पन्तलाई मिल्यो रेग्मीको कडा जवाफ

पन्तलाई मिल्यो रेग्मीको कडा जवाफ


36khilraj-regmiहतपति प्रतिक्रिया नजनाउने खिलराज रेग्मीले गत आइतबार दलका नेताहरूलाई कडै जवाफ फर्काउनुभयो । प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार चारपक्षीय संयन्त्रका प्रतिनिधि नेता तथा मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीबीच निर्वाचन ऐन तथा चुनाव मितिको घोषणाका विषयलाई लिएर छलफल चल्दै थियो । राजनीतिक दलका नेताहरू सरकारप्रति अलिक कठोर र नकारात्मक ढङ्गले प्रस्तुत हुँदै थिए । रेग्मीचाहिँ दलहरूले चाँडो निकास दिनुप-यो, सरकारको आलोचना मात्र गरेर हुँदैन भन्दै हुनुहुन्थ्यो । त्यसैबीच एक सन्दर्भमा एमाले नेता रघुजी पन्तले झोक्किएर तपाईंले राजीनामा दिनुप-यो माओवादीसहितका दलहरू पनि निर्वाचनमा भाग लिन आउँछन् भन्नुभयो ।
पन्तका कुरा सुन्नेबित्तिकै रेग्मी कड्किनुभयो । उहाँले रघुजी पन्तलाई औँल्याउँदै भन्नुभयो, ‘मैले राजीनामा दिने–नदिने तपाईंले बोल्ने कुरा होइन, तपाईं सरकार गठनदेखिको प्रोसेसमा हुनुहुन्नथ्यो, तपाईंलाई केही थाहा छैन, आफूलाई थाहा नभएको विषयमा तपाईं नबोल्नु राम्रो हुन्छ ।’ यसरी रेग्मीबाट कडा जवाफ फर्केपछि पन्त केही थप बोल्ने प्रयास गर्दै हुनुहुन्थ्यो बैठकका अन्य सहभागीहरूले रोक लगाए ।

द्रुतमार्गविरुद्ध सुरुङमार्गीहरू सक्रिय
सरकारले काठमाडौं, हेटौँडा सुरुङमार्ग बनाउन एक निजी कम्पनीलाई अनुमति दिएलगत्तै निजगढ–काठमाडौं दु्रतमार्गमाथि ‘आक्रमण’ सुरु भएको छ । उच्च राजनीतिक पहुँचका आधारमा सुरुङमार्ग निर्माणको अनुमति पाएपछि दु्रतमार्ग तत्काल सम्पन्न हुन नदिन उनीहरू भित्रभित्रै सक्रिय हुन थालेका छन् । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने योजनासँगै सरकारले द्रुतमार्ग निर्माणलाई द्रुतगतिमा अघि बढाएको छ । यसक्रममा सरकारले नेपाली सेनाको सहयोगमा ट्रयाक खोल्ने काम सम्पन्न गरिसकेको छ भने राज्यले यसका लागि करिब दुई खर्ब रुपैयाँ खर्च पनि गरिसकेको छ । तर, द्रुतमार्ग बनेमा सुरुङमार्गबाट सवारीसाधनहरूको आवागमन कमी हुने र सवारीसाधनहरूको आवागमन कम भएमा लागत खर्च नउठ्ने तथा आयोजना घाटामा जाने भएकाले सुरुङमार्गका अभियन्ताहरू दु्रतमार्ग बन्न नदिन कस्सिएका हुन् ।
स्मरणीय छ, द्रुतमार्गबाट चल्ने ठूला सवारीसाधनले करिब तीन सयको हाराहारीमा शुल्क बुझाउनुपर्ने हुन्छ भने सुरुङमार्गबाट जाँदा तीन हजारभन्दा बढी रकम तिर्नुपर्ने हुन्छ । त्यसैले देशको मुख्य नाका वीरगञ्ज तथा पूर्वतिरबाट आउने सवारीसाधनले सुरुङमार्ग प्रयोग नगरी द्रुतमार्ग पछ्याउने भएकाले सुरुङवालाहरू अहिले द्रुतमार्ग निर्माणमा अवरोध सिर्जना गर्न लागिपरेको बताइन्छ । थम्सन एजेन्ट एवम् नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष कुशकुमार जोशीले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवालगायतका नेताहरूलाई मिलाएर हेटौँडा सुरुङमार्ग बनाउने जिम्मा बिनाटेन्डर आपसी सम्झौताको आधारमा जिम्मेवारी पाएका छन् । सुरुङमार्ग बनाउने जिम्मेवारी पाएसँगै
उनले द्रुतमार्ग निर्माणकार्य रोक्न विभिन्न यन्त्रहरू प्रयोग गरिरहेका छन् ।
द्रुतमार्गबाट काठमाडौंदेखि तराईको यात्रा डेढ घन्टामै पूरा गर्न सकिन्छ । समय र खर्च दुवैको बचत हुने र सुरुङमार्गभन्दा यो निकै राम्रो हुने भएकाले पनि सबैको ध्यान यतै आकर्षित हुने निश्चित छ । त्यसैले पनि सुरुङका अभियन्ताहरू द्रुतमार्ग निर्माण कार्य रोक्न लागिपरेका हुन् । राष्ट्रको गौरवको रूपमा लिइएको चार लेनको फराकिलो काठमाडौं–तराई द्रुतमार्ग जम्मा ७६ किलोमिटर मात्र लामोे छ । नेपाली सेनाले साढे तीन वर्ष लगाएर काठमाडौं–तराई दु्रत सडकको ट्रयाक खोली पहिलो चरणको काम सम्पन्न गरिसकेको छ ।
सरकारी योजनाअनुसारै काम भएमा अबको साढे चार वर्षमा बाटो तयार हुनेछ । ट्रयाक खोल्न चार अर्ब रुपैयाँ लागत अनुमान गरिएको भए पनि सेनाले जम्मा एक अर्बको हाराहारीमा काम सकेको छ । फास्टट्रयाक पूर्ण रूपमा बन्नका लागि ७० अर्ब खर्च लाग्ने बताइन्छ । तर, नेपाली सेनाले गरेको कामको गति तथा खर्चमा निर्माणकार्य सुरु गरे त्यसभन्दा निकै काम रकममा काम सम्पन्न हुनेछ । सरकारले निजी साझेदारीको अवधारणाअनुसार फास्टट्रयाक बनाउन निजी कम्पनी छान्ने प्रक्रिया अघि बढाइसकेको छ । तर, सुरुङका अभियन्ताहरू यसलाई रोक्न लागिपरेका छन् । कम्पनी छान्ने प्रक्रिया छिटो सम्पन्न भए सुरुङमार्गभन्दा फास्टट्रयाक छिटो बन्ने भएकाले निर्धारित समयभन्दा कम्तीमा तीनदेखि पाँच वर्ष ढिलो निर्माण होस् भन्ने चाहना छ उनीहरूको । किनकि यसबीचमा आफ्नो लगानी उठाइसक्ने सुरुङमार्गका अभियन्ताहरूको विश्वास छ ।
द्रुतमार्ग समयमै निर्माणका लागि बोलपत्र पेस गर्ने समय थप गर्न लगाउने, समयमा बोलपत्र नखोल्ने, सरकारी निकायबाट गरिनुपर्ने तयारी समयमा हुन नदिनेजस्ता कार्य गरी फास्टट्रयाक निर्माणकार्य ढिलो गराउन उद्योगी कुशकुमार जोशी, निर्माण व्यवसायसम्बद्ध अधिकारीहरू सक्रिय रूपमा लागिपरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार सुरुङमार्ग निर्माण गर्ने अनुमति पाएलगत्तै फास्टट्रयाकको कुरा सेलाउँदै गएको छ । स्रोतका अनुसार फास्टट्रयाक निर्माणकार्य ढिलो गराउन जोशीलगायतका समूहले ठूला दलका उच्च नेताहरूसँग वरिष्ठ सरकारी अधिकारीहरूलाई आफ्नो मायाजालमा पार्न कस्सिएर लागिपरेका छन् । त्यसका लागि उनले राम्रो रकमको समेत अफर गरेका छन् । मन्त्रालयका ती अधिकारीले थपे, ‘सरकारी अधिकारी तथा दलका नेताहरूलाई आफ्नो वशमा पारेर ठूला–ठूला काम गर्न सफल जोशीले द्रुतमार्ग कार्यलाई पनि रोक्न सक्ने ठूलो सम्भावना छ । तर, मन्त्रालयका सचिवले काठमाडौं–तराई द्रुतमार्गको निर्माण पनि सँगसँगै अघि बढ्ने बताए । उनले भने, ‘केही प्राविधिक समस्याका कारण भनेअनुसार काम अघि बढेको छैन, तर, छिट्टै बढ्छ ।’ उनले भने, ‘सुरुङ मार्ग र फास्टट्रयाक बनाउने काम सँगसँगैजस्तो सक्ने अनुमान गरिएको छ ।’
यसैगरी नेपाल पूर्वधार विकास कम्पनीका अध्यक्ष जोशीले सुरुङमार्ग बनाउन कठिन भए पनि समयमै काम सक्ने र आफूहरूको ध्यान मात्र सुरुङमार्गमा भएको बताए । उनले भने, ‘कसले के भन्छ भन्दा पनि हाम्रो ध्यान सुरुङमार्ग निर्माणकार्य कति छोटो समयमै सम्पन्न गर्न सक्छौँ भन्नेमा केन्द्रित छ ।’ ‘फास्टट्रयाक निर्माणकार्य पनि छिटो निर्माण होस् भन्ने पक्षमा आफूहरू रहेको भन्दै उनले थपे, ‘हामी सफल आयोजना निर्माणमा जुटेका छौँ, त्यसैले कुरा काट्नेहरू बढेको हुन सक्छन्, हामीलाई तिनको वास्ता छैन ।’ करिब ३४ अर्ब लगानीमा चार वर्षभित्र निर्माण गरिसक्ने लक्ष्य लिइएको सुरुङमार्ग निर्माण कम्पनीले निर्माणकार्य सुरु गरेको मितिले ३० वर्षसम्म सञ्चालन गर्न पाउँछ । त्यसबीचमा सङ्कलन भएको सबै रकम निर्माण कम्पनीले नै लिनेछ ।

वाम पृष्ठभूमिका व्यक्तिलाई काङ्गे्रसमा उपेक्षा
पञ्चायतबाट आउनेलाई उच्च जिम्मेवारी

