पोर्चुगलमा नेपालीलाई सास्ती

पोर्चुगलमा नेपालीलाई सास्ती


othernewsपोर्चुगलस्थित वाणिज्यदूत नहुँदा त्यहाँ बसोबास गर्ने सात हजार नेपालीले सास्ती पाइरहेका छन् । नेपाल सरकारले मकरबहादुर हमाललाई पोर्चुगल (लिस्वन) का लागि वाणिज्यदूत नियुक्त गर्न सिफारिस गरेको महिनौँ बितिसक्दा पनि पोर्चुगल सरकारले एग्रिमो पठाउन ढिलाइ गरेको कारण नेपालीले सास्ती पाएका हुन् ।
प्राप्त जानकारीअनुसार पोर्चुगलका लागि वाणिज्यदूतमा मारिया थेरेसा कार्यरत हुनुहुन्थ्यो । राजधानी लिस्वनबाट करिब तीन सय किलोमिटर टाढाको सहर पोर्तोमा बस्नुहुने मारियालाई क्यान्सर रोगले च्यापेपछि उहाँ नियमित राजधानी लिस्वन पुग्न असमर्थ रहनुभयो । मारियाले काम गर्न नसक्ने स्थिति भएपछि पोर्चुगलस्थित एनआरएनलगायत २२ वटा सङ्घसंस्थाका तर्फबाट एक प्रतिनिधिमण्डल फ्रान्सको पेरिसस्थित नेपाली राजदूतावास पुगी वाणिज्यदूत नियुक्तिको माग गर्दै डेढ वर्षअघि नै निवेदन दिएका थिए ।
उक्त प्रतिनिधिमण्डलसँगको छलफलपश्चात् राजदूत मोहनकृष्ण श्रेष्ठले लिस्वनमा सोह्र वर्षदेखि बसोबास गर्दै आएका मकरबहादुर हमालको नाम नियुक्तिका लागि परराष्ट्र मन्त्रालयमा सिफारिस गर्नुभएको थियो । पुर्चुगललाई राम्रोसंग बुझेको व्यक्ति वाणिज्यदूत नियुक्त भएमा त्यहां नेपालीहरुलाई आइपर्ने समस्या समाधानमा सजिलो पर्ने सम्वद्ध क्षेत्रका धेरैको विश्वास छ । तर, पोर्चुगलको नागरिकता लिइसकेका मकरको नियुक्तिका लागि सरकारले डेढ वर्षसम्म कुनै प्रक्रिया नै सुरु गरेन । दुई महिनाअघि मात्र सरकारले मकरबहादुर हमाललाई नियुक्त गर्न पोर्चुगल सरकारलाई पत्राचार गरेको थियो । तर, पोर्चुगल सरकारले अहिलेसम्म एग्रिमो दिएको छैन, प्रक्रियामा रहेको जवाफ मात्र दिने गरेको छ । दुवैतर्फबाट सरकारहरूको विलम्बका कारण विगत डेढ वर्षदेखि सात हजार नेपालीले लिस्वनमा कठिनाइको सामना गरिरहेका छन् ।

काङ्गे्रस–एमालेबीच चुनावी तालमेलको बेग्लै मोडल
प्रजातन्त्र र राष्ट्रियताका सवालमा निकटता बढ्दै गएपछि आगामी संसदीय निर्वाचनमा काङ्गे्रस र एमालेबीच कुनै नै कुनै रूपको चुनावी तालमेल हुनसक्ने सङ्केतहरू देखिएका छन्, तर त्यसनिम्ति दुईपक्षीय छलफल अहिलेसम्म हुन सकेको छैन र काङ्गे्रस केन्द्रीय कार्यसमितिमा यस विषयले प्रवेश पाइसकेको पनि छैन । सभापति सुशील कोइरालाले एमालेसँग चुनावी तालमेल हुनसक्ने सार्वजनिक अभिव्यक्ति दिनुभएपछि यो विषयले एकप्रकारको तरङ्ग त पैदा गरेको छ, तर कार्यसमितिमा सामान्य छलफलसम्म नभएको र अधिकांश स्थानमा काङ्गे्रसको एमालेसँग