चुनाव गराउनभन्दा मिति घोषणा गर्न कठिन !

चुनाव गराउनभन्दा मिति घोषणा गर्न कठिन !


othernewsचुनावी सरकार गठनका क्रममा चार पक्षबीच भएको सम्झौताबाट एमाओवादी पछि हटेपछि निर्वाचन मितिको घोषणामा विलम्व हुन पुगेको छ । चार पक्षबीच भएको ११बुँदे सम्झौतामा चार सय ९१ जनाको संविधानसभा बन्ने निश्चित गरिएको थियो । सोही सम्झौताका आधारमा निर्वाचन आयोगले एक प्रतिशत ‘थे्रसहोल्ड’ कायम रहने गरी ऐनको समेत तर्जुमा गरिसकेको छ । एमाओवादीले अहिले आएर ‘थे्रसहोल्ड’को प्रावधान हटाउनैपर्ने अड्डी लिइरहेको छ । संविधानसभा ६०१ जनाकै बनाउनुपर्नेमा एमाओवादीको जोड रहेको छ । राज्यलाई अनावश्यक भार हुने र जनतामा पनि राम्रो सन्देश नजाने भएकोले संविधानसभा सदस्यसङ्ख्या कुल चार सय ९१ भन्दा बढीको बनाउन नहुने तर्क काङ्गे्रस–एमालेको छ भने एमाओवादीले संविधानसभामा सबैको प्रतिनिधित्व रहन आवश्यक भएकाले थे्रसहोल्डको प्रावधान राख्न नहुने तर्क गरिरहेको छ । त्यसैगरी अदालतले कुनै अपराधमा कसुरदार ठहर गरेको व्यक्तिलाई चुनावमा उम्मेदवार बन्न दिने या नदिने भन्ने विषयमा पनि दलहरूबीच अझै कुरा मिल्न सकेको छैन । एमाओवादी अदालतले दोषी ठहर गरेका व्यक्तिहरूलाई पनि चुनावमा उम्मेदवार बन्न दिइनुपर्ने पक्षमा रहेको छ । तर, काङ्गे्रस–एमाले भने हत्या, बलात्कार, चोरी, डकैतीलगायतका अपराधमा संलग्न भई अदालतले दोषी प्रमाणित गरिसकेका व्यक्तिलाई कम्तीमा ६ वर्षसम्म उम्मेदवार बन्न दिनु नहुने अडानमा छन् । काङ्गे्रसभित्र भ्रष्टाचारको अभियोगमा पूर्वाग्रहपूर्ण ढङ्गले सजाय पाएका व्यक्तिहरूले भने चुनाव लड्न पाउनुपर्ने आवाज उठिरहेको छ । उद्यपि नेतृत्व तहका कतिपय व्यक्तिले भने नेता खुमबहादुर खड्कालाई मौका नदिन पनि अदालतले दोषी प्रमाणित गरेका व्यक्तिलाई ६ वर्षसम्म चुनाव लड्न दिनु नहुने पक्षमै अडान लिनुपर्ने धारणा राखिरहेका छन् । यी र यस्तै विषयमा दलहरूबीच सहमति भएमा राष्ट्रपतिसमक्ष सोहीबमोजिमको अध्यादेश प्रस्तुत गरिने र तत्काल चुनावको मिति घोषणा गरिनेछ । चार पक्षबीच सहमतिका लागि अनेकौँ चरणमा संवाद पनि चलिरहेको छ । तत्काल सहमति बन्न नसक्ने भएमा सरकारले नै अध्यादेश तर्जुमा गरी राष्ट्रपतिसमक्ष स्वीकृतिका लागि पेस गर्नेबारेमा पनि छलफल भइरहेको छ । तर, सरकारलाई उक्त कार्य अघि बढाउने जिम्मेवारी दिन पनि चारपक्षीय संयन्त्रमा सहमति बन्नुपर्ने हुन्छ ।
यसरी दलहरूबीचको असमझदारीले सरकारलाई चुनावको मिति घोषणा गर्न अप्ठ्यारो परिरहेको छ भने अर्कोतर्फ नेकपा–माओवादीसहितका ३३ दलले पनि सरकारलाई असहयोग गर्ने निश्चित छ । ११बुँदे सम्झौता खारेजी, नागरिकता वितरण र वर्तमान सरकार विस्थापित गरी सर्वक्षीय सरकार गठनजस्ता विषयलाई मुद्दा बनाएर हाल मेची–महाकाली जागरण अभियानमा सक्रिय रहेका माओवादीसहितका ३३ दलले जेठ १४ गते टुँडिखेल खुलामञ्चमा समापनसभा गर्ने भएको छ । सरकारले चुनावको मिति घोषणा गरेपछि भने माओवादीले त्यसको सशक्त प्रतिरोध गर्ने आन्तरिक तयारी गरेको छ । यही प्रक्रिया यथावत् राखेर घोषणा गरिने चुनावलाई कुनै पनि हालतमा अस्वीकार गरिने र त्यस्तो चुनाव हुन नदिन जस्तोसुकै कदम चाल्न पनि पछि नहट्ने माओवादी नेताहरूले घटना र विचारलाई बताएका छन् । सम्बद्ध सूत्रले जनाएअनुसार ‘आवश्यक परे पार्टी पुन: भूमिगत हुनेछ, रेग्मी सरकारले गराउने चुनावचाहिँ सम्पन्न हुन दिइने छैन ।’ उता सत्तापक्षले भने चुनाव घोषणा भइसकेपछि त्यसलाई जसरी भए पनि सम्पन्न गरिछाड्ने अठोट लिएको छ । राज्यले सम्पूर्ण बल प्रयोग गरेर चुनाव गराउने सोच बनाएको छ । दुई पक्षको दृढता हेर्दा मुलुकमा फेरि पनि चुनाव होइन भीषण सङ्घर्ष नै सुरु हुने सम्भावना बढी छ । समयमै चुनावको मिति तोक्न त नसक्नेहरूले शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन कसरी सक्ने हुन्– चिन्ता र जिज्ञाशाको विषय बनेको छ ।

पूर्वराजा तराईतिर
पूर्व श्री ५ महा–राजाधिराज ज्ञानेन्द्र शाहले पुन: तराईका जिल्लाको भ्रमण गर्नुहुने भएको छ । यसअघि स्थगित गरिएको भ्रमणलाई निरन्तरता दिँदै उहाँ सिमरा जान लाग्नुभएको हो । पूर्वयुवराज पारस बिरामी भई बैंककको समितिभेज अस्पतालमा भर्ना भएपछि पूर्वराजा फागुन दोस्रो साता तराईको भ्रमण छोट्याउँदै बिरामी छोरा
पारसलाई भेट्न बैंकक जानुभएको थियो । जेठको अन्तिम साता (२६/२७ गते) तिर उहाँ तराई भ्रमणमा सवारी हुने भए पनि आधिकारिक तवरमा कार्यक्रमहरू बन्न बाँकी रहेको बताइएको छ ।
पहिले तय भएर पनि भ्रमण गर्न बाँकी रहेका सप्तरी, सिरहा, सर्लाही, महोत्तरीको भ्रमण गर्नुहुने र सोहीअनुसार कार्यक्रम बन्ने बुझिएको छ । करिब दुई हप्ता लामो भ्रमणका क्रममा उहाँले सप्तरीको छिन्नमस्ता तथा अन्य जिल्लामा रहेका महत्वपूर्ण धार्मिक देवस्थलहरूको दर्शन तथा पूजापाठ गर्नुहुनेछ । साथै ती जिल्लाका स्थानीयवासीहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ । यसअघि उहाँले बारा, पर्सा, रौतहट, मोरङ, सुनसरी, परासी, चितवन, रूपन्देही, कैलाली, कञ्चनपुर, बाँकेलगायतका जिल्लाको भ्रमण गरी त्यस क्षेत्रमा रहेका देवस्थलको दर्शन गर्नुका साथै स्थानीय जनतासँग सामान्य भेटघाट गर्नुभएको थियो । त्यस्तै उहाँले कास्की, बाग्लुङलगायतका पहाडी जिल्लाको पनि भ्रमण गरिसक्नुभएको छ ।

