‘वार्ता राम्रो भए किमलाई ह्वाइट हाउसमै बोलाउँछु’ : ट्रम्प

‘वार्ता राम्रो भए किमलाई ह्वाइट हाउसमै बोलाउँछु’ : ट्रम्प


सिङ्गापुरमा आगामी साता हुने शिखर बैठक सहि तवरले अघि बढे आफूले उत्तर कोरियाली नेता किम जङ उनलाई ह्वाइट हाउसको भ्रमणमा बोलाउने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन् । जापानी प्रधानमन्त्री सिन्जो आबेसँगको कुराकानीमा उनले त्यस्तो संकेत दिएका हुन ्।

कोरियाली युद्ध अन्त्य गर्नेबारे सम्झौता हुने सम्भावना रहेको भन्दै ट्रम्पले त्यसलाई वार्ताको ‘सजिलो अंश’ भनेका छन् । अमेरिका र उसका साझेदारहरूले उत्तर कोरियाले परमाणु अस्त्र त्याग्नुपर्ने बताउँदै आएका छन् । तर राष्ट्रपति ट्रम्पले त्यसलाई आत्मसात गर्न एकभन्दा धेरै बैठक आवश्यक नपर्ने बताएका छन् ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले किम जङ उनले परमाणु निःशस्त्रीकरणका लागि तयार रहेको आफूलाई व्यक्तिगत रुपमा संकेत दिएको बताए । तर उत्तर कोरिया अमेरिकाले भन्ने गरेजस्तो निःशस्त्रीकरणको नजिक आइरहेको छ कि छैन भन्ने चाहिँ स्पष्ट भइसकेको छैन् ।

राष्ट्रपति ट्रम्पले मित्रवत वार्ताका लागि तयारी भइरहेकाले उत्तर कोरियाको सन्दर्भमा ‘अधिकतम दबाब’ भन्ने शब्द आफूले प्रयोग नगर्ने बताए । तर उनले उत्तर कोरिया विरुद्ध थप कैयौँ प्रतिबन्ध लगाउन सक्ने शक्ति आफूसँग भएको पनि चेतावनी दिएका छन् । बिबिसी