दिल्लीमा प्रचण्ड नाङ्गै

दिल्लीमा प्रचण्ड नाङ्गै


othernewsविशेष संवाददाता, (नयाँदिल्ली) । एनेकपा माओवादी अध्यक्ष प्रचण्डले भारत भ्रमणलाई व्यक्तिगत राजनीतिक फाइदाका लागि अत्यधिक उपयोग गर्ने प्रयास गरे । भारतसँग बेलाबखत जोरी खोज्ने गरेका उनले विगतमा गल्ती गरेको भन्दै माफीसमेत मागे । भारतीय नेता र उच्च अधिकारीसँगको भेटमा भारतलाई राम्ररी चिन्न नसकेको भन्दै आइन्दा त्यस्तो गल्ती नहुने कसमसमेत उनले खाएका छन् ।
उच्च स्रोतका अनुसार भारतीय प्रधानमन्त्री मनमोहन सिंह, विदेशमन्त्री सलमान खुर्सिद, राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेननलगायतका अधिकारीसँगको भेटमा उनले विगतका कमी–कमजोरीबाट आफूले पाठ सिकेको खुलेरै बताए । आगामी दिनमा आफूलाई भारतले सहयोग र समर्थन गरे आफूले भारतको हितमा सहयोगी भूमिका निर्वाह गर्न सक्ने बुँदाहरू पनि उनले प्रस्तुत गरे । जसमा जलस्रोत र सुरक्षामा भारतलाई सघाउ पुग्ने विषय छन् । कर्णाली चिसापानी जलविद्युत्लगायतका आयोजनामा भारतीय लगानीको सम्भावनालाई प्रचण्ड स्वयम्ले औँल्याए । आगामी चुनावमा आफूलाई सहयोग गरेमा भारतलाई समेत फाइदा हुने उनले तर्क गरेको स्रोतको भनाइ छ । नेपालबाट भारतमाथि हुनसक्ने सुरक्षा–खतरा रोक्न आफूसँग मात्र सामथ्र्य र योजना रहेको दाबीसमेत प्रचण्डले प्रस्तुत गरे । नेपालभित्र माथिल्लोदेखि तल्लो तहका जनतासम्म पकड बलियो भएको दाबी गर्दै भारतविरोधी गतिविधिलाई रोकेर नयाँ माहौल सिर्जना गर्न सक्नेसमेतको व्याख्या गरे ।
माओवादीको गत महाधिवेशनबाट नयाँ अवधारणा तयार भएको र त्यसमा भारतविरोधी शब्दहरू हटाइएकोसमेत प्रचण्डले भेटमा उल्लेख गरे । भारतविरोधी लाइनमा मोहन वैद्य समूह रहेको र उनीहरू पार्टीबाट अलग भइसकेकोले आफ्नो दल भारतसँग मिलेर जान इच्छुक रहेको प्रचण्डको भनाइ थियो । भारतलाई हेर्ने दृष्टिकोणकै सवालमा पार्टी विभाजन भएको र आफूले भारतसँगको सम्बन्ध बढाउनकै लागि खतरा मोलेको उल्लेख गर्दै सहयोगको याचनाहरू गरे । स्रोतका अनुसार भारतीय पक्षले भारतको स्वार्थमा माओवादीले के–के गर्न सक्छ भनी जिज्ञासा राखेको थियो । उनीहरूले जलस्रोत, सीमा, नेपाली भूमिबाट हुने गरेका भारतविरोधी गतिविधि, चीनप्रति प्रचण्डको झुकावलगायतबारे चासो लिएका थिए । प्रचण्डले चीनको समेत नेपालमा चासो बढेको र उसको भूमिकालाई हदभन्दा माथि नाघ्न नदिन त्रिदेशीय समझदारी आवश्यक रहेको तर्क गरेका थिए । यद्यपि भारतीय पक्ष प्रचण्डको तर्कबाट सतर्क भएको छ । भारतीय पक्षले द्विपक्षीय सहयोग अभिवृद्धिमै जोड दिई त्रिपक्षीय समझदारीलाई तत्काल अनावश्यक भन्दै अस्वीकार गरेको छ । विगतमा समेत प्रचण्डले भारतविरुद्ध चिनियाँ कार्ड प्रयोग गरेको बुझाइ भारतीय पक्षको रहेको छ । प्रचण्डले लुम्बिनी विकासमा चीनलाई सहभागी गराउन खुलेर लागेकोबारे पनि भारतीय पक्षले प्रश्न उठायो । प्रचण्डले चाहिँ भारतसमेत संलग्न भएर लुम्बिनीको विकास गर्नुपर्नेमा जोड दिएका थिए ।
जनयुद्धकालमै भारतले सहयोग गरेको, दिल्लीमा १२बुँदे समझदारी गराउन भारतले भूमिका निर्वाह गरेको र नयाँ संविधान बनाउनसमेत भारतकै भूमिका अनिवार्य रहेको भन्दै आफूले मात्र शान्तिप्रक्रियाको महत्वपूर्ण पाटो संविधान निर्माण पूरा गर्न सक्ने दाबी उनले प्रस्तुत गरेका थिए । अन्य दलको नेतृत्वकर्ताहरूको कमजोरी कोट्याउँदै आफूले मात्र नेपालको सही नेतृत्व गरी भारतको हितमा भूमिका निर्वाह गर्न सक्ने भन्दै प्रचण्डले पटक–पटक सहयोगको याचना गरेका थिए ।
भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंहसँगको भेटमा चाहिँ प्रचण्डले कडा प्रश्नहरूको सामना गर्नुप¥यो । भेटका सहभागी सिंहनिकट एक नेताका अनुसार हिन्दू धर्ममाथि माओवादीले प्रहार गरिरहेकोबारे जिज्ञासा राखे । ‘तपाईंहरूको हिन्दू धर्म र संस्कृतिप्रतिको धारणा के हो ?’ सिंहले गरेको प्रश्न उद्धृत गर्दै स्रोतले भन्यो, ‘अमेरिकीहरूले जतिसुकै भौतिक विकास गरे पनि स्व: धर्म र संस्कृतिको जर्गेना छाडेका छैनन् ।’ राजसंस्था अन्त भइसकेकोले पुनस्र्थापना हुनुपर्ने पक्षमा नरहेको तर नेपाल हिन्दू अधिराज्य बन्नुपर्ने भाजपाको भित्री धारणा रहेको स्पष्ट पारे । प्रचण्डले चाहिँ आफूहरूले हिन्दू धर्म र संस्कृतिविरुद्ध क्रियाकलाप नगरेको सफाइ पेस गरेका थिए । माओवादी रूपान्तरण भइसकेको र अतिवादी शक्तिहरू फुटेर गइसकेको उल्लेख गर्दै दोषजति मोहन वैद्य समूहको टाउकोमा थोपर्न प्रचण्डले बाँकी राखेनन् । भारतविरोधी गतिविधि र भारतीय लगानीमाथि आक्रमण गरेको पनि आफूहरूले नभई वैद्य समूहले गरिरहेको उनको भनाइ थियो । यस्तै क्रियाकलाप गरेकाले आफूले पार्टी फुट्दासमेत नरोकेको र जोखिम मोलेको तर्क प्रचण्डले दिएका थिए ।
जसलाई भेट्यो त्यस्तै बनेर कूटनीतिक सफलता हासिल गर्ने प्रयास प्रचण्डले भारतमा समेत गरे । उनले आफू भारतको असल मित्र र सहयोगी रहेको दाबी गर्दै विगतको गल्तीप्रति क्षमायाचना गरे । भारतीयहरू दाहालको याचनाबाट दङ्ग परेका छन्, तर उनलाई पत्याइहालेको स्थिति भने छैन ।
प्रचण्डसँग तय भएका केही भेटघाट रद्द भए । भारतीय लोकसभामा विपक्षी दलको नेता सुषमा स्वराज प्रचण्डलाई भेट्न आइनन् । प्रचण्डलाई भेट्न उनी होटल ओबरायोमा आउने तय भएको थियो । मुलायमसिंह यादवसँगको भेटसमेत रद्द भयो । भारतीय प्रधानमन्त्री मनमोहन सिंहबाहेक सत्तारुढ कङ्ग्रेस आईका नेताहरूसँग भेटघाटको समय तय भएको थिएन । स्रोतका अनुसार ऋषि धमलाले कङ्ग्रेस आईका विदेश विभाग प्रमुख करण सिंहसँग भेट गराइदिएका थिए । धमलाकै पहलमा नेपालका लागि भारतीय पूर्वराजदूत एवम् पूर्वविदेशसचिव केभी राजनसँगको भेटघाट तय भएको थियो । प्रचण्ड अत्यन्तै गिडगिडाएपछि कङ्गे्रस नेतृ सोनिया गान्धीसँग सङ्क्षिप्त भेटघाटको प्रबन्ध मिलाइएको जानकारी प्राप्त भएको छ ।