ढकालले दिए चेतावनी
विभागहरूको गठनमा भएको ज्यादतिका विरुद्ध काङ्गे्रस सभापति सुशील कोइरालाका स्वकीय सचिव एवम् काङ्गे्रसका युवा नेता लक्ष्मण ढकाल सशक्त ढङ्गले अघि बढ्ने हुनुभएको छ । विगत १६ वर्षदेखि कोइरालाको सहयोगी रहनुभएका र दश वर्षदेखि सँगै बस्दै आउनुभएका ढकाल सुशील कोइरालाको नाममा एउटा गिरोहले जथाभावी गरेपछि क्रूद्ध हुनुभएको हो । ढकालले विभाग गठनमा भएको त्रुटि सच्याउन तयार नभए आफू अब सँगै रहन नसक्ने जानकारी कोइरालालाई मंगलबार (हिजो) नै गराइसक्नुभएको छ । सभापतिको वरिपरि कहिल्यै चुनाव नजित्ने दिलबहादुर घर्ती र गोपाल पहाडी तथा दिलेन्द्रप्रसाद बडूहरू फोहोर–मैलाझैँ जमेर बसेकाले उनीहरूको चङ्गुलबाट मुक्त हुन पनि ढकालले कोइरालालाई आग्रह गर्नुभएको बुझिएको छ । देश, जनता, प्रजातन्त्र र पार्टीका पक्षमा दृढतापूर्वक उभिन आग्रह गर्दै विभाग गठनमा भएको त्रुटि नसच्याइए आफू यस घरमा कहिल्यै नआउने भनी मंगलबार सुशील कोइरालाको निवासबाट ढकाल बाहिरिनुभएको थियो । त्यसरी ढकाल बाहिरिएलगत्तै सभापति कोइराला ढकालको बासस्थान पुग्नुभएको थियो । त्यहाँ उहाँले केही नेता तथा कार्यकर्ताहरूसँग भेट गर्नुभएको बुझिएको छ । ढकालको निवासमा पुगेका केही काङ्गे्रस नेताहरूलाई भने ढकालले सभापति कोइरालासँग भेट गर्न नदिई फर्काइदिनुभएको थियो । कोइरालाले विभाग गठनमा भएको गम्भीर गल्ती सच्याउन तयार नभएमा लक्ष्मण ढकालले बुधबार पत्रकार सम्मेलन गरी आफ्नो भनाइ सार्वजनिक गर्नुहुने बुझिएको छ । यस सम्बन्धमा घटना र विचारले ढकालसँग टेलिफोन सम्पर्क गर्दा उहाँले भन्नुभयो, ‘म आफैँ पनि काङ्गे्रसको प्रतिबद्ध कार्यकर्ता हुँ । म सभापति सुशील कोइरालालाई हरतरहले सफल बनाउन प्रयासरत छु । तर, उहाँको वरिपरि जम्मा भएका केही अवाञ्छित तत्वहरूले सभापतिलाई सफल हुन दिइरहेका छैनन् । आदरणीय सभापतिज्यूको परीक्षाको घडी आएको छ, उहाँ देश, जनता, प्रजातन्त्र र काङ्गे्रसका प्रति इमानदार व्यक्तित्व हुनुहुन्छ, यदि सङ्कटको यस घडीमा उहाँले दह्रोसँग खुट्टा टेक्न सक्नुभएन भने काङ्गे्रस र प्रजातन्त्रका लागि योभन्दा दुर्भाग्य अर्को हुनेछैन । तर, उहाँ सबै व्यवधान पार गरेर अघि बढ्नुहुनेछ भन्ने विश्वास मैले लिएको छु ।’
स्मरणीय छ, लक्ष्मण ढकाल काङ्गे्रसका पुराना कार्यकर्ता हुनुहुन्छ र उहाँका पिता देवनारायण ढकालको नाम काङ्गे्रसमा निकै सम्मानपूर्वक लिइन्छ ।
यसैबीच प्राप्त एक खबरअनुसार मंगलबार नै कोइराला परिवारका सदस्यहरूको बैठकले लक्ष्मण ढकाललाई हटाउन सभापति कोइरालालाई सुझाव दिएको छ । यसरी हटाइएमा ढकालले पत्रकार सम्मेलन गरी धेरैलाई एक्स्पोज गर्नुहुने निश्चित मानिएको छ ।

को–को हुन् सुशीललाई धोका दिने ?
देशका सर्वाधिक स्वच्छ छविका नेता मानिनुहुने काङ्गे्रस सभापति सुशील कोइरालालाई कमजोर र असफल तुल्याउन पार्टीभित्र र बाहिरका व्यक्तिहरू सक्रिय भइरहेका बेला उहाँकै सहयोगीजस्तो बनेर वरिपरि बसेकाहरूसमेत कोइरालालाई सिध्याउन सक्रिय रहेको महसुस गर्न थालिएको छ । खासगरी काङ्गे्रसको विभाग गठनमा कोइरालाका कथित सहयोगीहरूको भूमिकाले उनीहरूको नियतमाथि गम्भीर प्रश्न उठाएको छ । यसअघि तीसवटा मात्र विभाग रहेको काङ्गे्रसमा सङ्ख्या बढाएर बयालिस पु-याएको र केही नेताले आफ्ना मानिसलाई जथाभावी विभागमा राख्ने काम गरेकाले तिनको नियतमाथि प्रश्न उठेको हो । कुनै पनि नेताका सहयोगीहरू आफ्ना नेता विवादमा नपरून् र सफल बनून् भन्ने चाहना राख्छन् । तर, कथित सहयोगीहरूले कोइरालाको भद्रपनको फाइदा उठाउँदै आफ्नो स्वार्थपूर्ति गर्ने काम गरेको महसुस आमकाङ्गे्रस कार्यकर्ताले गरेका छन् । त्यसैले यतिबेला सभापति कोइराला आफ्नै ‘सहयोगी’हरूका कारण सङ्कटमा पर्नुभएको छ । बयालीसवटा विभागमध्ये डा. शशाङ्क कोइराला संयोजक रहनुभएको स्वास्थ्य विभाग, डा. शेखर कोइराला संयोजक रहनुभएको बुद्धिजीवी विभाग र आनन्दप्रसाद ढुङ्गाना संयोजक रहनुभएको सङ्गठन विभागबाहेक अन्य उनाञ्चालीस विभागमा भएको मनोनयन समग्रमा हास्यास्पद मानिएको छ । सबै विभागमा गरी करिब हजारजनाको चयन भएको भए पनि कतिपय जिल्लाबाट विभागमा एकजनाको पनि प्रतिनिधित्व गराइएको छैन भने दश निर्वाचन क्षेत्र रहेको मोरङबाट दशजना र दुई निर्वाचन क्षेत्र भएको लमजुङबाट बाइसजनालाई विभिन्न विभागमा समेटिएको छ । त्यस्तै, तीन निर्वाचन क्षेत्र रहेको तनहुँबाट सोह्रजनालाई विभागमा राखिएको छ । पहिले केन्द्रीय सदस्य रहिसकेका नेताहरू तरिणीदत्त चटौत र जीपछिरिङ लामालाई अपमानजनक किसिमबाट विभागमा राखिएको छ । पूर्वसभासद् एवम् विख्यात अर्थविद् डा. तिलक रावललाई उहाँको अनुमतिबेगर कनिष्टहरूको झुन्डसँगै एउटा विभागको सदस्य बनाइएको छ । विभाग गठनको यस घटनाबाट विभागमा पर्न योग्य भएर पनि नपरेकाहरू त क्रूद्ध भएकै छन् विभागमा समेटिएकाहरूले समेत अपमानित महसुस गरेका छन् । यसरी निर्वाचनको मुखमा काङ्गे्रसलाई विवादको भुमरीमा पार्ने र सभापति कोइरालालाई सङ्कटग्रस्त अवस्थामा पु-याउने को–को हुन् त्यसको व्यापक खोजी कार्यकर्ताबाट हुन थालेको छ । यसक्रममा विवादास्पद निर्णय गरेर सभापति र पार्टीलाई अप्ठ्यारोमा पार्नेहरूको केही नाम कार्यकर्ताहरूले पत्ता लगाएका छन् । पार्टी प्रवक्तासमेत रहनुभएका दिलेन्द्रप्रसाद बडू, केन्द्रीय सदस्य दिलबहादुर घर्ती, नेता गोपाल पहाडी र सङ्गठन विभागप्रमुख आनन्दप्रसाद ढुङ्गाना तथा तिनका केही आसेपासेहरूको आपसी मिलिभगतमा विभागहरूको विवादास्पद गठन गरिएको कार्यकर्ताहरूको ठहर छ । सभापति कोइरालाकै नजिक बसेर कोइराला र काङ्गे्रसलाई अप्ठ्यारो पार्ने काम गरेकोले ती चार नेतालाई उचित कारबाही गरिनुपर्ने आवाज कार्यकर्ताले उठाउन थालेका छन् । उनीहरूले पार्टी र स्वयम् सभापति कोइरालालाई समेत धोखा दिएको ठहर आमकाङ्गे्रसजनले गरेका छन् ।