देशको प्रजातान्त्रिक आन्दोलनको मूल प्रवाह बनेको नेपाली काङ्गे्रस मुलुकका सबै प्रजातन्त्रवादीहरूको आस्था र भरोसाको केन्द्र बन्नेमा आशङ्का उत्पन्न भएको छ । प्रजातन्त्रका निम्ति इतिहासमा अविष्मरणीय योगदान पु-याएको र भविष्यमा पनि प्रजातान्त्रिक आन्दोलनको नेतृत्वदायी भूमिकामा रहने विश्वास गरी पञ्चायती र वामपन्थी पृष्ठभूमिका कैयन व्यक्तिले आफूलाई काङ्गे्रसमा समाहित गरेका थिए, अझै गर्दै छन् । तर, काङ्गे्रस नेतृत्वको व्यवहार भने कसैलाई काखा र कसैलाई पाखा लगाउने प्रकारको देखिएको छ । खासगरी पञ्चायतकालमा वामपन्थी आन्दोलनमा रहेका तर आफूलाई सच्याउँदै प्रजातन्त्रका निम्ति काङ्गे्रसमा समाहित गर्नेहरूका प्रति पार्टी नेतृत्वको व्यवहार दूराग्रहपूर्ण रहने गरेको छ । ०४६ सालको राजनीतिक परिवर्तनपश्चात् अनेकौँ वामपन्थी पृष्ठभूमिका व्यक्तिहरू काङ्गे्रस पार्टीमार्फत देशको सेवा गर्ने आकाङ्क्षा राखेर पार्टीमा प्रवेश गरेका थिए । भीमबहादुर श्रेष्ठ, केशरमणि पोखरेल, मोहन चापागाईं, बोधराज काफ्ले, ताराबहादुर कोइराला, धु्रव श्रेष्ठ, तारानाथ दाहाल, शम्भु धमला (धनकुटा) र चन्द्र महर्जनलगायत वाम पृष्ठभूमिका अनेकौँ व्यक्तिले आफूलाई काङ्गे्रसमा समाहित गरे । यीमध्ये भीमबहादुर श्रेष्ठ र मोहन चापागाईंलाई तत्कालिक राष्ट्रिय सभाको सदस्य बनाइए पनि त्यसपछि उनीहरूलाई कुनै राजनीतिक जिम्मेवारी दिइएन । अहिले उनीहरूको कुनै अत्तोपत्तो छैन । चन्द्र महर्जनलाई ०६४ सालको संविधानसभा निर्वाचनमा ललितपुरको दुई नं. क्षेत्रमा उम्मेदवार बनाइए पनि त्यसभन्दा माथिको जिम्मेवारीका लागि काङ्गे्रसले महर्जनलाई उपयुक्त ठानिरहेको छैन । धु्रव श्रेष्ठ, ताराबहादुर कोइराला, शम्भु धमलालगायतका व्यक्तिहरू अहिले कहाँ कुन भूमिकामा छन्, काङ्गे्रसले तिनको कुनै सरोकार राखिरहेको छैन । वामपन्थी पृष्ठभूमिका राजनीतिकर्मीहरूलाई सौतेनी व्यवहार गरेको महसुस गरेपछि केशरमणि पोखरेल र बोधराज काफ्लेलगायतका नेताहरू भने हालै मात्र एमालेमा फर्किएका छन् । यसरी वाम पृष्ठभूमिका व्यक्तिहरू उपेक्षित भए पनि पञ्चायतबाट काङ्गे्रसमा आउनेहरूलाई भने उच्च महत्व दिइयो । केशरबहादुर विष्टलाई काङ्गे्रस प्रवेश गर्नेबित्तिकै राष्ट्रिय सभाको सदस्य बनाइयो र संसदीय निर्वाचनमा उनलाई उम्मेदवारका रूपमा समेत प्रस्तुत गरियो । त्यति गर्दा पनि विष्ट काङ्गे्रसमा रहन सकेनन् र अन्तत: पञ्चहरूकै पार्टीमा फर्किए । ०४६ सालमा पञ्चायती मन्त्री रहेका केशवकुमार बुढाथोकीलाई काङ्गे्रसले अहिले केन्द्रीय सदस्य बनाएर राखेको छ । पञ्चायतबाट काङ्गे्रसमा आएका शरत्सिंह भण्डारीलाई काङ्गे्रसले संसदीय निर्वाचनमा टिकट मात्र दिएन मन्त्री पनि बनायो । तथापि भण्डारी काङ्गे्रस छोडेर मधेसकेन्द्रित पार्टीको नेता बन्न पुगेका छन् । ०४६ को आन्दोलनमा पञ्चायतद्वारा निर्मित प्रतिकार समितिमा रहेका दिलेन्द्रप्रसाद बडूलाई काङ्गे्रसले पटकपटक मन्त्री बनायो र अहिले उनी पार्टीको केन्द्रीय सदस्यका साथै प्रवक्तासमेत बनाइएका छन् । पदम ठकुराठीलाई काङ्गे्रसमा आउनेबित्तिकै एनआईडीसीको प्रमुख बनाइएको थियो, उनी अहिले काङ्गे्रस छाडेर माओवादी बनेका छन् । टीकाजंग थापालाई काङ्गे्रसमा आएपछि परराष्ट्र अध्ययन प्रतिष्ठानको प्रमुख बनाइएको थियो, औपचारिक शैक्षिक योग्यता नपुगेका करणले मात्र थापाले उक्त जिम्मेवारी परित्याग गर्नुप-यो । त्यस्तै पञ्चायतबाट काङ्गे्रसमा आएका दिलनाथ गिरी, विश्वबन्धु थापा, इन्द्रप्रसाद ढुङ्गेल, चैतन्य सुब्बा, वीरेन्द्र पोखरेलमध्ये अधिकांशले अहिले काङ्गे्रस छोडिसकेका छन् । तर, काङ्गे्रसमा रहँदा उनीहरूलाई पनि पार्टीले उच्च महत्व दिने गर्दथ्यो ।
यतिबेला मुलुक निर्वाचनमा जाने तयारी गर्दै छ र चुनावी माहौल आफ्नो पक्षमा बनाउन विभिन्न पार्टीहरूले कुनै बेला आफूसम्बद्ध रहेका र नरहेकाहरूलाई समेत पार्टीमा ल्याउन अभियान नै चलाइरहेका छन् । तर, काङ्गे्रसले भने निष्क्रिय रहेका या काङ्गे्रस छोडेर बाहिरिएकाहरूलाई पार्टीमा फर्काउन कुनै तत्परता लिएको छैन । अन्य पार्टीबाट आएर लामो समयदेखि काङ्गे्रसमा क्रियाशील व्यक्तिलाई परिचालन गर्न पनि काङ्गे्रस नेतृत्व उदासीन बनेको छ । मुलुकमा वामपन्थीहरूको बिगबिगी रहेका बेला वामपन्थी पार्टीमा लागेका व्यक्तिलाई पार्टी प्रवेश गराउन काङ्गे्रसले विशेष योजना नै बनाउन आवश्यक भइरहेको छ । तर, काङ्गे्रस नेतृत्व नयाँ व्यक्तिलाई पार्टीमा भित्याउन मात्र होइन भित्रिएका नेता कार्यकर्तालाई प्रयोग, उपयोग र परिचालन गर्नसमेत उदासीन रहँदा काङ्गे्रसलाई कुनै न कुनै प्रकारले क्षति पुग्ने हो कि भन्ने आशङ्का बढेको छ ।