चौथो वर्षमा तपस्या पूरा
विगत चार वर्षदेखि एमाओवादी अध्यक्ष प्रचण्डले गरेको तपस्या यसै साता सफल भएको छ । चार वर्षदेखि प्रचण्डले छिमेकी मित्रराष्ट्र भारतको भ्रमण गरी प्रधानमन्त्री मनमोहन सिंह, कङ्गे्रस नेतृ सोनिया गान्धीलगायतका नेताहरूको ‘दर्शन भेट’ गर्ने प्रयास गर्दै आएका थिए । वर्षौंको रोदनपश्चात् प्रचण्डले भारतको तीनदिने भ्रमण गर्ने मौका गत शनिबार प्राप्त गरे । देशकै प्रतिनिधित्व गरेर भ्रमणमा गएका प्रचण्डले आफू कसको निमन्त्रणामा भारत गएको भन्ने रहस्य भने गुपचुप राखेका छन् । भारतीय प्रधानमन्त्री, सरकार, राष्ट्रिय राजनीतिक दल कसैका तर्फबाट पनि प्रचण्डलाई औपचारिक निम्ता आएको जानकारी नेपाल सरकार र नेपाली जनतालाई छैन । कुन अदृश्य शक्तिको निम्तामा उनी भारत गएका हुन् खोजीको विषय बनेको छ । यसअघि चीन जाँदा प्रचण्डलाई चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणा थियो, तर भारतबाट कसले या कुन निकायले बोलाएको थियो भन्नेबारेमा प्रचण्डले कसैलाई पनि जानकारी गराएका छैनन् ।
२०६६ वैशाखमा प्रधानमन्त्री पदबाट मुक्त भएपछि प्रचण्डले केही महिना भारतविरुद्ध एक अभियान नै चलाएका थिए । युद्धकालमा विपक्षी कार्यकर्ता र नेतालाई थर्काएर ठेगान लगाएझैं भारतलाई पनि तर्साएर नै ठीक पार्न सकिने विश्वास सायद प्रचण्डमा थियो । तर, भारत विरोधले झन् आफैँ थलिएपछि प्रचण्डले ‘कन्फ्युजन दूर गर्न’ भन्दै भारत भ्रमणमा जाने अनेकौँ प्रयत्न गर्दै आएका थिए । नेपालका लागि भारतका तात्कालिक राजदूत राकेश सुदसँग पनि उनले भ्रमणको व्यवस्था मिलाइदिन पटकपटक आग्रह गरेका थिए । प्रचण्डले अति नै जोड गरेपछि सुदले एक साँझ भनेका थिए, ‘हेर्नुस् प्रचण्डजी नेपालबाट भारत जान भिसा लाग्दैन, दैनिक हजारौँ नेपाली भारत गइरहेका छन्, तपाईं पनि जान सक्नुहुनछ । विमान, रेलवे या मोटरबाटो जे प्रयोग गरेर पनि भारत पुग्न सकिन्छ ।’ सुदको कुराले प्रचण्डलाई निकै गहिरो चोट पुगेको थियो । तथापि उनले भारत भ्रमणमा जाने प्रयास गर्न भने छोडेनन् । प्रचण्डका प्रयासहरूको अध्ययन गर्दा लाग्थ्यो– उनका लागि नयाँ जनवादी क्रान्तिभन्दा भारतको भ्रमण नै महत्वपूर्ण छ । चार वर्षको अथक प्रयत्नपश्चात् प्रचण्डले यसपालि भारत भ्रमण गर्ने मौका त पाए, तर ‘कन्फ्युजन दूर गर्ने’ सफलताचाहिँ उनले पाउन सके–नसकेको बुझ्न सकिएको छैन । यद्यपि प्रचण्डले भारतीय प्रधानमन्त्री मनमोहन सिंहलगायत अन्य नेता तथा सुरक्षाविज्ञ र कूटनयिकहरूसँग भेटघाट गर्ने मौका पाएका छन् । भारत भ्रमणमा जान पाउनु मात्रलाई पनि प्रचण्डले आफ्नो राजनीतिक सफलता ठानेका छन् ।

जेल बस्नेकै विरुद्ध अर्को षड्यन्त्र !
चर्चित राजनीतिकर्मी जयप्रकाश गुप्ताले तराईका जिल्लामा जागरण अभियान सुरु गरेपछि गुप्ताविरुद्धको षड्यन्त्रमा सरिक भएकाहरू सशङ्कित हुन पुगेका छन् । भ्रष्टाचारको आरोपमा जेल सजाय भएपछि जयप्रकाश गुप्ताको राजनीति सकिने विश्वासमा रहेका उनीहरू तराई भ्रमणका क्रममा गुप्ताको वरिपरि लागेको भीड देखेर त्रसित भएका छन् । सामान्य ठानिएका गुप्ताका पक्षमा त यति ठूलो जनआकर्षण छ भने काङ्गे्रस नेता खुमबहादुर खड्काको रिहाइपछि उनले झन् कति हलचल ल्याउने हुन् भनी षड्यन्त्रमा सामेल भएकाहरू चिन्तित बनेका छन् । त्यसैले गुप्ताको आफ्नो राजनीतिक अभियानसँगै खुमबहादुर खड्काको समेत नाम जोडेर प्रचार सुरु गरिएको छ । ज्ञातव्य छ, खड्का र गुप्ता दुवै प्रजातान्त्रिक आन्दोलनमा विशिष्ट योगदान पु¥याउन समर्थ नेता हुन् । खुमबहादुर खड्का बीपी कोइरालाका प्रियपात्र मानिन्थे र उनले आफ्नो जीवनकालमा अनेकौँ जोखिम तथा उतार–चढावको सामना पनि गरिसकेका छन् । कार्यमुखी (एक्सन ओरिएन्टेड) नेताको परिचय बनाएका खड्का र जयप्रकाश पहिले पनि मित्र थिए, भ्रष्टाचारको आरोप पनि सँगै लाग्यो र काराबासमा पनि सँगै बसे । दुवै नेताले आफूहरू वर्तमान सरकारप्रमुख खिलराज रेग्मीको चरम पूर्वाग्रह तथा अन्य केही व्यक्तिको षड्यन्त्रको सिकार भएको महसुस गरेका छन् । रेग्मीले आफू प्रधानन्यायाधीशको भूमिकामा रहँदा प्रमाण नपुगेको भए पनि खड्का र गुप्तालाई जेल सजाय तोक्नका लागि मुद्दा हेर्ने न्यायाधीशहरूलाई बारम्बार दबाब दिएको जानकारी दुवै नेताले पाएका छन् । खड्का र गुप्ताबीचका घटना र भोग्नुपरेको नियति तथा पीडामा समानता भए पनि दुईको राजनीतिक साधन भने फरक हुन पुगेको छ । गुप्ता तराईकेन्द्रित राजनीतिमा रमेका छन्, खड्का कुनै एक क्षेत्रविशेषमा केन्द्रित हुन चाहँदैनन् । गुप्ता नयाँ राष्ट्रिय शक्ति निर्माण गर्ने अभियानमा जुटेका छन्, खड्का नेपाली काङ्गे्रसलाई नै सशक्त र प्रभावकारी राष्ट्रिय राजनीतिक शक्तिका रूपमा विकास गर्नुपर्छ भन्ने पक्षमा रहेका छन् । कारागारमुक्त भएपछि सबल, सक्षम र सशक्त काङ्गे्रस निर्माणका निम्ति देशव्यापी दौडाहामा जाने योजनामा खुमबहादुर खड्का छन्, जेपी गुप्ता तत्काल छुट्टै दल गठन गर्ने तयारीमा छन् । वास्तविकता यसप्रकारको भए पनि सुरक्षा सूत्रको हवाला दिँदै एक दैनिक पत्रिकाले खुमबहादुर खड्का र जेपी गुप्ताका विरुद्ध माहौल बनाउने प्रयत्न गर्नुले खड्का र गुप्ताविरुद्धका षड्यन्त्रकारीहरू आतङ्कित एवम् सशङ्कित भएको सङ्केत दिएको छ । यस सम्बन्धमा काराबासमा रहेका नेता खुमबहादुर खड्काको ध्यानाकर्षण गर्दा उनले भने, ‘क–कसले के–के लेख्दै हिँड्छन्, त्यो मेरो चासो र चिन्ताको विषय होइन, नेपालको प्रजातान्त्रिक आन्दोलनमा जीवन समर्पण गरेको सामान्य व्यक्ति हुँ, काङ्गे्रस मेरो घर हो । बाहिर आएपछि पनि काङ्गे्रसलाई नै बलवान बनाउने अभियानमा लागिन्छ ।’ जयप्रकाश गुप्ताले तराईमा चलाएको अभियानबारे जिज्ञाशा राख्दा खड्काको भनाइ थियो, ‘जयप्रकाशजी एक खाँटी प्रजातन्त्रवादी हुन्, उनीमाथि पनि मलाईजस्तै षड्यन्त्र भएको हो । आफ्नो राजनीतिक जीवन पनि मैलेजस्तै सङ्घर्षबाट नै सुरु गरेका जेपी एक क्रियाशील व्यक्ति हुन् । झुटा आरोपमा जेल हाल्ने सफलता कसैलाई प्राप्त भयो भन्दैमा जेपीजी राजनीतिबाट पलायन हुने कुरै भएन । उनको क्रियाशीलतालाई मैले स्वाभाविक रूपमा लिएको छु । जेपीको क्रियाशीलतासँग मलाई जोड्ने र जोडेर प्रचार गर्ने काम किन भएको हो त्यसको रहस्य पनि खुल्दै जाने विश्वास मैले गरेको छु । तर, आफूलाई जिम्मेवार दाबी गर्ने पत्रिकाले यस्तो गैरजिम्मेवार सामग्री म जेलमा बसेको मान्छेलाई एक वचन नसोधी किन प्रकाशन गरेको हो आश्चर्य लागेको छ ।’
नेता खुमबहादुर खड्काले अनुसन्धानका क्रममा कैद भोगिसकेको भए पनि उक्त कैद कट्टी गर्न सम्बन्धित निकायले आनाकानी गरिरहेको छ । पहिले भोगेको कैद कट्टी भएमा खड्का आगामी असारमा थुनामुक्त हुनेछन्, होइन भने असोजसम्म खड्काले काराबासमै बिताउन बाध्य हुनुपर्नेछ । प्रधानन्यायाधीशमा खिलराज रेग्मी कायम रहेको भए खड्काले न्याय पाउने सम्भावना कम रहेको मानिन्थ्यो । अब न्यायपालिकाले पूर्वाग्रह नराख्ने हुनाले खड्कालाई न्याय मिल्ने विश्वास गरिएको छ ।
स्मरणीय छ, खुमबहादुर खड्का सदरखोर डिल्लीबजारमा छन् र उनलाई भेट गर्नका लागि हरेक दिन दुई सयको सङ्ख्यामा पार्टीका कार्यकर्ता, नेता तथा शुभचिन्तक जाने गरेको जानकारी कारागार सूत्रले दिएको छ ।

