उपाध्यक्षलाई चीन पठाउँदै प्रचण्ड

उपाध्यक्षलाई चीन पठाउँदै प्रचण्ड


othernewsआफ्नो भारत भ्रमणपछि उत्पन्न भ्रम र आशङ्का हटाउन एमाओवादी अध्यक्ष प्रचण्डले उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई चीन भ्रमणमा पठाउन लाग्नुभएको छ । भारतीय अधिकारीहरूको अनौपचारिक सहमति लिएर चीन भ्रमणमा जानुभएका प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग ‘वान टु वान’ गुप्त वार्ता गर्नुभए पनि सोको जानकारी सार्वजनिक रूपमा गराउनुभएको छैन । भारत भ्रमणका क्रममा प्रचण्डले चीनसँग भएका कतिपय कुरा भारतीय अधिकारीसँग ‘सेयर’ गर्नुभएको बताइन्छ । भारत भ्रमणबाट चिनियाँ पक्षमा उत्पन्न आशङ्का हटाउन प्रचण्डले उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई चाइना पठाउन लाग्नुभएको बुझिएको छ । प्राप्त जानकारीअनुसार प्रचण्डको सन्देश लिएर श्रेष्ठ आगामी जेठ ९ गते चाइना जाँदै हुनुहुन्छ । नेपालस्थित चिनियाँ दूतावासको समन्वयमा चिनियाँ कम्युनिस्ट पार्टी र सरकारको संयुक्त तत्वावधानमा श्रेष्ठको चीन भ्रमण हुन लागेको हो । भ्रमणबारे जिज्ञाशा राख्दा उपाध्यक्ष नारायणकाजी श्रेष्ठले घटना र विचारसँग भन्नुभयो, ‘मेरो चीन भ्रमण कुनै विशेष कारणवश हुन लागेको होइन, सामान्य हो । मलाई चीन भ्रमण गर्न पहिलेदेखि नै आग्रह भइरहेको थियो, भ्रमणको मौका मात्र अहिले परेको हो । मेरो भ्रमणले नेपाल-चीन सम्बन्ध र दुई मुलुकका कम्युनिस्ट पार्टीहरूको सम्बन्धमा सकारात्मक प्रभाव पार्ने विश्वास मैले लिएको छु ।’ श्रेष्ठले आफ्नो भ्रमणको नकारात्मक अर्थ लगाउनुपर्ने कुनै कारण र अवस्था नरहेको पनि बताउनुभयो ।
पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ भारत र चीन दुवै मुलुकसँगको सम्बन्ध सन्तुलित र परस्पर हितोन्मुख हुनुपर्छ भन्ने पक्षमा रहनुभएको भए पनि प्रचण्डले भने श्रेष्ठलाई चीनसँग समीप राखी ‘काम लिने’ प्रयास गर्नुभएको बुझिन्छ । अर्का उपाध्यक्ष डा. बाबुराम भट्टराई भारतको निकटतम् व्यक्ति भनी प्रचार गर्नुहुने प्रचण्डले श्रेष्ठलाई चाहिँ चीनपक्षीय व्यक्तिका रूपका स्थापित गर्ने प्रयत्न गर्नुभएको छ । चीन भ्रमण मिलाउनमा समेत उपाध्यक्ष श्रेष्ठको महत्वपूर्ण भूमिका रहेकाले भारत भ्रमणपछिको सन्देश पनि प्रचण्डले श्रेष्ठमार्फत नै पठाउन खोजेको बताइन्छ । निकटवर्तीहरूले जनाएअनुसार प्रचण्ड आफ्नो भारत भ्रमण त्यति सन्तोषजनक नभएको ठान्नुहुन्छ र चीनसँको सम्बन्ध मजबुत नभएसम्म भारतले पनि नटेर्ने बुझाइ उहाँको रहेको छ । त्यसैले ‘भारतसँग मुखको र चीनसँग मनको’ सम्बन्ध बनाउने योजनाबद्ध प्रयास प्रचण्डबाट भइरहेको छ । उपाध्यक्ष नारायणकाजी श्रेष्ठको चीन भ्रमण पनि प्रचण्डको सोही रणनीतिक योजनामुताबिक हुन लागेको विश्लेषकहरूको धारणा छ ।

यी विरोधमा लाग्नुको बेग्लै कारण
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा लोकमानसिंह कार्कीको नियुक्ति हुने भएपछि अनुचित तवरले धन आर्जन गर्नेहरूमा एकप्रकारको आतङ्क नै मच्चियो । यस निर्णयबाट सबभन्दा आतङ्कित वाइवाइ चाउचाउका मालिक विनोद चौधरी बन्न पुगे र चौधरीले आफ्नै विरादरी (मारवाडी समुदाय) को व्यक्तिद्वारा सञ्चालित अखबारलाई भरमार प्रयोग गरे । उक्त अखबारका मालिक स्वयम् पनि आफ्नो सम्पत्तिको स्रोत खोजी हुनसक्ने सम्भावनालाई लिएर आतङ्कित हुन पुगे र उनले आफू सञ्चालित अखबारलाई कार्कीविरोधी दैनिकका रूपमा प्रस्तुत गरिरहे । हालसम्मका गतिविधि हेर्दा कार्कीको विरुद्ध विनोद चौधरी सर्वाधिक तर भित्री रूपमा सक्रिय रहेको पाइएको छ । अर्बौं रुपैयाँ भ्याट छलीमा दोषी रहेका विनोद चौधरीले राजा वीरेन्द्र र बडामहारानी ऐश्वर्यको सम्पत्ति हत्याएकोबारे समेत छानबिन हुन सक्ने भएकोले चौधरी ज्यादा तर्सिएर कार्कीविरुद्ध सक्रिय भएको बुझिन्छ । चौधरी निकटको मानिने नेकपा एमालेका नेताहरू माधवकुमार नेपाल, प्रदीप ज्ञवाली र शंकर पोखरेललगायत कार्कीविरुद्ध सक्रिय भएको देखिन्छ भने अख्तियारका पूर्वसचिव भगवती काफ्ले पनि ज्यान फालेर कार्कीलाई रोक्न सक्रिय भए । के कारणले हो कुन्नि, एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि कार्कीविरुद्ध सक्रिय भएको पाइयो । यसबाहेक नेपाली काङ्गे्रसका नेताहरू सुजाता कोइराला र गगन थापा पनि कार्कीविरुद्ध सक्रिय रहेको देखियो । नेकपा-माओवादीले त कार्की प्रकरणलाई सङ्घर्षको थालनी गर्ने एउटा हतियारकै रूपमा उपयोग गर्न खोजेको छ । यसरी हेर्दा लोकमानका विरुद्ध सर्वश्री विनोद चौधरी त्यसपछि एक पत्रिकाका मालिक, राष्ट्रपति डा. रामवरण यादव, माधव नेपाल, प्रदीप ज्ञवाली, शंकर पोखरेल, सुजाता कोइराला, गगन थापा, भगवती काफ्ले, नारायणकाजी श्रेष्ठ र कार्कीविरुद्ध सर्वोच्च अदालतमा बहस गर्ने वकिलहरू अग्रपङ्क्तिमा देखिएका छन् । कतिपयले बदलाको भावनाले कार्कीको विरोध गरेको र केहीले सस्तो लोकप्रियताका निम्ति विरोधको आवाज बोलेको भए पनि विनोद चौधरीलगायतले चाहिँ आफ्ना अपराधविरुद्ध छानबिन र कारबाही हुनसक्ने त्रासका कारण विरोध गरेको पाइएको छ ।