एमाले बढार्न आक्रामक अभियान
पार्टी विभाजनबाट पुगेको क्षति पूर्ति गर्न एमाओवादीका अध्यक्ष प्रचण्डले चुनावअघि नै एमालेलाई बढार्ने योजनाबद्ध अभियान सुरु गर्नुभएको छ । जनजातीय समुदायका नेता अशोक राईमाथि नगदसमेत लगानी गरेर छुट्टै पार्टी गठन गराउने कार्य सम्पन्न गरेलगत्तै प्रचण्डले मधेसी नेता रामचन्द्र झालाई एमाओवादीमा भित्याउनुभएको थियो भने गत साता मात्र एमालेकी पोलिटब्युरो सदस्य उर्मिला अर्याललाई पनि एमाओवादी प्रवेश गराइएको छ । पहिले प्रचण्डसम्बद्ध पार्टीमा महिला सङ्घको नेतृत्वमा रहेकी उर्मिला अर्यालसँग युवक सङ्गठनको अध्यक्षमा आफू रहँदा प्रचण्डको विशेष घनिष्टता रहेको थियो । त्यसबेला प्रचण्डबाट अलग्याएर उर्मिलालाई ‘ठीक ठाउँमा ल्याउन’ एमालेका नेताहरूलाई निकै मुस्किल परेको थियो । पुरानो मित्रवत् सम्बन्ध पुनर्जीवित गर्दै प्रचण्डले उर्मिलालाई भित्याउने सफलता प्राप्त गर्नुभएको एमाले नेताहरूको भनाइ छ । जनजाति, मधेसी र महिलालाई एमालेबाट अलग्याउँदै आफ्नो पार्टीमा समेटेपछि प्रचण्डले अब एमालेका अन्य नेतातर्फ आँखा लगाउनुभएको छ । यसक्रममा एमालेका पुराना नेता युवराज कार्की प्रचण्डको प्राथमिकतामा परेका छन् । कार्कीलगायत एमालेका केही उच्च तहका नेताहरूलाई एमाओवादीमा भित्याएपछि प्रचण्डले माधवकुमार नेपाल, केपी शर्मा ओली र झलनाथ खनाललगायतका प्रमुख नेताहरूको गृहजिल्लाका सक्रिय एवम् प्रभावकारी देखिएका एमाले नेताहरूलाई एमाओवादीमा तान्ने योजना बनाउनुभएको बुझिएको छ । यसक्रममा माधव नेपालको गृहजिल्ला रौतहटमा प्रचण्डले आवश्यक गृहकार्य सुरु गरिसक्नुभएको छ । माधव नेपालका सहयोगी एवम् प्रभावकारी नेताहरूको सूची तयार पारिएको र ती व्यक्तिहरूको पृष्ठभूमि, नाताकुटुम्ब र कमजोरीहरूको समेत अध्ययन गर्ने काम प्रचण्डबाट भइरहेको जानकारीमा आएको छ । दुई सय चालीस निर्वाचन क्षेत्रमा हरेक क्षेत्रको वस्तुगत स्थिति अध्ययन विश्लेषण गरी प्रत्येक निर्वाचन क्षेत्रबाट एमालेलाई सफाया गर्ने योजना बनेको भए पनि प्रचण्डले माधव नेपालको क्षेत्रलाई उच्च प्राथमिकतामा राख्नुभएको छ । एमाले कमजोर हुँदाको सम्पूर्ण लाभ आफूलाई प्राप्त हुने विश्वासका आधारमा प्रचण्ड एमालेविरुद्ध आक्रामक बन्नुभएको बताइन्छ । स्मरणीय छ, एमाओवादी नेताहरूले केही अघिदेखि नै ‘एमाले भनिने पार्टीको कुनै काम नरहेको’ सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । उनीहरू काङ्गे्रससँग आफ्नो मुख्य प्रतिस्पर्धा रहेको तर काङ्गे्रससम्बद्ध नेता–कार्यकर्तालाई पार्टीमा ल्याउन नसकिने भएकोले एमालेमाथि जाइलागेको देखिन्छ । यसरी प्रचण्ड एमाले बढार्ने अभियानमा योजनाबद्ध ढङ्गले सक्रिय रहनुभएपछि चुनावी सरकारसमेत झस्किएको छ । प्रचण्डले यसैगरी एमालेविरुद्धको अभियान जारी राखेमा एमाले भड्किने र विभिन्न बहानाबाजी गरेर चुनावमा अड्चन पैदा गर्ने हो कि भन्ने चिन्ता चुनावी सरकारमा देखिएको छ । गत शनिबार प्रधानमन्त्री खिलराज रेग्मीले प्रचण्डसँग भेटका क्रममा तत्काल एमालेलाई चिढ्याउने काम नगर्न सुझावसमेत दिनुभएको बुझिएको छ । चुनावको मिति घोषणा भइसकेपछि जे गरे पनि अहिले नै एमालेविरुद्ध जेहाद छेड्दा एमाले भड्किने खतरा रहेको र एमाले भड्किँदा चुनावको मिति घोषणामा समेत अवरोध पैदा हुनसक्नेतर्फ प्रधानमन्त्री रेग्मीले प्रचण्डलाई सचेत गराउनुभएको बताइन्छ ।
प्रचण्ड यसरी एमालेविरुद्ध जाइलाग्नुअघि उहाँले मधेसी मोर्चासँग चुनावी गठबन्धन गर्ने घोषणा गर्नुभएको थियो । तर, मोर्चासँग गठबन्धनको सम्भावना नदेखिएपछि प्रचण्डले चुनावी रणनीति बदल्दै एमाले बढार्ने कार्ययोजना अघि सार्नुभएको हो । एमाओवादीको ‘स्याटलाइट’का रूपमा रहेको अशोक राई नेतृत्वको समूहसँग चुनावी एकता गर्ने या आवश्यक परे उक्त समूहलाई नै एमाओवादीमा विलय गराउने तयारीमा प्रचण्ड रहनुभएको छ । अशोक राईका कारण पूर्वीपहाडमा र रामचन्द्र झाका कारण मध्यतराईमा एमाले बढारिने विश्वास एमाओवादी नेतृत्वले गरेको छ । हरेक चुनाव क्षेत्रमा एमालेलाई बढार्ने काम भने अब चुनाव मितिको घोषणापश्चात् मात्र सुरु गरिने बुझिएको छ ।

नेपालका डाक्टर बर्मामा सम्मानित
भरतपुर क्यान्सर अस्पतालका कन्सल्टेन्ट न्युरो सर्जन बालकृष्ण थापालाई म्यान्मा
(बर्मा)मा भव्य सम्मान गरिएको छ । श्री १०८ स्वामी विवेकानन्द गिरिराज महाराजको टाउकोको सफलतापूर्वक शल्यक्रियाद्वारा उपचार गरी पुनर्जीवन दिएको भन्दै अखिल नेपाल म्यान्मा देशीय गोर्खा हिन्दू धार्मिक सङ्घ म्यान्माले उहाँको विशेष सम्मान गरेको
हो । सङ्घले श्री १०८ स्वामीको शल्यक्रियामा संलग्न डा. थापासँगै नेपालको पहिलो महिला न्युरो सर्जन डा. बेन्जु रस्मी प्रधान, भरतपुर क्यान्सर अस्पतालका न्युरो वार्डको इन्चार्ज सिस्टर जानकी उप्रेतीलाई पनि सम्मान गरेको छ ।
डा. थापाको टोलीले स्वामी विवेकानन्दको २०६३ सालमा पहिलोपटक शल्यक्रिया गरी ब्रेनट्युमर निकालेको थियो । तर, उहाँको ब्रेनमा पुन: ट्युमर पलाएपछि गत वर्ष वैशाखमा पनि डा. थापाले नै शल्यक्रिया गरी पुनर्जीवन दिनुभएको थियो । जीवनमरणको दोसाँधमा रहेका स्वामीको सफल उपचार गरेकाले स्वामीले नै सञ्चालन गर्दै आएको आश्रमले डा. थापाको टोलीलाई गत ७ मेमा वर्माको टाउजी यातायस्थित आश्रममा अध्ययन गरिरहेका विद्यार्थीले स्वामीकै उपस्थितिमा भव्य सम्मानसहित दीप प्रज्ज्वलन गरेका थिए ।
त्यसैगरी डा. थापाको टोलीलाई ८ तारिखमा आउवा, ९ तारिखमा मान्डले, चाउमे १० तारिखमा चीनको बोर्डरस्थित शंखाईमा भव्य सम्मान गरिएको थियो । त्यस्तै, ११ तारिखमा बर्माकै याङगुनमा जगदम्बा तथा मदन पुरस्कार विजेता ठाकुरप्रसाद गुरागाईं, नेपाली राजदूतका प्रतिनिधि समाजसेवी यमबहादुर पोखरेललगायतको बर्मेली नेपालीले सम्मान गरेका थिए ।
बर्माका विभिन्न स्थानमा आश्रम बनाएर विद्यार्थीलाई शिक्षा दिँदै आउनुभएका स्वामी विवेकानन्द डा. थापाको सम्मानमा आयोजित सबै कार्यक्रममा सरिक हुनुभएको थियो । उहाँका अनुसार स्वामी विवेकानन्दले बर्मामा रहेका करिब ६ लाख नेपालीबीच आपसी सद्भाव र भाइचाराको सम्बन्धको विकास गर्दै आउनुभएको छ ।

ठाकुर र गच्छदारको पार्टी एकीकरण हुँदै
पार्टी विभाजनमा कीर्तिमान राख्ने मधेसकेन्द्रित राजनीतिक दलहरू चुनाव नजिकिँदै गएपछि पार्टी एकताका निम्ति हतारिन थालेका छन् । यसक्रममा महन्थ ठाकुरले नेतृत्व गर्नुभएको तमलोपा र विजयकुमार गच्छदारले नेतृत्व गर्नुभएको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबीच पार्टी एकीकरणका निम्ति भइरहेकोे प्रयास निर्णायक चरणमा पुगेको जानकारी घटना र विचारलाई प्राप्त भएको छ । यसअघि तमलोपा र उपेन्द्र यादव नेतृत्वको फोरमबीच एकीकरणको प्रयास भएको थियो । करिब चार महिनादेखि ठाकुर र यादव नेतृत्वको पार्टी एकीकृत गर्न भएको प्रयास भने असफल हुन पुगेको छ । तराईका क्षेत्रीय दलहरू अघोषित रूपमा विभिन्न जातीय पार्टीमा रूपान्तरित भएका छन् । तमलोपामा तराईका ब्राह्मणहरूको बाहुल्य देखिन्छ भने गच्छदारको पार्टी थारूहरूको र उपेन्द्र यादवको पार्टी केवल यादवहरूको पार्टीमा रूपान्तरित भइसकेको छ । यस्तै स्थिति यथावत् राखेर अघि बढ्ने हो भने तराईकेन्द्रित हरेक पार्टीले निर्वाचनमा करारी हारको सामना गर्नुपर्ने निश्चित मानिएको छ । यही वास्तविकतालाई बुझेर हुनसक्छ तमलोपा र फोरम (यादव) बीच विगत चार महिनादेखि एकीकृत पार्टी निर्माणको प्रयास हुँदै आएको थियो । महन्थ ठाकुर मधेसी जनअधिकार फोरमको नाम र झन्डालाई स्वीकार गर्न तयार पनि हुनुभएको थियो, तर पार्टी अध्यक्षमा महन्थ ठाकुरलाई स्वीकार गर्न उपेन्द्र यादव तयार नभएपछि चार महिनादेखिको प्रयत्न असफल हुन पुग्यो । यसरी यादवसँग एकताको सम्भावना नरहेपछि तमलोपा विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकसँग मिल्ने निष्कर्षमा पुग्यो । यसक्रममा दुईपक्षबीच अनेकौँ चरणमा वार्ता भइसकेको र अब आकस्मिक रूपमा कुनै घटना भएन भने केही साताभित्रै दुई पार्टी एकीकृत भएको घोषणा हुनेछ । गच्छदार पार्टीको नेतृत्व महन्थ ठाकुरलाई सुम्पन मानसिक रूपमा तयार भइसकेको र गच्छदारका विभिन्न सर्तहरू मान्न ठाकुर तयार भएकोले दुई पार्टीबीच एकीकरणको सम्भावना बढेको हो । पार्टीको नाम तराई मधेस लोकतान्त्रिक फोरम राख्नेबारेमा दुई पक्ष सहमत भएको बुझिएको छ । आफ्नो बद्नाम छविलाई अगाडि राखेर चुनावमा जानभन्दा महन्थ ठाकुरको स्वच्छ छविलाई ‘ब्रान्ड’को रूपमा प्रयोग गर्दा चुनाव जित्न सजिलो हुने निष्कर्षमा गच्छदार पुगेको बताइन्छ ।
स्मरणीय छ, छिमेकी मित्रराष्ट्रको सद्भाव महन्थ ठाकुरका प्रति रहेको र आगामी निर्वाचनपछिको सरकारको नेतृत्व पनि ठाकुरकै होस् भन्ने पक्षमा मित्रराष्ट्र रहेको बुझेपछि मित्रराष्ट्रको सद्भाव पाइरहन पनि गच्छदार महन्थ ठाकुरसँग पार्टी एकता गर्न राजी भएको बताइएको छ ।

