राष्ट्रपति गुहारे नेताहरूले

राष्ट्रपति गुहारे नेताहरूले


yadavएक समय राष्ट्रपतिलाई गाली गरेर नथाक्ने दलका नेताहरू तोकिएको समयमा निर्वाचन नगराउने सङ्केत देखिएको भन्दै राष्ट्रपति गुहार्न पुगेका छन् । उनीहरू चुनावी माहौल बनाइदिनुप-यो भन्दै राष्ट्रपति डा. रामवरण यादवलाई आग्रह गर्न पुगेका हुन् । दलका नेताहरूबीच बढ्दो असहमति तथा आन्तरिक विवादले चुनावी वातावरण बन्न नसकेपछि राष्ट्रपति यादवले दलीय सहमति जुटाउन अनौपचारिक रूपबाट आफ्नो अग्रसरता अघि बढाएका हुन् । राष्ट्रपति कार्यालयका अनुसार निर्वाचन ऐनका प्रस्तावित मस्यौदामा प्रमुख दलका नेताहरूबीच नै कुरा नमिलेपछि विवाद समाधानको उपाय खोजी गरी चुनावी माहौल सिर्जना गर्ने प्रयास गरिएको छ । यसका लागि राष्ट्रपति यादवले एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड, काङ्ग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल, मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवलगायत विभिन्न दलका शीर्È नेताहरूसँग छलफल गरेका छन् । राष्ट्रपति यादवका प्रेस सल्लाहकार राजेन्द्र दाहालका अनुसार निर्वाचनका विषयमा देखिएको विवादित विषयबारे छलफल गर्न विभिन्न दलका नेताहरूले राष्ट्रपतिसँग भेट गर्न आएको र निर्वाचनका विषयमा छलफल हुने गरेको छ ।
राष्ट्रपतिसँग भेट गर्न आएका नेताहरूले चुनावी वातावरण बनाउन सबैले आ–आफ्नो स्थानबाट पहल गर्नुपर्ने र राष्ट्रपतिबाट पनि सोहीअनुसारको पहलको अपेक्ष्ाँ गरेको बताउने गरेको दाहालको भनाइ थियो । त्यसैले राष्ट्रपतिबाट चुनावको अनुकूल वातावरण बनाउन र दलका नेताहरूलाई सहमतिमा आउन आग्रह गर्नुभएको हो । ‘उहाँले निर्वाचन ऐनमा देखिएका समस्या समाधान गरी तत्काल निर्वाचनको वातावरण बनाउन आफूलाई भेट गर्न आएका नेताहरूलाई सुझाव दिने गर्नुभएको छ,’ प्रेस सल्लाहकार दाहालले भने, ‘तर, राम्रो नतिजा अँइसकेको छैन, नतिजा निकाल्ने क्रम जारी छ ।’
निर्वाचन ऐनबारे प्रमुख दलका नेताबीच नै सहमति हुन नसकेपछि सरकारले निर्वाचन आयोगले चैत १९ मा सरकारलाई पठाएको संविधानसभा सदस्यसम्बन्धी अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पठाउन सकेको छैन । निर्वाचन ऐन स्वीकृत गर्न नसक्दा चुनाव गराउने अभिभारा बोकेको सरकारले निर्वाचनको मिति तय गर्न सकेको छैन । तर, दलका नेताहरूले सरकारले चुनावको मिति घोषणा नगरी तोकिएको समयमा निर्वाचन नगराउने खेलमा लागेको भन्दै राजीनामा माग्नसमेत थालेका छन् । ‘दलका नेताहरूबाट सहमतिको सट्टा झन्झन् विमतिका कुरा मात्र हुन थालेपछि निर्वाचनका लागि राष्ट्रपतिले अभिभावकत्वको भूमिका निर्वाह गर्दै दलका नेताहरूसँग छलफल चलाउनुभएको हो,’ राष्ट्रपति यादवका एक सहयोगीले जानकारी दिए ।
ती सहयोगीका अनुसार राष्ट्रपति यादवले एमाओवादी उपाध्यक्षद्वय डा. बाबुराम भट्टराई, नारायण्ँकाजी श्रेष्ठ, काङ्ग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्ण्ँ सिटौला, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र केपी ओली, मधेसकेन्द्रित दलका नेताहरू विजयकुमार गच्छदार, महन्थ ठाकुर, राजेन्द्र महतोलगायतसँग पनि सोही विषयमा छलफल गरिसकेका छन् । स्रोतका अनुसार उनले केही दिनभित्र प्रमुख दलका नेताहरूसँग सामूहिक छलफल गर्ने तयारीसमेत गरेका छन् ।

घेराबन्दी तोड्दै सभापति कोइराला, बसोबास भने यथावत् रहने
नेपाली काङ्गे्रसका सभापति सुशील कोइरालाले घेराबन्दै तोड्दै आफ्नोवरिपरि जमेको फोहोर सफा गर्नुहुने भएको छ । पार्टीकै एकथरी नेताहरू सभापति कोइरालालाई असफल प्रमाणित गर्न अहोरात्र लागिपरेका बेला आफ्नैवरिपरिका समेत आफूलाई विवादमा फसाउन अग्रसर रहेको पाइएपछि कोइराला झस्किनुभएको हो । कोइरालाको वरिपरि झुम्मिएर उहाँलाई नै विवादमा तान्न ०४६ सालको जनआन्दोलनमा प्रतिकार समितिमा बसेर ‘राजनीतिको अनुभव’ सङ्गालिसकेका दिलेन्द्रप्रसाद बडू, राजनीतिक जीवनमा पटकपटक मौका पाएर पनि कहिल्यै चुनाव जित्न नसकेका दिलबहादुर घर्ती र गोपाल पहाडी तथा कुनै समय छत्तीसे समूहमा सक्रिय भएका आनन्द ढुङ्गानाको भूमिका प्रमुख रहेको सभापति स्वयम्ले महसुस गर्नुभएको बताइन्छ । ‘ग्याङ अफ फोर’का रूपमा समेत चिनिने उनीहरूको चङ्गुलबाट बाहिर निस्कने मानसिक तयारीमा कोइराला पुगिसक्नुभएको छ । तर, ‘ग्याङ अफ फोर’ बाट मुक्तिको अन्तिम प्रयास कहिले र कसरी हुनेछ सो बुझ्न सकिएको छैन । बडूलाई पार्टी प्रवक्ताबाट हटाएर त्यस्तो प्रक्रिया सुरु गर्नुपर्ने सुझाव सभापति कोइरालाका शुभचिन्तकहरूले दिइरहेका छन् । बडू, घर्ती, पहाडी र ढुङ्गानालाई उनीहरूको आफ्नो ल्याकतअनुसारको काम भने दिइने बुझिएको छ । पछिल्लोपटक ४२ विभागको गठनका क्रममा ‘ग्याङ अफ फोर’ले जथाभावी गरेपछि सभापति सुशील कोइराला विवादमा तानिनुभएको थियो । विभाग गठनमा भएको त्रुटि सच्याउन सभापति कोइराला तयार हुनुभएकोले मात्र त्यस विषयलाई लिएर उत्पन्न आक्रोश मत्थर भएको थियो । अब कोइरालाले विभाग गठनमा भएको त्रुटि सच्याउने प्रक्रिया कहिलेदेखि सुरु गर्नुहुने हो सोको औपचारिक जानकारी प्राप्त हुन सकेको छैन । तर, आगामी एक साताभित्रै विभाग गठनको पुनर्मूल्याङ्कन गरी सुधारको प्रक्रिया सुरु गरिने बुझिएको छ । विभाग गठनमा भएको त्रुटि सच्याउन सभापति कोइरालाका सहयोगी लक्ष्मण ढकालले विशेष भूमिका निर्वाह गरेको जानकारी पाएपछि ‘ग्याङ अफ फोर’ले ढकाललाई पन्छाउने योजना बनाएको थियो । तर, सोह्र वर्षदखि सहयोगी रहँदै आएका ढकाललाई पन्छाउन सभापति राजी हुनुभएन । त्यसैबीच नेता डा. शशांक कोइरालाको निवासस्थानमा सभापति कोइराला बस्नुहुने चर्चा पनि चल्यो र उक्त खबरले पत्रपत्रिकामा महत्वपूर्ण स्थान पनि पायो । तर, अन्तत: कोइराला महाराजगञ्जको हालकै आवासमा यथावत् रहने निचोडमा पुग्नुभएको छ । कोइराला डा. शशांकको घरमा सर्ने खबरले नेतृ सुजाता कोइराला क्रूद्ध भएको बताइन्छ । नेता डा. शेखर कोइराला र नेतृ सुजाताको विमति रहेका कारण उत्पन्न तनावका बीच सभापति कोइरालाले यथास्थानमा बसोबास गर्ने निर्णय लिनुभएको बताइएको छ । उहाँको सहयोगीका रूपमा लक्ष्मण ढकाल पनि यथावत् रहनुहुने बुझिएको छ ।
यसरी सभापति सुशील कोइरालाले साँघुरो घेराबन्दीबाट मुक्त हुने जुन सोच बताउनुभएको छ, त्यसले काङ्गे्रसमा सकारात्मक सन्देश प्रवाहित हुने विश्वास गरिएको छ । तर, कतिपयले भने कोइराला घेराबन्दी तोड्न अझै पनि सफल नहुनुहुने हो कि भन्ने आशङ्का व्यक्त गरेका छन् ।

