अष्ट्रेलियामा हराएका सेलिब्रिटीहरू

अष्ट्रेलियामा हराएका सेलिब्रिटीहरू


राजन घिमिरे (सिड्नी, अष्ट्रेलिया)

करिब १४ वर्षपछि सन् २००४ की मिस नेपाल पायल शाक्यसँग यसपटकको अष्ट्रेलिया यात्राको क्रममा एक कार्यक्रमबीच भेट भयो । उनीसँगको यो भेटको कल्पना गरेको थिइनँ मैले, न उनले नै सोचेकी रहिछन् ।

अहिलेसम्म पनि त्यही सुन्दरता र आकर्षण राज के हो ? मेरो प्रश्न थियो । उनले जवाफमा मुसुक्क मुस्कुराइन् मात्र । यता आएपछि घरजम गरेर सन्तानकी आमा समेत बनिसकेकी पायल खासै कार्यक्रमतिर जाने गर्दिरहिनछिन् । त्यसकारण पनि अष्ट्रेलियामा रहेका अधिकांश नेपालीहरू यि सेलिब्रिटी यतै छिन् भन्नेमा अनविज्ञ रहेछन् । त्यसो त कसैले सम्मान गरेर बोलाउँदा भने सकेसम्म छुटाउँदिनन् उनी । ‘के अब यतै ?’ भनी सवाल गर्दा ‘यसरी आइएला भन्ने सोचिएको पनि कहाँ थियो र ? अनि अब पनि के हुन्छ भन्न कसरी सकिन्छ र ?’ उनको जवाफ थियो ।

पायल शाक्य मात्र होइनन्, यसपटकको यात्रामा अष्ट्रेलियामा नेपालमा राम्रै शान, मान र वाहवाही कमाएका कलाकर्मीहरूका बारेमा बुझ्ने अवसर पाइयो । कोही विवाह गरेर त कोही अध्ययनको क्रममा यता आएको पाइयो भने यता लामो समयसँग बस्ने योजना नभएता पनि विविध कारणले यतै घरजम गर्नतिर लागे उनिहरू ।

‘आफ्नो क्षेत्रलाई त कसरी माया मार्न सकिन्छ र ? इच्छा त छ तर परिस्थिति अनुकुल छैन’, उनिहरूको भनाई छ ।

करिव आधा दर्जन भन्दा बढी सिनेमाका नायक अमृतजंग बस्नेतलाई पनि १० वर्षपछि भेटियो । उनको बारेमा न त यहाँ कार्यक्रम गर्नेहरूले चासो दिए न त सम्मानको खातिर पनि उनको उपस्थितिको महसुस गरे । एउटा सिनेमामा सानो भूमिका निभाउने अवसर पाउँदा पहाड बनाउने र प्रवासबाट यसो गरे उसे गरे भनेर नाक फूलाउनेहरूसँग राजेश हमालदेखि निखिल उप्रेतीसम्म समानान्तर भूमिका खेलेर शान कमाएका हिरोको मूल्यांकन समेत गर्ने समय छैन यहाँ ।

अमृत आफैंले पनि आफ्नो बारेमा भन्दै हिँड्ने कुरा पनि त भएन नि । उनी पनि परिबारसहित सिड्नीमै बसोबास गर्दा रहेछन् । तर कलाकारिताको नशा भने अझै पनि मरेको छैन उनमा ।

अहिले किनारा लागेजस्तो भए पनि चाँडै केही गर्ने सोच र योजना रहेको अमृतले उत्साहका साथ सुनाए ।

यो आलेखमा विशेष गरेर नेपालमा आफ्नै शान र वाहवाही कमाएर विभिन्न कारण अष्ट्रेलियामा प्रवासी जीव अगाडि बढाउन बाध्य केही नेपाली कलाकर्मीहरूलाई समेट्ने प्रयास गरेको छु । कारणवश कसैको नाम वा योगदान छुट्न पनि सक्छ, यदि छुटेमा यहांहरूबाट थप जानकारी पाउने आशा लिएको छु ।

