‘मेरो आँसुको श्राप लाग्नेछ’ :: रेजिना उपे्रती

‘मेरो आँसुको श्राप लाग्नेछ’ :: रेजिना उपे्रती


funtimeकरिब डेढ दशकभन्दा अघिदेखि नेपाली कलाकारिता क्षेत्र नै भनेर मरिमेट्दै अगाडि बढिन् नायिका रेजिना उपे्रती । यसबीचमा नाम पनि कमाइन् अनि बद्नाम पनि । तर, उनले यो क्षेत्र त्यागिनन् । घामपानी, दु:खसुख सहँदै अगाडि बढेकी रेजिनालाई अवसर पनि थुपै्र आएका थिए । विदेशमा बसेर डलर कमाउने अनि उतै घरजम पनि गर्न सक्थिन् उनी । तर, उनले त्यसो गरिनन् । जीवनमा जे–जस्तो मोड आए तापनि नेपाली कलाकारिता क्षेत्रमा नै जीवन समर्पण गर्छु भनेर अठोट गरेकी रेजिना केही हप्ता भने तनावमा रहिन् । आफ्नै सहकर्मी निर्मात्री कविता श्रेष्ठसँग मिलेर बनाएको चलचित्र ‘बरदान’को हिसाबकिताबका
कारण दुईबीच मनमुटाव, प्रचारबाजी हुँदै अन्तत: यो आइतबार छिनोफानो भएको छ ।
० के अब कुरा मिलेकै हो त ?
– कुरा मात्र मिल्यो । मन मिलेको छैन ।
० कुरा केमा मिलेको हो त ?
– एक वर्षभित्र मैले दश लाख दिनुपर्छ ।
० तपाईंको गुनासो ?
– मेरो नामबाट धेरैले साथ दिए, सहयोग गरे । तर, म प्रयोगमा परेँ । रेजिनाले फिल्म बनाएको भनेर मिडियादेखि सुटिङ स्पट र अन्य कलाकारहरूले पनि सहयोग गर्नुभयो तर त्यो सहयोगको मेरो अर्को पार्टनरले गलत फाइदा उठाउनुभयो ।
० भनेपछि कविता श्रेष्ठ र रेजिना उपे्रतीको सम्बन्ध अब चट् ?
– सही कुरा हो यो । म अरूहरूलाई पनि भन्छु कि नबुझ्नेसँग सङ्गत नगर्नु अनि पार्टनरसिपमा कुनै पनि काम नगर्नु । दु:ख पाइन्छ ।
० तपार्इं निर्मात्री पनि त बन्नुभयो नि ?
– उहाँ एकल निर्मात्री भएर फिल्म बनाउन सक्नुहुन्नथ्यो । पैसाले मात्र फिल्म बन्दैन । सम्बन्ध र सोच पनि ठूलो कुरा हो । मलाई प्रयोग गरेर उहाँहरू स्थापित हुनुभएको हो । मेरो आँसुले सराप्नेछ । केही भलो हुँदैन उनीहरूको ।
० किन यत्रो आक्रोश ? पहिले त एउटाका लागि अर्कोले ज्यान दिन पनि तयार हुनुहुन्थ्यो नि ?
