बोकोहरामद्वारा ५० भन्दा बढी बालबालिका अपहरित

बोकोहरामद्वारा ५० भन्दा बढी बालबालिका अपहरित


नाइजेरियाको सरकारद्वारा आतङ्ककारी घोषित समूह बोको हरामले बिहीबार एक ग्रामीण क्षेत्रमा रहेको विद्यालयबाट ५० जनाभन्दा बढी बालबालिकालाई अपहरण गरेको छ । संयुक्त राष्ट्रसंघ बालकोष (युनिसेफ) दिएको जानकारीअनुसार सन् २०१३ देखि अहिलेसम्म उत्तरपूर्वी नाइजेरियाबाट सो समूहले हजारभन्दा बढी बालबालिका अपहरण गरी लगेको सार्वजनिक गरेपछि बिहीबार यो समाचार आएको हो ।

लडाकुहरूले बालबालिकालाई लक्ष्य गरी विद्यालयमा पटकपटक आक्रमण गर्ने गरेको र आफ्नो विद्रोही दस्तामा जबर्जस्ती भर्ती गर्न यसरी बालबालिकालाई अपहरण गर्ने गरेको एएफपीले जनाएको छ । नाइजेरियाको उत्तर पूर्वी एक ग्रामीण क्षेत्रमा रहेको एक विद्यालयबाट उनीहरूले ती बालबालिकालाई अपहरण गरेको सुरक्षाकर्मीले जनाएका छन् ।

अपहरित बालबालिकाको खोजीकार्यका लागि ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको त्यहाँको गृह प्रशासनले जनाएको एएफपीले उल्लेख गरेको छ । नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा द्वन्द्व शुरु भएको झन्डै नौ वर्षको अवधिमा बोकोहरामले १२ सयभन्दा बढी विद्यालयमा आक्रमण गरेका छन् ।

यस अवधिमा उनीहरूको आक्रमणमा परी दुई हजार २ सय ९४ जना शिक्षक मारिएका युनिसेफले तयार पारेको प्रतिवेदनमा उल्लेख छ । सन् २०१४ मा चिबोक भन्ने ठाउँको एउटा विद्यालयबाट २७६ जना बालिका अपहरण गरिएपछि विश्वव्यापी रूपमा त्यसको निन्दा भएको थियो । सरकारले ती बालबालिकाको खोजीका लागि निकै प्रयास गरे पनि सबैलाई सकुशल मुक्त गर्न भने सकेन ।

बोकोहराम आतङ्ककारी समूहले बालबालिकालाई यसरी अपहरण गरेपछि जबर्जस्ती सेनामा भर्ती गर्ने, यौन शोषण गर्नेजस्ता अमानवीय कार्य गर्ने गर्दछ ।