उत्कृष्ट डोजाङका उत्कृष्ट प्रशिक्षक नवीन

उत्कृष्ट डोजाङका उत्कृष्ट प्रशिक्षक नवीन


sportतेक्वान्दोका सातौँका ब्याचका चर्चित खेलाडी नवीनकुमार श्रेष्ठले ०४९ सालमा ‘कोटेश्वर तेक्वान्दो डोजाङ’को स्थापना गरेका थिए । नोर्बु लामा, हेमन्त डाँगी, बद्रीप्रसाद घिमिरे र चन्द्र तामाङसँगै सोही साल ब्ल्याकबेल्ट लिएपछि श्रेष्ठको नयाँ सोचको उपजको रूपमा कोटेश्वर डोजाङको स्थापना भएको थियो । शुभारम्भमा वरिपरिका २० जना खेलाडीलाई बटुलेर डोजाङ सञ्चालन गरेका श्रेष्ठले अहिले उक्त डोजाङलाई तेक्वान्दोकै उत्कृष्ट डोजाङको रूपमा स्थापित गर्न सफल भएका छन् । स्थापनाको २० वर्षपछि नेपाल तेक्वान्दो सङ्घले कोटेश्वर डोजाङलाई हालसम्मकै उत्कृष्ट तेक्वान्दो डोजाङको रूपमा सम्मानित गरेपछि श्रेष्ठले निकै गौरवको अनुभूति गरेका छन् । जसलाई उनले ‘मिहिनेतको फल’को संज्ञा दिएका छन् । सङ्घले सम्मानित गरेपछि निकै प्रसन्न मुद्रामा देखिएका श्रेष्ठले ढिलै भए पनि सङ्घले उत्कृष्ट चयन गरेको बताएका छन् । जुन पहिल्यै हुनुपर्ने थियो, अहिले भएको छ, तैपनि केही गुनासो छैन भन्दै श्रेष्ठले सङ्घको यो कार्यले खेलाडी र डोजाङमा नौलो रक्त सञ्चार भएको दाबी गरेका छन् ।
त्यसबेला ब्ल्याकबेल्ट पाउनु आफैँमा गर्वको कुरा थियो । अझ मार्सल आर्टस् विधामै ३५ नम्बर वडाबाट तेक्वान्दोमा ब्ल्याकबेल्ट हासिल गरेपछि नवीन श्रेष्ठ चर्चाको पात्र बनेका थिए । मानौँ, त्यसबेला उनी त्यस क्षेत्रमा ‘सुपर हिरो’ बनेका थिए । उनलाई नचिन्ने वडामा कोही थिएन अर्थात् उनी सुपरिचित थिए । त्यस्तो माहोलमा कोटेश्वरमै तेक्वान्दोको डोजाङ खोलेपछि त उनको चर्चा यत्रतत्र सर्वत्र फैलिएको थियो । राष्ट्रिय खेलाडीको उपाधि त्यसमाथि डोजाङको प्रमुख र पनि श्रेष्ठले यी दुवै जिम्मेवारीलाई सकुशल निभाउन सफल भएका थिए । आफूले तेक्वान्दोमा सिकेको अनुभवलाई डोजाङमा सिकाउन पाउँदा निकै रमाउने श्रेष्ठले खेलाडीको रूपमा पनि उत्कृष्ट प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय पदक विजेताको प्रमुख दाबेदारको रूपमा उभ्याएका थिए । ब्ल्याकबेल्ट पाएपछि पहिलोपटक वीरगञ्जमा आयोजना भएको तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा श्रेष्ठले सहभागिता जनाएका थिए । फेदरवेटमा भिडेका श्रेष्ठले त्यहाँ स्वर्ण पदक जितेर सनसनी फैलाउँदै अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि आफू तयार रहेको सङ्केत दिएका थिए ।