नै मुख्य प्रतिस्पर्धा हुने भएकाले एमालेसँग राष्ट्रियस्तरमै चुनावी तालमेल हुने सम्भावना भने कम छ । पछिल्लो समयमा एमालेसँग काङ्गे्रसको निकटता बढेको छ र काङ्गे्रसका सबैजसो नेतामा यो निकटतालाई सुदृढ एवम् दिगो बनाउने चाहना पनि देखिन्छ । तथापि चुनावी तालमेलका विषयमा भने काङ्गे्रस नेताहरूको धारणा केही भिन्न छ । यस सम्बन्धमा काङ्गे्रस उपसभापति रामचन्द्र पौडेलको ध्यानाकर्षण गर्दा उहाँको भनाइ छ, ‘केन्द्रीय र राष्ट्रियस्तरमै चुनावी गठबन्धन गर्ने स्थिति छैन । एमालेसँग कुनै न कुनै रूपको सामान्य समझदारी हुनसक्छ । जुन निर्वाचन क्षेत्रमा काङ्गे्रस र एमाले दुवैले जित्न नसक्ने अवस्था रहन्छ त्यहाँ एकले अर्कोलाई समर्थन गर्ने स्थिति बनाउन सकिन्छ । त्यसको संयोजन पार्टी केन्द्रीय समितिले नै गर्नुपर्न हुन्छ ।’ नेपाली काङ्गे्रसका अर्का प्रभावशाली नेता डा. रामशरण महतको भनाइ पनि पौडेलसँग मिल्दोजुल्दो छ । घटना र विचारसँगको सङ्क्षिप्त कुराकानीमा डा. महतले भन्नुभयो, ‘पछिल्लो समयमा काङ्गे्रस र एमालेबीच जुन प्रकारको समझदारी विकास भएको छ, यो आफैँमा सकारात्मक छ । हामी दुई पार्टीबीचको समझदारी बढ्दा राष्ट्रियता र प्रजातन्त्रको रक्षा र विकासमा ठूलै योगदान पु-याउन सकिने मेरो विश्वास छ । काङ्गे्रस–एमालेबीचको समझदारीलाई अझै प्रगाढ र दिगो बनाइनुपर्छ भन्ने मलाई लाग्छ ।’ चुनावी तालमेलको सम्भावनाचाहिँ कत्तिको छ नि भन्ने हाम्रो जिज्ञाशा मेट्दै डा. महतले भन्नुभयो, ‘केन्द्रीयस्तरमा सहमति भएर राष्ट्रियस्तरमै तालमेल गर्ने कुरा व्यावहारिक नहुन सक्छ । तर, चुनाव क्षेत्रको स्थिति अध्ययन गरेर कहाँ कसले कसलाई समर्थन गर्ने भन्ने सहमति बनाएर अघि बढ्न सकिन्छ । त्यस्तो आवश्यक पनि छ ।’
विचार र व्यवहारले काङ्गे्रस र एमालेको सम्बन्ध सुमधुर एवम् सुदृढ तुल्याउँदै लगेको भए पनि चुनावी मैदानमा यी दुई पार्टीबीच नै मूख्य प्रतिस्पर्धा हुने स्थिति विद्यमान छ । संसदीय प्रजातन्त्रमा पटकपटक भएका निर्वाचनमा जनविश्वास आर्जन गर्न सफल काङ्गे्रस र एमालेको जनाधार अन्य पार्टीको भन्दा राष्ट्रियस्तरमै बलियो देखिन्छ । एमाओवादीले गत निर्वाचनमा ठूलो दलको हैसियत बनाउन सक्नुका अनेकौँ कारण थिए । त्रास, आतङ्क, धाँधली र चुनावी ‘ट्याक्टिस’ले मात्र एमाओवादीले ठूलो दलको हैसियत बनाएको नभई जनसाधारणमा ‘यसले केही गर्छ कि हेरौँ’ भन्ने भावनाले पनि काम गरेको थियो । एमाओवादी आँधी–बेहरीजस्तै गरी आयो र अहिले ‘हावा खुस्किएको बेलुन’को नियति भोगिरहेको छ । एमाओवादीमा विभाजन आएको