अमेरिकामा तालिम लिएपछि सबैको हाईहाई

अमेरिकामा तालिम लिएपछि सबैको हाईहाई


-राजन घिमिरे
मोडलिङबाट सिनेमा क्षेत्रमा होमिएकाहरूले खासै बजार तताउन सकेनन् । हुन त, उनीहरूको महत्त्व र उपस्थितिलाई पनि सिनेकर्मीहरूले त्यति वजनदार रूपमा नलिएको पनि हुनसक्छ । केवल सिनेमाको आकर्षण अनि प्रचारप्रसारको माध्यम मात्र बनिरहेका युवा पुस्ताका अनुहारहरूको भीडमा भने निशा अधिकारी अलि फरक र उच्चकोटिको रूपमा प्रस्तुत भएकी छिन् ।
त्यसो त मोडलिङ क्षेत्रमा लाग्दा पनि निशाको ‘वाहवाही’ नै थियो भने त्यसपछि सिनेमाको हिरोइन बन्दा पनि उनमा सिनेकर्मीहरूले राम्रै सम्भावना नदेखेका होइनन् । ‘निशाले राम्ररी बुझेकी छिन् कि मूलधारका सिनेमा र यससँग सम्बन्धितहरूलाई बिर्सिएर नेपाली सिनेमा क्षेत्रमा टिक्न सकिँदैन । यस्तो गहिरो अध्ययन गरेर आएपछि त नटिकिने कुरै भएन,’ निशासँग काम गरेका चलचित्रका निर्देशकको अनुभव हो यो ।
निशासँगै मोडलिङ क्षेत्रमार्फत नै चलचित्र क्षेत्रमा आएकाहरू क्रमश: हराउन थालेका छन्, तर निशा मात्र टिक्नुमा भने नेपाली चलचित्र क्षेत्रप्रतिको उनको र्समर्पणभाव र निरन्तरताको लगाव नै कारण मान्छन् चलचित्रकर्मीहरू । चलचित्र क्षेत्रलाई हतियार बनाएर अन्य क्षेत्रमा लाग्ने मोडलहरूको अगाडि ज्वलन्त उदाहरण बन्न सफल निशा नेपाली चलचित्रमा नै लाग्ने उद्देश्य बोकेकी युवती हुन् भन्ने कुरा अहिले आएर र्छलङ्ग पनि भएको छ । आफैं लाखौँ लगानी गरेर अमेरिकामा निर्देशनसम्बन्धी तालिम सकाएर यसै महिना मात्र नेपाल र्फकनुलाई निशामा नेपाली चलचित्र क्षेत्रतर्फको लगाव स्पष्ट देखिएको छ । कुनै अवसर आउनासाथ विदेशमा नै गएर लुक्ने र जीवन नै उतै बिताउने गलत सोच र उद्देश्य बोकेकाहरूको भीडमा निशा अमेरिकामा गएर निर्देशनसम्बन्धी पढेर फेरि त्यो सीप स्वदेशमा नै लगाउने उद्देश्य बोकेर आउनुलाई उनी यतिबेला समग्र चलचित्र उद्योगमा चर्चाको पात्र बनेकी छिन् ।
चलचित्रको निर्देशनसम्बन्धी ज्ञान हासिल गरेर आए तापनि उनी अहिले केही चलचित्रमा नायिकाको रूपमा काम गरिरहेकी छिन् भने चाँडै निर्देशक पनि बन्दै छिन् ।