काङ्ग्रेस संसदीय बोर्डमा को–को ?
नेपाली काङ्ग्रेस संसदीय बोर्डको गठन गर्ने आन्तरिक तयारी भइरहेको छ । पार्टीको आन्तरिक शक्ति सन्तुलनका आधारमा बोर्ड गठन गर्ने प्रयास भएका कारण यसमा केही ढिलाइ हुन पुगेको बुझिएको छ । काङ्ग्रेसको विधानअनुसार संसदीय बोर्डमा सबै पदाधिकारीका अतिरिक्त थप केही सदस्य मनोनीत हुनेछन् । यसअनुरूप पार्टी सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला तथा कोषाध्यक्ष चित्रलेखा यादव बोर्डको स्वत: सदस्य हुनुहुन्छ ।
सहमहामन्त्रीसमेत बोर्डमा रहने प्रावधान भए पनि हालसम्म सहमहामन्त्रीको नियुक्ति नभएका कारण रिक्त सदस्यहरूको पूर्ति वरिष्ठ नेताहरूमध्येबाट नै हुने बुझिएको छ । बोर्डमा वरिष्ठ नेता शेरबहादुर देउवा, डा. रामशरण महत, कुलबहादुर गुरुङ, विमलेन्द्र निधि, अर्जुननरसिंह केसी, डा. शशांक कोइराला र डा. शेखर कोइरालालगायतका नेताहरूमध्येबाट चयन हुने जानकारी प्राप्त भएको छ ।
केन्द्रीय सदस्य सुजाता कोइरालाले पनि बोर्डमा नियुक्त हुन पाउनुपर्ने आकाङ्क्षा राख्नुभएको छ । अर्का नेता खुमबहादुर खड्कालाई पनि बोर्डमा राखिनुपर्ने आवाज उठेको छ । तर, उहाँ थुनामा रहनुभएकाले तत्काल उहाँलाई सामेल गर्न आवश्यक नरहेको तर्क एकथरी नेताहरूको छ । संसदीय बोर्डमा एघार सदस्य रहने व्यवस्था भए पनि नेताहरूको चापका कारण सो सङ्ख्या थप गर्न सकिने–नसकिनेबारे समेत विचार–विमर्श भइरहेको छ ।
यसैबीच काङ्ग्रेसले विभिन्न अञ्चलका समन्वय समितिको संयोजक तथा सदस्यहरू तोकेको छ । आगामी मङ्सिरमा संविधानसभा निर्वाचन हुने र निर्वाचनमा काङ्ग्रेसलाई पहिलो पार्टी बनाउने उद्देश्यअनुरूप सङ्गठनलाई बलियो बनाउन संयोजक तथा सदस्यहरू तोकेको हो । सभापति सुशील कोइरालाको अध्यक्षतामा बसेको बैठकले मंगलबार अञ्चल समन्वय समितिहरू गठन गरेको हो । अञ्चल समन्वय समितिमा सम्बन्धित अञ्चलभित्रको जिल्लाका पार्टी सभापतिहरू, केन्द्रीय सदस्यहरू तथा पूर्वसांसद र संसद् सदस्यका उम्मेदवारहरू स्वत: रहने व्यवस्था मिलाइएको छ ।
बैठकले मेची अञ्चल समन्वय समितिको संयोजकमा महेन्द्र यादवलाई जिम्मेवारी दिइएको छ । त्यसैगरी क्रियाशील सदस्यहरूमध्येबाट प्रतापप्रकाश हाङवाङ, केदारनाथ बास्तोला, तोयानाथ भट्टराई, अनिलकृष्ण प्रसार्इं र दीपक तामाङलाई तोकिएको छ । त्यसैगरी कोसी अञ्चल समन्वय समितिको संयोजकमा पदमनारायण चौधरीलाई तोकिएको छ । सो अञ्चालमा क्रियाशील सदस्यहरूमध्येबाट गोपालमानसिंह राजभण्डारी, नारायण कार्की, अनन्त गौली, हरिकुमार राई, भीष्मराज काफ्ले सदस्यका रूपमा रहेका छन् । सगरमाथा अञ्चल समन्वय समितिको संयोजकमा केशवकुमार बुढाथोकीलाई तोकिएको छ भने क्रियाशील सदस्यहरूमध्येबाट विनोदकुमार बस्नेत, सरस्वती वजियम, डिल्लीराम खनाल, अमर रेग्मी, अकुर खड्का रहेका छन् । रामकुमार चौधरीलाई जनकपुर अञ्चल समन्वय समितिको संयोजक तोकिएको छ । क्रियाशील सदस्यहरूमध्येबाट रुद्रबहादुर खड्का, भोला चौधरी, अनिता शर्मा, दीपक अधिकारी, लवश्री न्यौपाने रहेका छन् ।
रत्न शेरचनलाई बागमती अञ्चल समन्वय समितिको संयोजक तोकिएको छ भने क्रियाशील सदस्यहरूमध्येबाट बालचन्द्र पौडेल, हरि सिंखडा, इन्द्रबहादुर पाण्डे, विदुर बञ्जारा, लीला नेपाल रहेका छन् । त्यसैगरी रामचन्द्र तिवारीलाई नारायणी अञ्चल समन्वय समितिको संयोजक तोकिएको छ । त्यस्तै क्रियाशील सदस्यहरूमध्येबाट माधव आचार्य, रामअयोध्या यादव, दीनानाथ गुप्ता, विकास कोइराला, बिन्दा साहनी रहेका छन् ।
बैठकले गण्डकी अञ्चल समन्वय समितिको संयोजकमा कृष्णचन्द्र नेपालीलाई तोकेको छ । क्रियाशील सदस्यहरूमध्येबाट तुलाराम दाहाल, ताराराज राना, शारदा रिमाल, पुरुषोत्तम पराजुली, सूर्य रेग्मी रहेका छन् ।
लुम्बिनी अञ्चल समन्वय समितिको संयोजकमा सुरेन्द्रराज पाण्डेलाई तोकेको छ । त्यस्तै क्रियाशील सदस्यहरूमध्येबाट राजेन्द्रप्रसाद पन्त, रामेश्वर पन्थी, विष्णु मुस्कान खनाल, इन्दु सापकोटा, अष्टभुजा पाठक रहेका छन् ।
धौलागिरी अञ्चल समन्वय समितिको संयोजकमा एनपी सावदलाई तोकेको छ भने क्रियाशील सदस्यहरूमध्येबाट आनन्द शेरचन, भूपेन्द्रबहादुर खड्का, वसन्तबहादुर सिके, रामप्रसाद आचार्य, यदुुनाथ कँडेल रहेका छन् ।
त्यसैगरी कर्णाली अञ्चल समन्वय समितिको संयोजकमा मीन विश्वकर्मालाई तोकेको छ । क्रियाशील सदस्यहरूमध्येबाट श्रीबहादुर शाही, खड्गबहादुर शाही, देवकी श्रेष्ठ, अम्ब शाही, रिता शाही रहेका छन् ।
ज्ञानेन्द्रबहादुर कार्कीलाई सेती अञ्चल समन्वय समितिको संयोजक बनाइएको छ भने क्रियाशील सदस्यहरूको तर्फबाट रामसिंह रावल, जगत जोशी, बलबहादुर कुँवर, दुर्गा फुलारा, वीरबहादुर हमाल सदस्यका रूपमा रहेका छन् ।
जीवनबहादुर शाहीलाई महाकाली अञ्चल समन्वय समितिको जिम्मेवारी तोकिएको छ । त्यस्तै, क्रियाशील सदस्यहरूका तर्फबाट मदन गिरी, विष्णुदत्त जोशी, गणेश भट्ट, रामलाल राना थारू, केशव चन्दलाई तोकिएको छ ।
यसैगरी बैठकले काठमाडौं उपत्यका समन्वय समितिको संयोजकमा रामकृष्ण ताम्राकारलाई तोकेको छ । समितिको सदस्यहरूमा उपत्यकाका तीन जिल्लाका सभापति तथा क्षेत्रीय सभापतिहरूलाई तोकिएको छ ।