चुनाव विद्यार्थीको, चिन्ता पार्टी नेतालाई
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नतिजाबाट आगामी संविधानसभा चुनावमा प्रतिनिधित्व गर्ने दलहरूको हैसियत स्पष्ट हुने भन्दै प्रमुख राजनीतिक दलका नेताहरूले स्ववियु निर्वाचनबाट पार्टी अनुकूल नतिजा ल्याउन पार्टीले कुनै कसर बाँकी नराख्ने भएका छन् । उनीहरूले निर्वाचन आफूअनुकूल बनाउन पार्टीले आर्थिक, राजनीतिकलगायत सबैखाले सहयोग गर्ने विद्यार्थी नेताहरूलाई आफ्नो निवासमै बोलाएर भनेका छन् ।
त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले जेठ २३ मा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गराउने भन्दै मिति सार्वजनिक गरेलगत्तै दलका नेताहरू आफ्नो पार्टीनिकट विद्यार्थी सङ्गठनका प्रमुखलाई बोलाई निर्वाचनमा बहुमत ल्याएर जित्ने माहौल बनाउन भन्दै निर्देशन दिएका हुन् । उनीहरूले चुनाव जित्नका लागि बनाएको रणनीति सफल पार्न पार्टीले कुनै पनि कसर बाँकी नराख्ने भन्दै सोहीअनुसारको मानसिकता बनाएर अघि बढ्न निर्देशनसमेत दिएका छन् ।
स्ववियु निर्वाचनको मिति घोषणा भएलगत्तै एमाओवादी अध्यक्ष प्रचण्डले क्रान्तिकारी विद्यार्थी सङ्गठनका अध्यक्ष हिमाल शर्मालगायतका पदाधिकारीले स्ववियु निर्वाचनमा चामत्कारिक नतिजा ल्याउने खालका योजना बनाएर पार्टीमा पेस गर्न निर्देशन दिँदै निर्वाचनका लागि पार्टीले सक्दो सहयोग गर्ने वचन दिएका छन् । उनले पार्टी विभाजन भए पनि त्यसको कतै असर नदेखिने गरी नतिजा ल्याउने गरी कार्यक्षेत्रमा खटिन भनेको सङ्गठनका सचिवालय सदस्यले भने । सङ्गठनका अध्यक्ष हिमाल शर्मँले पनि स्ववियु निर्वाचनमा आफूहरूले बहुमत ल्याउने बताए । उनले सबै क्याम्पसमा आफ्नो सङ्गठन बलियो भएकोले बहुमत क्याम्पसमा आफूहरूले नै जित्ने दाबी गरे । ‘आफूहरू निर्वाचनका लागि सङ्गठन विस्तारमा सक्रियताका साथ लागिसकेको जानकारी दिए ।
यसैगरी एमालेका अध्यक्ष तथा अन्य नेताहरूले पनि पार्टीनिकट विद्यार्थी सङ्गठनका नेताहरूलाई भेटेर तथा फोनबाटै आफूअनुकूल नतिजा ल्याउने गरी चुनावमा सहभागी हुन निर्देशन दिएका छन् । स्ववियु चनावबाटै पार्टीलाई पहिलो नम्बरको पार्टी बनाउन भन्दै उनीहरूले यसका लागि पार्टी तथा पार्टी नेताहरूबाट कस्तोखाले भूमिकाको अपेक्षा गरिएको छ निर्धक्क भन्नसमेत भनेका छन् । ‘अहिलेको स्ववियु निर्वाचन एमालेका लागि अत्यन्तै महत्वपूर्ण छ,’ एमाले अध्यक्ष झलनाथ खनालले पार्टीनिकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका अध्यक्ष माधव ढुङ्गेललाई भनेको भनाइ उद्धृ्रत गर्दै सचिवालयका एक सदस्यले भने, ‘चुनाव जित्नका लागि पार्टीले कस्तो सहयोग गर्नुपर्छ, त्यो गर्न तयार छ, तर, जित्नुप-यो ।’
नेपाली काङ्ग्रेसका महामन्त्री प्रकाशमान सिंहले पनि स्ववियु निर्वाचनबाट आउने नतिजालाई संविधानसभा निर्वाचनको नतिजाको रूपमा लिने भएकोले कसरी हुन्छ बहुमत क्याम्पसमा निर्वाचन जित्न निर्देशन दिएका छन् । उनले पार्टीनिकट नेपाल विद्यार्थी सङ्घले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै भने, ‘चुनाव जित्नका लागि पार्टीले सम्पूणर््ँ सहयोग गर्छ, तर, शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गरी बहुमत ल्याउनुपर्छ ।’ उनले विद्यार्थी सङ्घले चुनावी घोषणाको समर्थनमा निकालेको मोटरसाइकल -यालीको समापन कार्यक्रममा यस्तो बताएका हुन् । सिंहले स्ववियु चुनाव संविधानसभाको मिनी चुनावको स्वरूप भएकोले सबै क्याम्पसमा नेविसङ्घको पकड कायम राख्न पनि निर्देशन दिएका छन् । लोकतन्त्र र राष्ट्रियताको पक्षमा नेविसङ्घले मात्र स्ववियु चुनाव गराउन सक्ने भन्दै उनले थपे, ‘स्ववियु चुनाव संविधानसभाको मिनी चुनाव भएकाले सबै क्याम्पसमा चुनावको तयारीमा जुट्नुस् ।’
त्यस्तै अन्य राजनीतिक दलका नेताहरूले पनि चुनावमा सक्रियताका साथ लागी आफ्नो पहिचान बनाउन विद्यार्थी नेताहरूलाई निर्देशन दिएका छन् । यसअघि संविधानसभा निर्वाचन भएपछि मात्र स्ववियु निर्वाचन गरिएकोले दलका नेताहरूले त्यति धेरै महत्व दिएका थिएनन् । तर, अहिले संविधानसभा निर्वाचन हुनुअगावै स्ववियु चुनाव हुन लागेकोले दलका नेताहरूको ध्यान त्यसतर्फ आकर्षित भएको हो ।
विद्यार्थी युनियनको निर्वाचन प्रत्येक दुई-दुई वर्षमा गर्नुपर्ने नियम भए पनि विद्यार्थी सङ्गठनहरूबीच चुनाव प्रणालीबारे विवादका कारण ०६५ सालयता चुनाव हुन सकेको थिएन । त्रिवि सभाले अध्यक्ष, सचिव र कोषाध्यक्ष प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन गरिने, उपाध्यक्ष र सहसचिव स्ववियु पदाधिकारीले चयन गर्ने र सदस्यहरू ५० प्रतिशत प्रत्यक्ष र ५० प्रतिशत समानुपातिक प्रणालीबाट छानिने गरी नयाँ प्रणाली पारित गरेपछि स्ववियु चुनाव हुन लागेको हो ।
त्रिभुवन विश्वविद्यालयको ६० आंगिक र आठ सय ९२ सम्बन्धन प्राप्त क्याम्पस छन् । यसैगरी दुई सयसम्म विद्यार्थी रहेको क्याम्पसमा ११ सदस्यीय कार्यसमिति गठन गरिनेछ भने हजारसम्म विद्यार्थी अध्ययनरत क्याम्पसमा १५ र तीन हजार विद्यार्थी अध्ययनरत क्याम्पसमा १९ सदस्यीय स्ववियु कार्यसमिति हुने व्यवस्था छ । यसैगरी तीन हजारभन्दा बढी विद्यार्थी अध्ययनरत क्याम्पसमा २१ सदस्यीय कार्यसमिति हुने व्यवस्था गरिएको छ । सोही व्यवस्थाअनुसार विद्यार्थी सङ्गठनहरूले विभिन्न क्याम्पसमा आफ्नो उम्मेदवार छान्ने प्रक्रिया अघि बढाइसकेका छन् ।