आफ्नो खेलजीवन उत्कर्षमा पुगेको अवस्थामा नवीन सन् १९९४ मा जापानको हिरोसिमामा आयोजना भएको एसियाली खेलकुदका लागि छनोट भएका थिए । उनी यो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेर मुलुकलाई ऐतिहासिक पदक दिलाउने सुरमा थिए । तर विडम्बना, सोही प्रतियोगिताको प्रशिक्षणका क्रममा घुँडाको लिगामेन्ट जाँदा उनी निकै निराश बनेका थिए । त्यसपछि कोरिया प्रशिक्षणमा जानसमेत असमर्थ भएका थिए । केही समयको विश्रामपछि स्वास्थ्यमा आएको सुधारका कारण उनी हिरोसिमा एसियाड खेल्न सफल भएका थिए । त्यहाँ पहिलो राउन्डमा बाई पाए पनि दोस्रो राउन्डमा फिलिपिन्सका खेलाडीसँग पराजित हुँदा नवीनको सारा सपना चकनाचुर भएको थियो । त्यसपछि घँुडाको उपचारमा सक्रिय रहेका नवीनले लामो समय अर्थात् चार वर्षको अन्तरालपछि क्षेत्रीय प्रतियोगितामा सहभागिता जनाउँदै प्रथम स्थान हासिल गर्न सफल भएका थिए । इलाममा भएको पाँचौँ राष्ट्रिय प्रतियोगितामा नवीन उत्कृष्ट प्रदर्शन गरेर फाइनलमा पुगे पनि फाइनल उनले सोचेअनुरूप भएन । उनी त्यसबेला अहिलेका कीर्तिमानधारी तेक्वान्दो खेलाडी दीपक विष्टसँग पराजित भएका थिए । त्यसपछि आठौँ साफको तयारीमा जुटेका नवीन छनोट चरणमा कलम क्षेत्रीसँग पराजित भएपछि सक्रिय तेक्वान्दो खेलबाट सन्न्यास लिएका थिए ।
यसरी लामो समय तेक्वान्दोमा बिताएका नवीनले आफूले हासिल गर्न नसकेको उपलब्धि आफ्ना चेलाबाट परिपूर्ति गर्ने उद्देश्यका साथ डोजाङ सञ्चालनमा सक्रियताका साथ लागेका थिए । आखिर भयो पनि त्यस्तै, उक्त डोजाङका खेलाडीले राष्ट्रियस्तमा तहल्का मच्चाउँदै अन्तर्राष्ट्रियस्तरमा सफलताको झन्डा गाड्न सफल भएका थिए । पाकिस्तानमा सम्पन्न भएको नवौँ दक्षिण एसियाली खेलकुदमा कोटेश्वर डोजाङकै निर्मल श्रेष्ठ र निरन्जन श्रेष्ठले स्वर्ण पदक जितेर नवीनको अधुरो सपनालाई सर्वप्रथम साकार गरेका थिए । त्यस्तै निरञ्जन श्रेष्ठले जर्मनमा सम्पन्न भएको १६औँ वल्र्ड च्याम्पियनसिपको छनोट चरणमा दीपकलाई पराजित गरेर छनोट भएका थिए । यसरी राष्ट्रियदेखि वल्र्ड च्याम्पियन खेल्ने खेलाडी जन्माउँदै आएको नवीनको कोटेश्वर डोजाङका खेलाडीले हालै पोखरामा सम्पन्न भएको राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा एक स्वर्ण र दुई कास्य पदक जित्न सफल भएको थियो । उक्त राष्ट्रिय प्रतियोगितामा रञ्जन श्रेष्ठले स्वर्ण, सुष्मा श्रेष्ठ र भीम रानामगरले कास्य पदक जितेका थिए ।