उम्मेदवार तोक्दै विद्यार्थी सङ्गठनहरू
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा कुन क्याम्पसबाट कसलाई उम्मेदवार बनाउने भन्ने चिन्ताले काङ्ग्रेस र एमालेका शीर्ष नेताहरूलाई सताएको छ । यही २३ जेठमा गर्न लागिएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावको मिति जति नजिकिँदै गएको छ, त्यति नै चिन्ताले सताउँदै गरेको ती सङ्गठनका नेताहरूले बताउन थालेका छन् । त्यसैअनुसार उनीहरूले स्ववियु सभापतिको टिकटका लागि आ–आफ्नो सङ्गठनभित्रको ‘चलखेल’लाई तीव्रता दिएका छन् । टिके प्रथालाई अङ्गीकार गर्दै आएको एकीकृत माओवादीनिकट विद्यार्थी सङ्गठन अनेरास्ववियु क्रान्तिकारीले भने पार्टीकै सहमतिमा देशभरिका मुख्य क्याम्पसहरूमा आफ्नो अध्यक्ष पदको उम्मेदवारी घोषणा गरिसकेको छ । तर, एमालेनिकट अनेरास्ववियु, काङ्ग्रेसनिकट नेपाल विद्यार्थी सङ्घ र नेकपा–माओवादीनिकट अनेरास्ववियु (क्रान्तिकारी)ले उम्मेदवार छानिरहेका छन् । घोषणा भने गरेका छैनन् । ती सङ्गठनमा अध्यक्षका दाबेदार धेरै देखिएकाले उम्मेदवार छान्न नसकेका हुन् । यद्यपि यी दुवै सङ्गठनले भित्रभित्रै आफ्नो तयारीलाई भने अन्तिम रूप दिएका छन् । अनेरास्ववियुका केन्द्रीय अध्यक्ष माधव ढुङ्गेलका अनुसार राजधानीका केही क्याम्पसमा उम्मेदवार चयन पनि गरिएको छ भने १५ जेठमा उम्मेदवारी घोषणा गरिनेछ ।
स्रोतका अनुसार अनेरास्ववियुले पद्मकन्यामा सम्झना अधिकारी, ग्रामीण आदर्शमा प्रकाश ढकाल, थापाथली इन्जिनियरिङमा पुष्प पौडेल र पब्लिक युथमा खेम मरासिनी, त्रिवि केन्द्रीय क्याम्पसमा सरोज यादव, महेन्द्ररत्न क्याम्पस ताहाचलमा राधिका खतिवडा, आरआर क्याम्पसमा विनोद खनाल, शंकरदेवमा नारायण घर्ती, अमृत साइन्स क्याम्पसमा वीरबहादुर वली, सरस्वती क्याम्पसमा सुदेश पराजुलीलाई अध्यक्षको उम्मेदवार तोक्ने तयारी गरेको छ । त्यस्तै, नेपाल ल क्याम्पसमा बद्रीनारायण नगरकोटी, पाटन संयुक्तमा सुरेश ढकाल, त्रिचन्द्र क्याम्पसमा ऐन महर, नेपाल कमर्श क्याम्पसमा भूपेन्द्र शाह र पशुपति क्याम्पसमा सीता थापालाई सभापति बनाउने तयारी गरेको छ ।
यता नेविसङ्घले भने चुनावका लागि मनोनयन दर्ता गर्ने दिन मात्र उम्मेदवार सार्वजनिक गर्ने योजना बनाएको छ । क्याम्पसमा सक्रिय राजनीति गरिरहेका विद्यार्थी नेताहरूको कामको मूल्याङ्कन गरेर मात्र टिकट दिने नविसङ्घका केन्द्रीय प्रवक्ता यूपी लामिछानेले जानकारी दिए । यसका लागि प्रत्येक क्याम्पसमा केन्द्रीय सदस्यसहितको प्रतिनिधि टोली खटाएर सङ्गठनभित्रको ‘पपुलर’ उम्मेदवारको खोजी गरिरहेको छ । प्रतिनिधि टोलीले गरेको सिफारिसका आधारमा स्ववियु टिकट दिइनेछ । टिकट दिनका लागि सङ्घले अध्यक्ष रञ्जित कर्णको संयोजकत्वमा समिति नै गठन गरेको छ । सङ्घले अध्यक्ष पदका उम्मेदवार धेरै देखिएकाले यस्तो गरिएको बताएको छ ।
यद्यपि सङ्गठनले त्रिभुवन विश्वविद्यालयमा कैलाश कोइराला, त्रिचन्द्र क्याम्पसमा नेविसङ्घ इकाई अध्यक्ष कृष्ण जैशी, शंकरदेव क्याम्पसमा हरिश भण्डारी र तारामान रावलमध्ये एक, महेन्द्ररत्न क्याम्पस ताहाचलमा बखत शाही र झलक कठायतमध्ये एक, विश्वभाषा क्याम्पसमा भीम गौतम र लक्ष्मण गुरागाईंमध्ये एक, रत्नराज्यलक्ष्मी क्याम्पसमा नेविसङ्घ इकाई अध्यक्ष डम्बर जोशी, वाल्मीकिमा नीरज मिश्र, पाटन संयुक्त क्याम्पसमा दीपेन्द्र वान्तवा, ग्रामीण आदर्श क्याम्पसमा सुशील भट्ट, मीनभवन क्याम्पसमा ओमजंग रावल, पद्मकन्या क्याम्पसमा महेश्वरी कुँवर, नेपाल ल क्याम्पसमा अमित थापा, पब्लिक युथमा सञ्जीव न्यौपाने, सरस्वती क्याम्पसमा रेणुका काउछा, पशुपति क्याम्पसमा देवेन्द्र राई, अमृत साइन्स क्याम्पसमा सिजर भट्टलाई सभापतिको टिकट दिने तयारी गरेको छ ।
त्यस्तै, वैद्यनिकट माओवादीले पनि आफ्नो उम्मेदवार तय गरिसकेको छ । उसले पनि दुई दिनभित्र आफ्नो उम्मेदवार सार्वजनिक गर्ने जानकारी दिएको छ । सङ्गठनका अध्यक्ष शरद रसाइलीले केही क्याम्पसबाहेक सबैमा उम्मेदवारी लगभग तय भइसकेको बताए । उनले भने, ‘केही क्याम्पसमा देखिएको आन्तरिक विवादका कारण ढिलाइ भएको हो ।’ स्रोतका अनुसार सङ्गठनले त्रिविमा रमेश अधिकारी, आरआरमा ललित विक, महेन्द्ररत्न ताहाचलमा दिनेश चन्द, अमृत साइन्समा प्रकाश शाही, शंकरदेवमा दीपेन्द्र गौतम, नेपाल ल क्याम्पसमा फणीन्द्र तिमिल्सेना, नेपाल कमर्श क्याम्पसमा मनोज गौतम, पद्वकन्यामा आस्था घिमिरेलाई उम्मेदवारी बनाउने पक्कापक्की गरेको छ । त्रिचन्द्रमा विकास डङ्गोल, पशुपति क्याम्पसमा विनोद गौतम, सानोठिमीमा एकराज रावललाई उम्मेवदारी बनाउनेछ ।
एमाओवादीनिकट अनेरास्ववियु (क्रान्तिकारी)ले भने उम्मेदारको घोषणा गरिसकेको छ । क्रान्तिकारीले त्रिवि केन्द्रीय क्याम्पसम डा. बाबुराम भट्टराईकी छोरी मानुषीलाई उम्मेदवार बनाएको छ । नन्दकिशोर पुनका छोरा दिपेश पुनलाई अमृत साइन्स क्याम्पसको उम्मेदवार बनाएको छ । आरआर क्याम्पसबाट सुरेन्द्र बस्नेत, महेन्द्ररत्न ताहाचलमा धु्रवविक्रम वली, पशुपति क्याम्पसमा इन्द्र भुसाल, पाटनमा हेम मोक्तान, सानोठिमी क्याम्पसमा गणेश बुढाथोकी, थापाथली इन्जिनियरिङ क्याम्पसमा चक्र भट्टलाई अध्यक्षको उम्मेदवार बनाएको छ । पब्लिक युथमा गोविन्द कँडेल, नेपाल ल क्याम्पसमा गणेश पाण्डे, नेपाल कमर्श क्याम्पसमा पवन कार्की, त्रिचन्द्रमा टेकेन्द्र जोशी, शंकरदेव क्याम्पसमा राजेश्वरी सुवेदी, पद्मकन्या क्याम्पसमा अनिता सापकोटा, विश्वभाषा क्याम्पसमा विनायक भट्टराई, वाल्मीकि विद्यापीठमा सन्तोष आचार्य, ग्राामीण आदर्श क्याम्पसमा सम्पूर्ण अधिकारीलाई अध्यक्ष पदको उम्मेदवार बनाएको छ । उसले पहिलो चरणमा राजधानी र देशभरका एक सय ११ क्याम्पसमा उम्मेदवारी घोषणा गरेको छ भने दोस्रो चरणको उम्मेदवारी घोषणा केही दिनमा गर्ने तयारी गरेको छ ।

नारायणकाजीलाई रोके प्रचण्डले
एकीकृत माओवादीका उपाध्यक्ष एवम् पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ (प्रकाश) को चीन भ्रमण स्थगित भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा श्रेष्ठ जेठ ९ गते बिहीबार चीन भ्रमणमा जाने कार्यक्रम तय भएको थियो ।
उहाँको भ्रमणलाई कूटनीतिक क्षेत्रले अर्थपूर्ण रूपमा लिएको थियो । भारतको अनुमति लिएर चीन भ्रमणमा गएका प्रचण्डले चीनको अनुमतिमा भारतको भ्रमण त गरे, तर भारत भ्रमणलाई लिएर चिनियाँ पक्षमा उत्पन्न हुने आशङ्का मेट्न प्रचण्डले कसै न कसैलाई चीन पठाउनुपर्ने हुन्थ्यो । नेता नारायणकाजी श्रेष्ठलाई उपयोग गर्दै चीनलाई आश्वस्त पार्ने योजना प्रचण्डले बनाएका थिए, तर त्यसका लागि श्रेष्ठको भ्रमण गोप्य रूपमा हुन आवश्यक थियो, जुन सम्भव हुन सकेन । श्रेष्ठले चीनको भ्रमण गर्न लाग्नुभएको समाचार अखबार (घटना र विचार) मार्फत सार्वजनिक भइदियो । त्यसरी उपाध्यक्ष नारायणकाजीको चीन भ्रमण हुन लागेको तथ्य बाहिर आउनेबित्तिकै विभिन्न शक्तिकेन्द्रहरूले प्रचण्डको नियतमाथि प्रश्न उठाउन थाले । श्रेष्ठ चाइना जानुभएमा गम्भीर आशङ्का उत्पन्न हुने र छिमेकी मुलुक भारतसँग बन्दै गरेको विश्वास भताभुङ्ग हुन सक्ने देखिएपछि प्रचण्डले नारायणकाजी श्रेष्ठलाई चीन भ्रमणमा जानबाट रोक लगाएको बुझिएको छ । प्रचण्डले विभिन्न शक्तिकेन्द्रसमक्ष नारायणकाजी श्रेष्ठलाई चीन भ्रमणमा जानबाट आफूले रोक लगाएको बताउने गरेका छन् । यसरी प्रचण्ड आफ्नो साख जोगाउन सक्रिय त भए तर नारायकाजी श्रेष्ठ चीनको भ्रमणमा नजाँदैमा भारतले प्रचण्डलाई कति विश्वास गर्न सक्ला यो प्रश्न भने कूटनीतिक क्षेत्रमा फेरि पनि उठिरहेको छ ।

आफ्नाबाटै सभापतिलाई सकस
विभागहरूको गठनपछि काङ्गे्रसभित्र प्रकट भएको असन्तुष्टिको चाप अझै मत्थर भएको छैन । विभागीय प्रमुखहरूको समेत जानकारीबिना विभागमा सदस्यहरूको चयन भएपछि कतिपय विभागप्रमुखहरूले बैठकसमेत नबोलाउने भएका छन् । ४२ वटा विभागमा कुल आठ सय ४० सदस्यको मनोनयन भएकोमा ९१ जना काठमाडौंबाट मात्र परेका छन् भने कञ्चनपुरबाट २६, लमजुङबाट २२, संखुवासभाबाट १५ र डडेलधुराबाट १३ जना परेका छन् । डडेलधुराका १३ मध्ये शेरबहादुर देउवासमर्थक तीन र देउवाका विरोधीहरू १० जना रहेको बताइन्छ । विभाग गठनका लागि सम्बन्धित विभागका प्रमुखहरूले निश्चित क्राइटेरियाका आधारमा पार्टी सभापतिसमक्ष नामावली प्रस्ततु गरेका थिए । तर, सभापति सुशील कोइरालालाई समेत जानकारी नदिई दिलेन्द्रप्रसाद बडू, दिलबहादुर घर्ती र गोपाल पहाडीले सिफारिसमा परेका नाम काटी आफ्ना आसेपासेहरूको नाम राखेर विभाग गठन गरिएको सूचना सार्वजनिक गरेका थिए । विभाग गठनले स्वयम् कोइरालाका समर्थकहरूसमेत असन्तुष्ट बन्न पुगेका छन् भने शेरबहादुर देउवा र उहाँका समर्थकहरूले यसमा कडा असहमति जनाएका छन् । सभापति कोइरालाका सहयोगी लक्ष्मण ढकालले विभाग गठनमा भएको त्रुटिलाई लिएर गम्भीर असन्तुष्टि प्रकट गर्दै सभापतिलाई असफल पार्ने षड्यन्त्रको रूपमा टिप्पणी गर्नुभएको छ । ढकालले सभापति कोइरालालाई वास्तविकता स्पष्ट रूपमा राखिदिनुभएपछि कोइराला गम्भीर बन्नुभएको र त्रुटि सच्याउन तयार हुनुभएको बुझिएको छ । यसरी आफूहरूले बनाएको विभाग विवादमा आएपछि दिलेन्द्र बडू, दिलबहादुर घर्ती र गोपाल पहाडीलगायतले लक्ष्मण ढकाललाई हटाउन कसरत सुरु गरेका छन् । सुशील कोइरालाको सफलतालाई मात्र आफ्नो सफलता ठान्ने लक्ष्मण ढकालले अड्चन पु-याएका कारण सुशीलको नाममा रजाइँ गर्न चाहनेहरू ढकालसँग क्रूद्ध भएका छन् । ढकाललाई हटाउन सकेमा सुशील कोइराला सम्पूर्ण रूपमा आफ्नो कब्जामा पर्नुहुने र त्यसो भएमा आफूहरूको राजनीतिक भविष्य उज्यालो हुने विश्वास उनीहरूले गरेका छन् । उनीहरूले सभापति कोइरालालाई हाल बसिरहनुभएको घरबाट डा. शशांक कोइरालाको घरमा सार्दा लक्ष्मण ढकालले छुट्टी पाउने ठहर गर्दै कोइरालालाई घर सार्ने प्रयास गरिरहेका छन् । तर, सभापति कोइराला तत्काल बसेको ठाउँ छोड्ने पक्षमा नरहनुभएको बताइन्छ । नेता डा. शेखर कोइराला र नेतृ सुजता कोइराला पनि सभापतिको निवासस्थान परिवर्तन गर्ने कुराको विपक्षमा रहनुभएको छ । तथापि एउटा पक्ष जसरी भए पनि सभापतिको बास परिवर्तन गराइछाड्न दृढ रहेकाले तत्काल यो प्रकरण सेलाउने देखिएको छैन । सभापति कोइराला केही साताभित्रै जिब्रोको उपचारका निम्ति अमेरिका जाने हुनुभएको छ । उहाँ उपचारबाट स्वदेश फर्कनुभएपछि सोझै डा. शशांक कोइरालाको निवासमा गएर बस्ने प्रबन्ध एउटा पक्षले मिलाउन लागेको छ ।
कमजोर स्वास्थ्यस्थितिका बाबजुद सभापति सुशील कोइराला विभिन्न जिल्लाको भ्रमणमा गइरहनुभएको छ । विभाग र बासका कारण थपिएको तनावले कोइरालालाई दु:खी तुल्याएको बताइन्छ । विभाग गठनमा भएको त्रुटि सच्याउन कोइराला तयार हुनुभए पनि बासबारे उहाँले के निर्णय लिनुहुने हो सोको सङ्केत भने पाउन सकिएको छैन ।