पर्सा : काङ्ग्रेसलाई काङ्ग्रेसबाटै खतरा
प्रजातन्त्रवादी जनमत मजबुत रहेको पर्साको निर्वाचन क्षेत्रमा नेपाली काङ्ग्रेसको स्थिति सबल देखिएको छ । एमाले पोलिटब्युरो सदस्य उर्मिला अर्यालले पार्टी परिवर्तन गरी एमाओवादीमा प्रवेश गरेपछि त्यसको झिनो प्रभाव पाँच नम्बर निर्वाचन क्षेत्रमा परेको भए पनि अन्य क्षेत्रमा कुनै असर परेको छैन । अर्याल र एमालेका अर्का स्थानीय नेता अनिल श्रेष्ठले पार्टी बदले पनि कार्यकर्तापङ्क्तिमा त्यसको त्यति ठूलो प्रभाव परेको देखिन्न । तथापि पर्साको पाँच नम्बर क्षेत्रका एमाओवादी कार्यकर्तामा भने यस घटनाले उत्साह बढाएको छ । एमाओवादीले पाँच नम्बर क्षेत्रमा अनील श्रेष्ठलाई उम्मेदवार बनाएर उर्मिला अर्याललाई पर्साको दुई नम्बर क्षेत्रबाट उठाउने चर्चा वीरगञ्जमा चल्न थालेको छ । दुवै क्षेत्र एमाओवादीका निम्ति कमजोर मानिन्छ । त्यसो त पर्साको पाँचवटै निर्वाचन क्षेत्रमा एमाओवादी धेरै पछाडि रहेको छ । गत निर्वाचमा काङ्गे्रस नेता सुरेन्द्र चौधरीलाई हराउन बाँकी सबै शक्ति एकजुट भएका कारण पर्सा–४ बाट एमालेका प्रद्युम्न चौहानले विजय हासिल गरेका थिए । त्यस्तै, मधेसकेन्द्रित आन्दोलनका कारण एक नं. क्षेत्रमा करिमा बेगम विजयी बन्न पुगेकी थिइन् । यसपटक फेरि त्यस्तै घटनाक्रम दोहोरिन मुस्किल हुने स्थानीय बासिन्दाको धारणा छ ।
गत निर्वाचनमा काङ्ग्रेसका तर्फबाट क्षेत्र नं. एकमा शहीद पुत्र राजेन्द्रबहादुर अमात्य, दुईमा अजय द्विवेदी, तीनमा अजय चौरसिया, चारमा सुरेन्द्रप्रसाद चौधरी र पाँच नंंं. क्षेत्रमा रमेश रिजाल उम्मेदवार बन्नुभएको थियो । यसपटक केही नवयुवाले पनि उम्मेदवार बन्ने इच्छा प्रकट गरेका त छन् तर पर्साको स्थिति हेर्दा त्यहाँ फेरि पनि उम्मेदवार परिवर्तनको सम्भावना कम देखिन्छ । एक नं. क्षेत्रमा राजेन्द्र अमात्य र दुईमा अजय द्विवेदीको सशक्त विकल्प पैदा हुन सकेको मानिँदैन । उहाँहरूमध्ये एक नंं क्षेत्रको क्षेत्रीय अध्यक्ष अजय द्विवेदी समर्थक र दुईमा अमात्य समर्थक अध्यक्ष भएकाले परस्पर सहयोग गर्नुपर्ने अवस्था छ । दुई नेताबीच समझदारी बन्न नसकेमा क्षेत्र परिवर्तन गरेर चुनाव लड्नु दुवैको निम्ति उपयुक्त हुने काङ्ग्रेस कार्यकर्ताको ठम्याइ छ । तीन नंं. मा अजय चौरसिया नै बलवान देखिएका छन् भने चारमा सुरेन्द्रप्रसाद चौधरी र पाँचमा रमेश रिजालको पनि विकल्प देखिँदैन । क्षेत्र नं. एकमा मधेसी मोर्चाले एउटा मात्र उम्मेदवार दिन सकेमा काङ्ग्रेसको प्रतिस्पर्धा मोर्चाको उम्मेदवारसँग हुने स्थिति छ । दुई नं. क्षेत्रमा फोरमका प्रदीप यादव र एमालेका बसुदिन अन्सारी चुनावी मैदानमा उत्रिए पनि काङ्ग्रेस उहाँहरूभन्दा धेरै अगाडि देखिएको छ । तीन नं. क्षेत्रमा तमलोपाका रामचन्द्र कुसवाह र एमालेका राजकुमार रौनियारसँग अजय चौरसियाले प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । यसअघिको निर्वाचनमा साढे पाँच हजारभन्दा बढी मतले विजयी बन्नुभएका चौरसिया यसपटक पनि भारी मतले विजयी बन्नुहुने विश्वास गरिएको छ । चार नं. क्षेत्रमा सुरेन्द्रप्रसाद चौधरीले एकपटक मात्र सबै गाउँमा पुग्ने कष्ट गर्नुभयो भने त्यहाँ चौधरीको विजय सुनिश्चित मानिन्छ । एमालेका प्रद्युम्न चौहानको स्थिति खस्किएको र मधेसकेन्द्रित दलहरूले पनि यसपालि आफ्नै उम्मेदवार जिताउन खोज्ने भएकाले चौधरीका निम्ति सहज हुने देखिएको छ । पाँच नं. क्षेत्रमा एमाओवादीका उर्मिला अर्याल या अनील श्रेष्ठ र फोरमका वीरेन्द्र यादव चुनावी मैदानमा उत्रिने निश्चित भएको छ । यस क्षेत्रमा रमेश रिजाललाई उनीहरूले पराजित गर्न सक्ने कुनै सम्भावना देखिएको छैन ।
पर्साका पाँचवटै क्षेत्रमा काङ्ग्रेसका उम्मेदवारले विजय प्राप्त गर्ने सम्भावना जति देखिएको छ पाँचै क्षेत्रमा अन्तर्घातको सम्भावना पनि त्यति नै छ । यदि अन्तर्घातलाई रोक्ने हो भने पाँचैजना नेताबीच बलियो एकता र समझदारीको आवश्यकता छ । पाँच नेताहरू संयुक्त रूपमा हरेक निर्वाचन क्षेत्रमा एकसाथ पुग्न सके भने त्यसले अत्यन्त सकारात्मक प्रभाव पार्ने र काङ्ग्रेसको विजयलाई सुनिश्चित तुल्याउने निश्चित मानिन्छ । नेताहरूबीचको आपसी वैमनुष्य र मनमुटावले पर्सा काङ्ग्रेसलाई धेरै अप्ठ्यारोमा परेको छ । तथापि अन्तर्घातलाई रोक्न नसकिएमा पनि अजय चौरसिया, रमेश रिजाल र सुरेन्द्र चौधरी अलिक सजिलोसँग तथा अजय द्विवेदी र राजेन्द्र अमात्य अलिक मुस्किलसँग विजय हासिल गर्न सफल हुनुहुने विश्वास गरिएको छ ।

पूर्वसभासद् मियाँको हत्या
आगामी संविधानसभा निर्वाचनमा उठ्ने तयारी गरिरहेका सप्तरीको क्षेत्र नं. ५ का पूर्वसभासद् सदरुल मियाँ हकको घाँटी रेटेर हत्या गरिएको छ । सप्तरी जिल्लाको कल्याणपुर दुईस्थित बिसनपुर चौकस्थित पेट्रोलपम्पमा रहेको भवनको माथिल्लो तलामा सुतिरहेको अवस्थामा मियाँको सोमबार राति हत्या भएको स्थानीयवासीले बताएका छन् ।
इँटाभट्टा उद्योग र पेट्रोलपम्प व्यवसायी रहेका मियाँले आफ्नो इँटाभट्टाबाट इँटा बेचेको करिब १२ लाख रुपैयाँ सङ्कलन गरेकै रात उनको हत्या भएको बताइएको छ । पेट्रोलपम्पको पहिलो तलामा सुतिरहेका मियाँलाई लछारपछार गरी घाँटी रेटेर हत्या गरिएको पाइएको सप्तरीका प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेलले जानकारी दिए । उनले भने, ‘हत्याबारे आफूहरूलाई बिहान ९ बजे जानकारी आएको र अहिले हत्याराको खोजीका लागि प्रहरी परिचालन गरिनुका साथै प्रभावकारी अनुसन्धानका लागि कुकुरसमेत झिकाइएको बताए । मियाँ मध्यमवर्गीय परिवारका सप्तरीका सफल व्यवसायीको रूपमा चिनिन्छन् । उनको सप्तरी र सुनसरीमा गरी तीनवटा इँटाभट्टा र सप्तरीमा एउटा पेट्रोलपम्प तथा एउटा समिल छ ।