छ, प्रचण्डलगायत एमाओवादी नेताहरू नराम्रोसँग ‘एक्स्पोज’ भएका छन्, एमाओवादीको हैसियत र नियत बुझेका कारण जनता अब उनीहरूसँग नडराउने तहमा पुगेका छन्, निर्वाचनलाई सङ्घर्षको मैदानको रूपमा प्रयोग गर्दै ‘जसरी भए पनि जित्ने’ योजना अब कार्यान्वयन हुने स्थिति छैन, त्यसैले एमाओवादीले आगामी निर्वाचनमा तेस्रो स्थान प्राप्त गर्न पनि ठूलै कसरत गर्नुपर्ने देखिन्छ । एमाओवादी यसरी कमजोर भएका कारण देशका अधिकांश चुनाव क्षेत्रमा काङ्गे्रस र एमालेकै बीचमा प्रतिस्पर्धा हुने सम्भावना प्रबल छ । यसरी दुई दलबीच मुख्य प्रतिस्पर्धाको स्थिति भए पनि एकप्रकारको चुनावी समझदारी बन्ने सम्भावना भने विकसित भएको छ । केन्द्रीयस्तरका खासखास नेताहरूलाई जिताउन निश्चित क्षेत्रमा एक–अर्काेले कमजोर उम्मेदवार पेस गर्न, दुवै दलले केन्द्रीय तहमा विशेष कार्यदल बनाई चुनावी स्थितिको जायजा लिने र जुन क्षेत्रमा काङ्गे्रस–एमालेबाहेकका उम्मेदवार बलियो देखिन्छ ती क्षेत्रको पहिचान गरी सम्बन्धित क्षेत्रमा चुनावी तालमेल गर्ने, काङ्गे्रस र एमालेबीच कुनै क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धाको स्थिति उत्पन्न भएमा त्यसलाई सहज र सरल तुल्याउने तथा अन्य पक्षले काङ्गे्रस–एमालेलाई आक्रमण गरी अप्ठ्यारो पारेमा एक–अर्कालाई सहयोग पु-याउने स्थिति बनाउन काङ्गे्रस–एमालेबीच केन्द्रीय तहमै सहमति हुने सम्भावना देखिएको छ । यसरी दुई प्रजातान्त्रिक शक्तिबीच समझदारी बनेमा चुनावी परिणाम काङ्गे्रस–एमालेकै पक्षमा आउने निश्चित मानिन्छ । तर, काङ्गे्रस–एमालेबीच त्यसप्रकारको समझदारी बनेमा त्यसलाई तोड्न प्रचण्डले भरमग्दुर प्रयास गर्ने सम्भावनालाई भने इन्कार गर्न सकिन्न । एमाओवादीका तर्फबाट हुनसक्ने सम्भावित षड्यन्त्रप्रति सचेत रहँदै उनीहरूको छलकपटलाई चिर्ने सामथ्र्य काङ्गे्रस–एमालेले दर्शाउन आवश्यक छ ।

भारत भ्रमणका लागि प्रचण्डको गुहार
चीन भ्रमणबाट फर्किएलगत्तै एनेकपा माओवादीका अध्यक्ष प्रचण्डले नयाँदिल्लीमा सम्पर्क गरी तुरुन्तै भारत भ्रमणको व्यवस्था मिलाइदिन आग्रह गर्नुभयो । चीनको भ्रमण गर्दा भारत सशङ्कित हुने र आफूलाई अप्ठ्यारो पर्ने महसुस गरी प्रचण्डले चीन जानुअघि भारतीय कूटनयिकहरूसँग पटकपटक छलफल गरेर विश्वास प्राप्त गर्ने प्रयास गर्नुभएको थियो । यतिसम्म कि विमानस्थलतर्फ लाग्नुभन्दा दुई घन्टाअघि पनि प्रचण्डले भारतीय राजदूत जयन्तप्रसादसँग भेटवार्ता गरी आशङ्का दूर गर्ने प्रयत्न गर्नुभएको थियो । चीनबाट उहाँ फर्कनुहुँदा नेपालमा भारतीय राजदूत