प्रसूति अस्पतालमा यस्तो पनि हुन्छ !
प्रसूति तथा स्त्री रोग अस्पताल थापाथलीमा अस्पताल परिसरभित्रको कक्ष औषधि पसल राख्न भाडामा उपलब्ध गराउने क्रममा भ्रष्टाचार भएको तथ्य फेला परेको छ । प्राप्त जानकारीअनुसार उक्त अस्पतालले मेडिसिन डिपोका लागि दुई सय स्क्वायर फिट ठाउँ उपलब्ध गराइने भन्दै मिति २०६९ भदौ २ गते एक टेण्डर आह्वान गरेको थियो । प्रतिवर्ष न्यूनतम ७६ लाख ३६ हजार भाडा निर्धारण गरी दरखास्त आह्वान गरिएको उक्त टेण्डर हात पार्ने प्रकाश मेडिकल (प्रकाश गिरी) लाई तोकिएको स्थानका साथै अर्को भवनमा पनि थप करिब ७५ स्क्वायर फिट क्षेत्र उपलब्ध गराइएको छ । सो अतिरिक्त ठाउँका लागि टेण्डर आह्वानको सूचनामा कुनै व्यहोरा उल्लेख गरिएको छैन, तर प्रकाश मेडिसिनलाई सम्झौता गरी थप ठाउँसमेत दिइएको छ । यसरी नियमविपरीत सम्झौता गरी ठाउँ उपलब्ध गराएर अस्पतालकी निर्देशक शिला वर्मा र प्रशासक अमर अमात्यले अनुचित लाभ लिएको बुझिएको छ । प्रसूति अस्पताल परिसरमा अमात्य र वर्माले ६ लाखभन्दा बढी रकम लिएर प्रकाश मेडिसिनसँग सम्झौता गरेको चर्चा छ । तर, कति रकम लिएर उक्त अनियमित काम गरिएको हो सोको आधिकारिक पुष्टि हुन भने सकेको छैन । टेण्डरविपरीत सम्झौता गरेर अनुचित लाभ लिएको तथ्य भने कागजातहरूले पुष्टि गरेको छ । यस विषयलाई लिएर अख्यितार दुरुपयोग अनुसन्धन आयोगमा ६ महिनाअघि नै उजुरी परेको भए पनि दोषीहरूमाथि कारबाही गर्ने कुनै प्रक्रिया सुरु नहुँदा अस्पतालका कर्मचारी छक्क परेका छन् ।

एमाओवादीले पालो मिच्दा झन्डै झडप
निर्वाचन आयोग संविधानसभा निर्वाचनको द्रुत तयारीमा जुटेको छ । मङ्सिर पहिलो सातामा निर्वाचन गर्ने गरी वैशाख मसान्तभित्र मिति घोषणा गर्ने तयारी भइरहेको बेला आयोगले मतदाता नामवली सङ्कलनका साथै दल दर्ता प्रक्रिया तीव्र गतिमा अघि बढाएको हो । साथै आयोगले अन्य प्राविधिक कामहरू पनि सक्दै गएको जानकारी दिएको छ ।
आयोगको ढिलाइका कारण ‘समयमा चुनाव हुन नसकेको होे’ भन्ने दोषबाट मुक्त रहने भन्दै उसले निर्वाचनको आन्तरिक तयारी अघि बढाएको जानकारी दिएको छ । चुनावका लागि आवश्यक प्राविधिक तथा अन्य कामलाई तीव्रता दिएपछि सरकारले बाध्य भएर मिति तोक्ने र निर्वाचनको माहौल बन्ने आयोगको ठम्याइका साथ उसले आफ्नो आन्तरिक तयारीलाई अघि बढाएको हो । सोहीअनुसार आयोगले चुनावका लागि आवश्यक जनशक्ति, सुरक्षा–योजनालगायत प्राविधिक काम पनि सकिसकेको छ । निर्वाचनका लागि आयोगले चार लाखभन्दा बढी कर्मचारी आवश्यक पर्ने बताउँदै आएको छ ।
यसरी आयोगले आन्तरिक रूपमा मात्र गर्दै आएको कामलाई मंगलबारबाट खुला रूपबाटै आफ्नो काम अघि बढाएको छ । उसले दल दर्ता प्रक्रियासँग आफ्नो कामलाई औपचारिक रूपमा सार्वजनिक गर्दै अघि बढेको हो । सामान्यत: चुनावको मिति घोषण्ाँपछि मात्र आयोगले दल दर्ता प्रक्रिया अघि बढाउने चलन थियो । तर, यसपटक उसले सरकारसँगको सल्लाहमा भन्दै चुनावको मिति घोषण्ाँअघि नै दल दर्ता प्रक्रिया सुरु गरेको छ । ‘सरकारसँगको सहमतिमै दल दर्ता प्रक्रिया सुरु गरेको हो,’ आयुक्त अयोधीप्रसाद यादवले भने, ‘अब बिस्तारै अरू काम पनि अघि बढ्छ ।’
सरकारका तर्फबाट पनि चुनावको तयारी पूरा गर्न सहयोग गर्नेमा विश्वस्त तुल्याउँदै मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले पनि निर्वाचनका लागि गर्नुपर्ने सबै काम चुस्त रूपमा अघि बढाउन भनेकाले आयोग अघि बढेको जानकारी गराउँदै आयुक्त यादवले भने, ‘अब आयोग निर्वाचनको तयारीमा औपचारिक रूपबाटै अघि बढेको हो ।’
आयोगले दल दर्ताका लागि आह्वान गरेलगत्तै आयोगमा दल दर्ताका लागि एमाले, एमाओवादी, राप्रपा नेपाल तथा नेपाली काङ्ग्रेसका प्रतिनिधिहरू बिहानै पुगेका थिए । उनीहरूले आयोगले मागेअनुसारको विवरण आयोगमा बुझाएका थिए । आयोगमा दल दर्ताका लागि एमाले सबैभन्दा पहिले निर्वाचन आयोगको कार्यकक्षमा पुगेको थियो । आयोगका एक सुरक्षाकर्मीका अनुसार दल दर्ताका लागि भन्दै एमालेका केही नेता तथा कार्यकर्ता बिहान सवा ६ बजे नै पुगेका थिए । उनीहरू पहिलो नम्बरमा आफ्नो दल दर्ता गराउने भन्दै बिहानै पुगेका हुन् । तर, आयोगको कार्यालय भने बिहान नौ बजेपछि मात्र खुखेको थियो ।
पार्टी दर्ताका लागि एमालेका अग्नि खरेल, रामेश्वर फुँयाल र रामशरण ढुङ्गानालगायतका नेताहरू पुगेका थिए । त्यस्तै उपाध्यक्षद्वय वामदेव गौतम र विद्यादेवी भण्डारी पनि पुगेका थिए बिहानै । यता पार्टीको भ्रातृ सङ्गठन युवा सङ्घले भने रत्नपार्कबाट जुलुस निकालेको थियो ।
एमालेका प्रतिनिधिभन्दा केही मिनेटपछि एमाओवादीका प्रतिनिधि पुगेका थिए । एमाओवादीबाट फणीन्द्र देवकोटासहितको टोली थियो । एमाओवादीपछि राप्रपा नेपालका प्रतिनिधिहरू पुगेका थिए भने चौथो नम्बरमा काङ्ग्रेस मुख्यसचिव चिनकाजी श्रेष्ठको नेतृत्वमा टोली आयोगमा पुगेको थियो । त्यसक्रममा कसको दल पहिले दर्ता गर्ने भन्ने विषयमा एमाले र माओवादीबीच विवाद भएको थियो ।
दुई दलका कार्यकर्तँबीच भएको विवादका कारण आयोग परिसर केहीबेर तनावग्रस्त भएको थियो । एमाले र एमाओवादीले कार्यालय समयभन्दा चार घन्टा पहिले नै आयोग परिसर पुगेको दाबी गरेका थिए । एमाले केन्द्रीय सदस्य रामेश्वर फुँयालले आफ्नो नेतृत्वमा पार्टी बिहान ६ बजे नै १ नम्बरमा लाइनमा बसेको बताए भने एमाओवादी नेता वर्षमान पुनले एमालेभन्दा पहिले आफूहरू लाइनमा बसेको दाबी गरे । तनाव बढेपछि कान्तिपथस्थित आयोग परिसरमा व्यापक मात्रामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो ।
आयोगले भने ०६४ सालमा अपनाइएको प्रक्रियाजस्तै गरी दल दर्ताका लागि आह्वान गरेको छ । त्यतिखेर आयोगले नयाँ दल दर्ताका लागि १० हजार सदस्यका हस्ताक्षरसहित निवेदन दिनुपर्ने व्यवस्था गरेको छ । आयोगले यसपटक भने आयोगमा बुझाइएको हस्ताक्षरलाई प्रमाणीकरण गर्ने तयारीसमेत गरेको छ । एकै व्यक्तिले विभिन्न दलमा हस्ताक्षर गर्न सक्ने भएकाले हस्ताक्षरको प्रमाणीकरण गर्न लागेको हो । त्यस्तै आयोगले दल दर्ताका क्रममा बुझाइएका हस्ताक्षर सार्वजनिक गर्ने तयारीसमेत गरेको छ । आयोगले यसलाई पनि आन्तरिक तयारीकै रूपमा अघि बढाएको छ । यसअघि आयोगमा दर्ता भएका दलले बुझाएका हस्ताक्षर सार्वजनिक गर्ने गरेको थिएन । आयोगमा एक सय १९ दल दर्ता भए पनि संविधानसभामा सहभागी हुन पुन: दल दर्ता गराउनुपर्ने प्रावधान छ ।