प्रचण्डकै कमाण्डमा ‘ब्रिगेड’ बनाइँदै
एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले उत्पादन ब्रिगेड बनाउने विषयलाई लिएर आन्तरिक गृहकार्य अघि बढाएका छन् । प्रचण्डले उत्पादन ब्रिगेड बनाउने विषयमा पार्टीमा सम्मिलित उद्यमी–व्यवयासीसँग शृङ्खलाबद्ध छलफल गरेपछि उत्पादन ब्रिगेडको अवधारणा, स्वरूप, नीति तथा कार्यक्रम तर्जुमा गर्न ६ सदस्यीय कार्यसमिति बनाएका छन् । अध्यक्ष प्रचण्डको संयोजकत्वमा गठित कार्यसमितिमा गिरिराजमणि शर्मा, शक्तिबहादुर बस्नेत, डिल्लीराज खनाल, धर्मदत्त देवकोटा र कृष्ण आचार्य सदस्य रहेका छन् ।
उत्पादन ब्रिगेडको अवधारणा तय नभए पनि ब्रिगेडको नेतृत्व भने अध्यक्ष प्रचण्डले नै गर्नेछन् । उनकै अग्रसरतामा ब्रिगेड बन्न लागेकाले यसको नेतृत्व पनि उनैले लिने पक्का भएको होे । यसको अगुवाइ पार्टी नेतृत्वले गर्छ तर यसमा सबै विचार राख्ने उद्योगी तथा युवाहरूको सहभागिता रहने कार्यसमितिका एक सदस्यले बताए । यद्यपि ब्रिगेडमा पार्टीनिकट उद्योगी, व्यापारी तथा युद्धकालमा होलटाइमर कार्यकर्ता भएकाहरू सहभागी रहनेछन् । पार्टीका केही नेताबाहेक अन्य कार्यकर्ता आर्थिक रूपमा कमजोर हुँदै गएकाले उनीहरूलाई उत्पादनमुखी काममा लगाउने र त्यसका लागि राज्य तहबाटै बजेट निकास गराउनका लागि पार्टीले उत्पादन ब्रिगेड बनाउन लागेको हो ।
पार्टी शान्तिप्रक्रियामा आएसँगै पार्टीका होलटाइमर कार्यकर्ता तितरबितर भएका तथा उनीहरूको आर्थिक अवस्था पनि नाजुक बन्दै गएकोले उनीहरूलाई एकीकृत गर्नका लागि पनि उत्पादन ब्रिगेड बनाउन लागिएको हो । द्वन्द्वकालमा धेरै संरचना ध्वस्त भएकोले त्यसलाई निर्माण गर्न र पार्टीका हजारौँ युवालाई सङ्गठित गर्न उत्पादन ब्रिगेड बनाउनु खाँचो रहेको तथा यसले उत्पादन क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने कार्यदलका सदस्य डा. डिल्लीराज खनालले जानकारी दिए ।
उत्पादन ब्रिगेड बनाउने विषयमा बुद्धिजीवी तथा ठूला उद्योगीहरूसँग छलफल गरिसकेको जानकारी गराउँदै खनालले भने, ‘उद्योगीहरूले यसलाई सकारात्मक रूपमा लिएका छन् र उनीहरूले सहभागिता जनाउने प्रतिबद्धतासमेत जनाएका छन् ।’ ब्रिगेड बनाएर पार्टी र कार्यकर्ताले संस्थागत काम गरी मुलुकलाई उत्पादनमुखी काममा केन्द्रित गराउनु रहेकोमा जोड दिँदै खनालले घटना र विचारसँग भने, ‘हिजो ध्वंस भएका संरचनालाई पुनर्निर्माण गर्न युद्धस्तरमै लाग्ने गरी यसलाई अघि बढाइन्छ ।’
कार्यदलका अर्का सदस्य एवम् पार्टी पोलिटब्युरो सदस्य शक्तिबहादुर बस्नेतले उत्पादन ब्रिगेड बनाउने पार्टीको पुरानो योजना भएको बताए । उनले भने, ‘यो नयाँ योजना होइन, पुरानै हो, काम गर्न मात्र ढिला गरिएको हो ।’ पार्टीको नेतृत्वमा उत्पादन ब्रिगेड बने पनि यसलाई राष्ट्रिय विकासको मोडलका रूपमा विकास गरिने जानकारी दिँदै बस्नेतले भने, ‘पार्टीले अघि सारेको थुप्रै योजना अहिले राष्ट्रिय योजना बनेको र उत्पादनसम्बन्धी कार्ययोजना पनि राष्ट्रिय कार्ययोजना बन्नेछ ।’ ब्रिगेडले स्थानीयस्तरबाटै आर्थिक मुद्दालाई सबल बनाउने कार्यनीतिलाई अघि बढाउने र सोहीअनुसार काम गर्नेछ । ‘उत्पादन क्षेत्रमा धेरैको सहभागिता रहे पनि ती सबै व्यक्तिगत भएकोले अब सामूहिक उत्पादनमुखी काम गर्नका लागि पार्टीले अग्रसरता लिन लागेको बस्नेतको भनाइ थियो । उनका अनुसार उत्पादन ब्रिगेडले आमजनतालाई परिचालन गर्ने, सरकारले गरेका राम्रा तथा सबल पक्ष बोकेका नीति तथा परियोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गराउने, सरकार र निजी क्षेत्रका साझेदारीमा काम अघि बढाउने, एमाओवादीका हजारौँ पूर्णकालिक कार्यकर्तालाई ब्रिगेडमा सहभागी गराई उत्पादनका काममा परिचालन गराइनेछ । ‘यसलाई आन्दोलनकै रूपमा परिचालन गरिनेछ,’ उनले भने, ‘यसले पार्टीको मात्र नभएर मुलुककै आर्थिक प्रगतिमा टेवा पुग्नेछ ।’