नेपालीको हितमा भारत : जयन्त
नेपालका लागि भारतीय राजदूत जयन्त प्रसादले नेपालको उन्नति–प्रगतिमा सदा भारतको साथ रहने बताउनुभएको छ । एक छिमेकी मित्रका नाताले हामी नेपाल र नेपालीको उत्तरोत्तर प्रगतिको चाहना गर्दछौँ भन्दै राजदूत जयन्तले भारतमा पनि नेपालीभाषीहरूलाई सम्मानपूर्ण स्थिति रहेको स्पष्ट गर्नुभयो । उहाँको भनाइ थियो, ‘नेपालीभाषी राज्य सिक्किम भारतको पाँचौँ धनी प्रान्त हो । भारतमा सरकारी सेवाको कुनै पनि विधामा प्रवेशका लागि परीक्षा दिन चाहनेहरूले नेपाली भाषालाई माध्यम बनाउन सक्छन् । कुनै पनि राज्यमा घरजग्गा खरिद गर्ने र बसोबास गर्ने छुट नेपालीलाई छ । भारतमा पचास लाखभन्द बढी नेपाली रोजगारीका निम्ति बसिरहेका छन् र नेपालको रेमिट्यान्सको सबभन्दा ठूलो स्रोत पनि भारत नै बनेको छ ।’
उहाँले नेपालको आर्थिक तथा पूर्वाधार विकासमा भारतको ठूलो योगदान रहेको चर्चा गर्दै भन्नुभयो, ‘हामीले स्कुल–कलेजका भवन, अस्पताल, खानेपानी, साना जलविद्युत्, सडकलगायतमा सहयोग गरेका छौँ, तर हामीले जे–जति काम गरेका छौँ ती एनजीओ या आईएनजीओमार्फत नभई नेपाल सरकारमार्फत नै भएका छन् ।’ राजदूत जयन्तले मध्यपहाडी तथा पहाडी क्षेत्रमा हामीले गरेको सहयोगको पूर्ण सदुपयोग भएको र कामको गुणस्तरसमेत राम्रो रहेको महसुस गरेको भन्दै अगाडि भन्नुभयो, ‘पहाडको तुलनामा तराईमा भएको काममा गुणस्तर तथा त्यसको रेखदेख, सञ्चालन र परिचालनमा केही भिन्नता पाइएको छ । पहाडमा विकास कार्यमा मानिसको उत्साहजनक सहभागिता, जिम्मेवारीबोध र गुणस्तरीय काम गर्नुपर्छ भन्ने भावना प्रशंसनीय छ ।’
गत बुधबार केही सम्पादकहरूसँगको दिवाभोजका अवसरमा राजदूत जयन्त प्रसादले उपरोक्त विचार व्यक्त गर्नुभएको हो । भारतीय राजदूतावासका पे्रस तथा सूचनाप्रमुख अभयकुमार सिंहद्वारा आयोजित दिवाभोजमा राजदूत जयन्तको विशेष उपस्थिति थियो । दिवाभोजमा सम्पादकहरू केशव पौडेल, गोपाल बुढाथोकी, निरोधराज पाण्डे, नीमकान्त पाण्डे, शम्भु श्रेष्ठ, देवप्रकाश त्रिपाठी, किरण नेपाल, परशु घिमिरे, प्रशान्त अर्याल, राजेश अहिराज, कविर रणा, शिरीष बल्लभ प्रधानलगायतको सहभागिता थियो ।
सो अवसरमा राजदूत जयन्त प्रसादले पत्रकारहरूको विभिन्न प्रश्नहरूको जवाफ दिनुभएको थियो । उहाँले नेपाल–भारतबीचको शदियौँ पुरानो सम्बन्धलाई अझै मित्रवत् एवम् सुदृढ तुल्याउन पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका हुने विचार प्रकट गर्दै भन्नुभयो, ‘हामी नेपाल र नेपालीको हितका निम्ति जुनसुकै सहयोग गर्न तत्पर छौँ ।’

पत्रकारहरू पुरस्कृत
नेपाल सरकारद्वारा दिइने राष्ट्रिय पत्रकारिता पुरस्कार तथा वरिष्ठ पत्रकार सम्मान पुरस्कार मंगलबार सूचना तथा सञ्चार मन्त्रालयमा आयोजित एक समारोहमा हस्तान्तरण गरियो । रु. दुई लाखको राष्ट्रिय पत्रकारिता पुरष्कार बुटवलको रेडियो मुक्ति र रेडियो दिदीबहिनी पर्वतलाई संयुक्त रूपमा दिइएको छ भने जनही दुई लाख रुपैयाँ नगदसहित वरिष्ठ पत्रकार सम्मानबाट पत्रकारहरू गोपाल बुढाथोकी, देवप्रकाश त्रिपाठी र नरेन्द्रजंग पिटर सम्मानित गरिनुभएको छ । उहाँहरूलाई सूचना तथा सञ्चारमन्त्री माधव पौडेल र सचिव ध्रुवप्रसाद शर्माले दोसल्ला ओढाउँदै ताम्रपत्रका साथ रु. दुई लाख दरका चेक उपलब्ध गराउनुभएको थियो । समारोहमा पुरस्कृत एवम् सम्मानित व्यक्तिहरू, नेपाल पत्रकार महासङ्घका सभापति शिव गाउँले, पत्रकारत्रय कुन्द दीक्षित, यशोदा तिमिल्सिना र मनऋषि धितालले मन्तव्य प्रकट गर्नुभएको थियो । प्रमुख अतिथि मन्त्री माधव पौडेलले उक्त समारोहमा आफ्नो कार्यकालमा वरिष्ठ पत्रकारहरूलाई सम्मान गर्न पाएकोमा गौरवान्वित भएको विचार व्यक्त गर्नुभएको थियो । समारोहको सञ्चालन गर्दै सचिव सुशील ओझाले अबदेखि हरेक वर्षको जेठ १४ गते यसप्रकारको समारोह आयोजना गरी पुरस्कार दिइने निर्णय भएको जानकारी गराउनुभएको थियो ।

किन भेटेनन् प्रचण्डले प्रवासीलाई ?
भारत प्रवासमा रहेका सङ्घसंस्थाका टोलीलाई भेट्न प्रचण्डले अस्वीकार गरेका छन् । राष्ट्रपति डा. रामवरण यादव, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती, नेपाली काङ्ग्रेसका सभापति सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल, नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरण र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई भेटी १२बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको प्रतिनिधिमण्डललाई भेट्न अस्वीकार गर्नु भारत भ्रमणमा रहँदा ती सङ्घसंस्थाले गरेको भोज बहिष्कार एक मात्र कारण हो ।
भारत जाँदा राजदूतावासको खर्चमा भोज गर्न लगाएपछि असन्तुष्ट प्रवासी नेपालीसम्बद्ध प्रमुख सङ्घसंस्थाहरूले बहिष्कार गरेका थिए । नेपाली काङ्ग्रेस निकट नेपाली जनसम्पर्क समिति, नेकपा एमालेनिकट प्रवासी नेपाली सङ्घ भारत र राष्ट्रिय जनमोर्चानिकट मूलप्रवाह अखिल भारत नेपाली एकता समाजले राज्यको ढुकुटी दुरुपयोग भन्दै बहिष्कार र विरोध गरेको थियो । दूतावासका कर्मचारीहरूले देशबाटै उच्च कर्मचारी तहबाट आएको दबाब थेग्न नसकी लाखौँको रात्रिभोज दिएका थिए । भोज बहिष्कारको बदला प्रचण्डले प्रवासी नेपालीको जायज माग लिएर आएको अवस्थामा सङ्कीर्ण मानसिकता दर्शाएको अनुभूति सम्बद्ध प्रतिनिधिमण्डलका सदस्यहरूले गरेका छन् ।
मतदानको अधिकार, मतदाता परिचयपत्र बनाउने, भारतमा रहेका नेपाली नागरिकको सुरक्षा, चेन्नई र मुम्बईमा महावाणिज्यदूतावास खोल्नुपर्ने मागसहित देशका शक्तिशाली अधिकारीहरू र पार्टीका नेतालाई समेत भेट्दा प्रचण्डले भेट्नै चाहेनन् । स्रोतका अनुसार प्रचण्डनिकट नेता कृष्णबहादुर महराका अलावा अन्य सहयोगी र नेताहरूलाई भेट्दासमेत सङ्केत नआएपछि प्रतिनिधिमण्डलले आफूहरूले गरेको बहिष्कारको बदला लिइएको महसुस ग-यो । भारत जाँदा प्रचण्डलाई कालो झन्डा नै देखाउनुपर्छ भन्नेहरूले उतिबेला केही नरम बनेर गल्ती गरिएछ भनेको पनि बुझिएको छ ।
यसैगरी भारत प्रवासमा सक्रिय नेपाली नागरिकसम्बद्ध तीन सङ्घ–संस्थाका नेताहरूले कार्यरत मुलुकबाटै मतदान गर्न नपाए आन्दोलनमा जाने चेतावनी दिएका छन् । पत्रकार सम्मेलन गरी आफूहरूको मागबारे राज्यसँग छलफल गरे पनि सुनुवाइ हुने सङ्केत नमिलेबाट आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका हुन् । नेपाली जनसम्पर्क समितिका अध्यक्ष बालकृष्ण पाण्डेले मतदानको अधिकारबाट वञ्चित पार्ने ढङ्गबाट प्रवासी नेपालीको बेवास्ता गरिएको भन्दै कडा आन्दोलनको चेतावनी दिए । प्रवासी नेपाली सङ्घ भारतका अध्यक्ष लोकनाथ भण्डारीले आसन्न संविधानसभा निर्वाचनमा कार्यरत देशबाटै मतदान गर्न पाउनुपर्ने अधिकार सुनिश्चित हुनुपर्ने अडानबाट पछि नहट्ने बताए । मूलप्रवाह अखिल भारत नेपाली एकता समाजका सल्लाहकार मित्रलाल शर्माले राज्य र ठूलादलहरू प्रवासी नेपालीको मतदान अधिकारप्रति गैरजिम्मेवार बनिरहेको आरोप लगाए । प्रवासी नेपाली सङ्घका महासचिव युवराज बास्कोटाले भारतका विभिन्न स्थानमा रहेका नेपाली नागरिकहरूको संस्थागत प्रतिनिधिमण्डलले राज्यका जिम्मेवार अधिकारी र राजनीतिक दलका नेताहरूसँग भेटी आश्वासन मात्र मिलेको र प्रक्रिया थाल्नेतर्फ प्रगति हुने सङ्केत नपाएको बताए ।
कार्यक्रममा नेपाली जनसम्पर्क समितिका वरिष्ठ उपाध्यक्ष रामनाथ अधिकारी, प्रवासी नेपाली सङ्घ भारतका वरिष्ठ सल्लाहकार खेमचन्द्र ढकाल, केन्द्रीय सदस्य मोहन थापा, मूलप्रवाह अखिल भारतका महासचिव कुलबहादुर दुराको उपस्थिति थियो । १२बुँदे ज्ञापनपत्रमा आसन्न संविधानसभा निर्वाचनमा प्रवासी नेपालीको मतदाता नामावली सूचीकृत गर्नपर्ने, कार्यरत मुलुकबाटै मतदानको अधिकार पाउनुपर्ने, समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, प्रवासमा रहेका नेपालीको सुरक्षाका अलावा देशको ज्वलन्त समस्या समाविष्ट मुद्दा उल्लेख छन् ।