– त्यो गलत सोच रहेछ मेरो । जिन्दगीमा ठूलो चोट र दाग लागेको छ यो घटनाले । पैसालाई सर्वोच्च ठान्नेलाई म केही भन्दिनँ ।

चलेन पर्दामा नग्नता
सिनेमाहरू चलिरहेका छैनन् । कस्तो सिनेमा बनाउने ? कस्तो सिनेमा बनाएमा दर्शकले सिनेमा हेर्लान् ? वा दर्शकको चाहना र इच्छा के हो ? यो कुरा बुझ्न नसक्दा सिनेकर्मीहरू अन्योलमा पर्ने गरेका छन् । एकातिर अवस्था यस्तो छ भने अर्कोतिर रातारात चर्चामा आइने लोभ, मोह अनि गलत सोचका कारण केही महिला पात्र पर्दामा नग्न रूपमा प्रस्तुत भइदिँदा केही बचेका दर्शक पनि भाँडिने अवस्था छ । नेपाली सिनेमाका नयाँ–नयाँ दर्शकहरू खोज्नुपर्ने समयमा भएका दर्शकले पनि केही अश्लील सिनेमाका कारण पनि नेपाली सिनेमा क्षेत्र गतिलो बन्न सकिरहेका छैन ।
कलाकारिताको जिम्मेवारी बोध गर्न नसक्ने अनि यसको अर्थ पनि नबुझ्ने जिया केसी, सविना कार्की, सोनिया शर्मा अनि सुष्मा कार्कीजस्ता स्वघोषित सुन्दरी नवप्रवेशी अनुहारको प्रवेश नै अन्तत: यो क्षेत्रका लागि गलत भइदियो । यिनीहरूलाई सिनेमामा उक्साएर आवश्यकताभन्दा बढी महत्व दिनेहरूले पनि यो क्षेत्रमा गलत सन्देश प्रवाह गरिरहेका छन् ।
आफूले र सिनेमा क्षेत्रले भविष्यमा भोग्नुपर्ने गलत नियतिप्रति बेवास्ता गर्दै पछिको परिणाम खराब नै आउने थाहा हुँदाहुँदै पनि विशेष गरेर नवप्रवेशी महिला कलाकार नाङ्गिएर पर्दामा आउनु अनि यस्ताको इच्छालाई मलजल पु-याउन उद्यत् सिनेकर्मीहरूका बारेमा यसपटक केही चर्चा गरिनेछ । प्रसङ्ग, पर्दामा नाङ्गिएर पनि नचलेका नेपाली सिनेमाको हो ।
कलाकारलाई नङ्ग्याउने अनि त्यही कुरालाई ‘हाइलाइट्स’ गरेर ठूलै काम गरेँ भन्ने भ्रम पालेर अगाडि बढ्न खोज्नेहरू अन्तत: एक दिन नराम्ररी पछारिने कुरा निश्चित छ । करिश्मा मानन्धर, निरुता सिंह, जल शाह अनि रेखा थापाले कहिले पनि आफूलाई भल्गर रूपमा प्रस्तुत गरेनन् । बरु एक दिन रेखा थापाभन्दा माथि पुग्छु भनेर खोक्ने जिया केसीको प्रवेशसँगै यो क्षेत्रमा नग्नता भित्रिएको हो । विगत नै अस्पष्ट भएका जिया, सोनिया, सुष्मा अनि सविता कार्कीहरूको भविष्य उज्यालो हुने त कुरै छैन । नायिका नाङ्गिएको अनि भल्गर संवाद र दृश्यहरू समाविष्ट चलचित्रहरू व्यावसायिक रूपमा नचलेको र त्यस्ता सिनेमाहरू एकपछि अर्को असफल भइरहेको अवस्थामा घामजस्तै छर्लङ्ग हुँदाहुँदै पनि अझै फिल्ममेकरहरूको आँखा खुलेको छैन । हालै पनि यस्तै भल्गारिटीको चरम दृश्यहरू समावेश गरिएको सुपारी, अप्रिल फूल अनि लभ फर एभर नामक चलचित्रले पनि पानी भन्न सकेनन् । अब क्रमश: दर्शकहरूले यस्ता गलत सेन्स भएका र उद्देश्य बोकेका चलचित्रलाई बहिष्कार गर्दै जाने हो भने यस्ता ‘सी गे्रड’का सिनेमाहरू, कलाकार र मेकरहरू आफैँ माइनस हुँदै जाने कुरा निश्चित छ । अभिनय क्षमता नभएकाहरू सस्तो चर्चाका लागि नाङ्गिन तयार हुने अनि यस्तालाई प्रयोग गरेर नयाँ प्रयोग, नयाँ सोच र नयाँ कथाको नाममा गलत कुरा पस्कनेहरूलाई अन्तत: दर्शकहरूले नै बहिष्कार गरेपछि यिनीहरू स्वत: माइनस हुने कुरा निश्चित छ ।
