हेलिकोप्टर चढेर जेलबाट डाका फरार !

हेलिकोप्टर चढेर जेलबाट डाका फरार !


एक समय फ्रान्सको उच्च खोजीको सूचीमा रहेका तर पछिल्लो केही समययता जेल सजाय भोगिरहेका एक कुख्यात चोर हेलिकोप्टरको सहयोगमा जेलबाट आइतबार भागेको फ्रान्सेली अधिकारीले बताएका छन् ।

फ्रान्सको रिआउ शहरबाट केही मिनेट टाढा रहेको जेलमा रहेका ४६ वर्षीय रेडोइन फाइडलाई हेलिकोप्टरमा आएका केही सशस्त्र व्यक्तिले जेलबाट भगाएको यस घटनासँग निकट स्रोतले जनाएको छ ।

सन् २०१० मा यहाँ भएको सशस्त्र डकैतीको योजनाकार ठहर गर्दै यहाँको पुनरावेदन अदालतले २५ वर्षको जेल सजाय सुनाएपछि फाइडलाई जेलबाट भगाइएको हो । आठ वर्ष पहिले भएको उक्त घटनामा एक महिला प्रहरीसमेतको ज्यान गएको थियो ।

फाइडसहित तीनजना सहयोगी जेलबाट भागेको स्रोतले जनाएको छ ।

सुरक्षाकर्मीले उक्त हेलिकोप्टर रिआउ शहरको उत्तरपूर्वी क्षेत्रमा भेट्टाएका थिए । प्रहरीले सम्पूर्ण पेरिस क्षेत्रमा सुरक्षा अवस्थालाई कडा पार्दै फरार अभियुक्तलाई खोजिरहेको छ ।

फाइड जेलबाट भागेको यो दोस्रो घटना हो । उनी सन् २०१३ मा पनि उत्तरी फ्रान्सको एक जेलबाट भागेका थिए ।

उनले सन् २०११ को मध्यपछि जेलजीवन बिताउँदै आएका थिए ।

पेस्तोलधारी कुख्यात डाका फाइडले जेलबाट भाग्ने क्रममा तीनजना सुरक्षागार्डलाई बन्धक बनाए पनि उनीहरूलाई लगत्तै छोडेको बताइएको छ ।