अनियमितता रोक्न हिँडेका मन्त्रीबाटै अनियमितता
गत शनिबार गृहजिल्ला लमजुङ आएका कृषिमन्त्री टेकबहादुर थापालाई राजनीतिक दलका नेता तथा कार्यकर्ताले वास्ता नगरे पनि कर्मचारीले भने निकै चाकडी गरेको देखिन्थ्यो । सामान्यतया मन्त्री आउँदा सुरक्षाका लागि जिल्लाका प्रहरीले स्कर्टिङ गर्ने प्रावधान रहे पनि उक्त दिन कृषिमन्त्रीका पछाडि १३ वटा गाडी हुइँकिएका थिए ।
सायद पूर्वसचिव मन्त्री भएकाले होला मन्त्रीका चाकडीका लागि आफ्नै गृहजिल्ला लमजुङको भ्रमणमा निस्किएका मन्त्री टेकबहादुर थापा लमजुङको प्रवेशद्वार मानिएको पाउँदी क्षेत्र पस्नेबित्तिकै सर्वसाधारण जनताको ओइरो नै लाग्यो । तर, जनता मन्त्री थापालाई हेर्न नभई थापा चढेको गाडीपछाडि लहरै गुडेका १३ वटा सरकारी गाडीको रमिता हेर्न उत्सुक थिए । मन्त्री थापाको गाडी सदरमुकाम बेसीसहर आइपुगेपछि १ किलोमिटर क्षेत्रको बेसीसहर बजार झनै अन्योलग्रस्तझैँ बन्न पुग्यो । दलहरूको सरकार र शाहीशासन भएका बेलामा पनि यस्तो नदेखेको सर्वसाधारणले प्रतिक्रिया दिए । मन्त्री थापा बस्ने गेट वे हिमालयन रिसोर्टभित्र गाडीहरू एकपछि अर्को गर्दै पस्न थालेपछि रिसोर्टको प्राङ्गण एकछिन अस्तव्यस्त र सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई पार्किङ गराउनसमेत हम्मे–हम्मे परेको थियो ।
प्रधानन्यायाधीश खिलराज रेग्मीको सरकार बन्नुअघि प्रधानमन्त्री तथा अन्य मन्त्रीहरू महिनैपिच्छे लमजुङ आउने गरे पनि यतिका सवारीसाधन प्रयोग गरी जिल्ला आएको यो पहिलोपटक हो । सरकारी कार्यालयहरूको अनिमितता रोक्न तथा त्यस सम्बन्धमा अनुगमन तथा निर्देशन गर्न आएका मन्त्रीले आफ्नो तामझामका लागि यत्तिका गाडी प्रयोग गरेर ढर्रा प्रदर्शन गर्नु कति नियमसङ्गत भयो, बुझ्न सकिएन ।
– छविलाल बगाले

६ एसएसपी निरस्त्र हुँदा आईजीलाई मिल्यो सफलता
प्रहरी महानिरीक्षक कुवेरसिंह रानालाई असफल बनाउने बद्नियतले कदम चाल्ने ६ जना वरिष्ठ प्रहरी अधिकृतलाई सर्वोच्च अदालतको आदेशले निराश तुल्याएको छ । प्रहरी नियमावली ०४९ लाई टेकेर सरकारले गत पुस ४ गते पाँचजना एसएसपीलाई बढुवा गरेर डीआईजी बनाएपछि प्रहरी वरिष्ठ उपरीक्षक रविप्रताप राणा, पूर्णसिंह खड्का, मनोहरप्रसाद रिमाल, रामकुमार खनाल, ज्ञानोदराज वैद्य र ताराप्रसाद लामिछाने बढुवा बदर गर्न भन्दै अदालत पुगेका थिए ।
आफूभन्दा कनिष्टलाई बढुवा गरेको भन्दै अदालत गए पनि उनीहरूको भित्री मनसाय आफू बढुवा नभएको भन्दा पनि महानिरीक्षक कुवेरसिंह रानालाई असफल बनाउने अस्त्र बोकेर उनीहरू सक्रिय भएको आशंका गरिएको थियो ।
बढुवा समितिको सिफारिसका आधारमा सरकारले श्यामबहादुर खड्का, नवराज सिलवाल, प्रकाश अर्याल, जयबहादुर चन्द र बमबहादुर भण्डारीलाई डीआइजी पदमा बढुवा गरेको थियो । अदालत गएका प्राय: सबै प्रहरी अधिकृत कुनै न कुनै रूपमा सङ्गठनविपरीत काम गरेका कारण कारबाहीमा परेका व्यक्ति हुन् । काम गरेर सङ्गठनको नाम राख्ने बेलामा अनेक प्रपञ्च रच्दै थैलीभेटीतिर आकर्षक हुने त्यस्ता अधिकृतलाई बढुवा समितिले अनेक कोणबाट हेर्दा पनि उपयुक्त नदेखेपछि उपरोक्त अधिकृतहरूलाई बढुवा सिफारिस गरेको थियो । बढुवामा परेका नवराज सिलवाल, जयबहादुर चन्द, प्रकाश अर्याल नेपाल प्रहरीभित्र काम गर्ने अधिकृतका रूपमा परिचित अनुहार हुन् । सिलवाल र चन्द काठमाडौं प्रमुख रहँदा चामत्कारिक रूपले काठमाडौंको सुरक्षा भएको थियो भने अर्यालले लुम्बिनी अञ्चल प्रमुख हुँदा उल्लेख्य काम गरेका थिए । चन्दले काठमाडौंको प्रमुख हुँदा गरेको बस्ती भेटघाट कार्यक्रमले सुरक्षा सुधारको प्रतिशत विगतको भन्दा एक्कासि निकै कम भएको थियो । सम्मानित अदालतको यो निर्णयले जनताको सुरक्षाको जिम्मा लिएको प्रहरीलाई सिनियर–जुनियर होइन काम गर्नुपर्छ भन्ने कुरालाई निरन्तरता दिन ठूलो सहयोग मिलेको छ ।

किन बढ्दै छ झापामा एचआईभीको जोखिम ?
झापा/ झापामा एचआईभी/एड्सको जोखिम बढ्दै गएको छ । अघिल्ला वर्षको तुलनामा यो वर्ष झापामा एचआईभी र एड्सको सङ्क्रमण अवस्था बढेर गएको देखिएको छ । एचआईभी र एड्सको बढ्दो उच्च दर राष्ट्रिय तथ्याङ्कमा घट्दो रहेको पाइए पनि जिल्लामा भने यसको अवस्था बढ्दै गएको सरोकारवालाहरू बताउँछन् । जिल्ला एड्स समन्वय समिति (ड्याक) की कोअर्डिनेटर लोबर्टो श्रेष्ठका अनुसार एचआईभी र एड्सको सङ्क्रमणको अवस्था अघिल्ला वर्षहरूको तुलनामा यो वर्ष बढेको छ । ‘तुलनात्मक रूपमा यो अवस्था भयावह हो,’ उनले भनिन्, ‘विभिन्न सङ्घसंस्थामार्फत् एचआईभी र एड्सको जोखिम न्यूनीकरण गर्न कार्यक्रम सञ्चालन भइरहे पनि उपलब्धि प्रगतिमूलक मान्न सकिँदैन ।’
ड्याकको तथ्याङ्कमा अहिले जिल्लामा तीन सय ९४ जना एड्स सङ्क्रमित रहेका छन् । तीमध्ये महिला एक सय ६४, पुरुष दुई सय ३० जना र बालबालिका तीनजना रहेका छन् । ती सङ्क्रमितहरूमध्ये २१ जनाको मृत्यु भइसकेको ड्याक कोअर्डिनेटर श्रेष्ठले बताइन् । ड्याकमा आबद्ध विभिन्न सङ्घसंस्थाहरूले गरेका परामर्श तथा रगत परीक्षणमार्फत गत चैतसम्म सात हजार आठ सय ८१ जनामा एचआईभीको जीवाणुसमेत फेला परेको थियो । यो दरलाई तुलना गर्ने हो भने मासिक पाँचजनामा एचआईभीको भाइरस थपिँदै गएको छ । एड्स सङ्क्रमितहरू अधिकांश यौन व्यवसायी, यौन व्यवसायीका ग्राहक, गृहिणी, आप्रवासी, लागूऔषध प्रयोगकर्ताहरू तथा विभिन्न रगत जाँचका क्रममा त्यस्तो सङ्क्रमण देखिएको बताइएको छ । श्रेष्ठले एड्स सङ्क्रमितहरूमध्ये विभिन्न रगत जाँच, बालबच्चा र रगतजन्य परीक्षणहरूबाट दुई सय १९ जना छन् । त्यस्तै यौन व्यवसायी ग्राहक ५९, गृहिणी २४, यौन व्यवसायी ३६ जना र २० जना लागूऔषधका प्रयोगकर्ता रहेका छन् ।
त्यस्तै ड्याकको तीनवर्षे तथ्याङ्कमा समेत एचआईभी र एड्सको जोखिम अवस्था बढ्दो छ । तीन वर्ष अवधिमध्ये आर्थिक वर्ष ०६७/६८ मा एचआईभी हुनेको सङ्ख्या २९ सय १५ छ भने त्यो वर्ष ५५ जनामा एड्सको सङ्क्रमण देखिएको थियो । ०६८/६९ आवमा २६ सय १५ जनामा एचआईभी र ४६ जना एड्स सङ्क्रमित पाइएको थियो । तर अहिले चालू वर्षको १० महिनामा ३५ सय जनामा एचआईभीको जीवाणु देखिएको छ भने ४६ जना एड्स सङ्क्रमित भएको तथ्याङ्कमा उल्लेख छ ।
जिल्लाभित्र १३ वटाभन्दा बढी सङ्घसंस्थाहरूले लागूऔषध, एचआईभी र एड्सको रोकथाम क्षेत्रमा काम गर्दै आएका छन् । अधिकांश गैरसरकारी संस्थाहरूले लागूऔषधका प्रयोगकर्तालाई कार्यविधि बनाएर कार्यक्रमले प्राथमिकीकरण गर्दै आएका छन् । तर, अहिले लागूऔषधभन्दा अन्य माध्यमबाट एचआईभीको जोखिम वृद्धि भएको सरोकारवाला निकायको दाबी छ । ड्याककी कोअर्डिनेटर श्रेष्ठले खुला सीमाका कारण आप्रवासी कामदारको असुरक्षित यौन गतिविधिले पछिल्लो समय यसको जोखिम अवस्था बढाएको बताइन् । ‘लागूऔषध मात्र होइन, एचआईभी रोकथाम गर्न असुरक्षित यौन गतिविधिहरूमा विशेष सतर्कता कार्यक्रम ल्याउनुपर्ने देखिन्छ,’ उनले भनिन् ।
झापामा वर्षेनी तीन करोड रुपैयाँको हाराहारीमा विभिन्न दातृ तथा सरकारी निकायबाट स्थानीय गैरसरकारी संस्थाहरूले बजेट खर्च गर्दै आएका छन् । सन् २०११ को तथ्याङ्कमा झापामा करिब पाँच हजार लागूऔषधका प्रयोगकर्ताहरू छन् भने कतिपयले असुरक्षित यौन व्यापार गरिआएका स्रोतले जनाएको छ । त्यस्तै विदेशिएका महिला, पुरुष, गृहिणीहरूसमेतबाट एचआईभी भित्रिएको पाइएको छ । – विष्णु सुब्बा

