पशुपालक किसानका बीच झडप हुँदा मालीमा ३२ को मृत्यु

पशुपालक किसानका बीच झडप हुँदा मालीमा ३२ को मृत्यु


मालीमा भएको आपसी झडपको घटनामा परेर कम्तीमा ३२ जना आमनागरिक मारिएका छन् । घटनाका कारण अरु दश जना बेपत्ता भएको त्यहाँका सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै एएफपीले जानकारी दिएको छ ।

मालीको मध्य क्षेत्रमा भएको सो घटनामा स्थानीय आदिवासी शिकारीहरूको आक्रमणमा परेर त्यतिका मानिस मारिएका हुन् । मोप्टी क्षेत्रमा पर्ने कौमाङ गाउँमा डोगोन आदिवासी समूहको सशस्त्र डोजो शिकारी समूहले आक्रमण गरेको आशंका गरिएको छ । मारिनेमा केही बालबालिका सहित पशुपालक किसानहरु पनि रहेका छन् ।

स्थानीय तविताल पुलाकु एसोसिएसनका अध्यक्ष अब्दुल अजिज डिआलोले बताएअनुसार उनीहरूले चारैतिरबाट गाँउलाई घेरे, रक्तपातपूर्ण तरिकाले कम्तीमा ३२ नागरिक मारिए । घटनामा परी अरु दश जना बेपत्ता भएको पनि उनले जानकारी दिएका छन् ।

मालीको रक्षा मन्त्रालयले भने पछिल्लो आक्रमणका बारेमा अहिले सम्म केही पुष्टी गरेको छैन । पछिल्लो तीन वर्षमा मध्य माली क्षेत्रमा हिंसात्मक घटना बढ्दै गएका छन् । फुलानी पशुपालक र बाम्बारा डोजोङ किसानहरूबीचमा डोजोन ल्याण्डमा झगडा हुँदै आएको छ ।