जमानतमा छुटे मलेसियाका पूर्वप्रधानमन्त्री

जमानतमा छुटे मलेसियाका पूर्वप्रधानमन्त्री


भ्रष्टाचारको आरोपमा मंगलबार पक्राउ परेका मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक बुधबार जमानतमा रिहा भएका छन् ।

उनलाई मंगलबार यहाँको भ्रष्टाचार नियन्त्रण आयोगले भ्रष्टाचारसम्बन्धी आरोपको अनुसन्धान गर्ने क्रममा सोधपुछका लागि पक्राउ गरेको थियो ।

निवर्तमान प्रधानमन्त्री रजाकलाई सत्तामा रहँदा राज्यकोषको दुरुपयोग गरेको आरोप लागेको छ । ६४ वर्षीय रजाकविरुद्ध बुधबार सोही अभियोग दर्ता गरिने भएको छ ।

भ्रष्टाचार गरेको आरोपकै कारण गत मे महिनामा भएको संसदीय निर्वाचनमा उनको सत्तारुढ गठबन्धन पराजित भएको थियो । उनले गरेको भनिएको सो भ्रष्टाचारको विषयलाई विपक्षी दलले चुनावी एजेण्डा बनाएका थिए ।

सोही कारण उनको दलले निर्वाचन हारेको थियो भने ९२ वर्षीय महाथिर मोहम्मदको दलले स्पष्ट बहुमत हासिल गरेको थियो ।

निवर्तमान प्रधानमन्त्री रजाकका राजनीतिक गुरु र अभिभावकसमेत रहेका मोहम्मद नेतृत्वको पार्टीले नै रजाकको दललाई पराजित गरिदिएको हो ।

निर्वाचनमा पराजित भएपछि पूर्वप्रधानमन्त्री रज्जाकलाई देशबाहिर जान पनि प्रतिबन्ध लगाइएको थियो ।

रजाकलाई पक्राउ गर्नुभन्दा केही दिनमात्र पहिले उनकी श्रीमती रोस्माह मन्सुर, छोरो रिज अजिज र उहाँका पूर्वसहयोगी जाहिद हमिदीलाई पनि अनुसन्धानको दायरामा ल्याइएको छ ।