तीन पत्रकारलाई वरिष्ठ पत्रकार सम्मान
नेपाल सरकारले यस साप्ताहिकका संस्थापक प्रधानसम्पादक देवप्रकाश त्रिपाठी, साँघु साप्ताहिकका सम्पादक गोपाल बुढाथोकी र पत्रकार नरेन्द्रजंग पिटर (नुनिन्द्र दुलाल) लाई जनही रु. दुई लाख नगदसहित वरिष्ठ पत्रकार सम्मान दिने निर्णय गरेको छ । सरकारले सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव नारायणप्रसाद सञ्जेलको संयोजकत्वमा पुरस्कार सिफारिस समिति गठन गरेको थियो । सो समितिको सिफारिसपश्चात् सरकारले उक्त निर्णय गरेको हो । विगत २५ वर्षदेखि पत्रकारितामा क्रियाशील देवप्रकाश त्रिपाठीले आफ्नो पत्रकारिता जीवनमा टेलिभिजन तथा रेडियो पत्रकारिताको समेत अनुभव संगाल्नुभएको छ भने करिब पन्ध्र वर्षअघि राष्ट्रिय समाचार समितिको महाप्रबन्धकको जिम्मेवारी पनि सम्हाल्नुभएको थियो । उहाँले स्पेसटाइम दैनिकको प्रधानसम्पादक भएर पनि काम गर्नुभएको थियो । गोपाल बुढाथोकी विगत पैंतीस वर्षदेखि निरन्तर पत्रकारितामा क्रियाशील हुनुहुन्छ । उहाँले पत्रकारिता गर्ने क्रममा राज्यबाट विभिन्न समयमा अनेकौँ यातनासमेत भोग्नुभएको छ । पञ्चायतकालमा लगाइएको एउटा राजकाज मुद्दाबाट बुढाथोकीले अहिलेसम्म पनि छुटकारा पाउनुभएको छैन । नरेन्द्रजंग पिटर पुराना पत्रकार हुनुहुन्छ । उहाँले दशवर्षे हिंसात्मक युद्धकालमा बेग्लै प्रकारले पत्रकारिता गर्नुभएको थियो । त्यसैगरी सरकारले ०६९ सालको राष्ट्रिय पत्रकारिता पुरस्कार महिलाद्वारा सञ्चालित दुईवटा एफएमलाई संयुक्त रूपमा प्रदान गर्ने निर्णय गरेको छ । रेडियो मुक्ति बुटवल र रेडियो दिदीबहिनी पर्वत उक्त पुरस्कार प्राप्त गर्नेमा परेका छन् ।

घरभित्र पस्नेबित्तिकै बेपत्ता †
मानिसलाई प्रलोभनमा पारेर घर बोलाउने, लुटपाट गर्ने र लुटिने व्यक्तिलाई नै बेपत्ता पार्ने अपराधमा संलग्न रहने गरेको भनी जिल्लामै चर्चित बनेका मधु थपलियालगायत तीनजनाविरुद्ध प्रहरीले शरीर बन्धक तथा अपहरणसम्बन्धी मुद्दा लगाएको छ । नुवाकोटको चतुराले- १ का मधु थपलिया त्यस्ता रहस्यमयी व्यक्ति मानिन्छन् जो विभिन्न बहानाबाजी गरेर मानिसलाई आफ्नो जालमा पार्न सजिलै सक्छन् । यसै क्रममा गत फागुन ३० गते राति पनि थपलियाले एक व्यक्तिलाई घरमै बोलाएर बेपत्ता पारे । काठमाडौं सामाखुसीमा डेरा गरी बस्ने रमेश पाण्डे र उनीसँगै गएका पूर्णकाजी बज्राचार्यलाई थपलियाले आफ्नै घरमा बोलाएर बेपत्ता पारेका हुन् । रुबी (एकप्रकारको बहुमूल्य पत्थर) को कारोबार गर्न भनी नगदसमेत आमन्त्रित उनीहरू गत फागुन ३० गते राति १२ बजे थपलियाको घरमा पुगेका थिए, त्यसपछि उनीहरू सोही घरबाट नै अलप भएका छन् । उनीहरूसँगै गएका रमेशका भाइ उमेश भने सकशुल छन्, तर प्रहरीले
उमेशको भूमिका सन्देहास्पद रहेको देखिएपछि मधु थपलियासँगै मुद्दा चलाएर थुनामा राखेको छ । पाँच वर्षीय पुत्र र ६ महिनाकी गर्भवती पत्नीलाई छोडेर रुबीको व्यापार गरी पैसा कमाउने सपनासहित चतुरालेस्थित मधु थपलियाको घरमा पुगेका रमेश पाण्डे र पूर्णकाजी बज्राचार्यबारे आफूलाई केही थाहा नभएको बयान निज थपलियाले प्रहरीलाई दिएका छन् । बेपत्ता बनाएकोबारे भने थपलियाले अहिलेसम्म मुख खोलेका छैनन् । प्रहरीले अनेकौँ प्रयास गर्दा पनि मधुले पाण्डे र बज्राचार्यबारे बताएका छैनन् । यसप्रकरणमा रमेशका भाइ उमेश पाण्डेको भूमिका पनि रहस्यमयी भएका कारण प्रहरीले उनीविरुद्ध समेत मुद्दा चलाएको दाबी गरेको छ । पाण्डेसँगै अर्का एक तामाङ पनि शङ्कास्पद अवस्थामा पक्राउ परेको र उनका विरुद्ध पनि मुद्दा चलिरहेको छ । भनिन्छ, निज उमेशले नै रमेश र पूर्णकाजीलाई थपलियाको घरसम्म पुग्न सहयोग पु-याएका थिए ।
उमेशले आफ्ना दाजु रमेश र पूर्णकाजी मधु थपलियाको घरभित्र प्रवेश गरेको आफैँले देखेको बयान प्रहरीलाई दिएका छन् । उमेशले त्यसप्रकारको बयान दिएका कारण मधुका मानिसले उमेश थुनामुक्त भएपछि उसलाई पनि मार्ने धम्की दिइरहेको बताइन्छ । मधु थपलियाको घरमा यसअघि पनि कहिले स्यालको सिङ त कहिले बनझाँक्रीको हड्डी र बहुमूल्य पत्थर खरिद गर्न भन्दै मानिस नगदसहित पुग्ने गरेको, तर त्यस घरमा पुगेपछि कोही पनि कहिल्यै फर्किएर नआएको भन्ने गाउँलेको भनाइ छ । यसअघि भक्तपुरका एक साधारण व्यापारीलाई रानीपौवामा बोलाएर बेपत्ता पारेका मधुले चतुरालेकै दुईजना व्यक्तिलाई बेपत्ता पारेको अभियोगमा तीन महिना जेल सजायसमेत भोगेका थिए । एक जापानी मूलका अमेरिकनलाई बेपत्ता बनाएको आरोपमा पनि यी मधु ६ महिना थुनामा परेका थिए । मधुले बेपत्ता बनाएको पाँचौँ घटनाका रूपमा हालको घटनालाई लिइएको छ । यसअघि बेपत्ता पारिएका व्यक्तिबारे समेत प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान गर्नुपर्ने देखिएको छ । थपलियाले यस्तै प्रकारको घटना यसअघि गराए- नगराएको स्पष्ट हुन पनि गहन अनुसन्धान आवश्यक छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख (डीएसपी) सानुकाजी लामिछानेसँग सम्पर्क गर्दा उहाँले घटनाबारे अनुसन्धान भइरहेकोले अहिले केही भन्न उचित नहुने बताउनुभयो । डीएसपी लामिछानेले मधु थपलियाको घरबाट यसअघि अन्य व्यक्ति पनि गायव हुने गरेको भन्नेबारे अनुसन्धान भइरहेको जानकारी गराउनुभएको छ ।