बीपीको फोटो टाँग्ने अधिकार काङ्गे्रसलाई छैन : मोहन चापागाईं
वामपन्थी पृष्ठभूमिका प्रजातन्त्रवादी नेता एवम् विचारक मोहन चापागाईंले काङ्गे्रसलाई बीपी कोइरालाको फोटो टाँग्ने अधिकार नभएको विचार व्यक्त गर्नुभएको छ । घटना र विचारसँग कुरा गर्दै चापागाईंले भन्नुभयो, ‘वास्तविक काङ्गे्रसलाई त्यो अधिकार छ, तर अहिले काङ्गे्रस–सङ्गठनलाई चाहिँ बीपीको फोटो टाँग्ने अधिकार छैन भनिदिँदा हुन्छ ।’ कम्युनिस्ट विचारधारा भनेको शासन गर्ने पद्धति नै होइन र माक्र्स यस कुरामा फेलियर नै भएका हुन् भन्ने मेरो भनाइ निकै पुरानो हो भन्नुहुँदै उहाँले भन्नुभयो, ‘त्यतिखेर काङ्गे्रस महामन्त्रीका हैसियतले गिरिजाप्रसाद कोइराला जहाँ–जहाँ जानुहुन्थ्यो माले, मसाले र मण्डले एकै हुन् भन्नुहुन्थ्यो । उहाँको कम्युनिस्टविरोधी छवि मलाई खुव मनप-यो, चित्त बुझ्यो, अनि त्यही कुरा बोकेर हिँडेँ । तर, पछि जब कहाँकहाँको १२बुँदे र के–के जाति भनेर प्रचण्डहरूलाई काँधमा गिरिजाले बोकेर ल्याउनुभयो त्यसपछि उहाँ सिद्धान्तबाट विचलित हुन पुग्नुभएको ठहर मैले गरेँ ।’ चापागाईंको ठहर छ, ‘गिरिजाबाबुले सैद्धान्तिक विचलन गराएर काङ्गे्रसको वैचारिक धारलाई समाप्तै पारिदिनुभयो । र, अब सभापति सुशील कोइरालाको यस्तै खच्याकखुचुक पारा रहने हो भने काङ्गे्रस उठ्न पनि सक्दैन भन्ने लाग्छ ।’ १२बुँदे सम्झौता र त्यसयताका सबै प्रक्रियालाई बेइमानीबाहेक केही पनि नठान्ने चापागाईं कम्युनिस्ट कार्यकर्ता रहँदासम्म प्राय: इमानदार रहने तर नेता भएपछि बेइमान हुने परम्परा बसेको बताउनुहुन्छ । उहाँको भनाइ छ, ‘संसारमा कम्युनिस्ट आइडियोलोजी आउँदैन, यी सबै अलिक दिन रहर पु-याउँछन् र समाप्त भएर जान्छन् ।’ चापागाईं आफू काङ्गे्रस भएको तर काङ्गे्रसी नभएको र राजतन्त्रवादी भएको तर राजावादी नभएको बताउनुहुन्छ । घटना र विचारसँग उहाँको पूर्ण संवाद पृष्ठ ३ मा ।

प्राधिकरणले लियो दृढ निर्णय
मुलुक लोडसेडिङको चपेटामा परेको निकै वर्ष भयो । बिग्रेको राजनीतिका कारण लोडसेडिङ अन्त्य गर्ने सवालमा शासकहरू कहिल्यै गम्भीर भएनन् । जलविद्युत् उत्पादनका नयाँ–नयाँ परियोजनाको थालनी तथा प्रवद्र्धन गर्नु त परको कुरा, अनेक प्रलोभन तथा कमिसनको खेलमा भएकै आयोजनालाई पनि धराशयी तुल्याउन जिम्मेवार व्यक्तिहरू नै उद्यत् देखिन्छन् । यस्तै विडम्बनाको चपेटामा पारिएको विद्युत् आयोजनामध्येको पछिल्लो एक ज्वलन्त उदाहरण बन्न पुगेको छ– त्रिशूली ३ ए जलविद्युत आयोजना । ६० मेगावाट क्षमताको उक्त निर्माणाधीन आयोजनाले ३० मेगावाट क्षमता अभिवृद्धि गरी ९० पु-याउने प्रस्ताव गरेको विषयलाई जलमाफियाहरूद्वारा अनेक भ्रम पैदा गरी विवादमा पार्ने जो कोसिस गरियो या गरिँदै छ, यस सन्दर्भलाई ठूलो अभिशापका रूपमा लिनुपर्ने हुन्छ ।
तथापि, उक्त आयोजनाबारे गरिएका अनर्गल प्रचार र भ्रम चिर्दै नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको बैठकले निर्माणाधीन त्रिशूली ३ ए जलविद्युत् आयोजनाको क्षमता ३० मेगावाटले वृद्धि गरी ९० मेगावाट बनाउने निर्णय गरेको छ । विद्युत् अभावका कारण वर्षायाममा समेत लोडसेडिङ खेप्नुपरेको मुलुकका जनताले यस आयोजना पूरा भएपछि ठूलै राहत पाउने भएका छन् ।
त्रिशूली ३ एको क्षमता ३० मेगावाटले वृद्धि गरी ९० मेगावाट बनाउँदा यो आयोजनाको निर्माण लागत (प्रतिकिलोवाट) प्राधिकरणले हालसम्म निर्माण गरेका विद्युत् आयोजनाहरूमा सबैभन्दा सस्तो पर्न आउँदा सञ्चालक समितिले यसको कुल लागत १३२ मिलियन डलर कायम गरेको छ । यो मूल्यमा आयोजना सम्पन्न गर्दा यसको प्रतिकिलोवाट निर्माण लागत जम्मा एक हजार चार सय ६६ डलर हुन आउँछ । जबकि विद्युत् प्राधिकरणले नै बनाएको मध्यमस्र्याङ्दी (७० मेगावाट)को निर्माणलागत प्रतिकिलोवाट पाँच हजार पाँच सय अमेरिकी डलर पुगेको थियो । हालसम्मको सबैभन्दा ठूलो कालीगण्डकी ए(१४४ मेगावाट क्षमता)को निर्माण लागत प्रतिकिलोवाट तीन हजार पाँच सय अमेरिकी डलर परेको थियो भने नेपाल विद्युत् प्राधिकरणका निर्माणाधीन ३० मेगावाट क्षमताको चमेलिया, १४ मेगावाटको कुलेखानी तेस्रो र ३० मेगावाट क्षमताको राहुघाटको निर्माण लागत पनि क्रमश: ५३००, २००० र १७०० अमेरिकी डलर पुग्ने देखिएको छ । जबकि त्रिशूली ३ ए मा थप ३० मेगावाटको निर्माण लागत १४२७ अमेरिकी डलर पर्दछ । अर्थात्, क्षमता बढाइएको त्रिशूली ३ ए बाट प्रतियुनिट २ रुपैयाँ ३८ पैसामा विद्युत् उत्पादन हुने देखिएको छ । यस आयोजनाको सबभन्दा आकर्षक पक्ष यो पनि हो ।
तर, दु:खको कुरा यो छ कि घामजत्तिकै छर्लङ्ग रहेको यस तथ्यलाई तोडमरोड गरेर जलमाफिया र देशको भलो नचाहने तत्वहरू मुलुकको हितमा देखिएको यस आकर्षक आयोजनाविरुद्ध नाङ्गो रुपमा उत्रिन पुगे । अरू त अरू नेपाल विद्युत् प्राधिकरणकै कर्मचारीहरुलाई समेत भ्रममा पार्ने काम भयो, जसले गर्दा उनीहरूसमेत आयोजनाको विरुद्ध उत्रिएर आफ्नो मात्र नभई देश र जनताकै खुट्टामा बञ्चरो हान्दै छन् ।
बुझिएअनुसार ९० मेगावाटमा यो आयोजनाको खुद वर्तमान मूल्य १६ अर्ब ६४ करोड ३० लाख रुपैयाँ देखिएको छ । यो ६० मेगावाटको भन्दा झण्डै तीन अर्ब २२ करोड ५१.६ लाख रुपैयाँ बढी हो । यसको आन्तरिक वित्तीय प्रतिफलदर झण्डै २३ प्रतिशत (२२.९ प्रतिशत) देखिएको छ । आयोजनाले व्यापारिक उत्पादन सुरु भएको तीन वर्ष चार महिनामा नै कर्जा चुक्ता गर्न सक्ने क्षमता राख्दछ । क्षमता बढाउँदा पानीको सदुपयोग ७.५ प्रतिशतले बढी हुने, बार्षिक ऊर्जा उत्पादन १६२ गिगावाट आवर बढ्ने, हिउँदमा २६ गिगावाट आवर ऊर्जा थप हुने, दुईवटा टर्वाइनको सट्टा तीन वटा राखिने भएकोले दुई टर्वाइन चलाएर एउटा मर्मत गर्दा पनि अधिकतम ऊर्जा उत्पादन गर्न सकिने, उत्पादित विद्युत् मुलुकको राजधानीजस्तो ऊर्जाको अधिक माग भएको क्षेत्रमा सजिलै ल्याउन सकिने भएकोले बजारको समस्या नपर्नेजस्ता लाभ छन् ।
विद्युत् प्राधिकरणले पछिल्लोपटक गरेको अध्ययनमा भनिएअनुसार ६० मेगावाट क्षमतामा बनाउँदा पनि यो आयोजना सम्पन्न हुन थप २१ महिना लाग्ने देखिन्छ । त्यसमा ४ महिनाजति समय थप गरेमा ९० मेगावाट नै बन्न सक्ने देखिएको छ । आयोजनासँग सम्बद्ध प्राविधिकले ४८ किलोमिटर लामो दुई सय २० केभी डबल सर्किट प्रसारण लाइन निर्माणको काममा जम्मा दुई प्रतिशत सकिएकोले प्रसारण लाइन र ९० मेगावाटको उत्पादन कार्य एकसाथ सम्पन्न गर्न सकिने बताएका छन् ।

