साउदीका महिलाले पाए सवारी हाँक्ने अधिकार

साउदीका महिलाले पाए सवारी हाँक्ने अधिकार


साउदी अरबका महिलाले आफैँ सवारीसाधन हाँक्न पाउने भएपछि आइतबार खुसी मनाएका छन् । शनिबार मध्यरातमा शाही घोषणामार्फत महिलालाई पनि सवारीसाधन चलाउन पाउने अधिकार दिइएको हो । यो घोषणापछि साउदी अरेबिया र उनीहरूसँगै विश्वभरकै महिलाले खुसी व्यक्त गरेका प्राप्त समाचारमा जनाइएको छ ।

महिलालाई सवारीसाधन चलाउन अहिलेसम्म बन्देज लगाउनेमा विश्वको एउटा मात्र मुलुक साउदी अरब बाँकी थियो । साउदी अरबमा पनि महिलालाई सवारीसाधन लगाउन पाउने व्यवस्थालाई धेरैले एउटा महत्वपूर्ण घटनाको रूपमा लिएका छन् ।

साउदी अरबका युवराज मोहम्मद बिन सल्मानले यहाँका महिलाले सवारी चलाउन नपाउने कानुनलाई रुढीवादी संस्कार भन्दै आफ्नो मुलुकलाई पनि आधुनिकतातर्फ लान यस्तो कदम चालेको बताए ।

सवारीसाधन चलाउने अनुमति पाएसँगै राजधानी रियादसहितका प्रमुख शहरमा महिलाले बिहानैदेखि सवारीसाधन चलाउन थालेका छन् ।

‘मलाई यो दिन आउँछ भन्ने पहिले नै थाहा थियो, तर सोचेभन्दा केही चाँडो आयो,’ कार्यक्रम सञ्चालक तथा लेखक समर अल्मोग्रेनले भने, ‘मैले यो व्यवस्थासँगै आकाशमा उड्ने चराजस्तै निकै ठूलो स्वतन्त्रताको महसुस गरेको छु ।’

साउदी अरबका युवराज मोहम्मद बिन सल्मानले यहाँका महिलाले सवारी चलाउन नपाउने कानुनलाई रुढीवादी संस्कार भन्दै आफ्नो मुलुकलाई पनि आधुनिकतातर्फ लान यस्तो कदम चालेको बताए ।

झन्डै ३० लाख महिलाले नयाँ स्वतन्त्रताको उपभोग गर्ने अपेक्षा गरिएको छ । यहाँ यसै महिनाको शुरुमा पहिलोपटक महिलाको नाममा सवारीचालक अनुमतिपत्र जारी गरिएको थियो ।

महिलालाई सवारी चलाउन दिने घोषणा भने अघिल्लो सेप्टेम्बरमा नै गरिएको थियो । त्यसपछि यहाँका महिलालाई सवारी अनुमतिपत्रका लागि तालिम दिने क्रम शुरु गरिएको थियो ।

महिलाले सवारीसाधन चलाउन पाउनुपर्ने मागसहित अधिकारवादीहरूले लामो समयदेखि साउदीमा अभियान चलाइरहेका थिए ।

अनुमति नभएको समयमा पनि महिलाले सवारी चलाएको भन्दै सन् १९९० मा साउदी अरेबियाको शहर रियादबाट दर्जनौँ महिला पक्राउ परेका थिए ।

साउदीको विद्यमान कानुनअनुसार यहाँ पुरुषले मात्र सवारीचालक अनुमतिपत्र पाउने गरेका थिए । सो कानुनमा संशोधन गरी युवराजले नै आदेश दिएपछि महिलाले यो अधिकार प्राप्त गरेका हुन् ।

नयाँ अधिकार पाएसँगै कैयौँ महिलाले सवारीसाधन चलाउने तालिम लिएका र सवारीचालक अनुमतिपत्र लिएका समाचारमा जनाइएको छ ।

संयुक्त राज्य अमेरिकालगायत विश्वका अन्य देशले महिलालाई पनि गाडी चलाउन दिने साउदी राजाको आदेशको स्वागत गरेका छन् ।

उनीहरूले राजाको यो कदमले साउदी अरेबियाका महिलाले केही मात्रामा भए पनि अधिकार प्राप्त गरेका तर्क दिएका पनि विश्वका विभिन्न देशका महिला अधिकारकर्मी तथा संघसंस्थाले जनाएका छन् ।

एएफपी