वैद्यमाथि चौतर्फी दबाब

वैद्यमाथि चौतर्फी दबाब


Mohan_Baidyaसरकारले चुनावको मिति घोषणा गरे पनि नेकपा–माओवादीलगायत ३३ दल निर्वाचन बिथोल्न प्रतिबद्ध भएपछि चुनाव पक्षधर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरू माओवादीलाई ‘लाइन’मा ल्याउन क्रियाशील भएका छन् । नेपाली काङ्गे्रस, नेकपा एमाले, माओवादी र मधेसी मोर्चा तथा चुनावी सरकारले माओवादीलाई समझदारीमा ल्याउन नसकेपछि अन्तर्राष्ट्रिय समुदाय मोहन वैद्यमाथि दबाब सिर्जना गर्न लागिपरेका छन् । छिमेकी मित्रराष्ट्र भारतले त निकै अघिदेखि नै नेपालको निर्वाचन प्रक्रियालाई हरतरहले सहयोग पु-याउने प्रतिबद्धता जनाएकै थियो, अब अर्को छिमेकी मित्रराष्ट्र चाइनाले पनि चुनावको पक्षमा वातावरण बनाउन सहयोग पु-याउने बुझिएको छ । हालै नेपाल भ्रमणमा रहेको चिनियाँ प्रतिनिधि मण्डलले मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई भेटी नेकपा माओवादीलाई चुनावी प्रक्रियामा सामेल हुन आग्रह गर्ने वचन दिएको छ । तर, चिनियाँ जोड माओवादी पार्टी एकीकरण गरी चुनावी वातावरण बनाउनु रहेको बताइन्छ । अमेरिकालगायत पश्चिमा मुलुकहरू पनि पछिल्लो समयमा निर्वाचनका पक्षमा सहयोग पु-याउने प्रतिबद्धता जनाउँदै विभिन्न ढङ्गले क्रियाशील हुन थालेका छन् । एक सूत्रबाट प्राप्त जानकारीअनुसार संयुक्त राज्य अमेरिकाको एक विशेष टोली पनि आगामी केही हप्ताभित्रै नेपाल आएर चुनावको पक्षमा वातावरण थप सुदृढ बनाउन सहयोग पु-याउने भएको छ । यसरी भारत, चीन, अमेरिका र युरोपेली समुदायसमेत ‘वैद्य’लाई मनाउन क्रियाशील भएपछि माओवादी पनि चुनावमा सहभागी हुन बाध्य हुने विश्वास गरिएको छ । कदाचित माओवादीलगायतका दलहरू चुनावमा सहभागी हुन राजी नभए कुनै पनि हालतमा निर्वाचन गराउन सरकारलाई हरतरहको सहयोग पु-याउने वचन अन्तर्राष्ट्रिय समुदायले दिलाएका छन् । यसको सीधा अर्थ माओवादीलाई ‘हरेक प्रकारले फकाउने, कुनै हालतमा नमाने ठटाउने’ नीति राज्यले लिने स्थिति बन्नेछ । माओवादी चुनावमा सहभागी हुन राजी भएमा उच्चस्तरीय राजनीतिक संयन्त्र विस्तार गरी उनीहरूलाई समेत सामेल गराउने र सरकारमा पनि माओवादीको सिफारिसमा एक वा बढीमा दुईजनासम्म मन्त्री थप गरिदिने सोच चुनावपक्षीय शक्तिहरूले बनाएका छन् । त्यसैगरी समानुपातिकतर्फ सभासद्हरूको सङ्ख्या थप गरिदिने पनि बताइएको छ । समानुपातिक सभासद्हरूको सङ्ख्या बढाइएमा अशोक राई नेतृत्वको जातीय पार्टी र उपेन्द्र यादव नेतृत्वको क्षेत्रीयतावादी समूह पनि चुनावमा सहभागी हुन आउने विश्वास गरिएको छ । हरहालतमा निर्वाचन सम्पन्न गराउन अन्तर्राष्ट्रिय समुदायको जोड भएपछि सरकार पनि चुनावी वातावरण बनाउन थप क्रियाशील हुने भएको छ । चुनाव गराएर छाडिन्छ भन्ने सन्देश दिइएमा निर्वाचनको विपक्षमा रहेका शक्तिहरू एक्लिँदै जाने स्थिति बन्ने आशा सरकारले गरेको छ । आगामी सातादेखि सरकार आक्रामक ढङ्गले चुनावको पक्षमा वातावरण बनाउन सक्रिय हुने बुझिएको छ ।
यसरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरू चुनावको पक्षमा सक्रिय हुने तयारीमा रहेको भए पनि नेकपा–माओवादीले अहिलेसम्म आफ्ना अडानहरू परित्याग गर्ने सङ्केतहरू दिइरहेको छैन । वर्तमान सरकारले गराउने चुनाव हुन नदिने कटिबद्धता उनीहरूले प्रस्तुत गरिरहेका छन् । माओवादीले वर्तमान सरकार विस्थापित गरी सर्वदलीय सरकार गठन गरिनुपर्ने, संविधानका विवादित विषयमा राजनीतिक दलबीच पहिले नै ठोस सहमति बन्नुपर्ने, खिलराज रेग्मी नेतृत्वमा सरकार निर्माण गर्ने क्रममा भएका सहमति खारेज हुनुपर्नेलगायतका सर्त अहिले पनि यथावत् राखेका छन् । माओवादी अध्यक्ष मोहन वैद्यले प्रचण्डसँग मंगलबार (असार ११ गते) भएको वार्तामा पनि यिनै सर्तहरू प्रस्तुत गर्नुभएको थियो । तर, उनीहरूले उच्चस्तरीय राजनीतिक संयन्त्रमा आफ्नो सहभागिता रहनुपर्ने र मन्त्रिमण्डलमा आफ्नो सिफारिसमा पनि सदस्य थप गर्नुपर्नेजस्ता माग राखेकै छैनन् । आफूले माग्दै नमागेको माग पूरा गर्ने तर प्रस्तुत गरिएका मागप्रति उपेक्षा गर्ने कार्य गरेर खिल्ली उडाएको माओवादीले ठानेका छन् । मतभिन्नता र विवाद यसरी यथावत् रहेको परिपे्रक्ष्यमा अन्तर्राष्ट्रिय शक्तिहरूको तीव्र दबाब भए पनि माओवादी कसरी सहमतिमा आउला– जिज्ञाशा र चिन्ताको विषय बनेको छ । अन्तर्राष्ट्रिय शक्तिहरूको क्रियाशीलताले माओवादीलाई सहमतिमा आउन बल नपु-याए पनि सरकार र चुनावमा जान तयार भएका दलहरूको मनोबल बढाउन भने सहयोग पु-याउने ठानिएको छ । सरकार र चुनावपक्षीय दलहरूको मनोबल बढेमा जसरी भए पनि चुनाव सम्पन्न हुने स्थिति त बन्नसक्ला, तर माओवादी थप आक्रोशित बन्ने र मुलुकमा नयाँ प्रकारले द्वन्द्व पैदा गर्ने सम्भावना पनि त्यत्तिकै देखिएको छ ।

