ट्रेड युनियन काङ्ग्रेसको निर्वाचनः देउवाले बनाए आफ्नो प्रतिष्ठाको विषय

ट्रेड युनियन काङ्ग्रेसको निर्वाचनः देउवाले बनाए आफ्नो प्रतिष्ठाको विषय


ट्रेड युनियन काङ्ग्रेसको निर्वाचन काङ्ग्रेस सभापति शेर बहादुर देउवाका निम्ति गम्भीर प्रतिष्ठाको विषय बनेको छ । उनको पक्षबाट खिलानाथ दाहाल युनियनको अध्यक्ष पदमा प्रतिष्पर्धा गर्दैछन् र देउवाका विपक्षीहरुले मजदुर नेता पुष्कर आचार्यलाई मैदानमा उतारेका छन् । यो निर्वाचनमा दाहालको विजय भएमा काङ्ग्रेसभित्र देउवाको स्थिति अझै पनि मजबूत रहेको मानिने छ । हाल अध्यक्ष पदमै रहेका दाहाललाइ पुष्कर आचार्यले निकै कडा टक्कर दिइरहेका छन् । मजदूर आन्दोलनको उद्गमस्थल विराटनगरमा जन्मेर नेपालको ट्रेड युनियन आन्दोलनमा मजदूरको हक र अधिकारका लागि विस २०४७ मा पार्टीको जिल्ला सदस्यबाट ट्रेड युनियन काङ्ग्रेस मोरङको जिल्ला अध्यक्ष, २०४९ मा ट्रेड युनियन काङ्ग्रेसको पहिलो महाधिवेशनमा केन्द्रीय सदस्य, २०५४ को दोस्रो महाधिवेशनमा महासचिव, तेस्रो महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष हुँदै नेपाल ट्रेड युनियन आन्दोलनलाई अगाडि बढाउँदै आउनुभएका श्रमिक नेता एवम् पूर्व सांसद पुष्कर आचार्य ट्रेड युनियनको जेठ २९ देखि ३१ गतेसम्म काठमाडौँमा हुन लागेको छैँटौँ महाधिवेशनमा अध्यक्षका लागि बहुचर्चित मजदूर नेता दाहालसँग प्रतिष्पर्धा गर्दै हुनुहुन्छ । श्रमिक नेता आचार्यलाई तपाईको उम्मेद्वारी केका लागि भन्ने प्रश्नमा उहाँको भनाई छ– ‘नेपाल ट्रेड युनियनको शाख अभिवृद्धि गर्ने, मजदूरहरुलाई आर्थिक रुपले सरल र समुन्नत बनाउँदै उनीहरुको पहुँच अभिवृद्धि गर्ने र समतामुलक समाज निर्माण गर्ने दिशामा अगाडि बढ्नका लागि मेरो उम्मेद्वारी हो ।’

मजदूर आन्दोलनलाई अगाडि बढाउनेबारे के सोच्दै हुनुहुन्छ ?
मजदूर भनेको राष्ट्र निर्माणको महत्वपूर्ण शक्ति हो । मजदूर विना मुलुकको विकास सम्भव छैन । मजदूरले काम नगरी मालिक वा जनताहरु बसेर आफ्नो आधारभूत आवश्यकताहरु पुरा गर्न सक्दैनन् । त्यसैले मजदूरलाई खुशी पार्नु राज्यको दायित्व हो । मजदूरलाई खुशी बनाउँदै मजदूरको आधारभूत आवश्यकता पुरा गर्ने दिशामा मेरो ध्यान केन्द्रीत हुनेछ ।

तपाई निवर्तमान सांसद पनि हुनुहुन्छ ? संसदमा गएर मजदूरको पक्षमा के कस्ता कामहरु गर्नुभयो ?
म मजदूरको प्रतिनिधित्व गर्दै विस २०७० सालमा संसदमा प्रवेश गरेको हुँ । मेरो कार्यकालको महत्वपूर्ण पक्ष भनेको संविधान निर्माण हो । संविधानमा मजदूरको हक अधिकार समेट्नका लागि मैले भूमिका निर्वाह गरें । राजनीतिक दलले मजदूरको आवाज कम सुन्ने गरेकोमा राजनीतिक दललाई मजदूरको समस्या समाधान गर्न ध्यानकेन्द्रीत गरेर सामाजिक सुरक्षा अधिकार, स्वास्थ्य उपचारलगायतका कुरालाई समेट्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छु । सामाजिक सुरक्षा विद्येयकलाई स्थापित गर्न पनि मैले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुँ ।

सांसद भएर श्रम आयोग निर्माण गर्न त सक्नुभएन नी ?
हो, तपाईँले सोध्नुभएको प्रश्न एकदमै सहि छ । म सांसद हुनुको एउटा महत्वपूर्ण लक्ष्य भनेको श्रम आयोग पनि हो । श्रम आयोग निर्माणका लागि मैले संसदका हरेक बैठकमा आवाज उठाएको हो । मैले श्रम आयोग निर्माणका लागि संसदमा प्रस्ताव समेत लगेको थिएँ तर मेरो कुरालाई त्यहाँ सुनुवाई भएन । म नेपाल ट्रेड युनियनको अध्यक्ष भएँ भने श्रम आयोग निर्माणका लागि कटिबद्ध भएर लाग्नेछु ।

अरु के के गर्नुहुन्छ ?
मलाई भोट दिने आधार भनेको जहाँ श्रमिक त्यहाँ नेपाल ट्रेड युनियनको नारालाई पुरा गर्नु हो । नेपाली काँग्रेसको केन्द्रदेखि गाउँसम्मको संरचनामा ट्रेड युनियनको प्रतिनिधित्व गर्ने, राष्ट्रिय श्रमिक आयोगका लागि सरकारलाई दवाव दिने, हरेक प्रदेशमा श्रमिक अस्पताल निर्माण गर्न सरकारलाई दवाव दिने, सामाजिक सुरक्षा ऐनलाई कार्यान्वयनमा ल्याउने, ट्रेड युनियनमा ३३ प्रतिशत महिला सहभागीता स्थापना गर्न, प्रदेश स्थानीय र औधोगिक स्तरमा सामुहिक सौदावाजीको अधिकारलाई सुनिश्चित गर्न पहल गर्ने, कार्यस्थलमा हुने सबै खाले विवेदको अन्त्य गर्नेछु । यसका अतिरिक्त कार्यस्थलबाट श्रमिकको मताधिकार सुनिश्चित गर्ने, महासंघलाई आर्थिक रुपमा आत्मानिर्भर बनाउने, ट्रेड युनियन काँग्रेससँग आवद्ध रहँदै आएका आइटीयुसीलगायतका संस्थालाई अन्तर्राष्ट्रिय स्तरमा सुढृढ बनाउनेछु ।