अहिलेका नवप्रवेशी अनुहारहरूलाई नेपाली सिनेमामा लामो यात्रा तय गर्नुपर्छ भन्ने सोच र हेक्का नै छैन । त्यसैले त उनीहरू ‘चट मगनी झट्ट शादी’ भन्ने उखानलाई चरितार्थ गर्दै सिनेमा क्षेत्रमा ओइरिएका छन् । ग्ल्यामर्सको आडमा नग्न रूपमा प्रस्तुत हुने अनि त्यस्तै खालका भूमिकामा उभिएर चर्चा पाउन पाए दङ्ग पर्नेहरूको जमातले क्रमश: नेपाली सिनेमा ओरालो लाग्दै छ । यति मात्र होइन, केही जिम्मेवार सिनेकर्मीहरू पनि पैसा पाउनासाथ जोसँग जसरी पनि पर्दामा देखिन थाल्नुले नेपाली सिनेमाप्रति नकारात्मक धारणा बनाउन थालेका छन् ।

कृति समिक्षा
धर्मको रहस्य बुझ्न चाहनेका लागि ‘सन्तको जीवनी : धर्मको सार’पेसाले अधिवक्ता भएर पनि पछिल्लो चरणमा धर्म–कर्म, साधु–सन्त, रीतिथिति वा संस्कृतिमाथि कलम चलाउन जाँगर चलाउँदै आएका सर्जक हुन् पवित्रबहादुर खड्का । पेसाअनुरूप कानुनी व्यवहारमा दैनन्दिन आवश्यक पर्ने र नबुझिनहुने कुराहरूको सङ्गालो ‘मालपोत डायरी’जस्तो अत्यन्त उपयोगी कृति प्रकाशन गरेर चर्चामा आएका अधिवक्ता खड्काका धार्मिक कृतिहरू ‘उपासना सारसङ्ग्रह’ र ‘तीर्थ सारसङ्ग्रह’ पनि सम्बन्धित पाठकवर्गले अत्यन्तै रुचाएका कृति हुन् । उल्लेखित सिर्जनापछि चौथो कृतिका रूपमा लेखक पवित्रको अर्को पुस्तक प्रकाशित भएको छ ।
‘सन्तको जीवनी : धर्मको सार’ नामक २ सय ३६ पृष्ठको पुस्तक–कृतिमार्फत पवित्रले साधु/सन्तहरूको जीवन, सन्तको शिक्षा, सद्गुरुको महत्व, गुरु–शिष्यका सम्बन्ध, पौराणिक शास्त्र र तिनका मतहरू, ध्यान, योग, साधनाको महत्व आदिबारे अत्यन्त सरल र सहज शैलीबाट बुझाउने सत्प्रयास गरेका छन् । यस कृतिको मूल ध्येय प्रसिद्ध केही सन्त महात्माहरूको जीवनी र तिनका कर्म–योगदानबारे प्रकाश पार्नु रहेको अनुभूति हुन्छ । लेखकले सन्त कवीर, रामकृष्ण परम्हंस, शिरडी साईबाबा, स्वामी तैलङ्गर, रमण महर्षि र शिवपुरी बाबाको जीवनका मुख्य पक्ष सरल तथा रोचक किसिमबाट प्रस्तुत गरेका छन् ।