उत्ताउला निरीक्षकबाट व्यवसायी हैरान
उद्यमी–व्यवसायीलाई शान्तिसुरक्षाको प्रत्याभूति दिलाउनुपर्ने प्रहरी आफैँ आतङ्क र अराजकताको कारण बन्यो भने साधारण जनता तथा व्यवसायीहरूले कतिसम्म सास्ती पाउन सक्छन् भन्ने कुराको दृष्टान्त राजधानीको मुटु मानिने दरबारमार्ग क्षेत्र बन्न पुगेको छ । दरबारमार्गको शान्तिसुरक्षा गर्न त्यहाँ खटाइएका प्रहरी निरीक्षक कुमुद ढुङ्गेललाई त्यहाँका व्यवसायीहरूले रक्षक नभई भक्षकका रूपमा बुझ्न थालेका छन् । खासगरी होटल, रेस्टुरेन्ट र क्यासिनो व्यवसायीहरू ढुङ्गेलको उत्ताउलो व्यवहारबाट आजित भएका छन् । बेला–कुबेला होटल, रेस्टुरेन्ट तथा क्यासिनोभित्र प्रवेश गरी मानिसलाई आतङ्कित बनाउने काम ढुङ्गेलबाट भइरहेको छ, जसका कारण ग्राहकहरूमा त्रासको स्थिति पैदा भई व्यवसायमै मन्दी आउन थालेको छ । हातहतियारसहितको प्रहरी जत्था अचानक व्यावसायिक केन्द्रहरूमा पस्ने गरेकाले ग्राहकहरू आतङ्कित भई अन्यत्र लाग्ने गरेको बताइन्छ । एक सूत्रले जनाएअनुसार निरीक्षक ढुङ्गेलको यस्तो व्यवहार काम देखाउन नभई अर्कै नियतबाट पे्ररित रहेको छ । दरबारमार्ग क्षेत्रको होटल, रेस्टुरेन्ट र क्यासिनोका ग्राहकलाई अन्यत्र भगाउने नियत यी प्रहरी निरीक्षकको भएको व्यवसायीको ठहर छ । प्राप्त जानकारीअनुसार एक उच्च प्रहरी अधिकृतको समेत लगानी रहेको होटल सोल्टीस्थित क्यासिनो माजाङमा ग्राहक बढाउन ढुङ्गेलले दरबारमार्ग क्षेत्रमा आतङ्क मच्चाएका हुन् । यिनको कार्यक्षेत्रभित्र रहेको क्यासिनो रोयल, भेनस र क्यासिनो अन्नामा विशेष कामवश पुगेका आगन्तुक (भिजिटर) हरूलाई समेत ढुङ्गेलले पक्राउ गरी दु:ख दिने गरेका छन् । दुई साताअघि अन्ना क्यासिनोमा काम गर्ने आफ्ना भिनाजु लक्ष्मण बोहोरालाई कामविशेषले भेट्न पुगेका कुनाल शर्मा र गीता कार्कीलाई समेत ढुङ्गेलले पक्राउ गरी मुद्दा चलाएका थिए । पटकपटक क्यासिनोभित्र हतियारसहितको प्रहरी जत्था प्रवेश गर्न थालेपछि क्यासिनोका विदेशी ग्राहकहरूसमेत माजाङतिर लाग्न थालेका छन् । यसरी कुनै एउटा क्यासिनोको व्यापार बढाउन अन्य क्यासिनोहरूमा आतङ्क मच्चाउन थालेपछि गुन्डा र अन्य अपराधीबाट त्यसै पनि सताइएका व्यवसायीहरू चिन्तित बन्न पुगेका छन् । क्यासिनोमा कुनै नेपाली जुवा खेल्न प्रवेश गरेमा सादा पोसाकमा सुरक्षाकर्मी खटाई नियन्त्रण लिनुपर्ने या नेपाली जुवाडेको पहिचान गरी तिनलाई पक्राउ गर्न वैकल्पिक तरिका अपनाउनुपर्ने व्यवसायीको धारणा छ । तर, ढुङ्गेलको नियत नेपाली जुवाडेलाई पक्राउ गर्नु नभई दरबारमार्ग क्षेत्रमा मनोरञ्जनका लागि पुग्ने विदेशी ग्राहकलाई नै भड्काउनु रहेको महसुस सम्बन्धित व्यवसायीले गरेका छन् । क्यासिनो सञ्चालनका लागि सरकारी नियमानुसार निश्चित कम्पनीहरूले इजाजत पाएका छन् र जुवा ऐन २०२० को दफा (८) मा ‘नेपाल सरकारले कुनै खास स्थान या क्षेत्र तोकी स्वीकृति दिएमा दफा (३) मा लेखिएको कुनै काम गरे÷गराएमा यो ऐनबमोजिम कारबाही गर्ने, चलाइने र सजाय गरिने छैन’ भन्ने व्यहोरा स्पष्ट रूपमा लेखिएको छ । दफा (३) मा ‘कुनै व्यक्तिले जुवा खेल्न, खेलाउन वा जुवा खेल्ने खाल वा आफ्नो हकको वा आफ्नो भोगचलन वा जिम्माको कुनै घर, कोठा वा ठाउँलाई जुवा खेल्ने वा खेलाउने काममा व्यवहार गर्न वा गराउन, जुवा खेलेको ठाउँमा बस्न हुँदैन’ भन्ने व्यहोरा उल्लिखित छ । त्यसरी सरकारसँग इजाजत लिई नियमअनुसार सञ्चालित क्यासिनोहरू जसले राज्यलाई करोडौँ राजस्व बुझाउँछन् तिनको शान्ति, सुरक्षा र संरक्षण गर्नु प्रहरीको सामान्य कर्तव्यभित्र पर्ने देखिन्छ । तर, प्रहरी निरीक्षक ढुङ्गेलले भने नियमविपरीत व्यवसाय नै धराशायी बनाउने व्यवहार प्रस्तुत गरिरहेका छन् ।
को हुन् कुमुद ढुङ्गेल ?
काठमाडौंको गोकर्णमा घर भएका कुमुद ढुङ्गेल तत्कालिक प्रहरी महानिरीक्षक श्यामभक्त थापाको अनुकम्पाबाट प्रहरी सेवामा प्रवेश गर्ने अवसर पाएका व्यक्ति हुन् । काठमाडौं प्रहरी परिसरअन्तर्गत लामो समय घुमुवाका रूपमा काम गर्ने मौका पाएका उनले सीबीआईको घुमुवाका रूपमा पनि काम गरेका थिए । एक समय नक्सालको सानो डेरामा जीवन गुजारा गरिरहेका यिनले अहिले काठमाडौंको हाँडीगाउँमा सुविधासम्पन्न बङ्ला बनाएका छन् । राजन भुजेल, समीर बस्नेतलगायतका व्यक्तिहरूमार्फत महँगो ब्याजमा करोडौँ रुपैयाँ ‘लगानी’ गर्ने गरेका उनको यतिबेला दश करोडभन्दा बढीको सम्पत्ति देखिन्छ । ढुङ्गेलले एक लाख रुपैयाँ लगानी गरेबापत प्रतिदित एक हजार रुपैयाँ ब्याजबापत असुल्ने गरेको पाइन्छ । यसरी एक लाख लगानी गरेर उनले महिनाको तीस हजार र वर्षको तीन लाख पैसठ्ठी हजारको दरले कमाई गर्ने गरेका छन् । जब कि उनको यस्तो कारोबार तीन करोडभन्दा कम नरहेको जानकारहरूको अनुमान छ । लामो समय घुमुवाको रूपमा रहेकोले ढुङ्गेललाई आम्दानीका गुप्त बाटाहरूको बारेमा राम्रो जानकारी भएको उनका निकटवर्तीहरूको भनाइ छ ।