जयन्तप्रसाद काठमाडौंमा नहुनुभएकाले प्रचण्डले सोझै नयाँदिल्लीमा सम्पर्क गरी आफू भारत आउन हतारिएको जानकारी गराउनुभएको थियो । नयाँदिल्लीले प्रचण्डलाई भ्रमणको व्यवस्था मिलाइने आश्वासन दिएको बुझिएको छ । प्रचण्डले चीनमा आफूले भारतीय पक्षसँग भएको सहमतिअनुरूप नै वार्तालाप गरेर फर्केको जानकारी पनि नयाँदिल्लीलाई गराउनुभएको छ । तर, चिनियाँ राष्ट्रपतिसँग औपचारिकबाहेक सुटुक्क एक्लै वार्तालाप गरेको कुरालाई भने प्रचण्डले लुकाउने प्रयास गर्नुभएको छ, उहाँले औपचारिकबाहेक राष्ट्रपति सी जिनपिङसँग अन्य कुनै अनौपचारिक भेटवार्ता नभएको दाबी गर्दै आउनुभएको छ । प्रचण्डको यस कुरामा भने नयाँदिल्लीले विश्वास गर्न नसकेको बताइन्छ । एक विश्वस्त सूत्रले जनाएअनुसार चीनमा प्रचण्डले चीनस्थित नेपाली राजदूता र आफूसँगै भ्रमणमा गएका व्यक्तिलाई समेत छलेर एक साँझ राष्ट्रपति सी जिनपिङसँग गुप्त भेटवार्ता गर्नुभएको थियो । सो भेट र भेटवार्तामा भएका कुराकानीबारे स्पष्ट नगरेमा नयाँदिल्लीले प्रचण्डलाई विश्वास गर्ने स्थिति देखिँदैन । अब कसरी उहाँले दिल्लीलाई विश्वास दिलाउन खोज्नुहुन्छ प्रतीक्षाको विषय बनेको छ । प्रचण्डले यसै साता भारत बोलाइदिए हुन्थ्यो भन्ने अनुरोध नयाँदिल्लीस्थित अधिकारीहरूसँग गर्नुभएको भए पनि उहाँले चाहेको समयमा भारत भ्रमण हुने देखिएको छैन । बरु भारतले चाहेको समयमा प्रचण्डको दिल्ली भ्रमण हुनसक्ने र त्यसका लागि उहाँले अझै केही समय कुर्नुपर्ने सम्भावना छ । यद्यपी प्रचण्डले वैशाख १५ गते भारत जाने सार्वजनिक घोषणा गर्नुभएको छ । तर, भारतीय दूतावासले भने यसमा अनभिज्ञता जाहेर गरेको छ । चीनमा राष्ट्रपति सी जिनपिङसँगको भेटवार्ताका क्रममा नेपालमा भारतीय भूमिकाको आलोचना गर्नुहुने प्रचण्डले चीनको इच्छाअनुसार विभाजित पार्टीलाई एकजुट बनाउने र चीनको विश्वासिलो शक्तिका रूपमा नेपालमा माओवादी पार्टीलाई राखिने विश्वास दिलाउनुभएको थियो । तर, नेपाल फर्केलगत्तै प्रचण्डले नेकपा–माओवादी पार्टी र त्यसका नेताहरूलाई कठोर आलोचना गर्न सुरु गर्नुभएको छ । यसरी वैद्यहरूको आलोचना गर्दा भारत खुसी हुने विश्वास प्रचण्डमा रहेको बताइन्छ । भारतको विश्वास आर्जन गर्न गरिएका प्रयास असफल भएमा मात्र प्रचण्डले ‘असली रूप’ देखाउनुहुने अनुमान राजनीतिक विश्लेषकहरूको छ ।

पत्रकार गगनलाई पत्नीशोक