त्रिवि परीक्षा नियन्त्रकमा प्राध्यापक बास्तोला
त्रिभुवन विश्वविद्यालयको महत्वपूर्ण निकायको रूपमा रहेको त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुको नियन्त्रकमा पृथ्वीनारायण बहुमुखी क्याम्पसका वरिष्ठ भूगोलविद् प्राध्यापक केशव बास्तोला नियुक्त हुनुभएको छ । उहाँको नियुक्तिलाई नागरिक समाजद्वारा उच्च महत्वका साथ हेरिएको छ । ठीक समयमा परीक्षा सञ्चालन, ठीक समयमा नतिजा प्रकाशनजस्ता कुराहरू उहाँको कार्यकालमा हुने आशा आमप्राध्यापक एवम् सम्बद्ध अन्य पक्षले लिएका छन् ।
भूगोल र शिक्षा दुवै विषयमा अन्तर्राष्ट्रियस्तरको ख्याति पाएका प्रा. बास्तोला भ्रष्टाचारका कट्टर विरोधी र सदाचार, सद्गुण र सद्व्यवहारका ठूला पक्षपातिका रूपमा परिचित हुनुहुन्छ । प्रजातन्त्रवादी प्राध्यापकका रूपमा परिचित प्रा. बास्तोलाले ०४६ को जनआन्दोलन र ०६३ को लोकतान्त्रिक आन्दोलनमा खेलेको भूमिका विशेष महत्वपूर्ण र ऐतिहासिक छ ।

युवा सङ्घ दमकमा पुन: बराल
युवा सङ्घ नेपाल दमक नगर कमिटीको अध्यक्षमा पुन: नवीन बराल चुनिएका छन् । छैटौँ सङ्घको नगर अधिवेशनले बरालको अध्यक्षतामा ४७ सदस्यीय नगर कमिटी चयन गरेको हो । सर्वसम्मत गठित कमिटीको उपाध्यक्षमा विमल थापा, सचिवमा राम पौडेल, सहसचिवमा सुरेश भण्डारी र कोषाध्यक्षमा सुमन शर्मा चौलागाईं चुनिएका छन् ।
यसैगरी सदस्यहरूमा मदन राई, टीका सापकोटा, मोहन अधिकारी, चन्द्रवीर विक, सुष्मा न्यौपाने, विनोद ढकाल, गोविन्द श्रेष्ठ, पदम बुढाथोकी, प्रदीप गौतम, समिन रिजाल छन् । त्यस्तै सदस्यहरूमा धनराज कुँवर, रविन चापागाईं, कुमार राई, मातृका न्यौपाने, विष्णु पौडेल, देवी भुजेल, सुष्मा निरौला, निर्मला गौतम, योगेश राई, पदम मगर, पुष्पा गिरी, लोकेश न्यौपाने, पवित्रा कार्की, उमेश नेपानी, डिल्ली श्रेष्ठ र रविन श्रेष्ठलगायत रहेका छन् ।

भूपू सैनिकको कल्याणकारी योजनाबारे प्रतिनिधिमण्डलद्वारा आवश्यक परामर्श
नेपालस्थित भारतीय भूपू सैनिक कल्याणकारी सङ्गठनको २३औँ सम्मेलन गत साता सम्पन्न भएको छ । सो सम्मेलनमा सहभागिताका लागि भारत सरकार रक्षा मन्त्रालयका सचिव राजीव गुप्ताको नेतृत्वमा एक प्रतिनिधिमण्डल नेपाल आएको थियो । साताव्यापी रूपमा सम्पन्न सम्मेलनका क्रममा मित्रराष्ट्र भारतका उक्त प्रतिनिधिमण्डलका सदस्यहरूले रक्षासचिवसँग भेटवार्ता गरेको थियो भने नेपाल सरकारका अन्य उच्चपदस्थ अधिकारीहरूसँग पनि प्रतिनिधिमण्डलले भेटघाट, छलफल तथा अन्तरक्रिया गरेको बताइएको छ । यस्तै, नेपालस्थित भारत सरकारका भूपू तथा पेन्सनवालाहरूसँग पनि भारतीय रक्षासचिव गुप्ता नेतृत्वको प्रतिनिधिमण्डलद्वारा सम्बन्धित विषयहरूमा छलफल गरिएको बुझिएको छ ।
सो प्रमण्डलले पोखरास्थित पेन्सन वितरण कार्यालयको कामकारबाही निरीक्षण गर्नुको साथै पेन्सनवालाहरूसँग अन्तरक्रिया गरेको थियो । प्रमण्डलले नेपालस्थित भारत सरकारका पेन्सनवालाहरूको सुविधाका लागि सञ्चालित कल्याणकारी योजनाहरूको निरीक्षण गरी आवश्यक परामर्श गरेको स्रोतले जनाएको छ ।
सम्बद्ध निकायले जनाएअनुसार भारतीय भूपू सैनिक कल्याणकारी सङ्गठनको २३औँ सम्मेलन सफलतापूर्वक सम्पन्न हुनुको साथै सम्मेलनले नेपालस्थित भारत सरकारका एक लाख २५ हजारभन्दा बढी पेन्सनवालाको सुविधाका लागि आर्थिक वर्ष ०१३/१४ मा सञ्चालित कल्याणकारी योजना तथा परियोजनाको आवरणलाई अन्तिम रूप दिएको छ ।

वाल्मीकि आश्रममा नीतिशकुमारद्वारा पूजा
नवलपरासी । चितवन जिल्ला गर्दी गाविसमा पर्ने वाल्मीकि आश्रम धार्मिक धरोहरको केन्द्रबिन्दु भए पनि राज्यको ध्यान पुग्न नसकेको कारण ओझेलमा परेको छ । पौराणिक कालदेखि धार्मिक आस्थाको रूपमा रहेको वाल्मीकि आश्रममा जगत्जननी सीतामाताको आश्रयस्थल, भगवान् रामका पुत्रद्वय लवकुशको जन्मभूमि भएकाले आश्रमको धार्मिक महत्व रहेको छ । नेपाल–भारत अन्तर्राष्ट्रिय छोइएको वाल्मीकि आश्रममा यातायात, खानेपानी, विद्युत् र शिक्षाको आभावमा ओझेलमा परेको हो ।
सीतामाताको पानी भर्ने इनार, लवकुशको पाठशाला, त्रेतायुगमा भगवान् रामले छोडेको घोडा बाँधिएको किला, सीताको धर्ती प्रवेशस्थल र महर्षि वाल्मीकि ऋषिले रामायण लेखेको स्थल र तपोभूमिबाट सिंगारिएको आश्रम धार्मिक महत्व भए पनि सिंहदरबारको दृष्टि नपुगेकाले अन्य तीर्थस्थलसरह प्रचारप्रसार हुन नसकेको जानकार वर्गले बताएका छन् । चितनवको अनकन्टार जङ्गल र नवलपरासीको त्रिवेणीबाट नारायण नदी तर्नुपर्ने र घन्टौँ पैदल हिँड्नुपर्ने समस्याले नेपाली तीर्थालु गण्डक ब्यारेज नाकाको सुगम बाटो भारत बिहार भैंसालोटन जङ्गलबाट आश्रम जानुपर्ने अवस्था रहेको छ । भारतभूमिबाट आश्रम जाँदा भारतीय सुरक्षा अवस्था रहेको छ । भारतभूमिबाट आश्रम जाँदा भारतीय सुरक्षाकर्मीको कडाइ र बिहार वन विभागद्वारा नेपाली नम्बर प्लेटका सवारीसाधनबाट तीन सय रुपैयाँ र गाडीको सवार प्रतिव्यक्ति थप पच्चीस रुपैयाँ लिने गरेबाट भक्तजन वाल्मीकि आश्रम जानबाट वञ्चित हुँदै आएका छन् । हालै सम्पन्न रामनवमीको अवसरमा विश्वसनातन धर्म स्थापनार्थ सीतामाता मन्दिर मूल समिति काठमाडौंको आयोजनामा वार्षिक पुजन कार्यक्रम र धार्मिक अन्तरक्रिया कार्य सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा मूल समिति अध्यक्ष दीपक रायमाझीले धर्मयुगको नेता कालसँग धार्मिक महत्व बोकेको आश्रमलाई त्रिवेणी धामबाट आवतजावत गर्न झोलुङ्गे पुलको व्यवस्था र विद्युतीकरण गर्न सकिए आश्रमको धार्मिक र पर्यटकीय महत्व बढाउन सकिने बताएका थिए ।
रामनवमीकै अवसरमा भारत बिहारका मुख्यमन्त्री नितिशकुमार कडा सुरक्षा–व्यवस्थाबीच वाल्मीकि आश्रममा पूजाआजा गर्न पुगेका थिए । सो अवसरमा मुख्यमन्त्री नितिशकुमारले आश्रमका उच्चस्तरीय बैठक गरी विकास निर्माणका लागि प्याकेज अगाडि बढाउन सकिने सुझाव दिएका थिए । नवलपरासी, चितवन र पश्चिमी बिहार चम्पारणका जिल्ला प्रमुखको तत्काल बैठक बोलाई आवश्यक पूर्वाधार तयार गर्न मुख्यमन्त्री कुमारले निर्देशन दिएका थिए । वाल्मीकि आश्रम मन्दिर व्यवस्थापन उपसमितिका अध्यक्ष शालिग्राम उपाध्यायले मन्दिरको तर्फबाट स्मरणपत्र बुझाउँदै मन्दिरको भौतिक पूर्वाधारका लागि विहार सरकारबाट सहयोगको आग्रह गर्नुभएको थियो । नेपाली काङ्गे्रस महासमितिको बैठकमा भाग लिन त्रिवेणी आएका काङ्गे्रसका शीर्ष नेताहरूले आश्रमको भ्रमण गरी विकासको पूर्वाधारका लागि पहल गर्ने आश्वासन दिए । वाल्मीकि आश्रम आउने नेता र उच्च राष्ट्रसेवकले दिने गरेको आश्वासनले कहिलेसम्ममा मूर्तरूप लेला प्रतीक्षाकै विषय बनेको छ । – आरपी उपाध्याय