धनुषामा चुनावी चहलपहल सुरु
दुई क्षेत्रमा काङ्गे्रस कमजोर
सात निर्वाचन क्षेत्र रहेको धनुषा जिल्लामा चुनावी सरगर्मी सुरु भएको छ । राष्ट्रपति डा. रामवरण यादवको गृहजिल्ला धनुषा काङ्गे्रसका प्रभावी नेता विमलेन्द्र निधि र आनन्द ढुङ्गाना तथा एमाले नेता रघुवीर महासेठ र हालै एमाले परित्याग गरी एमाओवादी प्रवेश गर्ने रामचन्द्र झाका कारणले पनि ज्यादा चर्चामा रहेको छ । धनुषाको एक नम्बर क्षेत्रमा रामचन्द्र झाले एमाले छोडी एमाओवादी प्रवेश गरेपछि उक्त क्षेत्र एमाओवादीका निम्ति सुरक्षित भएको अनुमान गर्न थालिएको छ । यादवहरूको बलियो उपस्थिति रहेको सो क्षेत्रमा जातीय समीकरण कसरी बन्छ भन्ने कुराले चुनावी परिणाम प्रभावित हुने बताइन्छ । झाले पार्टी परित्याग गरेपछि एमाले समर्थकहरू क्रूद्ध भएकोले त्यसको लाभ नेपाली काङ्गे्रसलाई हुनसक्ने अनुमान पनि गर्न थालिएको छ ।
दुई नम्बर क्षेत्रमा काङ्गे्रसका रामकृष्ण यादव सर्वाधिक बलिया देखिन्छन् । यादवसँग एमाओवादीका रामचन्द्र मण्डलले प्रतिस्पर्धा गर्न सक्ने स्थिति भए पनि चुनावी परिणाम भने रामकृष्णकै पक्षमा जाने विश्वास गरिन्छ ।
तीन नम्बर क्षेत्र लोकप्रिय काङ्गे्रस नेता विमलेन्द्र निधिका लागि सर्वाधिक सुरक्षित मानिन्छ । एमालेले जुली महतो (रघुवीर महासेठकी पत्नी) लाई उम्मेदवार बनाएमा निधिपछिको मत महतोले नै प्राप्त गर्न सक्ने देखिन्छ भने जुलीबाहेक अन्य कसैलाई एमालेले उम्मेदवार बनाएमा तमलोपाका कविन्द्र ठाकुरले दोस्रो स्थान हासिल गर्न सक्ने सम्भावना छ । चार नम्बर क्षेत्रमा फोरम लोकतान्त्रिकका सञ्जय साह बलिया मानिन्छन् । तर, काङ्गे्रसले रामसरोज यादवलाई र एमालेले रघुवीर महासेठलाई उम्मेदवार बनाएको अवस्थामा भने त्रिपक्षीय टक्करको स्थिति हुने र जो कसैले निर्वाचन जित्न सक्ने अनुमान स्थानीय बासिन्दाको छ ।
त्यस्तै पाँच नम्बर निर्वाचन क्षेत्रमा डा. चन्द्रमोहन यादव (डा. रामवरण यादवका सुपुत्र) र महेन्द्र यादवलाई काङ्गे्रसका प्रभावशाली स्थानीय नेताका रूपमा लिइन्छ । उनीहरूमध्ये एकले काङ्गे्रसबाट उम्मेदवार पाउने अवस्था भए पनि बढी सम्भावना डा. चन्द्रमोहन यादवकै रहेको छ । महेन्द्र यादवले सहयोग गर्न कञ्जुस्याइँ नगरेमा चन्द्रमोहनको जित निश्चित मानिन्छ । यसअघिको निर्वाचनमा महेन्द्र यादव र चन्द्रमोहनबीच समझदारी बन्न नसकेकोले एमालेका रघुवीर महासेठले त्यसको फाइदा उठाउँदै चुनावी परिणाम आफ्नो पक्षमा ल्याएका थिए । यसपटक पनि चन्द्रमोहन र महेन्द्र यादवबीच समझदारी नबनेमा काङ्गे्रसका निम्ति प्रत्युत्पादक हुनसक्ने देखिएको छ । काङ्गे्रससँग एमालेका रघुवीर महासेठकै प्रतिस्पर्धा हुने भए पनि यसपालि तमलोपाकी अनिता यादवको स्थितिसमेत सुदृढ भएको मानिन्छ ।
गत निर्वाचनमा एमाओवादीकी रामकुमारी यादवले जितेको ६ नम्बर क्षेत्रमा एमाओवादीको प्रभाव अहिले पनि बलियो देखिन्छ । रामकुमारी यादवको दुर्घटनामा परी निधन भएकोले सो क्षेत्रमा एमाओवादीले कसलाई उम्मेदवार बनाउने हो सोको स्पष्ट जानकारी हुन सकेको छैन र चिनिएका कुनै एक नेता मैदानमा देखिएका पनि छैनन् । बरु यस क्षेत्रमा प्रचण्डले नै उम्मेदवारी दिने हुन् कि भन्ने चर्चा सुरु भएको छ र प्रचण्डले उम्मेदवारी दिएमा उनको विजयको सम्भावना रहेको बताइन्छ । तर, नेपाली काङ्गे्रसले विजय साहलाई उम्मेदवार बनाएमा भने प्रचण्ड नै उम्मेदवार भए पनि कडा प्रतिस्पर्धा हुने विश्लेषण स्थानीय बुद्धिजीवीले गरेका छन् । काङ्गे्रसका पे्रम साहले पनि यसपालि उम्मेदवारीका निम्ति रुचि देखाएका छन् । तर, पे्रमले भन्दा विजय साहले नै बढी मत प्राप्त गर्न सक्ने भएकाले यसपटक प्रेम साह पछि हट्नुमै उपयुक्त हुने देखिएको छ । नेकपा एमालेका तर्फबाट यस क्षेत्रमा योगनारायण यादवले टिकट पाउने सम्भावना छ । तर, यो क्षेत्रमा एमालेले दोस्रो या चौथो स्थानमै चित्त बुझाउनुपर्ने अवस्था छ ।
धुनषा सात नम्बर क्षेत्रमा नेपाली काङ्गे्रसका समीर घिमिरेको नाम सम्भावित उम्मेदवारका रूपमा लिन थालिएको छ । तर, काङ्गे्रस नेता आनन्दप्रसाद ढुङ्गाना उम्मेदवार बनेमा ढुङ्गाना नै विजयी बन्ने विश्वास स्थानीय बासिन्दाको छ । यसअघि एमालेका शत्रुघ्न महतोले कारणवश चुनाव जितेको भए पनि यसटपकचाहिँ आनन्द ढुङ्गानाकै पक्षमा माहौल बन्दै गएको छ ।
समग्रमा धनुषाको राजनीतिक स्थितिको विश्लेषण गर्दा क्षेत्र नं. दुई, तीन, चार, पाँच र सातमा काङ्गे्रसको स्थिति सबल देखिन्छ भने एक र ६ मा अन्य पक्ष बलिया देखिन्छन् । चार नम्बर क्षेत्रबाट सञ्जय साहले पनि चुनाव जित्न सकेनन् भने यसटपक धनुषाबाट मधेसकेन्द्रित दलहरूले हात धुनुपरेमा आश्चर्य मानिने छैन ।