आफ्नै नेताका निर्णयविरुद्ध विद्यार्थी आन्दोलनमा
पूर्वमुख्यसचिव लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुखमा नियुक्तिका लागि सिफारिस गरिएको भन्दै काङ्ग्रेस, एमाले, नेकपा माओवादीलगायतका विभिन्न राजनीतिक दलका विद्यार्थी सङ्गठनले विरोध गर्दै उपत्यका बन्दसम्मको कार्यक्रम सार्वजनिक गरेका छन् ।
कार्कीले अख्तियारप्रमुखमा नियुक्तिका लागि आफ्नै दलका शीर्ष नेताले सिफारिस गरे पनि उनीहरूले अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको विरोध गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । एमालेनिकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको कार्यालयमा बसेको १२ सङ्गठनको बैठकले बिहीबार उपत्यका बन्दको कार्यक्रम तय गरेका हुन् । उनीहरूले तय गरेको विरोधका कार्यक्रमअनुसार मंगलबार राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाउने, बुधबार बिहान विभिन्न क्याम्पस गेटअघि विरोध प्रदर्शन गर्ने, दिउँसो जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने तथा बेलुका मसाल जुलुस निकाल्ने कार्यक्रम तय गरेको नेपाल विद्यार्थी सङ्घका प्रवक्ता युपी लामिछानेले जानकारी दिए । उनका अनुसार कार्कीको नियुक्ति बदर नभएसम्म विद्यार्थी सङ्घ-सङ्गठनको विरोध कार्यक्रम जारी रहनेछ । कार्कीलाई अख्तियार प्रमुखमा नियुक्तिका लागि सिफारिस गरेलगत्तै विद्यार्थी सङ्गठनहरू विरोध प्रदर्शनमा उत्रेका थिए ।
यसैबीच मंगलबार कार्कीको नियुक्तिकै विरुद्धमा विद्यार्थी सङ्गठनहरूले आरआर, शंकरदेव क्याम्पससहित देशभरका क्याम्पसअघि दिनभर चक्काजाम गरेका थिए । विद्यार्थीको प्रदर्शनका कारण उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको थियो ।

निर्देशक अनभिज्ञ रहेको दाबी
प्रसूति तथा स्त्रीरोग अस्पतालमा भएको अनियमिततामा अस्पतालकी निर्देशक डा. शिला वर्माको संलग्नता नरहेको पाइएको छ । अस्पतालले दुई सय स्क्वायर फिट क्षेत्रफल मेडिसिन डिपोका लागि उपलब्ध गराउने भनी टेन्डर आह्वान गरेको भए पनि थप पचहत्तर स्क्वायर फिट क्षेत्रफलसमेत बिनाटेन्डर प्रकाश मेडिकल (प्रकाश गिरी) लाई उपलब्ध गराएको थियो । अनुचित लाभ लिएर सो क्षेत्रफल उपलब्ध गराउने क्रममा निर्देशक डा. शिला वर्मालाई कुनै जानकारी नगराइएको बुझिएको छ र अस्पतालले यस प्रकरणमा गल्ती गर्नेलाई छानबिन गरी कारबही गर्ने तयारी गरेको जानकारी घटना र विचारलाई प्राप्त भएको छ । यस सम्बन्धमा निर्देशक वर्माको भनाइ छ, ‘मबाट कहिल्यै कुनै अनुचित लाभ लिने काम भएको छैन । अतिरिक्त ठाउँ उपलब्ध गराउने क्रममा भएको अनियमितताबारे छानबिन गरेर दोषीलाई कारबाही गर्न हामीले तत्परता लिएका छौँ ।’ गत अङ्कमा यसै साप्ताहिकमा प्रसूतिगृहमा भएको भ्रष्टाचारसम्बन्धी समाचार प्रकाशित भएपछि डा. वर्माको उक्त स्पष्टीकरण आएको हो ।

काङ्गे्रस नेताको उपेक्षा
नेपाली काङ्ग्रेसका नेता इन्द्रबहादुर श्रेष्ठ सिकिस्त बिरामी भई उपचार गर्नसमेत नसक्ने अवस्थामा पुग्दा पनि पार्टी नेतृत्वले उहाँको बेवास्ता गरेकोमा कार्यकर्ता दुःखी बन्न पुगेका छन् । मकवानपुर काङ्गे्रसका सभापति र उद्योग वाणिज्य सङ्घ मकवानपुरको अध्यक्ष रहिसक्नुभएका श्रेष्ठ दुई वर्षदेखि पक्षघातले थलिनुभएको छ । उहाँका घुँडामुनि दुवै खुट्टा चल्दैनन् । अहिले उहाँको मुटुमा पनि समस्या देखिएकाले उपचारका लागि काठमाडौं ल्याइएको छ । र, जनमैत्री अस्पतालमा नियमित परीक्षण चलिरहेको छ । ६८ वर्षीय श्रेष्ठले नेपाली प्रजातान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहँदा आफ्नो पुख्र्यौली सम्पत्तिसमेत सिध्याउनुभएको थियो । तर, अहिले आफैँ बिरामी हुँदा पार्टीले सान्त्वनासमेत नदिएकोमा उहाँ स्तब्ध हुनुभएको छ ।