नेपाल र भारतका सेनाको संयुक्त टोलीद्वारा सगरमाथा आरोहण
नेपाल र भारतीय सेनाको संयुक्त ‘नेपाल–भारत सगरमाथा आरोहण तथा सरसफाइ टोली’को एक समूहले सगरमाथाको सफल आरोहण गरेको छ । विगत एक महिनादेखि सगरमाथा बेस क्याम्प र सोभन्दा माथि सो टोलीले संयुक्त रूपमा काम गर्दै आएको थियो । आरोहण तथा सरसफाइ टोलीको पहिलो समूहले गत आइतबार बिहान नौ बजे सगरमाथाको सफल आरोहण गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
सफल आरोहीहरूमा नेपाली सेनाका तर्फबाट सेनानी समीर बस्नेत, सहसेनानी किशोर अधिकारी, गणप्रबन्ध हुद्दा ज्ञानेन्द्र लउडारी र अमल्दार धीरेन्द्र शाही रहेका छन् भने भारतीय सेनाका तर्फबाट मेजर आरएस जमवाल, सुवेदार मिङ्मार गुरुङ, हवल्दार सुधीर सिंह, हवल्दार चतर सिंह र लान्स नायक सुकवीर रहेका छन् ।
उक्त आरोहण तथा सरसफाइ अभियानको टोलीले विगत १ महिनादेखि सगरमाथा आधार शिविर र सोभन्दा माथि रहेका ठूलो परिमाणको फोहोर–मैलाहरूलाई समेत सफाइ गर्ने कार्य गरिरहेका छन् ।
यसैगरी, नेपाल–भारत संयुक्त सेना सगरमाथा आरोहण तथा सफाइ अभियान– २०१३ अन्तर्गत दोस्रो तथा अन्तिम आरोहण टोलीले पनि गत सोमबार बिहान सगरमाथाको सफल आरोहण गरेको छ । दोस्रो टोलीका आरोहीमा नेपाली सेनाका तर्फबाट सेनानी आदित्य कार्की, सहायक सेनानी भीमबहादुर भुजेल, जमदार कृष्णभक्त पौडेल, अमल्दार रमेश सडौला र अमल्दार टेकबहादुर थापा रहेका छन् भने भारतीय सेनाका तर्फबाट मेजर मनोज जोशी, सुवेदार आरएस जलाल, हवल्दार उल्मी कन्नत, नायक हजराई लाल, राइफलम्यानद्वय सोनाम थिन्लास र शिवराज सिंह रहेका छन् ।
गत चैत २९ गते नेपाली सेनाको तर्फबाट १२ जना आरोहीसहितको १४ जना र भारतीय सेनाको १२ जना आरोहीसहितको २० जना गरी जम्मा ३४ जनाको टोली सगरमाथातर्फ प्रस्थान गरेको थियो । उक्त आरोहण तथा सरसफाइ अभियानको टोलीले हालसम्म सगरमाथा आधार शिविर इलाकाबाट करिब दुई हजार केजीभन्दा बढी परिमाणको फोहोरसमेत सङ्कलन गरिसकेको बताइएको छ ।

एक सय ६ वर्षीया वृद्धालाई नागरिकताको प्रमाणपत्र
रूपन्देही/ एक सय ६ वर्षमा नागरिकता प्राप्त भयो भन्दा अचम्म नमान्ने सायद कोही नहोलान् । तर, यस्तै उदेकलाग्दो यथार्थ कथाको पात्र बन्न पुगेकी छिन् कपिलवस्तु जिल्ला हथौसा– ७ भडिहवा निवासी नन्दीदेवी गैरे । उनलाई एक सय ६ वर्षको उमेरमा जिल्ला प्रशासनले घरैमा पुगी नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको कोपवामा सञ्चालनमा रहेको घुम्ती शिविरअन्तर्गत उहाँलाई प्रशासकीय अधिकृत पुरन गिरीले नागरिकता प्रदान गर्नुभएको हो । नागरिकता प्रदान गर्दै अधिकृत गिरीले हालसम्म यति लामो समयसम्मको उमेरको नागरिकलाई नागरिकता प्रदान नगरेको बताउनुभयो ।
वि.सं १९६४ साल चैत १४ गते पर्वतको तत्कालीन मैदान गाविस– ५ मा जन्मनुभएकी गैरेको थुमपोखरा– ४ स्याङ्जामा विवाह भएको र उहाँ ०३८ सालमा कपिलवस्तु बसाइँसराइ गरी आउनुभएको थियो । ०५२ सालमा जिल्ला विकास समितिले सामान्य परिचयपत्र दिएको र सोहीको आधारमा वृद्धा भत्ता खाँदै आएपछि नागरिकताको जरुरी नपरेकाले हालसम्म नबनाएको उहाँका छोरा कुलप्रसाद गैरेले बताए । अब निर्वाचनका लागि फोटोसहितको परिचयपत्रलाई नागरिकता चाहिने हुँदा नागरिकता बनाइएको उहाँका नाति मणिप्रसाद गैरेले बताए । नागरिकतासँगै निर्वाचनका लागि चाहिने फोटोसहितको मतदाता नामावलीसमेत बनाइएको छ । उहाँ सामान्य बोलचाल र घरमै आवाजावत गर्न सक्नुहुन्छ । – चन्द्रकान्त खनाल

रेसुङ्गा पर्वतमा कर्मचारी जमघट
नेपाली काङ्गे्रसको शुभेच्छुक संस्था निजामती कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष सुबोधकुमार देवकोटाले प्रजातन्त्रको संस्थागत विकास गर्नका लागि कर्मचारी प्रशासनको ठूलो भूमिका रहने भएकाले सबै कर्मचारी इमानदारिताका साथ कर्तव्य निर्वाहमा लाग्नुपर्ने बताउनुभएको छ । अध्यक्ष देवकोटाले उक्त कुरा नेपाल निजामती कर्मचारी युनियन गुल्मी शाखाद्वारा प्रकाशित रेसुङ्गा सुशासन पुस्तकको विमोचन गर्दा बताउनुभएको हो ।
रेसुङ्गा पर्वतको घनघोर जङ्गलको बीचमा रहेको मन्दिर परिसरमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले युनियनले ऐतिहासिक स्थल कार्यक्रम राखेर यसको प्रचारप्रसार गर्न उल्लेख्य योगदान पु-याएको बताउनुभएको थियो । प्रजिअ नेपालले यसरी केन्द्रीय समितिको बैठक यस पवित्र भूमिमा राखिनु र पुस्तक विमोचन गरिनु आफैँमा सकारात्मक भएको बताउनुभएको थियो । प्रजिअ नेपालले हामी कर्मचारी जनताले तिरेको करबाट प्राप्त रकमले चलेकाले उनीहरूको त्यो रकम चुक्ताका लागि इमानदार हुनुपर्ने बताउनुभएको थियो । नेपाली काङ्गे्रसका पूर्वसभापति एवम् सांसद रुद्रमणि शर्मा भण्डारीले नेपाली काङ्गे्रसले अहिलेसम्म यस्तो प्रभावकारी कार्यक्रम राख्न नसकेको अवस्थामा शुभेच्छुक संस्थाले यति राम्रो कार्यक्रम गरेर आफूहरूलाई पाठ सिएको बताउनुभयो । नेपाली काङ्गे्रसका उपसभापति भुवनप्रसाद श्रेष्ठले कर्मचारीस्तरको केन्द्रीय बैठक गुल्मीमा राखेर आफूहरूलाई सम्मान गरेको अनुभूति भएको बताउनुभएको थियो । निजामती कर्मचारी युनियन गुल्मीका अध्यक्ष खिमलाल पाण्डेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा केन्द्रीय वरिष्ठ उपाध्यक्ष रुद्र खनाल, केन्द्रीय सदस्य जयश्वर पन्थीलगायतका वक्ताले निजामती कर्मचारीको भूमिकाबारे चर्चा गर्नुभएको थियो ।
रेसुङ्गा सुशासन पुस्तकको सम्पादन सहायक प्रमुख जिल्ला अधिकारी गौरव पन्थी, विष्णु घर्ती, गोपाल पन्थी, लक्ष्मण पाण्डे, झविलाल विश्वकर्माले गरेका थिए ।