एमाओवादीलाई बीकेमानको प्रशिक्षण †
‘एकीकृत माओवादीका नेताहरू उद्योगी–व्यवसायीलाई उपयोग गर्नेमा मात्र केन्द्रित छन्, जग्गा दलालीमा लागेर धन आर्जन गर्ने काममा मात्र लागेका छन्,’ यो भनाइ हो, गत बिहीबार एकीकृत माओवादीले त्रिपुरेश्वरस्थित वल्र्ड टे«ड सेन्टरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा चितवनका व्यवसायी कृष्ण अधिकारीको । उनले पार्टी नेताहरूको कटाक्ष गर्दै थपे, ‘अहिलेसम्म हामीलाई प्रयोग गरेर आफ्नो स्वार्थ पूरा गर्ने कामबाहेक अरू केही भएको छैन ।’ पार्टीले बनाउन लागेको उत्पादन ब्रिगेडबारे जानकारी दिन तथा सहयोग तथा अपिलका लागि आयोजना गरिएको एकदिने प्रशिक्षणमा सहभागी व्यवसायी अधिकारीले उद्योगी र व्यापारी फरक पाटोका व्यक्ति भएकाले यसलाई छुट्याउन पनि माग गरे । करिब अढाई सय उद्योगी तथा व्यवसायी सहभागी रहेको प्रशिक्षण कार्यक्रममा सहभागीहरूले पार्टीका विभिन्न नेताहरूले दिएका दु:ख तथा नेताहरूको जीवन शैलीबारे रोचक ढङ्गबाट आफ्ना विचार राख्दै पार्टीले बनाउन लागेको उत्पादन ब्रिगेडबारे शङ्का व्यक्त गरेका छन् । उनीहरूको आशङ्का थियो– कतै यो उत्पादन ब्रिगेड पनि हाम्रै नाम भजाएर पार्टीकै नेताहरूले आफ्नो आर्थिक उन्नति गर्ने सोचाइ त होइन ?
प्रशिक्षणमा सहभागी व्यवसायीका अनुसार पार्टीले बनाउन लागेको उत्पादन ब्रिगेडबारे धेरै सहभागीले यसको उद्देश्यप्रति आशङ्का गर्दै नेतृत्वसमक्ष प्रश्न गरेका थिए भने ती प्रश्नको जवाफसहित सहभागीलाई प्रशिक्षित गर्ने कार्यमा सक्रिय थिए– बीकेमान श्रेष्ठलगायतले । पार्टी उपाध्यक्ष एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईपत्नी हिसिला यमीलाई आर्थिक जोहो गराउने कार्यमा सक्रिय रहेका श्रेष्ठले प्रशिक्षित गर्दै सहभागीलाई पार्टीले निर्माण गर्न लागेको उत्पादन ब्रिगेडबारे कुनै शङ्का नगर्न भनेका थिए ।
त्यस्तै एमालेबाट एमाओवादी बनेका डा. डिल्लीराज खनाल, योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीलगायत विभिन्न व्यक्तिले नेपालको उत्पादन क्षेत्र, जलस्रोत, कृषि, ऊर्जा, उद्योग, कलकारखानामा देखिएका समस्या, नयाँ उत्पादनमुखी क्षेत्रबारे जानकारीसहित आफ्ना कुरा राखेका थिए । एमाओवादीका २० भन्दा बढी केन्द्रीय नेताको सहभागिता रहेको प्रशिक्षण कार्यक्रममा एमाओवादी अध्यक्ष प्रचण्ड, उपाध्यक्षद्वय बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा तथा हालै एमाओवादी बनेकी उर्मिला अर्यालले उत्पादन ब्रिगेडबारे बोल्दै नेपालको आर्थिक अवस्था र चुनौतीबारे प्रकाश पारेका थिए ।