रेजिनाको नयाँ चाल
सिनेमा क्षेत्रमा नै जीवन समर्पित गर्ने उद्देश्य भएपछि यो क्षेत्रको अन्य विधामा हात हाल्नुलाई नायिका रेजिना उप्रेती अनौठो ठान्दिनन् । ‘अब त नसा-नसा र पाइला-पाइलामा चलचित्र अनि अभिनय छ । त्यसैले नौलो अनुभव र चलचित्र क्षेत्रसँग आबद्धकै अर्को काम गर्न लागेकी हुँ,’ नायिका रेजिना उप्रेतीले भनिन् ।
करिब एक दशकभन्दा अगाडिदेखि अभिनय यात्रालाई निरन्तरता दिँदै आएकी रेजिना अब सिनेमाकी निर्मात्री हुने भएकी छिन् । उनलाई यसमा साथ दिनेछिन् रेजिनाकै साथी कविता श्रेष्ठले ।
‘म यो चलचित्रमार्फत फरक विधामा मात्र आएकी छैन, मेरो सोच, योजना अनि लक्ष्य पनि यो चलचित्रले निर्धारण गर्नेछ,’ रेजिना भन्छिन् । चलचित्र क्षेत्रमा आफूले कमाएको नाम मात्र नभएर दाम पनि चलचित्र बरदानमा खन्याउन लागेको कुरा बताउने रेजिनालाई सोधियो, ‘चलचित्र बरदान कस्तो हुनेछ त ? ‘ ‘मेरो कुरा गर्ने हो भने म यसमा नितान्त बेग्लै भूमिकामा हुनेछु । विगतका अरूको चलचित्रको जस्तै रोलमा आएँ भने दर्शकहरूमाथि मैले अन्याय गरेको ठहरिन्छ । त्यसैले समग्र चलचित्र नै फरक धारमा बन्नेछ ।’ शोभित बस्नेतले रेजिनाको चलचित्रलाई निर्देशन गर्नेछन् भने राजेश हमाल, करिश्मा मानन्धर र मुकेश ढकाललगायतका कलाकाहरूले अभिनय गर्न मञ्जुरी दिइसकेका छन् । ‘मैले जो-जसलाई अफर गरेँ ती सबैले एकै वचनमा नै हुन्छ भनिदिनुभएको छ । त्यसैले पनि सिनेमा निर्माणतर्फ हौसला, जाँगर र उत्साह थपिएको छ,’ रेजिना दङ्ग छिन् ।
अभिनय क्षेत्रमा त रेजिनाले आफ्नो स्थान जमाइसकिन् अब निर्माण क्षेत्रमा पनि लागेर व्यावसायिक रूपमा नै चलचित्र निर्माणलाई निरन्तरता दिने नयाँ चालका साथ अगाडि बढेकी उनलाई सफलता भने कत्तिको हात लाग्ने हो ? त्यो भने हेर्न बाँकी नै छ ।

निर्देशकले हप्काए नायिकालाई
यो साता एउटा सिनेमाकी हिरोइनले त्यसै सिनेमाका निर्देशकको निकै हप्की खानुपर्यो । हप्काउने निर्देशक थिए ऋषि लामिछाने अनि हप्की खाने नायिका थिइन् नीता ढुङ्गाना ।
हुन पनि हो । चलचित्रको शुभसाइत समारोहमा अरूहरूलाई डेढ घन्टादेखि कुराएर आफैं ढिला आएपछि निर्देशकको पारो नचढ्ने त कुरै भएन । यस्तै भयो निर्देशक ऋषि लामिछानेलाई पनि । मुहर्ूतका लागि सबै कुरा तयार भएको डेढ घन्टापछि टुप्लुक्क देखापरिन् नीता । चलचित्र हाम्रो माया जुनी-जुनीलाईको त्यस शुभसाइत समारोहमा कुर्दा-कुर्दा हैरान भएका चलचित्रकर्मीहरू भन्दै थिए, ‘राजेश हमाललाई पनि यति धेरै कुरिएको थिएन । नीता त राजेश हमालभन्दा पनि ठूली पो रहिछिन् ।’ नीताका बारेमा यीबाहेक थुप्रै चर्चाहरू चले ।
डेढ घन्टापछि समारोहमा नीलो कुर्तामा आएकी नीतालाई जब निर्देशक ऋषिले स्टेजमा बोलाए तर उनी कड्किहाले । ‘मुहूर्तमा त ढिला आउनु भो अब सुटिङचाहिँ ढिला नआउनु नि । मलाई आफ्नो काममा बेवास्ता गरेका कुनै पनि कलाकार मन पर्दैन ।’ ऋषिले यति मात्र के भनेका थिए स्टेजमा नै रहेका खलनायक सुनील थापा खलनायकी पारामा नै बोल्न थालिहाले, ‘नीता ढिला आइन् भनेर सबै कलाकार कहाँ ढिला आउँछन् र भन्या । सबैलाई गाली गर्न मिलेन नि ।’ एकछिन त प्रदीप उदयको निर्माण रहेको चलचित्र हाम्रो माया जुनी-जुनीलाईको शुभसाइत समारोह रमाइलो नै भयो भनाभनको वातावरणबाट । अनि नीताको बोल्ने पालो आयो । ‘म माफी माग्छु । सुटिङमा कहिले ढिला आउने छैन, यस्तै भयो,’ उनको स्पष्टीकरण थियो ।