नौ हजार प्रहरीसहित टर्की सरकारद्वारा १८ हजारभन्दा बढी कर्मचारी बर्खास्त

नौ हजार प्रहरीसहित टर्की सरकारद्वारा १८ हजारभन्दा बढी कर्मचारी बर्खास्त


टर्कीको सरकारले यहाँका १८ हजार ६३२ कर्मचारीलाई बर्खास्त गरेको छ ।

सरकारले आइतबार एक निर्देशिका जारी गर्दै ती कर्मचारीलाई बर्खास्त गरिएको जनाएको विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।

यसरी बर्खास्तमा पर्नेमा सरकारी गैरसैनिक कर्मचारी, सैनिक अधिकारी, प्रहरी र विश्वविद्यालयका प्राध्यापकसमेत रहेका बताइएको छ ।

सरकारले आइतबार आकस्मिक रूपमा एक निर्देशिका जारी गरेर बर्खास्त गरिएकामा नौ हजारजना प्रहरी मात्र रहेका बताइएको छ ।

बर्खास्त प्रहरीमा अधिकृतस्तरका कर्मचारी धेरै रहेका छन् । आतंककारी समूह या संगठनहरूसँग ती कर्मचारीको सम्बन्ध रहेको पाइएको भन्दै ती कर्मचारीलाई बर्खास्त गरिएको हो ।

बर्खास्त भएकामा ३ हजार ७७ जना सैनिक अधिकारी पनि रहेका छन् । ती सैनिकमा १ हजार ९४९ जना हवाई सैनिक र १ हजार १२६ जना जलसैनिक रहेका सरकारका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

यसरी बर्खास्त गरिएकामा १ हजार ५२ जना निजामति कर्मचारी अधिकृत छन् । विश्वविद्यालय र विद्यालयका २ सयजना प्राध्यापक र शिक्षक पनि सो सरकारी आदेशअनुसार बर्खास्त हुनेमा परेका बताइएको छ ।

सन् २०१६ को जुलाईमा टर्कीका राष्ट्रपति रिसेप तैयब एर्दाेगानका विरुद्धमा यहाँ सैनिक विद्रोहको असफल प्रयास भएको थियो ।

त्यसपछि भने राष्ट्रपति एर्दाेगानले आफ्ना विरोधी मानिएका सेना, प्रहरी, गैरसैनिक कर्मचारी तथा विश्वविद्यालयका प्राध्यापकहरूलाई जेल हाल्ने, सेवाबाट बर्खास्त गर्ने तथा अरू विविध खालको कारबाही गरेका थिए ।

त्यस समयदेखि आजसम्म अर्थात् २ वर्षसम्म यहाँ संकटकालीन अवस्थाको घोषणा गरिएको छ । यो अवस्थाको कम्तीमा पनि सातपटकसम्म अनुमोदन गरिएको छ ।

अहिले पनि यहाँ संकटकालीन अवस्था नै कायम छ । यहाँ जारी रहेको संकटकालीन अवस्थाको यही जुलाई १९ मा अन्त्य हुने तालिका छ ।

तर, त्यसअगावै यहाँको संकटकालीन अवस्थाको फाइला उठाउँदै सरकारले यति ठूलो संख्यामा कर्मचारीलाई कारबाही र बर्खास्त गरेको समाचार आएको छ ।

राष्ट्रपति एर्दाेगानले आस्नाविरुद्ध गरिएको यो असफल प्रयासको फाइदा उठाउँदै देशभित्र आफ्ना सबै विरोधीहरूलाई सक्ने अभियान नै चलाएको भन्दै उनको कदमको व्यापक मात्रामा विरोध भएको छ ।