अमरेशले देखाए कमाल
महन्थलाई छाड्नेको बाढी
तराईवासी जनताका नाम भजाएर सत्तामा पुग्न सफल मधेसकेन्द्रित दलका नेताहरूलाई छाड्नेहरूको होडबाजी नै चलेको छ । उनीहरू मधेसी दल तथा तिनका नेताहरूलाई छाड्दै नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् । मंगलबार मात्र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको चुनाव क्षेत्रका (सर्लाही क्षेत्र नम्बर ६) एक हजारभन्दा बढी मधेसकेन्द्रित दलका कार्यकर्ताहरू काङ्ग्रेस पार्टीमा प्रवेश गरेका छन् ।
काङ्ग्रेस नेता अमरेशकुमार सिंहको अगुवाइमा सर्लाही क्षेत्र नम्बर ६ को राममान गाविसमा भएको क्षेत्रीय कार्यकर्ता भेलामा मधेसकेन्द्रित दलका एक हजारभन्दा बढी जिल्लास्तरीय नेता तथा कार्यकर्ता काङ्ग्रेस पार्टीमा प्रवेश गरेका हुन् । काङ्ग्रेस नेता सिंहका अनुसार काङ्ग्रेस प्रवेश गर्नेहरूमा तमलोपा, मधेसी जनअधिकार फोरम, सद्भावनालगायतको पार्टीका जिल्लास्तरीय, क्षेत्रीय तथा गाउँ कमिटीका नेता तथा कार्यकर्ता रहेका छन् ।
यसअघि सोही स्थानमा पुगेर तमलोपाका अध्यक्ष महन्थ ठाकुरले आफू आगामी संविधानसभामा सर्लाही क्षेत्र नम्बर ६ बाटै उठ्ने घोषणा गर्दै मधेसी जनताको हितमा संविधान बनाउनका लागि आफूले जित्नु अनिवार्य रहेको जिकिर गरेका थिए । ठाकुर फर्केलगत्तै क्षेत्रीय कार्यकर्ता भेलाको तयारीका लागि पुगेका काङ्ग्रेस नेता सिंहले सो क्षेत्रमा महन्थलगायत अन्य मधेसी मूलका नेताहरूले नेतृत्व गरेका पार्टीका कार्यकर्ताको खडेरी नै पर्नेगरी मधेसी नेता तथा कार्यकर्तालाई आफ्नो पार्टीमा भित्याएका हुन् । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि एवम् काङ्ग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले अबिर लगाएर पार्टी प्रवेश गराएका थिए ।

बूढाले छोडेपछि युवालाई मौका
आगामी संविधानसभा निर्वाचनबाट पहिलो पार्टी हुने लक्ष्यसहित चुनावसम्मका लागि पार्टीका सबै विवादलाई बिर्संदै नयाँ एकता कायम गरेर अघि बढ्न एमालेका शीर्ष नेताबीच सहमति भएको छ । सोही सहमतिअनुसार लामो समयदेखि हुन नसकेको केन्द्रीय सदस्य पदमा नियुक्ति प्रक्रिया अघि बढेको छ ।
एमालेलाई पहिलो पार्टी बनाउन अध्यक्ष्ँ झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल तथा अर्का प्रभावशाली नेता केपी शर्मा ओलीबीचको एकता जरुरी रहेको र त्यसका लागि यसअघि देखिएको सबै विवादित विषयलाई थाती राख्दै कमी–कमजोरीको आत्मालोचना गरेर अघि बढ्ने सहमतिअनुसार केन्द्रीय सदस्यमा मनोनयन गर्ने व्यक्तिबारे कायम तीन नेताबीचको मतभेद अन्त्य गर्दै नौ रिक्त र मनोनीत दुई गरी एघारजना नेतालाई केन्द्रीय समितिमा नियुक्ति गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।
अन्तरिम चुनावी मन्त्रिपरिषद् गठनका विषयमा पार्टी अध्यक्षसँग वरिष्ठ नेता नेपाल तथा महासचिव ईश्वर पोखरेलले असन्तुष्टि जनाउँदै आएका थिए भने पछिल्लोपटक सोही विषयलाई लिएर उनीहरूबीच राम्रो बोलचालसमेत थिएन । त्यस्तै अध्यक्षको कार्यशैली एकलौटि भएको र गम्भीर विषयमा समेत पार्टीमा छलफल नगरी अघि बढ्ने गरेको आरोप नेता ओलीले लगाउँदै केन्द्रीय सदस्यमा रिक्त रहेको पदमा नियुक्तिका लागि आफूनिकटका व्यक्ति प्रस्ताव गरेका थिए ।
रिक्त पदमा सबैले आफ्ना मानिसलाई ल्याउन खोजेपछि विवाद देखिएको थियो । सोही विवादका कारण पटकपटक बोलाइएको स्थायी समिति बैठक स्थगित गरिएको थियो । स्रोतका अनुसार पार्टीभित्रकै मध्यमार्गी नेताहरूको पहलमा नियुक्तिको विवाद अन्त्य गर्ने विषयमा सहमति जनाउँदै पार्टी छोडेर गएका जनजाति, मधेसी नेताहरूको स्थानमा त्यही पृष्ठभूमिकालाई केन्द्रीय सदस्यमा नियुक्त गर्ने सहमति भएको हो । सोही सहमतिअनुसार स्थायी समितिले जनजाति नेताहरूले छोडेका ६ स्थानमा गणेश काङमाङ, शेरधन राई, राजेन्द्र राई, शेरबहादुर तामाङ, केशवलाल श्रेष्ठ र एकबहादुर रानालाई सिफारिस गरेको छ ।
एमाओवादीमा प्रवेश गरेका रामचन्द्र झाको स्थानमा महोत्तरीका अध्यक्ष रामदयाल मण्डललाई सिफारिस गरेको छ । त्यस्तै, अनुशासनको कारबाहीमा परेका रवीन्द्र श्रेष्ठको पदमा काठमाडौंका सानु श्रेष्ठलाई सिफारिस गरिएको छ । डिल्लीबहादुर महतको निधन भएपछि खाली भएको स्थानमा भने कर्णाली अञ्चल सचिव चन्द्रबहादुर शाहीलाई सिफारिस गरेको छ । पाँच प्रतिशत मनोनयनको कोटामा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र सङ्गठन विभागका सचिव ज्ञानबहादुर भुजेल रहेका छन् । स्थायी समितिले केन्द्रीय सदस्य नियुक्तिका लागि सिफारिस गरे पनि यसलाई अन्तिम रूपम दिने काम केन्द्रीय समितिले गर्नेछ । यसका लागि एमालेले आगामी महिना केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेको छ ।
पार्टीभित्र विवाद रहनु, नेताहरूबीच कुरा नमिल्नु समान्य रहेको जानकारी दिँदै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘अब ती सबै विवादलाई बिर्सेर पार्टी चुनावमा होमिने निर्णय गरेको छ ।’ उनका अनुसार एमालेले केन्द्रीयदेखि गाउँ तहसम्म आफ्ना नेताहरू परिचालन गरी पार्टीको बस्तुस्थिति बुझ्ने तथा आमजनतासँग पार्टी अघि बढाउन उपयुक्त सुझाव मागेर सोहीअनुसार पार्टीलाई रूपान्तरण गर्र्दै अघि बढ्नेछ ।

साउदी अस्पतालमा किन अड्कियो बास्कोटाको शव ?
करिब आठ महिनाअघि साउदी अरबमा मृत्यु भएका झापा, मेचीनगरका एक युवाको शव ल्याउन समस्या भएको छ । शव ल्याउन रोजगार विभाग, दूतावासलगायतका निकायले चासो नदिँदा मेचीनगर– ११ का प्रदीप बास्कोटाको शव आठ महिनादेखि साउदीको अस्पतालमा अड्किएको हो । यतिका समयदेखि शव ल्याउन नसकिएपछि पीडित परिवार थप पीडित बनेको छ । ‘छोरोको शव ल्याउन पहल ग¥यौँ, तर माथिल्लो निकायले आलटाल गरिआएको छ,’ आँखाभरि आँसु झार्दै मृतककी आमा मायाले भनिन्, ‘शव नेपालमै ल्याऊँ भन्दाभन्दै यतिका समय बित्यो ।’
दमकमा शाखा सञ्चालन गरिआएको एसओएस ओभरसिजबाट दुई वर्षअघि उनी नारिस साउदी अरब कम्पनीमा रोजगारीका लागि गएका र गत असोज २३ गते करेन्ट लागेर उनको ज्यान गएको थियो । ओभरसिजबाट सो कम्पनीको स्काफोल्डिङ ट्रेडमा गएका बास्कोटाले सम्झौताअनुसार काम नपाएपछि घटना हुनुअघिमात्र गैरकानुनी रूपले काम गरिआएका थिए । ‘कम्पनीले भनेबमोजिम पारिश्रमिक नदिएको गुनासो दाजुले गर्थे,’ मृतकका भाइ प्रकाशले भने, ‘कम्पनीको दु:खका कुरा सुनाउँदै गरेको अवस्थामा दाजुको अकस्मात् ज्यान गयो ।’ मृतकले सो कम्पनीबाट मासिक १५ सय पाउने भनी सम्झौता गरिए पनि भनेबमोजिम सेवा–सुविधा नभएको गुनासो मृतकको परिवारको छ । कम्पनीले सुविधा नदिएपछि उनी सो कम्पनी त्यागेर लुकिछिपी ‘इलिगल’मा काम गरिआएको पीडित परिवार स्वीकार्छन् । भन्छन्, ‘कम्पनीका सुविधाबारे दमकको एसओएस ओभरसिजमा भने पनि कुनै पहल गरेनन् । प्रकाशले भने, ‘हामीले ओभरसिजलाई भने पनि वास्ता गरेनन् ।’ उनले दाजुको शव ल्याउन तथा घटनाबारे पहल गरिदिन ओभरसिजलाई भने पनि कुनै सुनुवाइ नगरेको गुनासो राखे । ‘हामीले ओभरसिज थ्रोबाट पहल गर्दा शव ल्याउन सजिलो हुन्छ भनेर पहल गरे पनि मृतकले ‘इलिगल’ काम गरेको भन्दै पन्छिदै आएको छ,’ प्रकाशको भनाइ थियो । साउदीको अलहासा किङफाद अस्पतालमा रहेको मृतकको शव ल्याउन श्रम विभागबाट आवश्यक पहल भए पनि यतिका दिनसम्म नआउँदा परिवारमा पीडा सुल्झन सकेको छैन ।
एसओएस पूर्वाञ्चल शाखा कार्यालय दमकका प्रमुख लीलाराज वान्तवा भने मृतक आफ्नो ओभरसिजबाट गए नगएको अहिलेसम्म पत्तो नभएको बताए । ‘मृतकको रेकर्ड देखिँदैन, परिवारले सोबारे कार्यालयमा आएका छैनन् ।’ वान्तवा भन्छन्, ‘हाम्रो ओभरसिजबाट गए पनि गैरकानुनी रूपले काम गरे त्यसको जिम्मेवारी आफूहरूको हुँदैन ।’ मानवीय रूपमा त्यस्ता घटनाप्रति आफूले पहल गरिआएको बताउँदै उनले भने, ‘यत्तिका लामो समयसम्म शव उतै रहनु त्यहाँको कानुनको जटिलताको कारण हो ।’ – बी. आङ्देम्बे