जन्मोत्सव मनाउन तीन हजार बढीको समिति
पूर्वराजा श्री ५ महाराजधिराज ज्ञानेन्द्रको ६७औँ जन्मोत्सव धुमधामसँग मनाउने तयारी भएको बुझिएको छ । आगामी असार २१ गतेदेखि साताव्यापी रुपमा विभिन्न कार्यक्रमका साथ मनाइन लागेको जन्मोत्सव कार्यक्रम आयोजनार्थ प्राध्यापक डा. रत्नकमल वैद्यको अध्यक्षतामा ३ हजार १ सय ६७ सदस्यीय ‘पूर्व श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव सरकारको ६७औँ शुभ–जन्मोत्सव नागरिक मूल समारोह समिति’ गठन गरिएको छ । समितिको सह–अध्यक्षहरूमा श्रीमती गीता क्षेत्री राणा, नवराज गुरुङ, भेष राज्यलक्ष्मी सिँह रहेका आयोजक समितिका महासचिव राधेश्याम थापाले जानकारी दिए ।

रिसोर्टको बिल चुक्ता नगरी मन्त्री युरोपको सफरमा
छविलाल बगाले, लमजुङ÷आफ्ना परिवार र नातागोता बोकेर गत साता गृहजिल्ला लमजुङ आएका अन्तरिम चुनावी मन्त्रिपरिषद्का कृषि तथा सहकारी एवम् वन तथा भूसंरक्षणमन्त्री टेकबहादुर थापाले आफू तीन दिनसम्म लमजुङ आएर बस्दा होटलमा उठेको बिल रकम चुक्ता नगरी राजधानी फर्किएको रहस्य खुलेको छ ।
तीन दिनसम्मको कामका लागि प्याकेज बनाएर जिल्लाको एकीकृत विकासको प्याकेज तथा निरीक्षण गर्न आएका मन्त्री थापाले आफ्ना आफन्त र आफूले तीन दिनसम्म बसेर खर्च गरेको रकम नतिरी गएको स्रोतले बतायो । मन्त्री थापाले गरेको खर्च जिल्लामा भएका सबै सरकारी कार्यालयहरूले उठाएर चुक्ता गर्ने बताइएको छ ।
सरकारी कार्यालयहरूको अनियमिततालगायत जिल्लाको समग्र कृषि क्षेत्रको विकासको निरीक्षण गर्न लमजुङ आएको बताइए पनि मन्त्री थापाले जिल्लाका सरकारी कार्यालयलाई खबर नगरी अकस्मात् आएको खुलेको छ । मन्त्री थापासहित उनका आसेपासेले तीन दिनसम्म बसेर खर्च गरेको रकम मन्त्री आफैँले नतिरी गएपछि जिल्लास्थित सरकारी कार्यालयहरूले उठाएर तिर्ने एक कर्मचारीले बताए । मन्त्री थापा लमजुङ आउँदा सदरमुकाम बेसीशहरस्थित गेटवे हिमालयन रिसोर्टमा बसेका थिए भने उनका आफन्तहरू सिद्धिविनायक होटलमा बसेका थिए । उनका साथ लागेर आएका अन्य कर्मचारी तथा चालकहरू भने अर्कै गेस्टहाउसमा बसेका थिए, तर उनीहरूले तीन दिनसम्म खर्च गरेको रकम भने अहिलेसम्म तिरिएको छैनन् ।
जिल्लाको विकासका निम्ति एक कर्मचारीले प्रस्ताव राखेलगत्तै मन्त्री थापाले ती कर्मचारीलाई नेताको सिफारिसमा आउन भन्दै हप्काएकोसमेत स्रोतले बताएको छ । मन्त्री थापा लमजुङ आउँदा आफ्नो पहुँच देखाउन आफ्ना मन्त्रालय मातहातका कार्यहरूलाई जसरी पनि सवारीसाधन लिएर आउन आग्रह गरेकोसमेत पोखरास्थित एक कर्मचारीले बताए । उनले भने, ‘मन्त्रीज्यूको ठाडो आदेश आएपछि नमानौँ पनि कसरी ? त्यही भएर कामका लागि बाहिर गएका कर्मचारी र सवारीसाधनलाई बोलाएर मन्त्रीज्यूको आदेश पालन गरेको हुँ ।’
स्मरण रहोस्, मन्त्री टेकबहादुर थापा यतिबेला युरोप सफरमा रहेका छन् ।

च्याउसरी खुलेका ‘प्रिप्राइमरी स्कुल’को अनुगमन कसले गर्ने ?
झापा÷ निजी क्षेत्रबाट प्रारम्भिक बालकक्षाको पठनपाठन सञ्चालन हुने क्रम वृद्धि भएको छ । विद्यालय उमेर नपुगेका बालबालिकालाई लक्षित गरी खुलेका त्यस्ता बालकक्षा धमाधम बढे पनि लेखाजोखा हुन सकेको छैन । जिल्लामा ठूलो सङ्ख्यामा यस्ता बालकक्षा सञ्चालनमा रहेको अनुमान छ । तर, सरकारी निकायसँग भने त्यस्ता प्रि–प्राइमेरी विद्यालय अद्यावधिक गर्ने संरचना नै नरहेको बुझिएको छ । जिल्ला शिक्षा कार्यालय झापाका उपसचिव अशोक कालाखेती प्रि–प्राइमरीको वास्तविक यकिन अवस्था कार्यालयसँग नरहेको बताउँछन् । ‘हामीसँग यस्ता प्रिप्राइमरी विद्यालयको रेकर्ड छैन,’ उपसचिव कालाखेतीले भने, ‘अब कार्यालयले प्रिप्राइमरी विद्यालयको अवस्थाबारे पहल थाल्नेछ ।’
प्रिप्राइमरी विद्यालय सञ्चालन गर्न सम्बन्धित क्षेत्रका गाविस र नगरपालिकाले अनुमति दिने गर्दछ । स्थानीय स्वायत्त शासन ऐनअन्तर्गत स्थानीय निकायले प्रिप्राइमरी विद्यालय खुलाउन आवश्यक नियम पूरा गरेपछि अनुमति दिने व्यवस्था छ । ‘आवेदनमा प्रिप्राइमरीको सञ्चालनसम्बन्धी नियम पूरा गरे पनि स्थानीय निकायले शिक्षा कार्यालयमा नपठाउँदा त्यस्ता विद्यालयको तथ्याङ्क कार्यालयमा नभएको शिक्षा उपसचिव कालाखेती बताउँछन् । उनले भने, ‘अधिकांश गाविस, नगरपालिकाले दर्ता गरिएका त्यस्ता विद्यालयको रेकर्ड पठाउँदैनन् । ’
झापाको दमक, बिर्तामोड, काँकडभिट्टालगायतका मुख्य सहरीदेखि अहिले ग्रामीण क्षेत्रहरूमा चलेका विद्यालयसहित निजी ढङ्गले थप प्रिस्कुल खुल्नेक्रम बढेको पाइएको छ । तर, यस्ता कतिपय विद्यालयले भने विभिन्न आकर्षक विज्ञापन गरेर अस्वस्थ प्रतिस्पर्धा गरी आएका छन् ।
दमक–१४ का भक्त कार्कीले भने, ‘कोही किन्डर गार्डेन, मन्टेश्वरी भनेर अभिभावकलाई जथाभावी रकम उठाइरहेका छन् ।’ विद्यालय भर्ना र शुल्कमा उत्तिकै मनपरी छ,’ उनको भनाइ छ ।
निजी विद्यालयद्वारा सञ्चालित प्रिप्राइमरी कक्षाको आवश्यक अनुगमन नहुँदा यस्ता स्कुलहरूमा लगानीसमेत बढेको सरोकारवालाहरू बताउँछन् । शिक्षा अधिकारीले विभिन्न मन्टेश्वरी, किन्डर गार्डेन जस्ता प्रिप्राइमरी विद्यालय सञ्चालन गर्न अधिकांश शिक्षक पेसाकर्मीहरूको संलग्नता रहेको बताइएको छ ।
बाल विकासमा करोडौँ लगानी
झापाका सामुदायिक विद्यालयका बालविकासमा करोडौँ लगानी रहेको पाइएको छ । सरकारमार्फत आउने त्यस्ता कार्यक्रममार्फत जिल्लाका विभिन्न बालविकास केन्द्रहरूमा कार्यरत शिक्षक, शिक्षिकाको पारिश्रमिक मात्र दुई करोड १९ लाख रुपैयाँ बढी लगानी हुँदै आएको छ ।
जिल्ला शिक्षा कार्यालयका अनुसार जिल्लामा सात सय पाँच ओटा बाल विकास केन्द्र सञ्चालनमा छ । ती बालविकासमा कार्यरत शिक्षकलाई मासिक २४ सय पारिश्रमिक उपलब्ध गराउँदै आएको छ ।
विद्यालय जाने उमेर नपुगेका बालबालिकालाई विद्यालयतर्फ आकर्षण बढाउन सरकारले देशभरका विद्यालयमा त्यस्ता बाल विकास केन्द्र सञ्चालनमा ल्याएका हुन् । कार्यालयका उपसचिव कालाखेतीले भने, ‘प्रारम्भिक शिक्षा दिन यस्ता बालविकास केन्द्रहरूको शिक्षा कार्यालयले हेर्ने गर्छ ।’ ती केन्द्रहरूमा करिब १३ हजार बढी बालबालिका पठनपाठन गर्छन् ।
मोरङ जिल्लामा रहेका करिब एक सय २५ वटा सामुदायिक विद्यालयको भवन निर्माण र मर्मतका क्रममा १४ करोड रुपैयाँभन्दा बढी बेरुजु देखिएको छ । ती विद्यालयले ०६३÷६४ देखि बेरुजु फस्र्योट नगरेका कारण बेरुजु देखिएको हो ।
भवन मर्मत तथा शौचालय निर्माण गर्न जिल्ला शिक्षा कार्यालयले विद्यालयलाई ४० देखि ७० हजार रुपैयाँसम्म अनुदान दिएको थियो । एक सयभन्दा बढी विद्यालयलाई दिएको अनुदान रकम र केही विद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि ६ लाखदेखि आठ लाख रुपैयाँसम्म रकम निकासा गरेकोमा उनीहरूले हिसाब फस्र्योट गरेका छैनन् । जसले गर्दा धेरै रकम बेरुजु देखिएको हो ।
जिल्ला शिक्षा कार्यालयको विद्यालय भौतिक पूर्वाधार विभागप्रमुख देवी चुँडालले विद्यालयहरू जिम्मेवार र जवाफदेही नहुँदा आर्थिक अनुशासन कायम गर्ने सवालमा समस्या देखापरेको छ । ०६३ सालयता ती विद्यालयको नाममा भवन मर्मत र शौचालय निर्माणका नाममा १३ करोड ८४ लाख रुपैयाँ कार्यालयले अनुदान दिएको छ । रकम निकासा लगेको ६ महिनाभित्रमा योजना सम्पन्न गरेर बेरुजु फस्र्योट गर्नुपर्ने हो, तर ६ वर्ष बितिसक्दा पनि फस्र्योट भएको छैन ।
योजनाका लागि समयमा बजेट निकासा नहुँदा पनि समयमा बेरुजु फस्र्योट हुन नसकेको विद्यालय प्रशासक उपसचिव दुर्गा खरेल बताउँछन् । आर्थिक वर्षको अन्त्यमा बजेट निकासा हुने र काम सम्पन्न गर्न अर्काे साल लाग्ने भएका कारण यस्तो समस्या आउने गरेको उनी बताउँछन् । मोरङमा पाँच सय ६२ सामुदायिक विद्यालय छन् । – विष्णु सुब्बा

