टेबुल ठटाएर गरेकोे राजसंस्थाको अन्त्य र गणतन्त्रको घोषणालाई स्वीकार गरी श्रीपेच र राजदण्ड चिरकालपर्यन्त सुरक्षित राख्न नेपाल सरकारलाई अह्राएर नारायणहिटीबाट राजा ज्ञानेन्द्र बाहिरिँदा नेपाली जनताले आश्चर्य मानेका थिए । त्यति मात्रै नभएर सम्पूर्ण विश्व नै चकित परेको थियो । सायद विदेशीहरूलाई लागेको थियो होला– राजाले त्यसै छाड्ने छैनन् । त्यतिबेला फाइदा लिन हामीलाई मौका मिल्नेछ । तर, राजा ज्ञानेन्द्रले नेपाल जनता र विदेशी मित्रहरूलाई चकित पार्दै श्रीपेच र राजदण्ड जोगाउने जिम्मा नेपाल सरकारलाई दिएर बाहिरिए ।
यसरी बिनाअवरोध सुरुक्क नारायणहिटीबाट बाहिरिएका राजा ज्ञानेन्द्र पाँच वर्ष बित्दा मुलुकको हालत डामाडोल भएकोप्रति चिन्तित भएको कुरा हालसालै तराईमा भएको भ्रमणको क्रममा अभिव्यक्त विचारले सहजै बुझ्न सकिन्छ । आजको दिनसम्म आइपुग्दा मुलुक यसरी डामाडोलको अवस्थामा पुगेकोप्रति राजालाई साँच्चिकै चिन्ता छ भने तराईको अभिव्यक्त विचारले पुग्दैन । अब तत्काल छिटोभन्दा छिटो काठमाडौंको खुलामञ्चबाट सम्बोधन गर्दै मैले नेपाल र नेपालीको हितका लागि मेरो टाउकोको भारी श्रीपेच र राजदण्ड नेपाल सरकारलाई सुरक्षित राख्न र मुलुकको उन्नति गर्न अह्राएकोमा आजको दिनसम्म आइपुग्दा परिणाम उल्टो भएर मुलुकको हालत दयनीय देख्दा मलाई पुर्खाले आर्जेको मुलुक र नेपाली जनताको मायाले मुख खोल्न बाध्य बनायो, अब आजैको दिनदेखि मैले सुरक्षित राख्न नेपाल सरकारलाई जिम्मा दिएको श्रीपेच र राजदण्ड फिर्ता माग्छु, फिर्ता लेऊ भन्ने आँट गर्नुपर्छ ।
तत्पश्चात्: राजाको नेपाली जनता र मुलुकको हालतलाई समेत सम्झना गरी नेपाली सेनाले राजा ज्ञानेन्द्रलाई स्वागत गरी ०४७ सालको संविधान क्रियाशील भएको घोषणा गरी सोझै टुँडिखेलको खुलामञ्चबाट नारायणहिटीमा भित्याउनुपर्छ, तब नेपालको राष्ट्रियता दह्रो बन्ने वातावरण बन्नेछ । बोल्नुपर्छ राजा ज्ञानेन्द्र बोल्नुपर्छ राजदण्ड र श्रीपेच फिर्ता लेऊ भन्नैपर्छ । राजाले यो पनि सम्झनुपर्छ कि जनता मेरो पक्षमा छन् म देश र जनताको पक्षमा छु । त्यस्तो भावना बोकेर अघि बढेका राजा ज्ञानेन्द्रलाई कुनै पनि शक्तिले परास्त गर्न सक्ने छैन ।