इन्डोनेसियाको बालीमा शक्तिशाली ज्वालामुखी विस्फोट

इन्डोनेसियाको बालीमा शक्तिशाली ज्वालामुखी विस्फोट


इन्डोनेसियाको पर्यटकीयस्थल बालीमा शक्तिशाली ज्वालामुखी विस्फोट भएपछि हजारौँ पर्यटक अलपत्र परेका छन् ।

बालीमा वर्षेनी लाखौँ पर्यटक पुग्ने गर्छन् । यहाँ वर्षेनी शक्तिशाली ज्वालामुखी पनि विस्फोट हुने गरेका समाचार आउने गर्दछन् ।

शुक्रबार पनि यस्तै ज्वालामुखी विस्फोट भएको छ । यसका कारण आकाशमा निकै बाक्लो तुवाँलो देखिएको छ । उक्त तुवाँलोका कारण बालीको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल पनि बन्द भएको छ ।

विमानस्थल बन्द हुँदा हजारौँको संख्यामा रहेका पर्यटक अलपत्र परेको बताइएको छ । ज्वालामुखी विस्फोटको समाचारका कारण स्थानीयसँगै उनीहरू पनि त्रसित बनेका छन् ।

शुक्रबार बिहान मात्र त्यहाँका विमानस्थलका अधिकारीहरूले बाक्लो तुवाँलोले आकाश नदेखिएपछि शुक्रबार र शनिबारका पनि करिब ४५० जति उडान बन्द गरिएको जनाएका थिए ।

ती उडान रद्द भएका कारण शुक्रबार मात्र ७५ हजार पर्यटक अलपत्र परेका छन् । अलपत्र पर्यटकका कारण विमानस्थलमा ठूलो भिड लागेको बताइएको छ ।

ज्वालामुखी विस्फोटको क्रम जारी छ । त्यहाँबाट स्थानीय नागरिकलाई पनि अन्यत्र सार्ने क्रम जारी छ ।