नेवार भाषा-संस्कृति उत्थानको नाममा ब्रह्मलुट
काठमाडौं उपत्यकामा रहेका नेवार समुदायको भाषा, संस्कृति र परम्पराको उत्थान र विकास गर्ने नाममा एमाओवादीनिकट नेवाः जातीय उत्थान कोष नामक संस्थाले काठमाडौं महानगरपालिकाबाट लिएको चार करोड रुपैयाँमा ब्रह्मलुट मच्चाएको खुलेको छ । उक्त कोषले ०६५ असोज ९ गते एक र ०६६ असार २९ गते ३ करोड रुपैयाँ गरी जम्मा चार करोड रुपैयाँ महानगरपालिकाबाट निकासा लिएको थियो । उक्त रकमबराबरको नक्कली कामको विवरण बनाएर पेस्की फस्र्योट गर्ने तयारी सो संस्थाका प्रमुखले गरेपछि घोटालाबारे खुलासा भएको हो ।
सो संस्थाले लिएको चार करोडको हिसाब फस्र्योट गर्ने क्रममा हालसम्म प्रकाशित नै नभएको कथित ‘अप्सरा साप्ताहिक’लाई भाषाको उत्थानमा भूमिका खेलेको भन्दै २० हजार रुपैयाँ दिएको उल्लेख छ । त्यसैगरी सो संस्थाले नेवाः सङ्ग्रहालय निर्माण तथा व्यवस्थापन समितिलाई १० लाख १५ हजार दिएको उल्लेख गरेको छ । सो रकम पनि त्यहाँ पुगेको आफूहरूले अनुगमनको क्रममा नपाएको काठमाडौं महानगरपालिका स्रोतले जनाएको छ ।
त्यसैगरी नेवाः स्थानामी मण्डललाई साढे सात लाख, सन्ध्या टाइम्सलाई ५० हजार, झिगु सोनिग साप्ताहिकलाई ५० हजार, देशे मरु झ्या साप्ताहिकलाई १० हजार, नेपाल भाषा इन्स्टिच्युट सञ्चालन गर्न नेपाल भाषा स्यनज्या कुठीलाई चार लाख ५० हजार, जातीय बाजा संरक्षणका लागि भन्दै फेरि सो संस्थालाई चार लाख ५० हजार, नेपाल भाषाको कक्षा सञ्चालनका लागि भन्दै नेवाः स्थानामी नेपाल मण्डललाई सात लाख ५० हजार रुपैयाँको विवरण प्रस्तुत गरेर चार करोडको फर्जी फस्र्र्योट विवरण पेस गरिएको छ ।
फर्जी विवरण बनाएर कामै नगरी नेवाः जातीय उत्थानको नाममा उक्त संस्थाका हर्ताकर्ताले आफ्नो व्यक्तिगत उत्थान गरेको विषयमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसमक्ष पनि यसअघि नै उजुरी परेको थियो । तर, प्रचण्डले सम्बन्धित पात्रलाई बोलाएर सामान्य कुराकानी गर्नुबाहेक कुनै कारबाही नगरेको नेवार भाषा र संस्कृतिको उत्थानमा लागेकाहरू गुनासो गर्छन् । उक्त संस्थाका प्रमुखले पार्टीको नामबाट सो फर्जी विवरणअनुसार पेस्की फस्र्योट गराउन महानगरपालिकाका अधिकारीहरूलाई तारन्तार दबाब दिइरहेको महानगरपालिकाका कर्मचारी बताउँछन् । एमाओवादी पार्टीका नेताको दबाब महानगरपालिकाका लागि निल्नु न ओकल्नु भएको बताइन्छ । स्वीकार नगरे देशको ठूलो पार्टीको दबाब आउने, स्वीकार गरे अन्य संस्थाले विरोध गर्ने र लेखा परीक्षणमा समेत फस्ने स्थितिमा रहेका छन् ।
जातीय राज्य र जातीय उत्थानको नाममा देशमा जातीय राजनीतिको प्रारम्भ गरेर एमाओवादीले नै गरेको जातीय उत्थानको नाममा व्यक्तिगत उत्थानको कामले उनीहरूको जातीयताको नारा जातीय उत्थानभन्दा पनि कमाउनका लागि उठाएको एजेण्डाजस्तै बनेको गुनासो अहिले काठमाडांै महानगरपालिका, जातीय उत्थानमा लागेका सङ्घ-सस्था र नेवार समुदायबीच चर्चा-परिचर्चाको विषय बनेको छ ।

विस्थापित भएको नौ वर्ष बित्यो, घरको ताल्चा खुलेन
अर्घाखाँची । माओवादी जनयुद्धका बेला राज्य र विद्रोही दुबै पक्षबाट पीडित बनेका अर्घाखाँचीका द्वन्द्वपीडितले आफ्ना नाममा प्राप्त हुने सुविधा राजनीतिक शक्तिको आडमा मनोमानी ढङ्गले बाँडफाँड हुने गरेको गुनासो गरेका छन् । हालै द्वन्द्वपीडितलाई घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीद्वारा दिइएको सीपमूलक तालिमको समाप्तिपछि उक्त तालिम पनि पक्षपातपूर्ण तवरले दलका नजिकका पीडितलाई प्राथमिकतामा राखेर दिइएको जानकारी उनीहरूले दिए ।
आफ्ना अभिभावकका हत्यारालाई आफ्नोसामु निष्फिक्री घुमिरहेको तर राज्यले कारबाही नगर्दा आफूहरू खिन्न भएको उनीहरूको गुनासो रहेको छ । जिल्लाको वागी-६ का भुमबहादुर महतले २०६१ साल कात्र्तिक २५ गतेदेखि आफ्नो पसलसहितको घरबाट विस्थापित बने पनि हालसम्म पुनस्र्थापन हुन नसकेको र कसैको सहयोग नपाएको दुखेसो गरे । यस्तै सुवर्णखाल गाविसका हेमराज बेल्वासेले पनि आफ्ना बुबा मीनप्रसाद बेल्वासेको ०६२ वैशाख १३ गते विद्रोहीद्वारा हत्या गरिएको भए पनि हत्याराहरू आफनैसामु घुमेको देख्दासमेत केही गर्नै नसकेको बताए ।
जिल्लाको जलुके गाविसका विशाल खड्काका बुबा जनयुद्धका बेला राज्यबाट ०६१ वैशाख २४ गते हत्या भएको भए पनि जिल्लामा रहेको स्थानीय शान्ति समितिले आफूहरूलाई बेवास्ता गर्नुको साथै जलुके, जुकेना र सिद्धाराजस्तो भौगोलिक विकट क्षेत्रमा शान्ति समितिको पहँुच पुग्न नसकेको उनको कथन छ । अर्घानिवासी प्रतिभा आचार्य आफ्नी आमा रामकली आचार्य ‘सुशीला’ ०६१ भदौ ३१ गतेका दिन राज्यको तर्फबाट मारिए पनी आफूहरूलाई राज्यले भेदभाव गरेको बताउँछिन् । प्लस टुसम्म निःशुल्क पढाउने भने पनि त्यसभन्दा माथि पढ्नका लागि के गर्ने भन्ने प्रश्न राख्दै उनी भन्छिन्, ‘द्वन्द्वपीडितलाई दिइने सीपमूलक तालिममा घरेलु तथा साना उद्योग कार्यालय सन्धिखर्कले भेदभाव गरेको छ । फेरि उक्त तालिम पूरा गरेपछि हामीले के गर्ने ? उनी प्रतिप्रश्न गर्छिन् । छत्रगन्जनिवासी सिर्जना पोख्रेलका बुबा ०६० साल असोज ४ गते विद्रोहीबाट मारिएका कारण घरमा कन्तविजोग छ । तर, जिल्लाका सरोकारवालाहरू र राज्यले ध्यान नदिँदा आफूहरू समस्यामा परेको उनको कथन छ । शान्ति समितिको कार्यालय सन्धिखर्क र द्वन्द्वपीडितको नाममा प्रसस्त पैसाको खेती गर्नेहरूबाट आफूहरू उपेक्षित बनेको उनको गुनासो छ ।
यस विषयमा स्थानीय शान्ति समितिका संयोजक रामजीप्रसाद घिमिरेसँग जिज्ञासा राख्दा आफ्नोतर्फबाट सबै कुरा न्यायिक भएको र कसैलाई पनि भेदभाव नगरिएको जानकारी मिलेको छ । उता प्रमुख जिल्ला अधिकारी गोविन्दमणि भुर्तेल शान्ति मन्त्रालयले द्वन्द्वपीडितका लागि सीपमूलक तालिमको जिम्मा जिल्लाका केही एनजीओहरूलाई दिएको भए पनि कसैले आफूलाई जानकारी नगराएको कारण उनीहरूको सेवा कुनाकाप्चासम्म रहेका पीडितसमक्ष जान सक्ने कुरामा आशङ्का पैदा भएको बताउनुहुन्छ । यस्तोमा गाउँठाउँमा रहेका द्वन्द्वपीडिततर्फ कसले ध्यान पु-याउने हो, गम्भीर प्रश्न खडा भएको छ ।