धादिङमा किन भयो ‘चरी’को चिल्लिबिल्ली ?
समाजमा हुने विकृति–विसङ्गति उन्मूलनमा नेपाल प्रहरीको गहन जिम्मेवारी र भूमिका रहन्छ । राज्यले सुम्पिएको यही जिम्मेवारी बोध गर्दै आफ्नो कार्यक्षेत्र धादिङमा मौलाउन थालेको अपराधजन्य क्रियाकलाप तथा गुन्डागर्दी उन्मूलनका लागि कटिबद्ध भएर लागेपछि धादिङ जिल्ला प्रहरी प्रमुख अशोक सिंहको चर्चा एकाएक चुलिएको छ ।
जिल्ला प्रमुख भएर धादिङ पुगेको चार महिना पूरा नहुँदै सदरमुकाम धादिङबेसी तथा जिल्लाका अन्य स्थानमा आपराधिक क्रियाकलापमा संलग्नलाई कारबाहीको अभियान तीव्र बनाएपछि डीएसपी सिंहको चर्चा फैलन थालेको हो । धादिङमा जिम्मेवारी सम्हालेलगत्तै स्थानीय क्षेत्रमा दबदबा मच्चाएर सर्वसाधारणमा त्रास फैलाउनुका साथै विभिन्न आपराधिक क्रियाकलापमा मुछिएका हापा भनिने सूर्यबहादुर गुरुङ, विशाल तामाङ, विशाल खतिवडालगायतका व्यक्तिलाई ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलाएपछि जिल्लामा सिंहको वाहवाही सुरु भयो । जुझारु र अपराध भनेपछि देखिनसहने स्वभावका प्रहरी उपरीक्षक सिंहको सक्रियतापछि धादिङमा आपराधिक घटनामा उल्लेख्य मात्रामा कमी आएको बताइन्छ ।
धादिङका तत्कालीन प्रहरी प्रमुख विकास खनालसँग विशेष सम्बन्ध बनाएका र खनालकै संरक्षणमा आपराधिक कार्यको नेतृत्व गर्दै आएका ‘राष्ट्रिय डन’का रूपमा परिचित दिनेशकुमार अधिकारी (चरी) प्रहरी उपरीक्षक अशोक सिंहले थालेको विकृति निर्मूल गर्ने अभियानका कारण यतिबेला धादिङमा देखापर्न छोडेको बुझिन्छ । हाल उनी राजधानीमा लुकेर बसेको स्रोत बताउँछ । कतिपय एमाले नेताहरूको संरक्षणमा रहेका ‘चरी’ आफ्नै गृहजिल्ला प्रवेश गर्न नसकेपछि आपराधिक क्रियाकलापमा संलग्न केही व्यक्ति तथा तिनका मतियारहरूले सिंहको आलोचना गरे पनि जिल्लावासीले भने ठूलो राहत महसुस गरेका छन् ।
अशोक सिंह जिल्ला प्रहरी प्रमुख भएर धादिङ पुगेपछि अपराध रोकथाम, अपराध अनुसन्धान, विभिन्न विपत्का समयमा जनतालाई राहत पु-याउने कार्य, प्रहरी–जनता हातेमालो गरी समाजमा भएका विकृति तथा अपराधहरूलाई न्यूनीकरण गरी सुरक्षाको प्रत्याभूति दिलाई जिल्लामा हुने सम्भावित आपराधिक घटनाहरू गुन्डागर्दी, हत्या, लुटपाट, चोरी, बलात्कारजस्ता जघन्य प्रकृतिका आपराधिक घटना हुन नदिन व्यापक प्रहरी परिचालन गरेका छन् । उनको सो अभियानअन्तर्गत जिल्ला सदरमुकाम तथा अन्य ग्रामीण भेगमा गुन्डागर्दी गरी सर्वसाधारणहरूलाई तर्साउने, धम्क्याउने, ज्यान मार्ने उद्योगमा संलग्न हुने, सामाजिक अपराधमा संलग्नता, जबर्जस्ती रकम असुल गर्न खोज्ने व्यक्तिहरूलाई पक्राउ गर्ने क्रममा तीव्रता आएको छ, जसले सर्वसाधारणमा शान्तिसुरक्षाको अनुभूति गराएको छ ।
त्यस्तै, सदरमुकामआसपास तथा मातहत एकाइहरूमा हुने अवैध घरेलु मदिरा उत्पादन तथा बिक्री–वितरण कार्यमा संलग्नलाई नियन्त्रणमा लिएर अवैध मदिरा उत्पादन नगर्ने÷नगराउने सर्तमा छाडिएको तथा अवैध उत्पादन गरिएको करिब पाँच सय लिटर मदिरा नष्ट गरिएको छ । धादिङबेसीस्थित पुछारबजारमा हालै जुवा खेलिरहेको अवस्थामा ६ जना व्यक्तिबाट नगद एक लाख ७५ हजार पाँच यस सत्तरी र १६ थान कौडासमेत पक्राउ गर्दा पहिलेका अधिकारीहरूबाट हुन नसकेको काम भएको भनी स्थानीयले उनको तारिफ गरेका थिए । उनकै सक्रियतामा जिल्लाका राजमार्ग, सहायक तथा ग्रामीण मार्गमा चल्ने सवारीसाधनले सवारी नियम उल्लङ्घन गर्ने, अव्यवस्थित पार्किङ गर्ने, तीव्र गतिमा सवारी चलाउने व्यक्तिहरूलाई कारबाही गरी त्यस्ता किसिमका कार्यहरू निरुत्साहित गरिएको छ । त्यस्तै, धादिङ जिल्लाअन्तर्गतका क्षेत्रमा पर्ने त्रिशूली नदी र त्यसको आसपास क्षेत्रमा कानुनी रित नपु-याई सञ्चालन गरिएका अवैध क्रसर उद्योग र बालुवाखानीहरू बन्द गराएपश्चात् जिविस तथा जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी सम्पूर्ण व्यवसायीलाई कानुनबमोजिम मर्यादित, व्यवस्थित गरिनेतर्फ आवश्यक समन्वयात्मक भूमिका निर्वाह भएको छ । त्यस्तै, डीएसपी सिंहले जिल्लालाई अवैध हातहतियार मुक्त बनाउने उद्देश्यअनुरूप जिल्लाका विभिन्न स्थानबाट सर्वसाधारण व्यक्तिहरूले अवैध रूपमा राखेका भरुवा बन्दुकहरू ७६ थान सङ्कलन गरेका छन् भने लागूऔषधका कारोबारी एवम् दुव्र्यसनीहरूविरुद्ध पनि प्रभावकारी अभियान सुरु गरिएको बताइएको छ ।
यसरी, एक प्रहरी अधिकारीको सक्रियता र निष्क्रियताले जिल्लाको शान्तिसुरक्षामा कति फरक पर्नेरहेछ भन्ने बुझ्नका लागि धादिङ प्रहरी प्रमुख डीएसपी अशोक सिंह दरिलो उपमा बन्न पुगेका छन् । – हेमराज लम्साल

धिमालले आफैँ गर्न थाले जनगणना
राज्यको तर्फबाट गरेको जनगणनाबाट वास्तविक सङ्ख्या पत्ता नलागेको भन्दै धिमाल जातिले आफैँले पुन: जनगणना सुरु गरेका छन् । हालै सार्वजनिक भएको जनगणनाले धिमाल जातिको वास्तविक जनसङ्ख्यालाई नसमेटेको भन्दै धिमालहरू आफैँले आफ्नो गणना थालेका हुन् । उनीहरूले आफ्ना सामाजिक संस्था धिमाल जातीय विकास केन्द्रले पूर्वी झापा, मोरङ तथा सुनसरीमा पुख्र्यौली थलो र मुख्य बसोबास रहेका क्षेत्रहरूमा गणना लिन थालेका हुन् । राष्ट्रिय जनगणनाका क्रममा सबै धिमाललाई समेट्न नसकेको र धिमाल जातिसँग सम्बन्धित तथ्याङ्क वास्तविकतामा आधारित नभएकाले तथ्याङ्क सङ्कलनको काम थालिएको केन्द्रका अध्यक्ष नगेन्द्र धिमालले बताए । पूर्वसंविधानसभा सदस्यसमेत रहेका उनले भने, ‘आदिवासी धिमालहरूको वास्तविक तथ्याङ्क निकाल्ने कार्य अन्तिम चरणमा पु-याएका छौँ ।’
हालै सार्वजनिक भएको जनगणनामा धिमालको सङ्ख्या २६ हजार देखाइएको छ । धिमाल युवा मञ्चका अध्यक्ष अजित धिमालले भने जनसङ्ख्या धेरै भए पनि जनगणनाको तथ्याङ्कले वास्तविकता भन्दै निकै कम देखाएको बताए । गाउँ–गाउँमा रहेका धिमालका सबै बस्तीमा गणकहरू नपुगी अनुमानका भरमा गणना गर्ने काम गरिएकाले पनि तथ्याङ्क विश्वासयोग्य नभएको उनले बताए । उनले भने, ‘जनगणनाले ल्याएको तथ्याङ्क गलत भएकाले आफैँ लागेर वास्तविक तथ्याङ्क बाहिर निकाल्न लागेका छौँ ।’ केन्द्रका जनगणना तथा तथ्याङ्क सङ्कलन उपसमितिका संयोजक तेजबहादुर धिमालले सरकारले ल्याएको जनगणनाले वास्तविक धिमालहरूको चित्रण नगरेको दाबी गरे । ‘सरकारले प्रत्येक १० वर्षमा गर्ने जनगणनाको तथ्याङ्क मिथ्या छ भन्ने हाम्रो ठहर हो,’ संयोजक धिमालले भने । ‘जस्तो छ त्यस्तै तथ्याङ्क बाहिर ल्याउन काम थालेका हौँ,’ संयोजक धिमालले भने, ‘यसका लागि अब धिमाल बस्तीहरूमा गणना लिने काम धमाधम थालिएको छ ।’
गत फागुनबाट सुरु भएको गणनाको काम असार मसान्तसम्ममा पूरा हुने संयोजकले बताए । त्यसका लागि धिमाल समुदायकै एसएलसी पास गरेका युवायुवतीलाई प्रशिक्षण दिएर गणकका रूपमा खटाइएको केन्द्रले जनाएको छ । यसरी तथ्याङ्क सङ्कलन गर्ने क्रममा धिमालहरूको उमेर समूहअनुसारको सङ्ख्या, विद्यालय जाने बालबालिका, उच्चशिक्षा हासिल गर्ने, सरकारी नोकरीमा रहे–नरहेको, वैदेशिक रोजगारमा जानेलगायत विवरणहरू भर्ने काम भइरहेको संयोजक धिमालले जानकारी दिए ।
अहिलेसम्म सबै इलाकामा फारम पुगेको र लगत सङ्कलनको कामलाई तीव्रता दिएका छन् । मोरङका बेलबारी, लक्ष्मीमार्ग, भाउन्नेलगायत स्थानमा अहिले तथ्याङ्क सङ्कलनको काम भइरहेको र झापामा दमकलगायत स्थानमा जारी रहेको जनाइएको छ । – विष्णु सुब्बा