प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष एवम् पत्रकार गगन विष्टलाई पत्नीशोक परेको छ । हिजो मंगलबार गुल्मीबाट काठमाडौंतर्फ आउँदै गर्दा विष्टपत्नी लता विष्टलगायत आठजना सवार टाटासुमो जिप तानसेन–तम्घास सडकखण्डको खस्यौलीस्थित करङगैरामा दुर्घटनाग्रस्त हुँदा चारजनाको मृत्यु भएको हो । दुर्घटनामा विष्टका ज्वाइँ र भाञ्जीको समेत मृत्यु भएको छ । स्वर्गीय लता पूर्वमन्त्री एवम् एमाले नेता गोकर्ण विष्टकी भाइबुहारी हुन् ।
विपरीत दिशाबाट आएको अर्को सवारीलाई साइड दिने क्रममा चिप्लिएर टाटासुमो सडकबाट दुई सय मिटर तल खोल्सामा खस्दा विष्टपत्नी लता र विष्टकी भाञ्जी आस्था जीसीको घटनास्थलमै मृत्यु भएको थियो भने विष्टका ज्वाइँ ज्ञानबहादुर जीसी र उनका दाइ रामबहादुर जीसीको तानसेनस्थित मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ । दुर्घटनामा परी अन्य चारजना घाइते भएका छन् । घाइते हुनेहरूमा गगनका पुत्र सिद्धान्त विष्ट, भाञ्जी उमा जीसी, आदर्श जीसी र गाडीचालक ज्ञानेन्द्र श्रेष्ठ रहेका छन् । सिद्धान्त, उमा र आदर्शको राजधानीमा उपचार चलिरहेको छ । मृतक ज्ञानबहादुर जीसी किष्ट बैंकमा चार्टर्ड एकाउन्टेन्टका रूपमा कार्यरत रहेका थिए भने गगनपत्नी लता गोरखापत्रका कर्मचारी हुनुहुन्थ्यो । हाम्रा मित्र एवम् सञ्चारकर्मी गगनका साथै विष्ट परिवारमा पर्न गएको यस हृदयविदारक शोकप्रति समवेदना प्रकट गर्दै घटना र विचार परिवार शोकसन्तप्त परिवारजनमा ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरून् भन्ने कामना गर्दछ ।

सवा करोड नेपाली युवा विदेशमा !
सरकारसँग कति नेपाली स्वदेशमा र विदेशमा छन् भन्ने आधिकारिक तथ्याङ्क छैन । सरकारसँग आधिकारिक तथ्याङ्क नभएका कारण यति नै नेपाली विदेशमा छन् भन्न सकिने अवस्था नरहेको सरकारका उच्च अधिकारीहरू बताउँछन् । रोजगारी, अध्ययन, भ्रमणलगायतका नाममा नेपालबाट दैनिक सयौँको सङ्ख्यमा नेपाली विदेशिइरहेका छन् ।
श्रम विभागमा अनुसार वैदेशिक रोजगारीका नाममा मात्र दैनिक सत्र सयभन्दा बढी नेपाली विदेश उड्ने गरेका छन् । त्यसबाहेक अवैधानिक तरिकाबाट पनि दैनिक सयभन्दा बढी नेपाली वैदेशिक रोजगारीका नाममै विदेशिने गरेको विभिन्न तथ्याङ्कले देखाउँछ । श्रम तथा रोजगार मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठ भन्छन्– रोजगारीका नाममा जाने नेपालीको यकिन विवरण नै आधिकारिक नभइरहेको बेला अन्य विभिन्न बहानामा विदेश पुगेका नेपालीको रेकर्ड कसरी फेला पार्नु ? उनले सरकारसँग आधिकारी रूपबाट अनुमति लिएर रोजगारीका नाममा गएको नेपालीको मात्र विवरण हुने उनको भनाइ छ । उनले थपे, ‘फेरि सबै रोजगारीका नाममा गएका हुँदैनन्, तिनीहरूको विवरण कसरी सङ्कलन गर्ने ?’