रक्तपिपासुलाई जनताले छोड्दैनन् ः गगन
नेपाली काङ्गे्रसका केन्द्रीय सदस्य एवम् प्रखर वक्ता गगन थापाले माओवादीको दशवर्षे आतङ्कको समयमा हत्या गरिएका काङ्गे्रसका कार्यकर्ताको हिसाबकिताब ढिलोचाँडो एक-एक गरेर लिइने उद्घोष गरेका छन् । नेपाली काङ्गे्रस गुल्मीको क्षेत्र नंं १ स्थित शान्तिपुरमा भएको विशाल जनसभालाई सम्बोधन गर्दै नेता थापाले थानेश्वर शर्मालाई अङ्गभङ्ग गराउने र विशुखर्क गाविसका पार्टी सभापति जितबहादुर श्रीषको हत्या गर्ने रक्तपिपासुहरू जमिनमुनि गए पनि सुरक्षित हुन नसक्ने बताए ।
पन्ध्र हजार नेपालीको रगत खाएर रसिलो-पोसिलो भएका र पन्ध्र हजार जनताको खप्परमाथि उभिएर अग्लो देखिएका प्रचण्ड अब वामपुड्के र लिखिट्याउरे हुन सयम नलाग्ने गगनको भनाइ थियो । नेपाली दाजुभाइलाई एक-आपसमा लडाएर विदेशी तारेहोटलमा मोजमस्ती गरेका प्रचण्डलाई जनयुद्धका नाममा भएको धनयुद्धपछि लुटेर जम्मा भएको जनताको पैसाले जतिसुकै उमाले पनि अन्ततः त्यो रगत र पैसाले पोलेर उनी छिट्टै समाप्तिको बाटोमा जाने थापाले दाबी गरे ।
नेपाली काङ्गे्रस गुल्मी क्षेत्र नं. १ को क्षेत्रीय समितिद्वारा आयोजित सभामा अर्का केन्द्रीय सदस्य चन्द्र भण्डारीले श्रीषको रगतले लतपतिएको सहिदभूमि शान्तिपुरमा विचारको अडानमा बसेर ज्यान गुमाएका श्रीषको सोही ठाउँमा शालिक निर्माण गरेर हत्याराहरू त्यो शालिक देख्दै तर्सिने उल्लेख गरे । शालिक निर्माणका लागि सहयोग गर्ने वचन दिँदै नेता भण्डारीले डेकेन्द्र थापाका हत्याराहरूले आफू सजाय भोग्न तयार रहेको बताइरहेका बेला हत्याका निर्देशक प्रचण्ड-बाबुरामहरू हेलिकोप्टर चढेर अपराधीलाई कारबाही भएमा शान्तिप्रक्रिया नै भङ्ग हुने धम्की हुन पुगेको स्मरण गराए ।
नेपाल काङ्गे्रस गुल्मीका पूर्वसभापति एवम् युवा नेता त्रैलोक्यप्रताप सेनले प्रचण्डसँग प्रश्न गर्दै विचार बोकेर बसेका श्रीषलाई के कारणले मारियो त्यसको हिसाबकिताब जनताले छिट्टै गर्ने बताए ।
क्षेत्रीय सभापति पारिश्वर ढकालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाली काङ्गे्रस गुल्मीका उपसभापति भुवन श्रेष्ठ, नेविसङ्घका पूर्वकेन्द्रीय अध्यक्ष प्रदीप पौडेल, पूर्वसांसद झकबहादुर पुन, संविधानसभा निर्वाचनमा उम्मेदवार भएकी श्रीमती सुवर्ण ज्वारचन, विद्यार्थी नेता कुन्दन काफ्लेलगायतका वक्ताले आगामी संविधानसभामा काङ्गे्रसलाई जिताउन आग्रह गरेका थिए ।
कार्यक्रममा माओवादीबाट २०६१ सालमा शान्तिपुरकै भूमिमा ल्याएर कायरतापूर्ण हत्या गरिएका विशुखर्कका पार्टी सभापति जितबहादुरका दुई श्रीमतीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

गण्डकमा आन्दोलनको विगुल
परासी÷नवलपरासीका गण्डक पीडितहरू आफूहरूद्वारा उठाइएका माग पूरा गराउन पुनः आन्दोलनमा उत्रिने भएका छन् । बाढी नियन्त्रण, सिंचाई सुविधा र विद्युत विकास गर्ने उद्देश्यबाट गण्डक सम्झौता भए पनि सम्झौतामा उल्लेखित बुँदाहरू अक्षरशः लागु नभएकोले गण्डक कमाण्ड क्षेत्रमा रहेका १३ गाविसका जनता डुवान, कटान र सिपेजको समस्याबाट वर्षेनी करोडौंको क्षति हुँदै आएकोले पीडितहरू आफ्नो माग पूरा गराउन आन्दोलनको तयारी गरेका हुन् । गण्डक नदी नियन्त्रण संघर्ष समितिले ०६५ सालमा गरेको आन्दोलनपछि २१ बुँदे सहमति लागु गर्ने निर्णयपश्चात् आन्दोलन फिर्ता लिइएको थियो ।
सहमति भएको २१ बुँदे मागमध्ये केही महत्वपूर्ण बुँदालाई भारतीय पक्षले पूरा नगरेको दावी गर्दै गण्डक पीडितहरूले आगामी जेठ छ गतेदेखि गण्डक मूख्य पश्चिमी नहरको पानी रोक्ने र अनिश्चित कालिन आन्दोलन गर्ने चेतावनी दिएका छन् । गण्डक पीडितहरूले २०६५ सालमा ३४ दिनसम्म गण्डक नहरमा पानी रोकेर गरेको आन्दोलनको फलस्वरूप भारतको केन्द्र सरकारले एक अर्व चौहत्तर करोडको रकम नेपाल हितकारी बजेट निर्माणकार्यमा लगाए पनि ठेकेदार र इन्जिनियरहरूको मिलोमतोमा गुणस्तरहीन संरचना निर्माण गरि नेपाली पक्षलाई झुक्याएको पीडितहरूको भनाइ छ ।
गण्डक पीडितहरूले ०५० सालदेखि १३ गाविसका जनतालाई गण्डक नदी र नहरले पु-याएको क्षतिपूर्तिवापत दुई अर्ब ९३ करोड एकसठ्ठी लाख रकम पीडितलाई दिलाउनुपर्ने प्रमुख माग राखी आन्दोलनको तयारी गरिएको बताइएको छ । गण्डकनदी नियन्त्रण संघर्ष समितिले आन्दोलनलाई प्रभावकारी ढङ्गबाट सञ्चालन गर्न वैशाख २० गते बेलाटारीमा बृहत् जनसभाको आयोजना गरेको थियो । सभामा बोल्ने नवलपरासी क्षेत्र नं. ६ का राजनीतिक दल, संघसंस्थाका प्रतिनिधिले आन्दोलनको माध्यमबाट पीडितहरूको माग पूरा गराउन आफूहरू प्रतिबद्ध रहेको बताएका थिए । सो अवसरमा गण्डक नदी नियन्त्रण संघर्ष समितिका सचिव दुधनाथ गुप्ताले आन्दोलनको विगुल फुकेपछि भारतीय गण्डक प्रशासन र सिँचाइ विभाग कानमा तेल हालेर बस्दा वार्ता र संवाद पनि ओझेलमा परेको छ ।
-आरपी उपाध्याय