सरकारले शिक्षकलाई ‘राजनीतिकर्मी’का रूपमा चित्रित गरेपछि…
शिक्षकलाई राजनीति गर्न प्रतिबन्ध लगाउने सरकारको तयारीप्रति नेपाल शिक्षक सङ्घले घोर आपत्ति प्रकट गरेको छ । शिक्षकले आफ्नो पेसाप्रति दर्शाएको इमानदारितालाई नजरअन्दाज गरेर सरकारले शिक्षा पेसालाई नै राजनीति गर्ने थलोको रूपमा अथ्र्याउन खोज्नु खेदजनक छ भन्दै सङ्घले गम्भीर असहमति जनाएको हो । शिक्षकलाई राजनीतिसँग मात्र जोड्न खोजेर सरकारमा बस्नेहरूले गुरुबाट लिएको शिक्षा र ज्ञानको खिल्ली उडाउनुका साथै गुरु र विद्यार्थीबीच स्थापित अन्योन्याश्रित सम्बन्धमा खलल पारेको आरोप लगाउँदै सङ्घका अध्यक्ष केशव निरौलाले यसबाट उत्पन्न हुन सक्ने विद्यार्थी र शिक्षकको नकारात्मक सोच एवम् त्यसबाट शिक्षा क्षेत्रमा पार्ने प्रभावको भागेदार वर्तमान सरकार नै हुनुपर्ने औँल्याउनुभएको छ ।
अध्यक्ष निरौलाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘तमाम शिक्षक र नेपाल शिक्षक सङ्घका सदस्यहरू सदैव आफ्नो पेसाप्रति प्रतिबद्ध रहँदै आएका छन् र रहिरहनेछन् । शिक्षक भएर जनताले तिरेको करको राजस्वबाट तलब खाएपछि शिक्षकले विद्यालयको कोठामा पाठ्यक्रमको विषयमा केन्द्रित भई तमाम विद्यार्थीलाई पठनपाठन गराइरहेका छन् । पाठ्यक्रमका विषयलाई आधार बनाई त्यसलाई जोडेर कुनै शिक्षकले विद्यार्थीमाझ कुनै पनि राजनीतिक दलको न त कहिल्यै प्रचार गरेका थिए न प्रचार गर्ने नै छन् ।’
शिक्षक अहिलेसम्म आफ्नो कार्य समयमा विद्यालयको क्षेत्र या कोठामा कुनै पनि राजनीतिक दलको सदस्यको रूपमा प्रस्तुत नभई गुरु–शिक्षकको रूपमा प्रस्तुत भई आएका दाबी गर्दै अध्यक्ष निरौलाले शैक्षिक पृष्ठभूमिबाट केही व्यक्तिहरू कुनै राजनीतिक पार्टीको नेतृत्वमा स्थापित हुँदैमा सम्पूर्ण शिक्षा पेसालाई नै राजनीति गर्ने थलोको रूपमा लिइनु खेदजनक रहेको बताएका छन् । शिक्षण पेसालाई नै आफ्नो जीवनको अमुल्य पेसाको रूपमा लिई जीवन आहुति गर्ने सम्पूर्ण शिक्षकलाई कुनै पनि राजनीतिक दलको पिछलग्गुको रूपमा हेरिनु वर्तमान सरकार स्वयम् धृतराष्ट्रिय सोचको पिछलग्गु भएको सङ्घको ठहर रहेको विज्ञप्तिमा जनाइएको छ । सम्पूर्ण शिक्षकको मानमर्दन गर्ने यस्तो सरकारी अभिव्यक्ति तुरुन्त सच्याउन पनि सङ्घले आग्रह गरेको छ ।
शिक्षक पेसाको पेसाकर्मीलाई समाजले एक बौद्धिक वर्ग र व्यक्तित्वको कोटामा राखी सम्मानका साथ हेर्ने र परिस्थितिको मूल्याङ्कनबारे उनीहरूको विचार बुझी आफ्नो अवधारणा बनाउने गरेको स्मरण गराउँदै अध्यक्ष निरौलाले भनेका छन्, ‘विद्यालयको कक्षा कोठाबाहेक धर्म, संस्कृति, रीतिरिवाज र परम्पराअनुरूप विभिन्न सभा–समारोहमा सहभागी हुँदा राजनीति गरेको भन्ठान्ने पुरातन, तानाशाही, शासकीय सोचमा परिवर्तन ल्याउन हामी माग गर्दछौँ ।’

आइफेल टावर परिसरमा बुद्धको जन्मोत्सव
पेरिस÷ विगतमाझैँ यस वर्ष पनि पेरिसको आइफेल टावर परिसरमा नेपाली राजदूतावास तथा फ्रान्समा रहेका नेपाली संस्थाहरू, एनआरएन, एभरेष्ट एसियन अफ नेपाल, नेपाली एकता समाज, नेपाल सांस्कृतिक गृह, तमु समाज तथा पाकोफानलगायतको संयुक्त आयोजनामा भगवान् बुद्धको २५५७औँ जन्मोत्सव मनाइयो । बुद्धमूर्तिका अघिल्तिर शान्तिसन्देशका ब्यानर तथा प्लेकार्ड सजाई बुद्ध जन्मोत्सव मनाउँदा विभिन्न देशका आगन्तुकले निकै रुचि र जिज्ञासाका साथ कार्यक्रम नियालेका थिए । नेपाली तथा फ्रेन्च नागरिकको उल्लेख्य उपस्थिति रहेको सो कार्यक्रममा नेपालबाट सोही बिहान फ्रान्स पुगेका कृषि, वन तथा भूसंरक्षणमन्त्री टेकबहादुर थापा घर्तीसमेत सहभागी हुनुभएको थियो ।
समारोहमा मन्तव्य दिने क्रममा फ्रान्सका लागि नेपाली राजदूत तथा युनेस्कोका लागि स्थायी प्रतिनिधि मोहनकृष्ण श्रेष्ठले भगवान् बुद्धको जीवनीबारे प्रकाश पार्नुभएको थियो । महामानव बुद्धको त्यागले विश्वमा शान्तिमय वातावरण निर्माणमा योगदान पुगेको र उहाँका दिव्य उपदेशहरू आजको विश्वमा अझ सान्दर्भिक भएको विचार व्यक्त गर्दै राजदूत श्रेष्ठले विश्वमा शान्ति र विकासको अपरिहार्यता, धर्महरूबीच सौहाद्र्रपूर्ण वार्तालापको आवश्यकता औँल्याउँदै भगवान् बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गरी जीवनमा शान्ति तथा सुखद अनुभूति हासिल गर्न आह्वान गर्नुभयो ।
यसअघि युनेस्को मुख्यालयमा आयोजना भएको ‘प्यानल डिस्कसन अन द इन्टरफेथ डायलग फर अ कल्चर अफ पिस’ कार्यक्रममा राजदूत श्रेष्ठले प्यानेलिस्टको रूपमा सहभागिता जनाउनुभएको थियो । युनेस्कोका लागि भारतीय राजदूत तथा स्थायी प्रतिनिधि भीएस ओबेरायको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पूर्वयुगोस्लाभिया गणतन्त्र म्यासेडोनिया, सुडान, म्याडागास्कर, कम्बोडियालगायत मुलुकका स्थायी प्रतिनिधि पनि सहभागी भएका थिए ।

मणिको ‘निर्वस्त्र मन’ बजारमा
युवा साहित्यकार मणि लोहनीको नयाँ कृति निर्वस्त्र मन बजारमा आएको छ । निर्वस्त्र मनमा मान्छे–मान्छेबीचका सम्बन्ध र त्यसमा आउने विचलनमाथि मणिले पछिल्लो समय लेखेका कथाहरू समेटिएका छन् ।
निर्वस्त्र मनभित्र रहेका २२ वटै कथा नारी मनोविज्ञान, प्रेम र सम्बन्धमाथि केन्द्रित छन् । यसअघिको मणिको कथासङ्ग्रह परास्त प्रेमबाट सुरु भएको प्रेम र सम्बन्ध फरक–फरक कुरा हुन् भन्ने बहसले यस कृतिमा पनि निरन्तरता पाएको छ । ‘प्रेम र सम्बन्धलाई एकै ठाउँमा राखेर बुझ्ने गरेकाले प्रेम असफल भएका घटनाहरू सुनिन्छन्,’ कथाकार मणि लोहनी भन्छन्, ‘त्यो प्रेम होइन, सम्बन्ध असफल भएको हो । सम्बन्ध प्राविधिक कुरा हो जसलाई जोगाउन कसरत गर्नुपर्छ, तर प्रेम मनको कुरा हो । प्रेमलाई जोगाउन कुनै कसरत गर्नुपर्दैन ।’
साझा प्रकाशनद्वारा प्रकाशित निर्वस्त्र मन मणि लोहनीको पाँचौँ कृति हो । यसअघि उनका दुई कवितासङ्ग्रह र दुई कथासङ्ग्रह प्रकाशित छन् । कविता र कथामा छुट्टै पहिचान बनाइसकेका मणि टेलिभिजन पत्रकार हुन् । कवितासङ्ग्रह मलामी साँझ र कथासङ्ग्रह परास्त प्रेम मणिका चर्चित कृतिहरू हुन् ।