भैरहवामा मिर्गाैलाको हेमोडायलासिस सेवा सुरु
रूपन्देही÷ भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा मिर्गौलाको हेमोडायलासिस सुरु भएको छ । पश्चिमाञ्चलमा पोखरापछि यूसीएमएस भैरहवा डायलासिस गर्ने दोस्रो अस्पताल भएको छ ।
मिर्गौला रोग विशेषज्ञ सुबोधकुमार पाण्डेका अनुसार मेडिकल कलेजको हेमोडायलासिस विभाग सुविधासम्पन्न र पूर्वाधारपूर्ण छ भने जर्मन प्रविधि ४००८ को प्रयोग गरी उपचार गरिने भएकाले रोगीलाई अन्तर्राष्ट्रियस्तरको उपचार सेवा प्राप्त हुनेछ । सो हेमोडायलासिस विभागमा एकजना मिर्गौला रोग विशेषज्ञसहित आठजनाको समूह क्रियाशील रहेको छ । कलेजका मिर्गौलारोग विशेषज्ञ डा. पाण्डे नेपाल मेडिकल कलेज कोहलपुर नेपालगञ्जका हेमोडायलासिस विभागका संस्थापक पनि हुन्, जसले नौ वर्षसम्म सो कलेजमा काम गरी अनुभव र विशेषज्ञता हासिल गरेका छन् ।
लुम्बिनी अञ्चलमै पहिलोपटक भैरहवामा सुरु भएको हेमोडायलासिस विभागको उद्घाटन समारोहमा रूपन्देहीका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थी, मेडिकल सुपरीटेन्डेन्ट प्राध्यापक बीडी भाटिया, निर्देशक अजयकुमार, काठमाडौं युनिभर्सिटीका सहायक डिन भार्गव नेपाल, कलेजका प्रिन्सिपल प्राध्यापक आनन्द कुमार, स्थानीय विकास अधिकारी पेशलकुमार पोखरेल, कलेजका फाइनान्स अफिसर सन्तोष कुमार, प्रमुख प्रशासकीय अधिकृत श्री कुमार, वाणिज्य सङ्घका अध्यक्ष विष्णु शर्माले हेमोडायालासिस विभागको विस्तार, निरन्तरता तथा विकासको चर्चा गर्दै शुभकामना दिएका थिए ।
पछिल्लो समय मिर्गौला रोगीहरूको सङ्ख्या दिनप्रतिदिन बढिरहेको बेला भैरहवामा नै उपचार हुने भएपछि स्थानियवासी पनि खुसी भएका छन् । मिर्गौला रोगको उपचार गर्न अधिकांश मानिस भारतीय शहरहरूमा भौँतारिरहेको बेला यूसीएमएस भैरहवामा उपचार हुने भएपछि सबैलाई खुसी तुल्याएको छ । – चन्द्रकान्त खनाल

फ्रान्समा सगरमाथाको हीरक महोत्सव
पेरिस÷ सगरमाथा आरोहणको हीरक महोत्सवको अवसरमा विभिन्न क्षेत्रमा विविध कार्यक्रम मनाइएका छन् । यसै सन्दर्भमा गत ३१ मेको साँझ पेरिसस्थित नेपाली राजदूतावास तथा फ्रान्समा रहेको नेपाल सांस्कृतिक गृहको संयुक्त आयोजनामा पेरिसदेखि २० किलोमिटर टाढा रहेको भिन्सेन्समा एक भव्य कार्यक्रमको आयोजना गरियो ।
फ्रेन्च परराष्ट्र मन्त्रालयका पदाधिकारी, डाक्टर, पाइलट, लेखक, फ्रेन्च गैरसामाजिक संस्थाका अध्यक्षहरू, आर्टिस्टदेखि लिएर नेपाल सम्बन्धित अन्य नयाँ तथा पुराना फ्रेन्च पाहुनाका अलावा उल्लेख्य सङ्ख्यामा नेपालीजनको उपस्थिति रहेको सो कार्यक्रममा राजदूतावास परिवार तथा गृहका पदाधिकारीहरूले सक्रिय सहभागिता जनाएका थिए ।
कार्यक्रममा शुभकामना मन्तव्य दिँदै फ्रान्सका लागि नेपाली राजदूत तथा युनेस्कोका लागि स्थायी प्रतिनिधि मोहनकृष्ण श्रेष्ठले मानवले विश्वको सर्वाेच्च टाकुरो सगरमाथाको सर्वप्रथम आरोहण गरेको ६० वर्ष पुगिसकेको र हालसम्म विभिन्न कीर्तिमान स्थापित भएको जानकारी दिनुभयो । प्राकृतिक रूपमा सुन्दर नेपाल हिमालका अलावा संस्कृतिमा पनि धनी मुलुक भएकाले नेपालको भ्रमण गरी जीवनमा नयाँ अनुभूति संगाल्न राजदूत श्रेष्ठले आग्रह गर्नुभयो । फ्रेन्च परराष्ट्र मन्त्रालयका पदाधिकारी जाँ रोम्निसियानुले आफूले चार वर्ष कूटनीतिक सेवामा नेपालमा बिताएको संस्मरण गर्दै सो अनुभव अविष्मरणीय रहेको उल्लेख गर्नुभयो । नेपाल सांस्कृतिक गृहका प्रेसिडेन्ट हेमन्त उपाध्यायबाट सञ्चालन गरिएको कार्यक्रमबीच साङ्गीतिक समूह ‘सुकर्म’ले भगवान् बुद्धको भव्य मूर्तिअगाडि सितार वादन र स्थानीय नेपाली कलाकारले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेर उपस्थित पाहुनालाई मुग्ध तुल्याएका थिए ।

अपरिपक्वताका कारण छिमेकी भारतप्रति व्यङ्ग्य गरिएछ : मह जोडी
बीपी कोइराला भारत–नेपाल प्रतिष्ठान र नेपाल–भारत पुस्तकालयको संयुक्त आयोजनामा गत जनवरीदेखि सुरु गरिएको मासिक कन्भर्सेसन्स कार्यक्रमको पाँचौँ संस्करण गत साता आयोजना गरिएको छ । प्रतिष्ठानले आयोजना गर्दै आएको ‘पोएमाण्डु’ र ‘सिनेमाण्डु’जस्तै एक लोकप्रिय कार्यक्रमका रूपमा चिनिएको कन्भर्सेसन्स कार्यक्रमको उक्त संस्करणबीच मह जोडीको नामबाट परिचित हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले आचार्यको भर्खरै प्रकाशित आत्मवृत्तान्त ‘चिना हराएको मान्छे’को विविध पक्षबारे प्रकाश पारेका थिए ।
हरिवंशको बाल्यकाल, आफूलाई सफल कलाकार तुल्याउने क्रममा भोगेका समस्या, जीवनभन्दा मूल्यवान साथी मदनकृष्ण श्रेष्ठसँग भएको परिचय, विवाह, जीवनवृत्ति र अन्य धेरै विषयमा हरिवंशसँगको कुराकानी केन्द्रित थियो भने कलाकार मदनकृष्ण श्रेष्ठले हरिवंश आचार्यको जीवनबारे प्रकाश पार्नुको साथै उनका व्यक्तिगत पक्ष तथा आत्मवृत्तान्तका केही हरफ पनि वाचन गरेर सुनाएका थिए । कलाकार आचार्यले पुस्तकको ३० हजार प्रति बिक्री भइसकेको र थप १० हजार प्रति पनि छिट्टै बजारमा आउने जानकारी गराएका थिए । पुस्तक बिक्रीबाट प्राप्त रकममध्ये पाँच लाख रुपैयाँ धुलिखेलस्थित मीरा आचार्य अनाथालयलाई प्रदान गरिएको उनले जानकारी दिए ।
कन्भर्सेसन्समा कलाकारद्वयले नेपाल र भारतको सम्बन्ध नङ र मासुजस्तै रहेको बताए । पहिले–पहिले प्रहसनका क्रममा भारतलाई शब्दवाण प्रहार गर्ने गर्दा दर्शकबाट ताली पाएको तर अहिले आफूहरूमा परिपक्वता आएपछि भारत–नेपालबीच असल सम्बन्धको महत्व बुझेकाले अब भारतलाई कुनै व्यङ्ग्य प्रहार नगर्ने वरिष्ठ कलाकारद्वयले प्रतिबद्धता दर्शाए ।
कन्भर्सेसन्स नेपाली साहित्य क्षेत्रका व्यक्तित्वहरूलाई तिनका विचार, काम तथा अन्य धेरै कुराहरू दर्शक÷पाठक÷श्रोतासमक्ष पस्कने वातावरण बनाउने उद्देश्यले सुरु गरिएको ‘कन्भर्सेसन्स’ हरेक अङ्ग्रेजी महिनाको अन्तिम साता आयोजना गरिन्छ ।