त्रिपाठी प्रतिष्ठानको प्रथम राष्ट्रिय अधिवेशन सम्पन्न
त्रिपाठी प्रतिष्ठान नेपालले देशभरिका त्रिपाठी÷तिवारी बन्धुहरूको राष्ट्रिय अधिवेशन गत शनिबार धादिङ मलेखु (रिचोकटार)मा सम्पन्न गरेको छ । ‘प्रथम राष्ट्रिय समागम’ नाम दिइएको उक्त भेलाले रामशरण त्रिपाठी (धादिङ)को अध्यक्षतामा त्रिपाठी÷तिवारी राष्ट्रिय प्रतिष्ठानको केन्द्रीय कार्यसमिति गठन गरेको छ । प्रतिष्ठानको उपाध्यक्षत्रयमा लवप्रसाद त्रिपाठी (काभ्रे), आईपी तिवारी (पर्वत) र दिनेश त्रिपाठी (रूपन्देही) रहनुभएको छ भने महासचिवमा त्रिपुरेश्वरराज त्रिपाठी (तनहुँ), सचिवद्वयमा नारायणहरि त्रिपाठी (कास्की) र रामशरण त्रिपाठी (काभ्रे) तथा कोषाध्यक्षमा कृष्णप्रसाद त्रिपाठी (कास्की) निर्विरोध निर्वाचित हुनुभएको छ ।
यसैगरी प्रतिष्ठानका केन्द्रीय सदस्यहरूमा कास्की, काभ्रे, चितवन, पर्वत, कैलाली, भोजपुर, मोरङ, झापा, रौतहट, स्याङ्जा, काठमाडौं, धादिङलगायतका जिल्लाबाट बलराम त्रिपाठी, प्रतिभा (उषा) त्रिपाठी, हेमनाथ त्रिपाठी, सञ्जय त्रिपाठी, हरिभक्त त्रिपाठी, देवप्रकाश त्रिपाठी, अरुणस्तोम त्रिपाठी, भोजकुमारी त्रिपाठी, विष्णुहरि त्रिपाठी, रामकृष्ण त्रिपाठी, ऋषिराम त्रिपाठी, श्रीराम त्रिपाठी, ज्ञानु त्रिपाठी, बोधराज त्रिपाठी, शान्ता त्रिपाठी, धर्मप्रसाद तिवारी, तेजराज तिवारी, राममणि त्रिपाठीलगायत पैँतीसजना निर्वाचित भएका छन् ।
समागमको उद्घाटन पानसमा द्वीप उज्वलन गरी प्रमुख अतिथि प्रा.डा. वाशुदेव त्रिपाठीले गर्नुभएको थियो भने उक्त राष्ट्रिय अधिवेशनमा डा. हरिवंश त्रिपाठी, डा. सुधा त्रिपाठी, डा. गिरीराज त्रिपाठी, ऋषिकेश तिवारी, लवप्रसाद त्रिपाठी, भूमिप्रसाद त्रिपाठी र देवप्रकाश त्रिपाठीको विशेष उपस्थिति रहेको थियो ।
अधिवेशनले प्रा.डा. वाशुदेव त्रिपाठी संरक्षक रहनुभएको प्रतिष्ठानको सल्लाहकार परिषद्समेत गठन गरेको छ । परिषद्का सदस्यहरूमा डा. हरिवंश त्रिपाठी, डा. सुधा त्रिपाठी, मनोहरि त्रिपाठी, मधुसुदन त्रिपाठी, डा. गिरीराज त्रिपाठी, जनार्दनशरण त्रिपाठी, झलकपाणि त्रिपाठी, बोधराज त्रिपाठी र ऋषिकेश त्रिपाठी रहनुभएको छ । देश÷देशावरमा छरिएर रहेका त्रिपाठी÷तिवारी बन्धुहरूलाई एकजुट गराई राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्न प्रतिबद्ध रहने भेलाले निर्णय गरेको छ भने शिक्षालगायतका क्षेत्रमा सरकारले छुट्याएको आरक्षण नीतिप्रति असहमति जनाउँदै उक्त नीतिलाई परिमार्जन गर्नुपर्नेलगायतका प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरेको छ ।
स्मरण रहोस्, देश-देशावरमा छरिएर रहेका त्रिपाठी÷तिवारीहरूको वंश, परम्परा, संस्कृति आदिको खोजी गर्दै त्रिपाठी बन्धुहरूबीच हातेमालो गराई उनीहरूको वृत्तिविकासलगायत कार्यमा भूमिका निर्वाह गर्ने उद्देश्यले दुई वर्षअघि ‘त्रिपाठी प्रतिष्ठान नेपाल’को स्थापना भएको हो ।

मे दिवसको फरक स्वरूप
अन्तर्राष्ट्रिय मे दिवसका अवसरमा राजधानीका विभिन्न स्थानमा दलीय ट्रेड युनियनकर्मीको नारा, जुलुस र सम्बन्धित दलका नेताहरूको भाषण भइरहँदा पुल्चोकस्थित कृष्णगल्लीमा मजदुर तथा रोजगारदाता सम्मिलित फरक कार्यक्रम सम्पन्न भइरहेको थियो । दक्षिणकाली यातायात सेवा प्रालिले विगत पाँच वर्षदेखि मे दिवसलाई पृथक रूपमा मनाउँदै आएको छ । वार्षिक समारोह तथा कर्मचारी कामदार दिवसका रूपमा दक्षिणकाली यातायातले मे १ तारिखका दिन यातायातमा संलग्न चालक, सहचालक तथा कर्मचारीलाई पुरस्कृत एवम् सम्मान गर्दै आएको छ । उक्त दिन यातायात कम्पनीले कर्मचारी तथा चालक, सहचालकलाई नगदसहित पुरस्कृत गरेको छ ।
कार्यक्रममा सुदर्शन सापकोटालाई उत्कृष्ट चालक, सविना नेपाललाई उत्कृष्ट कर्मचारी तथा विमलेश झालाई उत्कृष्ट सहचालकका रूपमा पुरस्कृत गरियो । सो अवसरमा धुमपान नगर्ने चालक-सहचालकलाई पनि नगद पुरस्कार प्रदान गरिएको थियो । सो अवसरमा दक्षिणकाली यातायात सेवाका अध्यक्ष किरण थापाले रोजगारदाता र कामदारका बीचमा अन्योन्याश्रित सम्बन्ध रहेकोले दुवैले एक-अर्काको परिपूरक भएर काम गर्नुपर्ने बताए ।
कार्यक्रममा प्रमुख अतिथि डा. चण्डीप्रसाद चापागाईंले मानिस असल भएमा उस्ले निर्वाध रूपमा असल काम गर्ने बताए । कार्यक्रममा इ. सूर्यभक्त उपाध्याय, लोकमान शाक्य, गायक शिशिर योगीलगायतले कार्यक्रमबारे आफ्नो धारणा राखेका थिए भने कार्यक्रमको प्रारम्भमा ट्राफिक अधिकारीहरूले चालक, सहचालक तथा यात्रुहरूले सडकमा गर्नुपर्ने व्यवहार तथा नियम पालनका विषयमा जानकारी गराएका थिए ।