गायक सरून ताम्राकार पनि यतै भेटिएका छन् । पछि मात्र थाहा भयो कि उनले मिस नेपाल पायल शाक्यसंग विवाह गरेका रहेछन् । चलचित्र निर्देशक अग्रज केसी मेलबर्नतिर छन् भने एक समयका हिट्स एफएमका चर्चित कार्यक्रम प्रस्तोता दिपेश श्रेष्ठ र सिद्धार्थ लामिछाने पनि सिड्नीमा नै बसोबास गर्छन् । लामिछानेले त कान्तिपुर टेलिभिजनमा पनि लामो समयसम्म कार्यक्रम सन्चालन पनि गरे ।

नेपाली चलचित्र क्षेत्रमा राम्रै नाम चलाएका चलचित्र प्राविधिक बिनायक अर्याल धर्मपत्नीका साथ अष्ट्रेलियामा बसिरहेका छन् भने हिजोआजका कुराका उत्सव केसीदेखि गायक, मोडल तथा समाचारवाचक सुदिन पोखरेललाई पनि अष्ट्रेलियामा भेट्ने अवसर पाइयो । कता हराए सुदिन भनेर उनको बारेमा चासो राख्ने प्रशंसकहरूलाई यो खबर साँच्चै सुखद लाग्न सक्छ ।

यता हिजोआजका कुराबाट चिनिएका नितेशराज पन्त पनि यतै स्थापित भैसकेका छन् भने नायिका प्रकृति श्रेष्ठ र शिखा शाही मात्र नभई गायक दिब्य सुब्बा पनि यही रहेका छन् । चर्चित चलचित्र गोर्खा पल्टनकी नायिका अनु गुरूङलाई पनि अष्ट्रेलियामा नै भेट्न सकिन्छ भने कान्तिपुर टेलिभिजनका कार्यक्रम प्रस्तोता प्रदीप निरौला र नेपाल रहँदा थुप्रै चलचित्रका सहायक निर्देशक रहेका प्रदीप तिमिल्सिना पनि अष्ट्रेलियामै छन् ।

यसैगरी चलचित्र निर्देशक जीवन रसाईली यता म्यूजिक भिडियो निर्माण कार्यमा लागिपरेका छन् भने भने परिवारसहित यतै बसेता पनि नेपाल रहँदा चलचित्र निर्माण र हल सन्चालनमा लागिपरेका दिनेश पोखरेलले आफ्नो त्यो प्यासनलाई यताबाट पनि निरन्तरता दिइरहेका छन्।

नेपालमा राम्रै नाम, उचाई र उपस्थिति जनाएका कलाकर्मीहरूको अष्ट्रेलियामा बाक्लै उपस्थिति त छ, तर यहाँ यिनिहरुको अवस्था बत्तीमुनि अँध्यारो जस्तै भएको छ । यहाँ हरेक हप्ता हुने विभिन्न कार्यक्रमहरूमा आयोजकहरूले यी कलाकर्मीहरुलाई समेट्न सकेको देखिंदैन भने नेपालीहरूले सन्चालन गरेको स्थानीय मिडियाको नजर पनि यिनीहरूमाथि परेको देखिंदैन ।

नेपालबाट विभिन्न कारणले यहाँ आफ्नो जीवनलाई अघि बढाइरहेका यी कलाकारहरूलाई समेटेर एकत्रित गर्न सकियो भने साँच्चै यहाँ रहेका अन्य समाजको तुलनामा कलाकार समाज वृहत हुने कुरामा शंका मानिरहनु पर्दैन । बरू यस कार्यमा यहीँ रहेर कलाकारिताका विभिन्न विधामा सक्रिय भैरहेका मनोज अधिकारी, अपिल बिष्ट, राज के गोश्वामी, विकाश उप्रेती, ईश्वर पोखरेल, सुजाता उपाध्याय, राजेश केसी, दिल तामाङ, सन्नी ढकाल, सविन ज्ञवाली, सन्जिब पराजुली, किरण भन्डारी, प्रजिता गेलाल र स्मृति पोखरेललगायतका कलाकर्मीहरूले पहल गर्ने कि ?