श्रम तथा रोजगार मन्त्रालयका अनुसार कानुनी तथा गैरकानुनी रूपमा रोजगारीमा रहेको नेपालीको सङ्ख्या २९ लाख भन्दा बढी रहेको छ । मन्त्रालयका अनुसार यो सङ्ख्या भारतबाहेकका देशमा गएका नेपालीको तथ्याङ्क हो । मन्त्रालयका अनुसार गत फागुनसम्ममा विदेशिने नेपालीको सङ्ख्या २७ लाख ४३ हजारभन्दा बढी रहेको छ । यो सङ्ख्यामा विदेशिएका नेपालीले नेपाल सरकारबाट श्रम स्वीकृत लिएर मात्र गएका हुन् ।
०६८ सालको राष्ट्रिय जनगणनाअनुसार १९ लाख २१ हजार चार सय ९४ जना नेपाली विदेशिएको तथ्याङ्क सार्वजनिक छ । विभागका अनुसार यो तथ्याङ्क दश वर्षको अवधिमा विदेशिनेको सङ्ख्या ११ लाख ५९ हजार तीन सय १३ जनाले वृद्धि भएको छ । ०५८ सालमा विदेशमा बसोबास गर्नेको सङ्ख्या सात लाख ६२ हजार एक सय ८१ थियो ।
तर, केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको तथ्याङ्कभन्दा श्रम विभागले सङ्कलन गरेको तथ्याङ्कमा झन्डै नौ लाखले फरक छ । श्रम विभागले राखेको तथ्याङ्क भनेको वैदेशिक रोजगारीका नाममा श्रम स्वीकृत लिएर गएका नेपालीको मात्र हो । त्यस्तै निजी क्षेत्रले गरेको सर्वेक्षणअनुसार भारतबाहेकका मुलुकमा तीस लाखभन्दा बढी नेपाली रहेका छन् । भारतमा मात्र ४० लाखभन्दा बढी नेपाली रोजगारीका निम्ति गएको अनुमान छ ।
श्रम तथा रोजगार मन्त्रालयका अनुसार वैदेशिक रोजगारका क्रममा सबैभन्दा बढी नेपाली मलेसियामा छन् । मलेसियामा मात्रै आठ लाखभन्दा बढी नेपाली कार्यरत छन् । यस्तै, कतारमा सात लाख ३० हजार, साउदी अरबमा पाँँच लाख सात हजार, यूएईमा तीन लाख ५० हजार दुई सय, कुवेतमा ७० हजार सात साय ९, बहराइनमा ३९ हजार, ओमनमा १९ हजार, दक्षिण कोरियामा १८ हजार, लेबनानमा १२ हजार, इजरायलमा नौ हजार चार सय, अफगानिस्तानमा सात हजार, जापानमा आठ हजार नेपाली कामदार कार्यरत छन् । मन्त्रालयका अनुसार अन्य मुलुकमा साढे दुई लाखभन्दा बढी नेपाली कार्यरत छन् ।
त्यस्तै ती मुलुकमा अवैध रूपमा नेपाली कामदार पुगेका छन् । अवैध रूपमा पुगेका नेपालीको रेकर्ड भने मन्त्रालयले राखेको छैन । सचिव श्रेष्ठले भने, ‘यसबारे हामीले हचुवाको भरमा मात्र भन्ने हो ।’ सचिव श्रेष्ठका अनुसार जनचेतनाको कमी, खुला सिमानाका कारण विदेशी भूमिको बाटो हुँदै वैदेशिक रोजगारमा पुग्ने गरेका कारणले पनि तथ्याङ्क सङ्कलनमा समस्या देखिएको छ ।
त्यस्तै विकसित र वैदेशिक रोजगारीमा जाने अनुमति नभएका मुलुकमा पनि धेरै नेपाली पुगेका छन् । तिनीहरूको बारेमा पनि सरकारसँग कुनै तथ्याङ्क छैन । ‘अमेरिका, क्यानडा तथा युरोपियन मुलुकहरूमा पनि प्रसस्तै नेपाली पुगेका छन् । तर, ती मुलुकमा कति नेपाली बसोबास गरिरहेका छन् भन्ने विवरण सङ्कलन गर्न सकिएको छैन,’ श्रेष्ठले थपे ।
