मुस्लिम देशविरुद्ध लगाइएको यात्रा प्रतिबन्ध सर्वोच्चद्वारा सदर

मुस्लिम देशविरुद्ध लगाइएको यात्रा प्रतिबन्ध सर्वोच्चद्वारा सदर


सिसृक्षा ढकाल, लसएन्जलस । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिम देशहरुविरुद्ध लगाएको यात्रा प्रतिबन्ध संविधानअनुरुप राष्ट्रिय सुरक्षाको हितमा भएको भन्दै अमेरिकी सर्वोच्च अदालतले सदर गरेको छ । सर्वोच्च अदालतको यो फैसलालाई राष्ट्रपति डोनाल्ड ट्रम्पको राजनीतिक सफलताको रुपमा परिभाषित गरिएको छ ।

सर्वोच्च अदालतले सबै तल्लो अदालतले गरेको फैसलाविरुद्ध यात्रा प्रतिबन्ध संविधानअनुरुप राष्ट्रिय सुरक्षाको हितमा भएको भन्दै राष्ट्रपति ट्रम्पको कार्यकारी आदेशलाई सदर गरेको हो । यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिम देशहरु विरुद्ध लगाएको यात्रा प्रतिबन्ध गैर कानुनी कदम भएको भन्दै आलोचना हुँदै आएको थियो ।

अमेरिकी सर्वोच्च अदालतले डोनाल्ड ट्रम्पले मुस्लिम देशहरुविरुद्ध लगाएको यात्रा प्रतिबन्ध बारेको फैसलामा भनेको छ, ‘यात्रा प्रतिबन्ध अमेरिकी संविधानअनुरुप आप्रवशन नीति र निश्चित धर्मप्रति लक्षित भएको पुष्टि हुँदैन ।’

फैसलालगत्तै चिफ जस्टिस जान रोबर्ट्सले यात्रा प्रतिबन्ध अमेरिकी राष्ट्यिता सुरक्षाको हितमा सहि कदम भएको प्रतिक्रिया दिएका छन् । अमेरिकी सर्वोच्च अदालतको फैसलासँगै राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिम देशहरुविरुद्ध लगाएको यात्रा प्रतिबन्ध थप देशहरुमा समेत लागु हुने र राष्ट्रपतिको स्वविवेकीय अधिकारलाई थप पुष्टि गरेको छ ।

स्मरण रहोस्, राष्ट्रपति डोनाल्ड ट्रंपले सन २०१७ को सेप्टेम्बर महिनामा मुस्लिम देशहरुका नागरिक विरुद्ध यात्रा प्रतिबन्ध लगाएका थिए । राष्ट्रपति डोनाल्ड ट्रम्पले यात्रा प्रतिबन्ध लगाएका देशहरुमा इरान, लिबिया, सीरिया, सोमालिया र यमन थिए ।