गुफामा थुनिएका १३ को उद्धारकार्य शुरु

गुफामा थुनिएका १३ को उद्धारकार्य शुरु


थाइल्यान्डको एउटा गुफामा थुनिएका १२ जना बालक र एकजना उनीहरूका प्रशिक्षकसहित १३ जनाको उद्धारकार्य आइतबार पनि बिहानैबाट शुरु भएको छ ।

दक्षिणी थाइल्यान्डमा रहेको एउटा गुफामा करिब दुई हप्तादेखि फसेका उनीहरूको उद्धारकार्य स्थानीय समयअनुसार आइतबार बिहान १० बजे शुरु भएको सरकारी अधिकारीहरूले बताएका छन् ।

उद्धारका लागि १३ जना अन्तर्राष्ट्रिय गोताखोर, उद्धारको क्षेत्रमा कार्यरत विज्ञहरूलाई परिचालन गरिएको नारोङसाक ओसोटानाकोमका गभर्नर चिआङ रायले जानकारी दिए ।

उद्धार टोलीमा पाँचजना सेनाको विशेष टोली पनि सहभागी गराइएको उनले बताएको सिन्ह्वा समाचार समितिले उल्लेख गरेको छ ।

फसेका १२ बालक र उनीहरूका एकजना फुटबल प्रशिक्षकलाई एक–एक गरेर बाहिर निकालिने भएको छ । उनीहरूमध्ये पहिलोलाई आइतबार बिहान काम सुरु गरेको झन्डै एघार घन्टामा गुफाबाट बाहिर निकालिसकिने गभर्नर रायको अनुमान छ ।

उनीहरूलाई बाहिर निकाल्न करिब १०० स्थानमा प्वाल पारेर गुफाभित्रको ग्यास बाहिर फाल्ने र अक्सिजन भित्र पठाउने ‘चिम्नी’ बनाइएको छ ।

गुफाबाहिरबाट पारिएका ती प्वाल करिब ३०० मिटर लामो रहेको उद्धारकार्यमा खटिएकाहरूले जानकारी दिएका छन् ।

ती प्वालबाट अक्सिजनभित्र पठाउन सकिने र त्यसैबाट गुफाभित्रको ग्यास पनि बाहिर आउने भएकोले उद्धारकर्ता सजिलै गुफाभित्र जान सक्ने तथा र ती बालकको उद्धार गर्न सजिलो हुने उनीहरूले बताएका छन् ।

यो विधि अपनाउँदा भित्र छिर्न पनि सजिलो पर्ने र गोताखोरले सामान्य सावधानीका साथ भित्र गएर उनीहरूको उद्धार गर्न सक्ने अनुमान गरिएको छ ।

ठूलो संख्याका उद्धारकर्मी तथा सेनाले दुई दिन लगाएर विशेष प्रविधिको प्रयोग गरी यी चिम्नी निर्माण गरिएको यहाँको सेनाले जानकारी दिएको छ ।

उद्धारकर्ताहरूले सबैभन्दा पहिले एक बालकलाई आइतबारै बेलुका नौ बजेतिर बाहिर निकाल्नेछन् र क्रमशः अरूलाई पनि बाहिर निकालिनेछ । अधिकारीहरूले १३ जनालाई नै बाहिर निकाल्न दुईदेखि तीन दिनसम्म लाग्ने बताएका छन् ।

‘उनीहरू उद्धारका क्रममा आइपर्न सक्ने चुनौतीहरू सामना गर्न तयार भएका छन्, चिकित्सा टोलीले पनि त्यसका लागि आवश्यक तयारी गरेको छ,’ गभर्नरले भने ।

गुफामा फसेका बालकहरू ११ देखि १६ वर्षसम्मका रहेका छन् भने उनीहरूका प्रशिक्षक २५ वर्षका छन् ।

उनीहरू गएको जुन २३ देखि गुफामा फसेका हुन् । हराएको दिनदेखि खोजी गरिरहँदा नवौँ दिनमा मात्रै उनीहरू भेटिएका थिए । उनीहरूको खोजी तथा उद्धारका लागि एक हजारजना उद्धारकर्ता परिचालन गरिएको छ ।