प्रस्तुत पुस्तक प्रकाशनको उद्देश्यबारे लेखकले आफ्नो मन्तव्यमा भनेका छन्, ‘मुक्त वा मुक्तोन्मुख आत्माहरूको जीवनमा समस्त वेद, पुराण, धर्मशास्त्रको रहस्य सङ्ग्रहित निचोड र त्यसको अर्थसहित प्राप्त हुन्छ । त्रिकालदर्शी मुक्त आत्माहरूबाट मात्रै यो सम्भव छ । भगवान्को इच्छा, संसारको रहस्य, मानव धर्म, गति, कर्तव्यको पहिचान ईश्वर साक्षात्कार नभई सम्भव हुने कुरा पनि होइन । यी सबै कुराको मर्म थाहा पाउने मर्मज्ञ निर्मल आत्माहरूसँग शास्त्रको तुलना हुन सक्दैन । शास्त्रले त उहाँहरूको वर्णनसम्म गर्ने हो । त्यसैले यस्ता सन्तको जीवनी कुनै पनि शास्त्र, सम्प्रदायभन्दा माथि हुन्छ । समग्र धर्म–सम्प्रदायको सार घुसेको हुन्छ । …धर्मोपदेश दिने गुरुहरूका अर्ती र उपदेशमा रम्ने बानी परेकाहरूका लागि सच्चा सद्गुरुको मौन शिक्षाको कुरा उल्लेख गर्दा एकैचोटि सत्यको रहस्यका कुरा बुझ्न गाह्रो हुन सक्छ, तर पनि वास्तविक सत्य र धर्मको रहस्य थाहा पाउन यस्ता सद्गुरुहरूको जीवनी नपढी धरै छैन । यस्ता कुरामाथि ध्यान पु-याई जिज्ञासुलाई मुक्त आत्माहरूको खोजी गर्न र धर्मको रहस्य बुझ्न उत्प्रेरणा मिलोस् भन्ने हेतुले यो पुस्तक लेखिएको हो ।’
लेखकले विश्वास र अपेक्षा राखेबमोजिम ‘सन्तको जीवनी : धर्मको सार’ अध्ययन गर्नेले पुस्तकमा समेटिएका ६ सन्त–सद्गुरुको जीवनीबाट वास्तविक धर्मकर्मको रहस्य बुझेर त्यस ज्ञानलाई जीवन–व्यवहारमा उतार्ने चेष्टा गरून्, शुभकामना ।

पुस्तकमाथि पुस्तक : मुक्तिनाथको मौलिक प्रयोग
दुई दर्जनभन्दा बढी विभिन्न विधाका पुस्तक लेखेर नेपाली साहित्य जगत् एवम् सर्जकहरूमाझ मौलिक प्रभाव जमाएका साहित्यसेवी मुक्तिनाथ शर्मा नेउपानेको अर्को एउटा नितान्त मौलिक कृति सार्वजनिक भएको छ । कविता, गीत, संस्मरण, बालउपन्यास, समीक्षा, बालकथा, समीक्षा–समालोचनालगायत विभिन्न विधामा कलम चलाउने अथक स्रष्टा नेउपानेको नयाँ कृति हो– पुस्तकमाथि पुस्तक ।
नेउपानेको यस पछिल्लो कृति समीक्षाहरूको सङ्गालो हो भन्ने त पुस्तकको शीर्षकले नै प्रस्ट्याएको छ । विभिन्न ३० पुस्तकको समीक्षाको सङ्गालो ‘पुस्तकमाथि पुस्तक’ खास मौलिक बन्न पुग्नुको कारण भने बेग्लै छ । समीक्षक नेउपानेले पुस्तकको समीक्षाका प्रचलित धार छोडेर पद्यात्मक विधा अङ्गालेका छन् । पद्य विधामा समीक्षा लेख्नु आफैँमा कठिन र रोचक सन्दर्भ हो ।
एक उदाहरणका लागि प्राध्यापक डा. टीकाराम अधिकारीको ‘प्रणयसुधा’ नामक काव्यकृतिको समीक्षामा समीक्षक नेउपानेले खर्च गरेका वाक्यहरूको बान्की नियालौँ–
…कुत्कुते बैँसका बात वार्ता उभय प्रेमका
सम्झँदा अमृतै जस्ता बनेछन् कृति आँकुरा
कोपिला फक्रिएको र लटरम्म फलेपछि
लेखिएको छ यो काव्य बढेको अझ यो अघि
सुधा प्रणयका काव्य यो पठनीय छ
दुई सय अनि बाह्र पद्यमा छ विशिष्ट छ….।
यसरी कवितात्मक–समीक्षाहरूको सङ्गालो ‘पुस्तकमाथि पुस्तक’ प्रकाशन गरेर साहित्यानुरागीहरूलाई नौलो स्वादले सुस्वादित तुल्याउने स्रष्टा नेउपाने बधाई र साधुवादका पात्र बनेका छन् भन्दा फरक नपर्ला ।