हात चलुन्जेल पत्रकारिता गर्ने किशोरको रहर
मान्छेको कसै न कसैसँग प्रेम भइरहेकै हुन्छ । कहिले कफीसँग, कहिले फेसनसँग, कहिले सिगरेटसँग, कहिले मदिरासँग, कहिले युवतीसँग । वरिष्ठ पत्रकार किशोर नेपालको प्रेमचाहिँ कलमसँग छ । नेपाली पत्रकारिता क्षेत्रका स्कुल अफ थट, अझ भनौँ एउटा आइडल किशोर नेपाल उमेरले ६० नाघ्दा पनि तरुनो कलममार्फत हरेक पुस्ताको मन जित्न सफल हुनुभएको छ । ‘प्रेम भनेको मान्छेलाई जीवित बनाउने तत्व हो,’ उहाँ भन्नुहुन्छ, ‘यसलाई कुनै व्याख्या चाहिँदैन ।’
मूलधारको पत्रकारिता त भइहाल्यो । ग्ल्यामरस पत्रकारिता उहाँको अलग्गै पहिचान हो । यसलाई ४५ वर्षदेखि कलम घोटेर पाएको मान्यता भन्न हिच्किचाउनुहुन्न उहाँ । कान्तिपुरको साप्ताहिक वा नागरिकको शुक्रबार उहाँको सफल डिजाइन हो । यस अर्थमा युवा पुस्तासँग जोडिएका अग्रज पत्रकार किशोर नेपाल नै हो । उहाँ भन्नुहुन्छ, ‘म छोरा उमेरका साथीहरूको टिममा काम गरिरहेको छु । उनीहरू मसँग काम गर्न रमाइलो मान्छन् ।’
वरिष्ठहरूका पनि वरिष्ठ पत्रकार नेपालको शक्ति भनेकै पछिल्लो पुस्ता र अघिल्लो पुस्ताको फरकलाई तीखो पर्यवेक्षण हो । उहाँको विचारमा पत्रकारको काम पनि यत्ति हो । पत्रकारले राजनीति, अर्थनीति, समाज वा प्रेम मात्र हेर्ने होइन । आफ्नो छोराछोरी उमेरको पुस्ताको जीवन शैली अध्ययन गर्न मन लाग्छ उहाँलाई ।
वरिष्ठ पत्रकार नेपालको जन्म २००९ साल जेठमा नुवाकोटको झिल्टुङ, अर्चलेमा भएको हो । शंकरनाथ नेपाल र विद्यावती नेपालका एक्ला सुपुत्रका रूपमा । उहाँका दुई दिदी हुनुहुन्छ, विजया ढकाल र नर्मदा रेग्मी । उहाँको बसोबास पहिलेदेखि नै काठमाडौं हो । जन्मेको मात्र नुवाकोटमा हो । आदर्श विद्यालय बत्तीसपुतली हुँदै पशुपति हाइस्कुल चाबहिलमा उहाँको स्कुले शिक्षादीक्षा भयो । कलेज पढ्नुभयो, त्रिचन्द्र र सरस्वतीमा । उहाँले संस्कृतिमा एमए र पत्रकारिताको उच्च अध्ययन गर्नुभएको छ ।
उहाँको एकमात्र सपना थियो, पत्रकार बन्ने । खास त उहाँ कलेजजीवनमा साहित्य लेखिरहनुहुन्थ्यो किशोर झुत्रेका नाममा । उहाँको पहिलो कविता भने ०२४÷२५ तिर लुम्बिनी सन्देश साप्ताहिकमा ‘गौतम बुद्ध’ शीर्षकमा प्रकाशित भएको थियो । उहाँको पत्रकारिता करिअर नै चन्द्रलाल झासँग ‘नेपाल टाइम्स’मा सुरु भयो । त्यतिखेर पत्रकारितामा बिटसिट केही थिएन । अलराउन्डर हुनुुहुन्थ्यो, किशोर नेपाल ।
नेपाल टाइम्समा कलम तिखारिसकेपछि जनमतसङ्ग्रहताका जनआकाङ्क्षा नामक साप्ताहिक पत्रिका चलाउनुभयो उहाँले । देशान्तर सुरु गर्नुभयो । पहिलो रंगीन ट्याब्लेट दैनिक नयाँ सडक पनि निकाल्नुभयो उहाँले । उहाँले काम गरेका पत्रिकामा साप्ताहिक समाचार, स्वतन्त्रता, हिमालय टाइम्स, कान्तिपुर र नेपाल साप्ताहिक हुन् । हालै मात्र उहाँ नागरिक दैनिकको प्रधानसम्पादकको जिम्मेवारीबाट मुक्त हुनुभएको छ ।
नेपाल पत्रकार महासङ्घको सभापति रहिसकेका उहाँ तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको प्रेस सल्लाहकार हुुनुहुन्थ्यो । शेरबहादुर देउवाको प्रधानमन्त्रीत्वमा उहाँ नेपाल टेलिभिजनको अध्यक्ष र गोरखापत्रको सर्वशक्तिमान अध्यक्ष एवम् प्रधानसम्पादक हुनुभयो । प्रेस स्वतन्त्रता राज्यसँग सूचना खोसेर लिने सामथ्र्यमा भर पर्ने उहाँको मत छ । उहाँ भन्नुहुन्छ, ‘हामीले त केही पनि गर्न सकेका छैनौँ ।’ उहाँका हालसम्म रंग मण्डल, अर्कै प्रस्तर, चिन्ताका क्षणहरू, द्वन्द्व र दायित्व, शक्तिको अवतरण, पाताल र सहरको कथा गरी सात साहित्यिक कृति प्रकाशित छन् ।
खानामा उहाँको खासै रोजाइ छैन । इन्डिया गए इन्डियन चाइना गए चाइनिज र जापान गए जापानिज । अलिक हलुका खाना मनपर्छ उहाँलाई । उहाँलाई टिपटप भएर हिँड्ने शोख छ । उहाँको प्रिय ब्रान्ड बेन्टले हो । उहाँ प्राय: स्मार्ट र महँगा लुगा लगाउनुहुन्छ भन्ने चर्चा पत्रकारमाझ चल्दै आएको छ ।
उहाँ फिल्म हेर्न भ्याउनुहुन्न । तर, फिल्मको रिभ्यु भने औधी पढ्नुहुन्छ । टेलिभिजनमा आएका केही दृश्य हेरेर फिल्मको स्वाद लिनुहुन्छ । राम्रा फिल्म हलमै गएर हेरिदिनुहुन्छ । लुट उहाँलाई मन परेको फिल्म हो । नयाँ हिरोइन सबै मन पर्छन् । हिरो राजेश हमाल उहाँका साथी नै हुन् । बलिउडका प्रिय हिरोइन भने वहिदा रहमान, शर्मिला टैगोर, वैजयन्ती माला, माधुरी दीक्षित, रविना टन्डन र काजोल हुन् ।
उहाँका आइडल थुप्रै छन् । राजनेतामा कृष्णप्रसाद भट्टराई, लेखकमा बीपी कोइराला, पत्रकारमा चन्द्रलाल झा, व्यवसायीमा कुशकुमार श्रेष्ठ र प्रदीपकुमार श्रेष्ठ । कलाकारमा शशि शाह, नारायणगोपाल, गोपाल योञ्जन र शम्भुजित बास्कोटा, भुवन केसीहरू । उहाँको जीवनमा सम्झने क्षणहरू पनि छन् । बिर्सने क्षणहरू प्नि छन् । नेपालका ७५ जिल्ला घुम्नुभएको छ उहाँले । चार सय गाउँ पुग्नुभएको छ । नेपालमा उहाँलाई धेरै जान मनलाग्ने ठाउँ हो, पोखरा ।
सावित्री नेपालसँग पहिले मागीविवाह गर्नुभयो उहाँले ४० वर्षअगाडि झ्याइँझ्याइँ बाजा बजाएरै । त्यसपछि प्रेम गर्न थाल्नुभयो । सावित्रीलाई पैसाको सधैँ अभाव हुन्छ रे । पैसा हुँदा राम्रो सारी किन्ने रहर लाग्छ रे । उहाँहरूबीच ठाकठुक भने पर्दैन । नारीको सौन्दर्यलाई अङ्गविशेष छुट्याएर हेर्न नमिल्ने उहाँको धारणा छ । उहाँको प्रश्न छ, सौन्दर्य भनेको समष्टि हो । एउटा मात्र मनपर्नेले त्यही मात्र टिपेर विवाह गरेका छन् त ?
राम्रो अक्षर र मीठो भाषा भएकाले उहाँले अरूका लागि थुप्रै प्रेमपत्र लेख्नुभएको छ । तर, आफ्नै लागि भने कहिल्यै लेख्नुभएन । उहाँलाई कसैले लेखेन । उहाँले पनि कसैलाई लेख्नुभएन । उहाँको विचारमा सेक्सको परिभाषा गर्नैपर्दैन । त्यो प्राकृतिक हो, जैविक हो । उहाँको फिलोसफी छ– तिमी ईश्वरमा विश्वास गर्छौ भने गड गिफ्टेड, प्रकृतिमा विश्वास गर्छौं भने नेचर गिफ्टेड हो । त्यसमा बढी ध्याउन्न भएन भने यौनजीवन सुखी हुन्छ ।
उहाँको विचारमा युरोप, अमेरिका र यहाँ केही फरक छैन । हाम्रो समाज ढोंगी त होइन । नखुलेकोचाहिँ हो । हाम्रो समाज आधुनिकतामा प्रवेश गरेको ६० वर्ष त भयो । समाज परिपक्व हुन त्यतिले पुग्दैन । अश्लील पत्रकारिता गरेको भन्ने आरोपमा उहाँको भनाइ छ– संसारमा प्रचलित गसिपलाई छापेको मात्र हो । त्यो टाइम्स अफ इन्डियामा पनि छापिन्छ, हेराल्ड ट्रिब्युनमा पनि छापिन्छ । उनीहरूले छापेको सभ्य हुने, हामीले छापे असभ्य हुने ?
उहाँको प्रिय चुरोट मार्लबोरो हो । त्यसको प्रयोग कहिले घट्छ, कहिले बढ्छ । मनपर्ने ह्विस्कीचाहिँ ब्ल्याकलेबल । उहाँको स्ट्यान्डर्ड पनि त्यही हो । अहिले महिनामा एकाधपल्ट पिउनुहुन्छ । उहाँका चार छोरा हुन् । जेठा छोरा सुरेशको दुर्घटनामा निधन भयो । एक छोरा अमेरिकामा छन् र दुई पत्रकारितामै छन् ।
कुनै मुलुकमा राजदूत खाली भयो भने किशोर नेपालकै हल्ला चलिरहन्छ । खासगरी एमाओवादी अध्यक्ष प्रचण्डसँग उहाँको सम्बन्ध चर्चामा छ । राजनीतिमा पत्रकार नेपालको रुचि छैन । हात चलुन्जेल पत्रकारिता गर्ने इच्छा छ उहाँलाई ।
अन्तमा पत्रकारिता गर्न चाहनेलाई उहाँको मननीय सुझाव छ– ‘कोर्सबुक पढेर डिग्री त लिन सकिन्छ, तर पत्रकारिता गर्न सकिँदैन । मुलुकको इतिहास, आर्थिक स्थिति र वर्तमान बुझ्नुप-यो । भाषा र विचार हुनुप-यो । नेताको हाहाहाहुलाई मात्र धु्रवसत्य मान्नुभएन, लगनशीलता र धैर्यता चाहियो ।