सफलताको सिँढीमा क्रमिक रूपमा अगाडि बढ्दै गएको कोटेश्वर डोजाङलाई अझ सशक्त बनाउन नवीनले कुनै कसर बाँकी राखेका छैनन् । यसको पछिल्लो उदाहरणको रूपमा रञ्जन श्रेष्ठ बनेका छन् । यही असार ३१ गतेदेखि साउन ६ गतेसम्म मेक्सिकोमा आयोजना हुन गइरहेको विश्व तेक्वान्दो च्याम्पियनसिपमा रञ्जनको सहभागिताले क्लबको स्तरीयतालाई अझ प्रस्ट पारेको छ । वर्तमान अवस्थामा राष्ट्रिय टिमलाई प्रशिक्षण गराइरहेका चर्चित ओलम्पियनद्वय संगीना वैद्य र दीपक विष्टले रञ्जनबाट विश्व च्याम्पियनसिपमा पदकको आशा गरेका छन् । प्रशिक्षकद्वयले रञ्जन उत्कृष्ट खेलाडी भएको दाबी गर्दै पदकको आशा गर्न सकिने प्रस्ट पारेका छन् । त्यस्तै यसै डोजाङका जुनियर खेलाडी सक्षम कार्की जुनियर युथ प्रशिक्षणमा बैंकक जान लागेको श्रेष्ठले जानकारी गराएका छन् ।
सीमित साधन स्रोतका बाबजुत पनि उत्कृष्ट तेक्वान्दो खेलाडी जन्माउँदै आएको कोटेश्वर डोजाङलाई यहाँसम्म पु-याउन थुपै्र व्यक्तिको हात रहे पनि विशेष योगदान भने नवीन श्रेष्ठकै रहेको छ । स्थापनाकालदेखि नै सक्रिय रहेका नवीनले अहिले पनि यसलाई निरन्तरता दिएका छन् । आफ्नै बलबुतामा तीनपटक तेक्वान्दो प्रतियोगिताको आयोजना नवीनले गरिसकेका छन् । जसमा प्रथम कोटेश्वर आमन्त्रण उपत्यकाव्यापी, दोस्रो मेयर कप र तेस्रो कोटेश्वर आमन्त्रण राष्ट्रिय तेक्वान्दो प्रतियोगिता रहेका छन् । माग्नेमा नभई मिहिनेतमा विश्वास गर्ने नवीनले कोटेश्वर डोजाङले हालसम्मकै उत्कृष्ट डोजाङको सम्मान पाएपछि आफ्नो मिहिनेतले रङ्ग ल्याएको बताएका थिए । उत्कृष्ट डोजाङको सम्मान पाएपछि निकै प्रसन्न देखिएका नवीनले यो सम्मानले खेलाडी निकै प्रोत्साहित भएको सुनाएका थिए । केही कुरा गर्न प्रेरणा र हौसला कारकतत्व हुने प्रस्ट पार्दै यो सम्मानले आफूमा पनि नौलो, जोस, जाँगर र उमङ्ग थपिएको बताए । अझ केही गर्नुपर्छ भन्ने भावना पलाएर आएको खुलासा गरेका थिए । उनले सम्मानका लागि नेपाल तेक्वान्दो सङ्घलाई धन्यवाद दिँदै ढिलै भए पनि छोरै भएको प्रतिक्रिया दिएका थिए ।
वर्तमान अवस्थामा कोटेश्वर डोजाङ प्रमुखलगायत तेक्वान्दो सङ्घअन्तर्गत रेफ्री कमिटीको सचिव र प्रशिक्षक तथा प्राविधिक कमिटीको महासचिवको रूपमा कार्यरत नवीनले आगामी दिनमा नेपाली तेक्वान्दोलाई विश्व मानचित्रमा पु-याउने सपना देखेका छन् । जसका लागि अझै धेरै मिहिनेत गर्नुपर्ने उनको ठम्याइ रहेको छ ।

राखेपको ब्यानर सगरमाथामा
राष्ट्रिय खेलकुद परिषद्को लोगोअङ्कित ब्यानर अल्ट्राधावक सञ्जय पण्डितले विश्वको सर्वोच्च शिखर सगरमाथामा पु-याएका छन् । उनले गत मे १९ का दिन बिहान ९ बजेर ५६ मिनेट जाँदा उक्त ब्यानर सगरमाथामा पु-याएका थिए । सञ्जय दोस्रो प्रयासमा सगरमाथा चढ्न सफल भएका हुन् । उनले माउन्ट मनास्लुको पनि सफल आरोहण गरिसकेका छन् ।

एथलेटिक्स च्याम्पियनसिपमा चार खेलाडी