प्रधानसेनापति राणा र भारतीय सेनाध्यक्ष सिंहले आरोहीको स्वागत गर्ने
तेन्जिङ नोर्गे र सर एडमन्ड हिलारीले सगरमाथाको चुचुरोमा पाइला हालेको (२९ मे, १९५३) साठी वर्ष पुगेको छ । ती दुई साहसी आरोहीले प्रथमपटक सगरमाथा शिखर टेकेयताका ६ दशक अवधिमा विश्वका हजारौँ आरोहीले विश्वको सबैभन्दा उच्च शिखरको आरोहण गरिसकेका छन् । दिनप्रतिदिन सगरमाथा आरोहीको सङ्ख्या वृद्धि भएसँगै सगरमाथामा प्रदूषण तथा फोहोर थुप्रने क्रम पनि बढेको छ । वास्तवमा सगरमाथा शिखरको सफाइ एक चुनौतीजस्तै बन्न पुगेको अवस्था छ ।
यस यथार्थलाई मनन गर्दै सगरमाथा शिखर आरोहणको हीरकजयन्ती मनाउने एवम् उच्च शिखरको सफाइसमेत गर्ने उद्देश्यसहित सगरमाथा आरोहण अभियानमा खटिएको नेपाली तथा भारतीय सेनाको संयुक्त टोलीले सगरमाथा र आधार शिविरको बीचमा जम्मा भएका करिब २२ टन जैविक र गैरजैविक फोहोर सङ्कलन गरेको छ । यति मात्र नभई हिमाल आरोहणको इतिहासमै अद्वितीय घटनाका रूपमा ‘नेपाल–भारत संयुक्त सैनिक सगरमाथा आरोहण अभियान–२०१३’ का सबै आरोही सदस्य सगरमाथा शिखरमा पाइला टेक्न सफल भएका छन् । सरसफाइसहितको उद्देश्य भएकाले उक्त आरोहण टोलीलाई सहयोग गर्न भारतीय राजदूतावासले २८ जना पर्वतारोहीलाई जम्मा भएको फोहोर तल ल्याउन खटाएको थियो । सेनाको संयुक्त टोलीले फोहोरका रूपमा सङ्कलन भएको प्लास्टिक र कागजजस्ता सामग्रीहरू नाम्चेमा नष्ट गर्न सकिने तथा भग्नावशेष, अक्सिजन सिलिन्डर, धातु र क्यान इत्यादि व्यवस्थापनका लागि काठमाडौं ल्याइने जनाएको छ । फोहोर सङ्कलनको अतिरिक्त नाम्चे र स्याङबोचेमा इन्धन÷विद्युत्बाट चल्ने दुईवटा दहनयन्त्र स्थापना गरिन लागिएको र लुक्लादेखि सगरमाथा आधार शिविरसम्म धातुजन्य फोहोर, सिसा र प्लास्टिकजन्य फोहोर जम्मा गर्न छुट्टाछुट्टै क्याबिनसहितका ४० वटा फोहोर सङ्कलन केन्द्र स्थापना गरिने बताइएको छ ।
स्मरण रहोस्, नेपाली सेनाका प्रधानसेनापति जनरल गौरवशमशेर जबरा तथा भारतीय सेनाध्यक्ष जनरल विक्रम सिंहले आगामी २७ गते (१० जुन २०१३) का दिन काठमाडांैमा आयोजना गरिने एक विशेष समारोहबीच शिखर आरोहणमा गएका संयुक्त सैनिक टोलीको स्वागत गर्ने कार्यक्रम रहेको छ ।

आफ्नै बाबुले किन गराए छोरीको हत्या ?
सप्तरी । कुनै युवकसँग प्रेमविवाह गरेकै कारण बाबु रिसाएर छोरीको हत्या गरेको या गराएको घटना समाजमा अनेक हुन सक्छन् । यस्तै घटनाको शृङ्खलामा सप्तरीमा हालै घटेको एक घटना पनि जोडिन पुगेको छ । छिमेककै तल्लो जातका युवकसँग प्रेम गरेर विवाहका लागि घर छोडेकी आफ्नी छोरीको हत्या गराएको अभियोगमा सप्तरी बथनाहा–७ का चन्द्रिका राउत पक्राउ परेका छन् । प्रहरीसँगको बयानमा राउतले भाडाका हत्यारा प्रयोग गरेर छोरी रुबीको हत्या गरेको स्वीकार गरेका छन् ।
केही दिनअघि एक युवतीको लास नचिनिने अवस्थामा फेला परेको विÈयले स्थानीय क्षेत्रमा निकै चर्चा पाएको थियो । कसैले बलात्कार गरेर हत्या गरेको हुनसक्ने आशङ्काका साथ युवतीको पहिचान पत्ता लगाउने जमर्को भइरहेको थियो । यसै क्रममा मृतक युवती स्थानीय बजरंगी निमाविमा कक्षा ८ मा अध्ययनरत रुबी राउत रहेको पत्ता लाग्यो । त्यसपछि प्रहरीले शङ्काकै आधारमा रुबीका बाबु चन्द्रिकालाई पक्राउ गरेको थियो । पक्राउ गरी बयान लिने क्रममा सबै तथ्य खुलेको प्रहरीको भनाइ छ । हत्यामा संलग्न मोहन साह नामक युवकलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ भने अर्का एक युवक फरार रहेको बताइएको छ ।
बताइएअनुसार मृतक रुबी गत चैत ३ गते छिमेकी सत्यनारायण साहका छोरा अरुणकुमारसँग भागेकी थिइन् । केटा र केटी दुवै परिवारको संयुक्त पहलमा घर फर्काइएपछि बसेको पञ्चायतले केटा पक्षलाई ५० हजार क्षतिपूर्ति दिर्ने सर्तमा घटना सामसुम पारेको थियो । आफूभन्दा तल्लो जातको केटासँग भागेको घटनाबाट तनावमा रहेका राउतले थप अपमानित हुनुनपरोस् भनेर रुबीलाई दरभंगास्थित फुफूको घर पठाएका थिए । हत्याको योजना गरेर नै उनले त्यसरी छोरीलाई आफन्तकहाँ पठाएका थिए । यसबीच चन्द्रिकाले छोरीको हत्या गर्नका लागि भाडाका हत्यारा खोज्न थाले । हत्याराको बन्दोबस्त भइसकेपछि उनले छोरीलाई दरभंगाबाट सप्तरीको रम्पुरामल्हनियाँस्थित ससुराली ल्याएर राखे । त्यहाँ दुई दिन राखेपछि ‘घर हिँड, म पनि पछि आउँछु’ भन्दै दुईजना अपरिचित युवासँग पठाइदिए । रम्पुरामल्हनियाँबाट रुबीलाई लिएर निस्केका ती दुई अपरिचितले केही घन्टापछि कोसी नदीको पश्चिम तटबन्धछेउ सुनसान ठाउँमा रुबीको घाँटी रेटी हत्या गरिदिए । उनीहरूले रातारात शव कोइलाडी– ९ चट्टीटोलस्थित नहरछेउ ल्याएर आधा जलाएर फालिदिएको प्रहरी भनाइ छ । रुबीको हत्याबापत हत्यारालाई चन्द्रिकाले १५ हजार रुपैयाँ दिएको अनुसन्धानका क्रममा खुलेको छ ।