ललितपुरका ऐतिहासिक सम्पदाहरूको जीर्णोद्धार
समयानुकूल नेपालमा बढ्दो विकास–निर्माणका कार्यक्रम र विकासकोे महत्वलाई आत्मसात् गर्दै आएको छिमेकी मित्रराष्ट्र भारतको आर्थिक अनुदान सहयोगमा नेपालमा करिब चार सय २५ भन्दा बढी विभिन्न परियोजना सञ्चालनमा रहेको विषय नौलो होइन । यी परियोजनाका लागि भारत सरकारको ६५ अर्ब लगानी रहेको बताइन्छ । यसरी सबभन्दा नजिकको छिमेकी र सदियौँदेखिको धार्मिक, सामाजिक, सांस्कृतिक तथा आर्थिक सम्बन्ध रहेको मित्रदेशको नाताले एक–आपसमा गच्छेअनुसारका साथ–सहयोग नेपाल र भारतबीच आदानप्रदान हुँदै आएको परिवेशमा भारतीय सहयोगमा थप एक परियोजना सम्पन्न भएको छ ।
उपत्यकाको ललितपुरस्थित नापीचन्द्र महाविहारमा गत साता आयोजित एक सार्वजनिक कार्यक्रमबीच नेपालका लागि भारतीय राजदूत जयन्त प्रसादले ललितपुर जिल्लावरिपरिका जीर्णोद्धार गरिएका ऐतिहासिक तथा सांस्कृतिक महत्वका विभिन्न स्थलको उद्घाटन गर्नुभयो । जीर्णोद्धार तथा पुनस्र्थापना गरिएका परियोजनामा नापीचन्द्र महाविहार, दौवहाल गेट, कृषक समाज गृह, इन्द्रायणी पार्कवरिपरिका भाग, मच्छेन्द्र बहालको बगैँचा, न:बहालको पुष्पदानीहरू, मच्छेन्द्र बहालका पाटी तथा ढोकाहरू र शंखमूलको समाधिगृह रहेका छन् । कार्यक्रममा स्थानीय प्रशासकीय प्रतिनिधिहरू, सामुदायिक नेताजन तथा ललितपुर विकास समाजका सदस्य एवम् ठूलो सङ्ख्यामा उपस्थित सर्वसाधारणका माझ राजदूत जयन्तले ती स्थलको उद्घाटन गर्नुभएको हो ।
नेपाल सरकार सहरी विकास तथा भवन निर्माण विभागमार्फत स्थानीय उपभोक्ता समिति र ललितपुर विकास समाजको सल्लाह र सहयोगमा उल्लेखित नौवटा ऐतिहासिक तथा सांस्कृतिक महत्वका स्थलको जीर्णोद्धार तथा पुनस्र्थापन गरिएको र त्यसका लागि भारत सरकारले तीन करोड २६ लाख आर्थिक अनुदान प्रदान गरेको थियो । जीर्णोद्धार गरिएको लोककीर्ति महाविहारको भने यसअघि नै उद्घाटन भइसकेको जनाइएको छ । उक्त परियोजनाबाट भारतले दुई देशबीच बलियो एवम् घनिष्ठ सम्बन्धका रूपमा नेपालमा रहेका प्रचुर ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरूको संरक्षण र सम्बद्र्धनमा दिएको महत्व झल्किने कार्यक्रमका सहभागीले प्रतिक्रिया दिए ।
यी परियोजनाका अतिरिक्त ललितपुरमा मात्रै नौ करोड २२ लाखको भारतीय सहयोगमा अन्य परियोजना सञ्चालित छन् भने ललितपुरका लागि भारतले १० वटा एम्बुलेन्स तथा ६ वटा स्कुल बससमेत प्रदान गरेको छ ।

‘फिल्ड अफिस’लाई वाणिज्य दूतावासमा रुपान्तरण गर्न माग
०६४ सालमा सप्तकोशीमा आएको बाढीले बाँध भत्काएपछि नेपाल र भारत दुबैतर्फ ठूलो क्षति पूगेपछि उक्त बाँध नियन्त्रण र पुनर्निर्माणका लागि खोलिएको मित्रराष्ट्र भारतको सम्पर्क कार्यालयको विरोधमा नेकपा–माओवादीलगायतका केही साना दल उत्रिएको विषयलाई स्वतन्त्र युवा प्रजातान्त्रिक सङ्घ (नेपाल)ले आपत्तिजनक र जनविरोधि क्रियाकलापको संज्ञा दिएको छ ।
पूर्वाञ्चलका १६ जिल्लाका आमनागरिकका कामकाजसम्बन्धी उक्त फिल्ड अफिसले स्थानीय सरोकारवाला नागरिकहरुलाई ठूलो राहत र सहयोग पुगेको दाबी गर्दै सङ्घका अध्यक्ष अरविन्द महतोले फिल्ड अफिसलाई भारतीय महावाणिज्य दूतावासमा रुपान्तरण गराउनु पर्ने माग गरेका छन् । महतोको अगुवाईमा उक्त फिल्ड अफिसलाई वाणिज्य दूतावासमा रुपान्तरण गराइदिन मागसहितको ज्ञापनपत्र नेपालस्थित भारतीय राजदूतवासमा बुझाइएको छ सम्बन्धित पक्षबाट सकारात्मक जवाफ प्राप्त भएकोसमेत अध्यक्ष महतोले जनाएका छन् ।

अमेरिकी राजदूतद्वारा नेपाल सरकारको तारिफ
नेपालका लागि अमेरिकी राजदूत पिटर बोडीले विगतमा एक लाखभन्दा बढी भुटानी शरणार्थीलाई नेपालमा वर्षौं शरणस्थान प्रदान गरिदिएको भन्दै नेपालको प्रशंसा गर्नुभएको छ । ८०औँ हजार भुटानी शरणार्थी तेस्रो राष्ट्रमा पुनर्वासका लागि प्रस्थान गरेको अवसरमा गत साता आयोजित एक समारोहबीच राजदूत बोडीले नेपाल सरकारको प्रशंसा गर्नुभएको हो ।
भुटानी शरणार्थीलाई सन् २००७ डिसेम्बरमा तेस्रो राष्ट्रमा पुनर्वास गराउने कार्यक्रम सुरु भएदेखि ६६ हजारभन्दा बढी भुटानी शरणार्थी संयुक्त राष्ट्र अमेरिकामा आप्रवासका लागि गइसकेका छन् जहाँ उनीहरू लगभग सबै राज्यमा बसोबास गर्छन् । बाँकी शरणार्थीले अस्ट्रेलिया, क्यानडा, डेनमार्क, नेदरल्यान्डस्, न्युजिल्याण्ड, नर्वे र बेलायतमा पुनर्वास गरेका छन् । नेपाल सरकार, शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर), अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आईओएम) बीचको उत्कृष्ट समन्वयको उल्लेख गर्दै उहाँले शरणार्थीले विदेशमा नयाँ जीवन सुरुवात गर्नका लागि देखाएको साहसको पनि तारिफ गर्नुभयो ।