भारतको पुनेमा जुलाई ३ देखि ७ तारिखसम्म सञ्चालन हुने २०औँ एसियाली एथलेटिक्स च्याम्पियनसिपमा नेपालका चार खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल एथलेटिक्स सङ्घले जनाएको छ । जसमा दुई महिला र दुई पुरुष रहेका छन् । महिलातर्फ केशरी चौधरीले ट्रिपलजम्प र सय मिटर बाधा दौड (हर्डल्स) तथा दिलमाया कार्कीले दुई सय र चार सय मिटर दौडमा प्रतिस्पर्धा गर्नेछिन् । पुरुषतर्फ तिलकराम थारू र कल्याण बानियाँको सहभागिता रहनेछ । तिलकले सय र दुई सय मिटर दौड तथा कल्याणले एक हजार पाँच सय र पाँच हजार मिटर दौडमा भाग लिनेछन् । उक्त टोलीको प्रशिक्षकमा राकेश बज्राचार्य रहेका छन् । खेलाडीको बिदाइ अवसरमा सदस्यसचिव लामाले एथलेटिक्स सङ्घमा समस्या रहेको बताउँदै विवाद टुङ्ग्याउन व्यापक रूपमा छलफल भइरहेको खुलासा गरेका थिए । सो अवसरमा लामाले ‘अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडी सहभागिताका सम्बन्धमा परिषद् जहिले पनि सकारात्मक रहेको बताउँदै खेलाडीले सङ्घको विवादमा नभई आफ्नो प्रदर्शनमा ध्यान केन्द्रित गर्नुपर्छ’ भनेका थिए ।

उसुमा विद्या महर्जनको कीर्तिमान
काठमाडौंकी विद्या महर्जनले नवौँ राष्ट्रिय उसु प्रतियोगितामा कीर्तिमानी स्वर्ण जितेकी छिन् । महिलाको थाउलुतर्फ नान छ्वानको नान ताओमा स्वर्ण जित्दै विद्याले कीर्तिमान रचेकी हुन् । उक्त स्वर्णसँगै विद्या कुनै पनि खेलाडीले राष्ट्रिय प्रतियोगितामा लगातार पाँच स्वर्ण जित्ने एक्ली खेलाडी बनेकी छिन् । यसअघि एक खेलाडीले लगातार चार स्वर्णसम्म जितेको रेकर्ड छ । विद्याले स्वर्ण जितेको विधामा ललितपुरकी निमा घर्तीमगरले रजत र ललितपुरकै बन्दना कर्माचार्यले कास्य हात पारेका थिए ।

तेक्वान्दो युनियन टोली कोरिया प्रस्थान
दक्षिण कोरियाको छेजुडोमा हुने ‘विश्व तेक्वान्दो च्याम्पियनसिप’ १३औँ अन्तर्राष्ट्रिय स्पोर्टस् फर अल तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन तीन खेलाडीसहित पाँच सदस्यीय नेपाली टोली बिहीबार त्यसतर्फ प्रस्थान गरेको छ । जुन २८ देखि ३० तारिखसम्म हुने उक्त प्रतियोगितामा दुई पुरुष र एक महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । पुरुषको ५८ केजीमुनि कृष्ण श्रेष्ठ र ५६ केजीमुनि रविन अधिकारीले प्रतिस्पर्धा गर्नेछन् । तारा पराजुलीले महिलाको ४६ केजीमुनि तौलसमूहमा खेल्नेछिन् । टोली नेतामा राष्ट्रिय तेक्वान्दो युनियन– नेपालका महासचिव राजकुमार कार्की तथा प्रशिक्षकमा धर्मेन्द्र बानियाँ अग्रहरि रहेका छन् । प्रतियोगिता विश्व तेक्वान्दो महासङ्घको आयोजनामा हुन लागेको महासचिव कार्कीले जनाएका छन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले बिदाइ गरेका थिए ।