‘पोयमाण्डु’मा सर्जकहरूको जमघट
बीपी कोइराला भारत–नेपाल फाउन्डेसनको आयोजनामा गत सोमबार ‘पोयमाण्डु’को तेस्रो शृङ्खला सुन्धारास्थित नेपाल–भारत पुस्तकालयमा सम्पन्न भयो । फाउन्डेसनद्वारा यसै वर्षदेखि मासिक रूपमा आयोजना गरिन थालिएको कवि–कवयित्रीहरूको जमघट एवम् काव्यवाचन कार्यक्रम ‘पोयमाण्डु’को यसपटकको जमघटमा २३ नेपाली सर्जकले आ–आफ्ना दमदार काव्यसिर्जना प्रस्तुत गरेका थिए । नेपाली, हिन्दी, अङ्ग्रेजी, नेवारी, मैथिली र अवधि भाषामा कविता पाठ गरिएको सो साहित्यिक समारोहमा उपस्थित श्रोता एवम् सर्जकलाई नेपालका लागि भारतका राजदूत जयन्त प्रसादले स्वागत गर्नुभएको थियो भने पूर्वपरराष्ट्रमन्त्री तथा राप्रपाका प्रभावशाली नेता डा. प्रकाशचन्द्र लोहनीले पनि आफ्नो रचना सुनाउनुभएको थियो ।
स्थापित कविहरू श्रवण मुकारुङ, ठाकुर बेलवासे, डा. रामप्रसाद ज्ञवाली, मोमिला, एकलव्य, ललिता जोशीलगायत नवोदित सर्जकहरू युक्ता बज्राचार्य, अरुण बुढाथोकी, नवीन खतिवडा आदिले सुन्दर रचनाहरू सुनाएर उपस्थित श्रोतालाई मुग्ध तुल्याएका थिए ।
कार्यक्रममा बीपी कोइराला भारत–नेपाल फाउन्डेसनका सचिव अभय कुमारले नेपाल–भारत सम्बन्धको प्रगाढता र साहित्य–संस्कृति आदानप्रदानमा ‘पोयमाण्डु’ले निर्वाह गरेको र गर्नसक्ने भूमकामाथि प्रकाश पार्नुभएको थियो ।

‘सद्भावना–आन्दोलन’ दबाउन बुलेटको प्रयोग !
सद्भावना पार्टीले गत वैशाख १९ देखि सुरु गरेको आन्दोलनको कार्यक्रम फिर्ता लिएको छ । सरकारले वार्तामार्फत समस्या समाधान गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन फिर्ता लिइएको सो पार्टीका उपाध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिएका छन् । आन्दोलन फिर्ता लिएसँगै पार्टी अध्यक्ष राजेन्द्र महतोको आमरण अनशन पनि रोकिएको छ । अनशनका क्रममा गम्भीर रूपले अस्वस्थ बनेका अध्यक्ष महतोलाई उपचारार्थ अस्पताल भर्ना गर्नुपरेको थियो ।
यसैबीच आफ्नो शान्तिपूर्ण आन्दोलनमाथि प्रहरीले गोली चलाएर दमन गरेको सद्भावनाले जनाएको छ । निर्वाचनको मिति घोषणा, निर्वाचन क्षेत्र पुनर्निर्धारण आयोग गठन, मधेसका सशस्त्र समूह÷सङ्गठनसँग गरिएका सम्झौताहरू कार्यान्वयन, मधेसका जिल्लामा भारु सटही काउन्टरको स्थापनालगायत विभिन्न माग अघि सरेर गत वैशाख १९ गतेदेखि सो पार्टीद्वारा आमरण अनशनलगायतका आन्दोलन कार्यक्रम अघिसारिएको थियो ।
आन्दोलनको क्रममा गत आइतबार मधेस बन्दको कार्यक्रम राखिएकोमा पछि फिर्ता लिइएको थियो । बन्द कार्यक्रम बिथोल्ने उद्देश्यले सुनसरीको दुहवीमा प्रदर्शनकारीमाथि प्रशासनको आदेशमा प्रहरीले गोली प्रहार गरेको र गोली लागेर सद्भावना युवा मञ्चका जिल्ला सदस्य विशाल चौधरी, सद्भावना युवा मञ्च क्षेत्रीय कार्यसमिति, क्षेत्र नं. ३ का सदस्य विजय चौधरी तथा जलिल मियाँ गम्भीर घाइते भएको सो पार्टीले जनाएको छ । सरकारले आफ्ना न्यायोचित मागलाई सम्बोधन गर्नुको सट्टा सद्भावना पार्टीका कार्यकर्तामाथि गोली, अश्रुग्यास र लट्ठी प्रहार गर्नेजस्ता अमानवीय र घृणित कार्य गरेको भन्दै सद्भावनाले एक विज्ञप्तिमार्फत निन्दा र भत्र्सना गरेको छ । विज्ञप्तिमा जनाइएअनुसार सुनसरीको दुहवीमा गरिएको दमनका कारण पार्टीका केन्द्रीय सदस्य सुनिता विश्वासलगायत दर्जनौँ घाइते छन् भने इनरुवामा पार्टी जिल्ला अध्यक्ष देवनारायण यादव, जिल्ला उपाध्यक्ष रघुनाथ मेहता पक्राउ परेका छन् । सर्लाहीमा मधेस रक्षा बाहिनीका जिल्ला प्रमुख राजेश भण्डारीलाई प्रहरीद्वारा मरणासन्न हुने गरी कुटपिट गरी नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा भर्ना गरिएको छ । त्यस्तै पर्सा पार्टी जिल्ला अध्यक्ष प्रमोद साह, पार्टी केन्द्रीय सदस्य नेजामुद्दीन समानीलगायत दर्जनौँलाई गिरफ्तार गरिएको विज्ञप्तिमा जनाइएको छ ।
गोली चलाउने र आदेश दिने प्रहरीउपर कारबाही, घटनाको सत्य–तथ्य छानबिन, पीडितलाई स्वास्थ्योपचार एवम् क्षतिपूर्ति, पार्टीका गिरफ्तार नेतागणको अविलम्ब रिहाइका साथै पार्टीद्वारा अघिसारिएका माग अविलम्ब पूरा गर्न महासचिव मनीषकुमार सुमनद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत माग गरिएको छ ।

‘अमेरिकामा पनि एघार वर्ष लागेको थियो’ : राजदूत बोडी
नेपालका लागि अमेरिकी राजदूत पिटर डब्ल्यू बोडीले लोकतान्त्रिक, समृद्ध र समावेशी नेपालको निर्माणका लागि चाँडोभन्दा चाँडो स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गर्नु नै उत्तम मार्ग हुने धारणा अघि सार्नुभएको छ । संयुक्त राज्य अमेरिकाको दुई सय ३७औैँ स्वतन्त्रता दिवसका अवसरमा कमलादीस्थित राजदूतनिवासमा आयोजित विशेष कार्यक्रमबीच राजदूत बोडीले अमेरिका र आफू पनि नेपालको पुरानो मित्र रहेको स्मरण गराउँदै भन्नुभयो, ‘लोकतन्त्रमा निर्वाचन त्यत्ति नै अपरिहार्य छ, जति व्यक्तिगत अधिकारहरूको सम्मान, स्वतन्त्र प्रेस र गतिशील नागरिक समाज छ ।’
निर्वाचनको मिति घोषणापश्चात् अमेरिका नेपाललाई सघाउन तत्पर रहेको उल्लेख गर्दै राजदूत बोडीले लोकतन्त्र र शासन–व्यवस्थाको सुधारका साथै शिक्षा र लैङ्गिक समताजस्ता चुनौतीको सामनाका लागि पनि अमेरिकाले नेपाललाई निरन्तर साथ दिने जानकारी गराउनुभयो । विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने उपस्थित अतिथिहरूलाई सम्बोधन गर्दै राजदूत बोडीले निर्वाचन र संविधान निर्माणको प्रयास भइरहेको नेपालको वर्तमान अवस्थासँग दाँज्दै अमेरिकाको सन्दर्भ स्मरण गर्नुभयो र सान्त्वना दिने भाषामा भन्नुभयो, ‘अमेरिकामा पनि रातारात लोकतन्त्रको स्थापना भएको थिएन, स्वतन्त्रताको घोषणापत्रपश्चात् पनि संविधान जारी हुन एघार वर्ष लागेको थियो ।’
उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यमा मनाइएको सो कार्यक्रममा नेपाली सेनाको साङ्गीतिक टोलीले आप्mनो प्रस्तुति दिएको थियो भने कार्यक्रममा नेपाली सरकारी अधिकारीहरू, राजनीतिक नेतृत्व, नागरिक समाजका प्रतिनिधि, शैक्षिक र व्यावसायिक क्षेत्रका प्रतिनिधिहरू, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरू र सञ्चारकर्मीहरूको उपस्थिति थियो ।

सेनाद्वारा सगरमाथामा चार हजार किलो फोहोर सङ्कलन
सगरमाथा आरोहण अभियानमा रहेका नेपाली र भारतीय सेनाका ‘संयुक्त सगरमाथा आरोहण तथा सफाइ अभियान–२०१३’ले सगरमाथाको साउथ कोल र सोभन्दा तल रहेका विभिन्न किसिमका चार हजार दश केजी फोहोरमैला सङ्कलन गरेको छ । सङ्कतित फोहोरमैला ‘सगरमाथा प्रदूषण नियन्त्रण समिति’का अध्यक्षलाई नाम्चेस्थित श्री बराहदल गुल्मको हाताभित्र एक विशेष समारोहबीच हस्तान्तरण गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
नेपाली सेनाको पर्वतारोहण इतिहासमा पहिलोपटक सगरमाथामा भएको प्रदूषणलाई कम गर्ने उद्देश्यले यसप्रकारको संयुक्त सगरमाथा आरोहण तथा सफाइ अभियान–२०१३ सञ्चालन गरिएको हो । विकट भौगोलिक अवस्था र चुनौतीपूर्ण मौसमका बाबजुद दुई हजार दुई सय ५० केजी जैविक रूपमा हानिकारक र एक हजार सात सय ६० केजी जैविक रूपमा कम हानिकारक फोहोरमैला सङ्कलन तथा ढुवानी गरी उक्त फोहोरमैलालाई वातावरणमा प्रतिकूल असर नपर्ने गरी नष्ट गर्न स्थानीय प्रदूषण नियन्त्रण समितिलाई हस्तान्तरण गरिएको जनाइएको छ ।