ऐतिहासिक ‘जितगढी’को सुरक्षाप्रति स्थानीयको चिन्ता
रूपन्देही । बुटवल– ३ स्थित पुरातात्िवक सम्पदा ‘जितगढी’को सुरक्षा र सरसफाई नभएकोमा सोही ठाउँको उजिरसिंह माध्यमिक विद्यालयले चिन्ता प्रकट गरेको छ । सुरक्षाकर्मी र सुरक्षा पर्खालको अभावले गढी किल्ला लागूपदार्थका दुव्र्यसनी, जुवाडे र यौनकर्मीको क्रीडास्थल भएकाले पुरातात्विक सामग्री नष्ट हुनुका साथै गढीका नायक कर्णेल उजिरसिंह थापाको शालिकसमेत टुटफुट भएको भन्दै विद्यालयले चिन्ता प्रकट गरेको हो ।
१८औँ शताब्दीमा बुटवलमा भएको नेपाल–अङ्ग्रेज युद्धमा नेपालले जितेको स्थल जितगढीको सुरक्षा र प्रवद्र्धन गर्ने उपायको खोजी गर्न विद्यालयले हालै स्थानीय बुद्धिजीवी र सुरक्षा अधिकृतसँग अन्तरसंवाद कार्यक्रम गरेको छ । कार्यक्रममा दंगा नियन्त्रण प्रहरी गण बुटवलका एसपी विक्रमसिंह थापाले सुरक्षाका लागि प्रहरी चौकीको स्थापना र सरसफाइ गर्नुपर्ने सुझाव राखे भने पर्यटन व्यवसायी माधव नेपालले होटल व्यवसायी सङ्घ बुटवलले गढीको संरक्षण र प्रवद्र्धनका लागि काम गर्न सहयोग नपाएको गुनासो राखे ।
गढीका नायक कर्णेल उजिरसिंह थापाको नाममा स्थापित उक्त विद्यालयले गढीको सुरक्षा र प्रवद्र्धनका लागि पहल गर्न छवि नेपाल, विमलबहादुर शाक्य, महेन्द्र थापा, नरेन्द्र बस्नेतलगायत ११ सदस्यीय उपसमिति गठन गरेको छ । समितिको बैठकले बुटवल नगरपालिका, पुरात्व विभाग र सुरक्षा निकायको सुझाव र सहयोग लिएर काम गर्ने निर्णय गरेको संयोजक नेपालले बताए ।

एआईजी ढकालद्वारा केसी सम्मानित
प्रहरी अतिरिक्त महानिरीक्षक नवराज ढकालले नागरिक पनि बिनाबर्दीका प्रहरी भएकाले नागरिकको पूर्ण सहयोगबिना बर्दीधारी प्रहरी सफल हुन नसक्ने बताउनुभएको छ । अतिरिक्त महानिरीक्षक ढकालले उक्त कुरा कोटेश्वरवासीले खरिबोटमा करिब पाँच लाखको लागतमा निर्माण गरेको प्रहरीचौकीको गत शनिबार एक समारोहबीच उद्घाटन गर्दा बताउनुभएको हो ।
महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख रहेका ढकालले हरेक बस्तीमा नागरिकसँगको साझेदारी र समन्वयमा सुरक्षा क्रियाकलाप अगाडि बढाउनुपर्ने कुरामा जोड दिँदै अपराधकर्म गर्नेहरू कुनै न कुनै वहानामा हामै्र घरमा बस्ने भएकाले सबै नागरिक सचेत हुनुपर्ने कुरामा जोड दिनुभयो ।
हरेक बस्तीमा अपराधीहरू बस्ने कुराप्रति इंगित गर्दै एआईजी ढकालले त्यो कुराप्रति कोटेश्वरवासी सचेत रहेर प्रहरीलाई ओत लाग्ने स्थान बनाइदिएर प्रशंसनीय काम गरेको बताउनुभयो । उहाँले कोटेश्वरवासी जसरी सचेत भएर कोटेश्वर प्रभागदेखि खरिबोट चौकीको भवन निर्माण गर्न कम्मर बसेर लागे यो कार्यको अन्यत्रका नागरिकले पनि मनन गर्नुपर्ने बताउनुभयो । समाजसेवी एवम् भवन निर्माण समितिका अध्यक्ष कृष्णबहादुर केसीको सभापतित्वमा सम्पन्न भवन उद्घाटन समारोहमा महानगरीय प्रहरी बानेश्वरका प्रमुख प्रहरी नायव उपरीक्षक भीमप्रसाद ढकालले कोटेश्वरले झैं सुरक्षा संवेदनशीलतालाई अन्य क्षेत्रकाले पनि बुझ्ने हो भने अपराधी त्वहरू निरुत्साहित हुने र समाजमा अमनचयन हुने बताउनुभएको थियो । भवन निर्माण समितिका अध्यक्ष केसीले आफूहरूले अत्यन्तै विश्वास गरेर प्रहरीका लागि ओत लाग्ने भवन बनाइदिएको बताउँदै प्रहरीले पनि इमानदारीका साथ ड्युटी निर्वाह गर्ने कुरामा आफू आशावादी रहेको बताउनुभएको थियो । अध्यक्ष केसीले आफूले आग्रह गरेबमोजिम प्रहरी भवनका लागि मात्र नभएर हरेक सामाजिक काममा सहयोग गरेर स्थानीयवासीले काम गर्न ऊर्जा थपिदिएको बताउनुभयो । अध्यक्ष केसीले कोटेश्वर क्षेत्रमा विकास निर्माणका लागि गर्नुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै स्थानीय टोलसुधार समितिले दोसल्ला ओढाएर सम्मान गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि एआईजी ढकालले समाजसेवी केसीलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

काङ्ग्रेस जातीय सङ्घीयतामा कदापि जाँदैन : चौधरी
– चन्द्रकान्त खनाल
रूपन्देही/ नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री पद्मनारायण चौधरीले काङ्ग्रेस जातीय सङ्घीयतामा नजाने बताएका छन् । सीमित व्यक्ति र सीमित जातिले मात्र जातीय सङ्घीयता खोजेको आरोप लगाउँदै जातीय सङ्घीयताबाट कसैको हित नहुने उनले बताए । काङ्ग्रेस सङ्घीयतामा जानबाट कसैले नरोक्ने उल्लेख गर्दै जातीय सङ्घीयताको विपक्षमा काङ्ग्रेस उभिइरहने उनको कथन थियो । नेपाली काङ्ग्रेस जिल्ला समिति कपिलवस्तुले कपिलवस्तुको वरकलपुरमा आयोजना गरेको थारू अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता चौधरीले काङ्ग्रेसले केन्द्रीय सरकार, प्रादेशिक सरकार र स्थानीय सरकार रहने राज्य सञ्चालन नीति तय गरेको जानकारी दिए ।
सोही अवसरमा काङ्ग्रेस केन्द्रीय सदस्य दीपकुमार उपाध्यायले काङ्ग्रेसले गरेका महत्वपूर्ण कार्यक्रमहरूको प्रचारप्रसार नहुँदा जनमानसमा काङ्ग्रेसबारे भ्रम पैदा भएको गुनासो गरे । विकास निर्माण र शिक्षामा काङ्ग्रेसकै योगदानका कारण मुलुक यहाँसम्म आइपुगेको उनले बताए । यस्तै काङ्ग्रेस केन्द्रीय सदस्य पार्वती जीसीले संविधान निर्माण गर्न लोकतान्त्रिक शक्तिको नेतृत्वमा सरकार आवश्यक पर्ने धारणा राखिन् ।
रामचन्द्र चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वमन्त्री कमलेश शर्मा, जिल्ला सभापति सुरेन्द्रराज आचार्य, पूर्वजिल्लासभापति राजेश आचार्य, मुस्लिम सङ्घका केन्द्रीय सदस्य अतहर कमाल, जिल्ला सचिव विनोद नेपाल, रामशंकर चौधरीलगायतले आगामी संविधान र थारू समुदायको भूमिकाबारे चर्चा गरेका थिए ।
रूपन्देही स्वास्थ्यकर्मी सङ्घमा विश्वबन्धु
नेपाल स्वास्थ्यकर्मी सङ्घ रूपन्देहीको छैटौँ अधिवेशनले विश्वबन्धु विनयीलाई पुन: अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । सङ्घको भैरहवामा सम्पन्न अधिवेशनले चारवर्षे कार्यकालका लागि उपाध्यक्षहरूमा दयासागर पन्थी, उमा थापा, ऋतुमणि पन्त र सुरेन्द्रप्रसाद द्विवेदी रहेका छन् भने सचिवमा रामप्रसाद ढकाल, कोषाध्यक्षमा धनलाल अर्याल, सहसचिवहरूमा लीलाधर दवाडी, श्रीकान्त सुवेदी, मुन्निप्रसाद माझी र दिलमाया रानालाई छानेको छ । त्यस्तै बाइस सदस्यीय कार्यसमितिमा मीना पाण्डे, तिलकराम गौतम, रेखा गौतम, मनोरमा जोशी, मनिलता पोखरेल, ईश्वरी सिंह, दिलीप जैसवाल, देवप्रसाद खनाल, हैदर अली, सरस्वती बस्याल र रमेश रिजाल छानिएका छन् भने केन्द्रीय प्रतिनिधिमा सुकैप्रसाद चौधरी, लक्ष्मीराज रेग्मी, हरिप्रसाद आचार्य, पदम खनाल, नमनारायण बेलबासे, अनिलकुमार केसी, युवराज पाण्डे, ईश्वरीप्रसाद ढुङ्गाना, वासुदेव पाण्डे, बबिता न्यौपाने, केदारनाथ शाह र विष्णुप्रसाद पोखरेल चयन भएका छन् ।