ज्येष्ठ अधिकारीको कृति विमोचन
झापा/ दमक–१४ का ज्येष्ठ दुर्गाप्रसाद अधिकारीद्वारा लिखित ‘पहिलेदेखि अहिलेसम्मका कुरा’ नामक कृतिको विमोचन गरिएको छ । दमक–१० स्थित ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठानले शनिबार आयोजना गरेको एक कार्यक्रममा ७२ वर्षीय लेखक अधिकारीको सो कृतिको विमोचन गरिएको हो । छन्द कवितासहित ज्येष्ठहरूको सेरोफेरोमा केन्द्रित सो कृतिको समाजसेवी तथा नेपाल निर्माण व्यवसायी सङ्घ झापाका अध्यक्ष गणेशबहादुर बस्नेतले विमोचन गरे । विमोचनमा कृतिमाथि साहित्यकार रुद्र निरौला र कृतिकारको जीवनीमाथि देवराज अधिकारीले प्रकाश पारेका थिए । विमोचन कार्यक्रममा वक्ताहरूले ज्येष्ठ समुदायबाट यस्ता कार्य अन्य समुदायका लागि समेत उदाहरणीय रहेको बताएका थिए । प्रतिष्ठानका अध्यक्ष भवानीप्रसाद दाहालको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रतिष्ठानका सदस्यद्वय मोती इङ्नाम र सीताराम खतिवडाले सञ्चालन गरेका थिए । कार्यक्रममा ज्येष्ठहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

‘जय नेपाल’ भन्दै आए राजेन्द्र
मुलुक यतिबेला संविधानसभाको दोस्रो निर्वाचनको चटारोमा परेको छ । चुनावको तिथि तोकिसकिएको छैन तापनि राजनीतिक दलका नेता–कार्यकर्ता आ–आफ्ना गाउँ–जिल्लातर्फ केन्द्रित हुने उपक्रम बढ्दो छ । विभिन्न बहानामा हुने राजनीतिक कार्यक्रमले चुनावी सभाको रूप लिन थालेकोसमेत देखिएको छ । दलहरूले आ–आफ्ना नीति–सिद्धान्तअनुरूपका गीत–सङ्गीत प्रस्तुत गरेर आममतदाताको ध्यान खिच्ने प्रयत्न गरेका पनि भेटिन्छन् । यो सबै आफ्नै कोणबाट नियालिरहेका एक सचेत प्रजातन्त्रवादी युवाको मन भने त्यतिबेला कटक्कै काटिएछ जहाँ नेपाली काङ्ग्रेसको एक सभामा हिन्दी गाना र डिस्को सङ्गीत बजाएर दर्शकको ध्यान खिच्ने प्रयत्न गरिँदै रहेछ ।
दशकौँदेखि प्रजातन्त्रका लागि निरन्तर लड्दै आएको मुलुककै सर्वाधिक पुरानो राजनीतिक दल नेपाली काङ्ग्रेससँग आफ्नो नीति तथा सिद्धान्तअनुरूपको ‘गीत’ नै नभएर यस्तो दुर्दशा व्यहोर्नुपरेको ठानी यी युवाले आफ्नै खर्चमा ‘जय नेपाल’को गीत तयार गर्ने सङ्कल्पका साथ प्रजातान्त्रिक आन्दोलनका पुराना सिपाही एवम् आफ्ना पिता स्वर्गीय टीकाचन्द्र पाठकको रचनामा स्वर–सङ्गीत भर्ने अठोट गरे । उनको त्यही अठोटले यतिबेला मूर्तरूप लिइसकेको छ । एक लाखभन्दा बढ्ता व्यक्तिगत लगानीमा उनले दुईवटा सुन्दर र कर्णप्रिय गीत आफ्नै आवाज तथा चर्चित सङ्गीतकार राजु सिंहको सङ्गीतमा रेकर्ड गराएर प्रकाशमा ल्याएका छन् । यसरी आफ्नो आस्था रहेको पार्टीका लागि मरिहत्ते गरेर लागिपर्ने जुझारु युवा हुन्– राजेन्द्रप्रसाद पाठक ।
‘जय नेपाल’ नामक सो गीति एल्बममा समेटिएको ‘ढल्के टोपी बीपीको जय नेपाल हामी सबैको…’ र ‘वारिपारि काङ्ग्रेसको घेरा, यो मुटु माझैमा विश्वेश्वर कोइराला…’ बोलका दुई गीतमा नेपाली काङ्ग्रेसका संस्थापक नेता बीपीदेखि सुवर्ण, गणेशमान, किसुनजीदेखि गिरिजाप्रसादसम्म र नेपाली काङ्ग्रेसको ऐतिहासिक योगदान एवम् वर्तमानमा यसको सान्दर्भिकतासम्मको कथा समेटिएको छ । राजु सिंहको मनमोहक सङ्गीतमा राजेन्द्र पाठकको स्वरलाई थप सुमधुर महिला आवाजले साथ दिँदा गीत अत्यन्त कर्णप्रिय बन्न पुगेको छ । पार्टीभित्रको सांस्कृतिक खडेरीमा सीआरबीटी नम्बर ०१३००३९७६५, ०१३००३७७६६, ०१३००३९७६७ र पीआरबीटी नम्बर ६०४४४९६६, ६०४४४९६७ र ६०४४४९६८ रहेका युवा सर्जक राजेन्द्रको ‘जय नेपाल’ एल्बमले अमृत वर्षाको काम गर्ने दाबी गर्न सकिन्छ, यदि सो पार्टीले पाठकका सिर्जना चिनेर अवलम्बन गरेमा ।
यसरी भावुकतावश ‘जय नेपाल’को गीत गाउन पुगेका राजेन्द्र व्यावसायिक गायक भने होइनन् । एलएलबी, ‘मास कम्युनिकेसन एन्ड जर्नालिज्म’मा एमए तथा राजनीतिशास्त्रमा पीएचडी गर्दै गरेका पाठक पेसाले अधिवक्ता हुन् भने मह जोडीद्वारा सिर्जित टेलिसिरियल ‘मदनबहादुर हरिबहादुर’, कान्तिपुर टीभीको ‘यस्तै छ यहाँको चलन’, एनटीभीको सिरियल ‘गुठी’, टेलिड्रामा ‘मति बिग्रेकी श्रीमती’, फिचर फिल्म ‘झेली’लगायत थुप्रैमा उनले अभिनय कौशलसमेत प्रदर्शन गरिसकेका छन् । बहुमुखी प्रतिभा बोकेका पाठकले ‘जय नेपाल’ एल्बमकै लागि अलग्गै सङ्गीतको प्रशिक्षण लिएर गायन क्षेत्रमा फाल हानेका छन्, सफलताका लागि उनलाई शुभकामना ।

कविता वाचनको ७२औँ शृङ्खला सम्पन्न
ज्योति साहित्य प्रतिष्ठानले कविता शृङ्खलाको ७२औँ भाग सम्पन्न गरेको छ । विगत ६ वर्षदेखि नयाँ–पुराना कवि तथा साहित्यकारलाई उपस्थित गराएर कविता, गीत, गजल मुक्तक आदि वाचन गराउँदै आएको यस संस्थाले हरेक महिनाको पहिलो शुक्रबार कविता वाचनका लागि समय छुट्याएको छ ।
जेठको पहिलो शुक्रबार प्रतिष्ठानले ७२औँ शृङ्खलाको कार्यक्रम गरेको थियो । वरिष्ठ गजलकार तथा कवि ज्ञानुवाकर पौडेललाई प्रमुख अतिथि बनाइएको उक्त कार्यक्रममा कवि मदन कार्की, गार्गी शर्मा, वेदमणि घिमिरे, नवराज पहाडी, दिनेशविक्रम थापा, निशा केसी, सङ्गीता शर्मा, कमला रिसाल ज्योति, शिव भुसाल, श्यामबहादुर भावुक, प्रिती कौर, माणिराज सिंह, ज्ञानुवाकर पौडेललगायत अन्य धेरै कविले कविता वाचन गरेका थिए ।

छोटा राजन बनेर फिरौती धन्दा
छोटा राजनको नाममा विदेशी नम्बरहरूबाट फोन गरी अपहरण गर्ने तथा ज्यान मार्ने धम्की दिई रकम माग गर्ने कास्की चापाकोट–३ घर भई हाल धापासी–९ बसुन्धारा बस्ने ३२ वर्षीय ठाकुरप्रकाश विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं–४ बालुवाटार बस्ने ३८ वर्षीय अनील विश्वकर्मा गजमेरले विभिन्न विदेशी नम्बरहरूबाट निजको मोबाइल नम्बरमा फोन गरी अपहरण गर्ने तथा ज्यान मार्ने धम्की दिई रकम माग गर्ने गरेको भनी मौखिक उजुरी दिएको आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको अनुसन्धान टोलीले आवश्यक अनुसन्धान प्रक्रिया पूरा गरी विश्वकर्मालाई गत साता बसुन्धाराबाट पक्राउ गरेको हो ।
विश्वकर्माले आप्mनो व्यावसायिक रिसइवीको कारण मलेसिया, अस्ट्रेलियालगायतका देशमा रहेका सहयोगीहरूमार्फत फोन गर्न लगाई आफू छोटा राजन भएको र माग गरेबमोजिमको रकम नदिएमा अपहरण गर्ने तथा ज्यानसमेत मार्ने भनी धम्क्याउने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।