चुनाव हुन्छ कि हुँदैन ? :
चुनावी सरकारको गठन भई निर्वाचन मितिसमेत घोषणा भइसकेको भए पनि घोषित मितिमा चुनाव हुनसक्छ भन्ने विश्वास अझै उत्पन्न भएको छैन । जिम्मेवार राजनीतिक दलका नेता–कार्यकर्तासमेत चुनाव हुनेमा विश्वस्त नभएकोले सर्वसाधारण जनता पनि चुनाव हुन्छ भन्नेमा विश्वस्त हुन सकेका छैनन् । कतिपय मानिस चुनाव हुने सम्भावना पचास प्रतिशत मात्र रहेको ठान्छन् । वास्तवमा घोषित मितिमा चुनाव हुनसक्छ या सक्दैन भन्नेहरूको पनि बेग्लै कारण र तर्क रहेको पाइन्छ । यहाँ दुवै पक्षका तर्क र कारण प्रस्तुत गरिएको छ ।
निर्वाचन हुने कारणहरू निर्वाचन नहुने कारणहरू
१. निर्वाचन प्रयोजनकै लागि चुनावी सरकार गठन भइसकेको । १. नेकपा–माओवादीसहितका दलहरू चुनावमा सहभागी नभई वर्तमान सरकारद्वारा गराइने चुनावलाई बिथोल्ने तयारीमा रहेको ।
२. निर्वाचनसम्बन्धी ऐन–कानुनहरू परिमार्जन गर्ने कार्य विधिवत् सम्पन्न भएको । २. एनेकपा माओवादी आफूले निर्वाचन जित्ने अवस्था कायम रहेमा मात्र घोषित मितिमा चुनाव गराउने मानसिकतामा रहेको ।
३. निर्वाचनको मिति घोषणा भएको । ३. विभिन्न अदृश्य शक्ति चुनाव नगराउने उद्देश्यका साथ विभिन्न ढङ्गले भित्रभित्रै सक्रिय रहेको ।
४. राजनीतिक दलका नेता–कार्यकर्ताले चुनावमुखी कार्यक्रम सञ्चालन गरी जिल्ला–जिल्लामा गतिविधि सुरु गरेको । ४ निर्वाचनको क्रममा जातीय एवम् क्षेत्रीय भावना भड्की हिंसात्मक स्थिति उत्पन्न हुनसक्ने सम्भावना रहेको ।
५. नेपालका मित्रराष्ट्रहरू चुनावको लागि हरतरहले सहयोग गर्न तयार भएका र उनीहरूले चुनावको लागि एकप्रकारले दबाब दिइरहेका ।
६. चुनाव नभएका मुलुकका भयावह स्थिति उत्पन्न हुनसक्ने त्रास भएकोले निर्वाचनमा जान बाध्यात्मक स्थिति बन्दै गएको ।