राजतन्त्रको समाप्तिपछि रामधुनीमा किन निस्कियो धुवाँ ?
सुनसरीको बराहक्षेत्रमा आयुर्वेद विद्यापीठको शिलान्यास भएको छ । ‘महायोगी सिद्धबाबा श्री श्री १०८’को उपाधि प्राप्त नेपाली सन्त कृष्णदासजी महाराजको पहलमा स्थापना हुन लागेको उक्त विद्यापीठ मित्रराष्ट्र भारतको सहयोगमा निर्माण हुँदै छ । नेपालका लागि भारतका राजदूत जयन्त प्रसादले गत साता सो आयुर्वेद विद्यापीठको शिलान्यास गर्नुभएको हो ।
बराह क्षेत्रको चतरामा बन्न लागेको विद्यापीठको शिलान्यास समारोहमा राजदूत जयन्त प्रसादका अलावा एमाले नेता तथा आयुर्वेदाचार्य मोदनाथ प्रश्रित, एमालेकै प्रभावशाली नेता प्रदीप नेपाल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. दासले आयुर्वेद विद्यापीठको महत्व र उपादेयताबारे मन्तव्य दिनुभएको थियो । आयुर्वेदका ज्ञाताका रूपमा समेत चिनिनुहुने मोदनाथ प्रश्रितले त कार्यक्रममा आयुर्वेदको महत्वबारे कार्यपत्र पनि प्रस्तुत गर्नुभएको थियो ।
शिलान्यास समारोहमा सन्त कृष्णदासजीले बराह क्षेत्रमा निरन्तर बलिरहेको रामधुनीबारे राजदूत जयन्तलाई जानकारी गराउने क्रममा नेपालमा राजतन्त्र रहँदासम्म उक्त रामधुनीबाट धुवाँ ननिस्केको तर राजतन्त्रको अवसानपछि त्यहाँबाट धुवाँ निस्कन थालेको भन्दै व्याख्या गर्दा राजदूतलगायतका उपस्थित जनहरूले आश्चर्य व्यक्त गरेका थिए ।

सेनापतिद्वारा अन्नपूर्णमा साइकल यात्रा
पश्चिम पृतनाअन्तर्गत मुस्ताङमा रहेका सैन्य युनिटहरूको निरीक्षण भ्रमणमा निस्कनुभएका नेपाली सेनाका प्रधान सेनापति गौरवशमशेर जबराले जोमसोमदेखि लेतेसम्मको यात्रा साइकल चढेर तय गर्नुभएको छ ।
गत सोमबार निरीक्षण भ्रमण सम्पन्न गरी फर्कने क्रममा जोमसोमदेखि लेतेसम्मको करिब २६ किलोमिटर दूरी प्रधानसेनापति जबराले साइकलद्वारा पूरा गर्नुभएको हो । समुद्र सतहबाट ६ हजार फिटभन्दा माथि रहेको उक्त क्षेत्रमा साइकलबाट यात्रा गर्ने उच्चस्तरीय सैनिक अधिकारीमध्ये जबराको समूह नै सम्भवतः पहिलो रहेको बताइएको छ ।
उक्त साइक्लिङ कार्यक्रम अन्नपूर्ण पदयात्रामा जाने स्वदेशी तथा विदेशी पदयात्रीलाई साइक्लिङतर्फ आकर्षण गर्नु र वातावरणमैत्री पर्यटन प्रवद्र्धनमा टेवा पु-याउने हेतुले सम्पन्न गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

स्वास्थ्यकर्मीद्वारा यौन दुव्र्यवहार नभएको दाबी
रूपन्देही÷ कार्यालयमा हाकिमहरूले मातहतका महिला कर्मचारीमाथि यौनजन्य दुव्र्यवहार या शोषण गर्ने गरेका समाचार कुनै नौला विषय होइनन् । कहीँ पुरुषहरूद्वारा महिला सहकर्मीमाथि यौन दुव्र्यवहार या शोषण भएर नै यस्ता समाचार सार्वजनिक हुन पुग्छन् भने कतैचाहिँ महिलाले निर्दोष पुरुषमाथि नियोजित तवरले आरोप लगाएर
फसाउने या बद्नाम गराउने गरेकासमेत भेटिन्छन् ।
रूपन्देही जिल्ला जनस्वास्थ्यका प्रमुख महेश्वर श्रेष्ठमाथि यस्तै आरोप लागेको छ । आफ्नै कार्यालयका कर्मचारीहरूमाथि श्रेष्ठद्वारा यौन दुव्र्यवहार भएको भन्ने समाचार स्थानीय केही पत्रपत्रिकामा प्रकाशित भएकोमा उक्त कुरा निराधार रहेको र कुनै दुउद्देश्यले श्रेष्ठलाई फसाउन खोजेको भन्दै विभिन्न सङ्घ-संस्थाले खण्डन गर्दै विरोध जनाएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयमा कार्यरत महिला कर्मचारी एवम् विभिन्न सङ्घ-सङ्गठनका प्रतिनिधिले हल्लाको भरमा गलत आरोप लगाउन नहुने भन्दै आपत्ति जनाएका हुन् ।
कुनै एक व्यक्तिले आफ्नो स्वार्थ सिद्ध नभएको झोंकमा यस्ता अनर्गल प्रचार गर्ने दुस्प्रयत्न गरेको स्पष्ट पार्दै उनीहरूले निर्दोष व्यक्तिकोे चरित्रहत्या हुने समाचार प्रकाशन गर्नुअघि विचार पु-याउन आग्रह गरेका छन् । यसरी विज्ञप्ति प्रकाशित गर्नेहरूमा नेपाल स्वास्थ्यकर्मी सङ्घ, अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी सङ्घ, राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपाल, नेपाल स्वास्थ्यकर्मी युनियन, मधेसी स्वास्थ्यकर्मी फोरम नेपाल रहेका छन् । उता जिल्ला जनस्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख महेश्वर श्रेष्ठले पनि आफूले कुनै पनि कर्मचारीमाथि दुव्र्यवहार नगरेको दाबी गरेका छन् ।

मुस्लिम सङ्घले अघि सा-यो नौबुँदे माग
नेपाल मुस्लिम सङ्घको कपिलवस्तुमा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलन नौबुँदे लुम्बिनी घोषणापत्र-२०७० जारी गर्दै सम्पन्न भएको छ । तौलिहवामा आयोजित कार्यक्रममा मुस्लिम सङ्घले आगामी संविधानमा मुस्लिमको हकअधिकारसम्बन्धी विभिन्न नौबुँदे लुम्बिनी घोषणापत्र जारी गरेको हो ।
मुस्लिम समुदायलाई समावेशी तुल्याउन आसन्न संविधानसभाबाट बन्ने नयाँ संविधानको मौलिक अधिकारमा मुस्लिम अधिकारलगायतका माग अघि सारिएको आयोजक समितिका संयोजक असअद कमालले बताए । सम्मेलनमा देशभरका ४२ जिल्लाबाट करिब तीन सय प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता रहेको थियो भने कार्यक्रमको उद्घाटन नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाले गर्नुभएको थियो । – चन्द्रकान्त खनाल