विदेशमा रहेको नेपालीको समस्या समाधान गर्ने तथा दुई देशबीचको सम्बन्धलाई सुमधुर तुल्याउने उद्देश्यले विभिन्न मुलुकमा नेपाली राजदूत पनि राखिएको छ । तर, राजदूतावासलाई पनि सम्बन्धित देशमा कति नेपाली रहेका छन् भन्ने जानकारी छैन । पराराष्ट्र मन्त्रायका प्रवक्ता अर्जुन थापाले भने, ‘यसबारेमा परराष्ट्रलाई कुनै जानकारी हुँदैन ।’
शिक्षा मन्त्रालयका अनुसार उच्च शिक्षा अध्ययन गर्ने नाममा पचास लाखभन्दा बढी नेपाली विदेशिएका छन् । यो सङ्ख्या अझै बढ्ने मन्त्रालयको अनुमान छ । व्यक्तिगत पहलबाट पनि विदेशमा अध्ययन गर्न जान सकिने भएकाले यसको आधिकारिक तथ्याङ्क नहुने मन्त्रालयका सचिव सोमलाल सुवेदीको भनाइ छ ।
सरकारसँग अपूर्ण भए पनि विदेशिएका नेपालीको तथ्याङ्क रहेको पाइन्छ भने विदेश गएका कति नेपाली स्वदेश फर्के भन्ने कुनै विवरण छैन । कति नेपाली विदेश पुगेर फर्के, कति उतै हराए तथा कतिको मृत्यु भयो भन्ने कुनै जानकारी छैन सरकारसँग । श्रम तथा रोजगार मन्त्रालयका सचिव श्रेष्ठले थपे, ‘हामीसँग विदेश गएका नेपालीको बारेमा मात्र रेकर्ड रहन्छ, विदेश पुगेर आएका नेपालीको कुनै विवरण हँुदैन । विदेशबाट फर्केका नेपालीले पनि आफू स्वदेश फर्केको बारेमा कुनै पनि निकायमा जानकारी नगराउने भएकाले यसको विवरण राख्न नसकिएको हो ।
यस आधारमा हेर्दा भारतबाहेकका मुलुकमा करिब ३५ लाख तथा भारतमा रहेका करिब ४० लाख नेपालीलाई मात्र गणना गर्ने हो भने पनि ७५ लाख नेपाली युवा रोजगारीका निम्ति विदेशिएका देखिन्छन् । अध्ययनका लागि बाहिरिएका करिब ५० लाख नेपालीलाई समेत जोड्ने हो भने सवा करोड नेपाली यतिबेला विदेशमा छन् । नेपाली युवामा बढेको विदेशमोहका कारण नेपालका गाउँघर शून्यप्राय: हुन पुगेका छन् । गाउँघरमा सामाजिक चाडबाड मात्र खल्लो हुने गरेको छैन, कसैको मृत्यु भएमा मलामी जाने मानिसको समेत अभाव हुन थालेको छ ।

‘छोरी हत्यामा बाबुआमा’
नयाँदिल्ली । नेपाली नागरिकसमेत मारिएको बहुचर्चित आरुषी हत्याकाण्डमा उनकै बाबुआमा दोषी रहेको जानकारी सीबीआईका अधिकारीले दिएका छन् । प्रमाणहरू सबै नियोजित तरिकाले मेटाइएको उक्त घटनामा हत्या भएको स्थानमा बाह्य व्यक्ति कोही प्रवेश नगरेकोले आरुषीका डेन्टिस्ट बाबुआमा राजेश र नुपूर तलवार नै दोषी रहेको जवाफ दिएपछि हत्याकाण्डमाथिको अदालती प्रक्रियामा तरङ्ग आएको छ ।
पाँच वर्षअघि सन् २००८ को मे १५ मा दिल्लीनजिकैको नोयडामा भएको घटनाबारे लामो अनुसन्धानपछि सीबीआईले रिपोर्ट बुझाउँदा अस्पष्ट तरिकाले बुझाएको थियो । जसमा प्रमाणहरू स्पष्ट नभेटिएको तर आशङ्काको घेरामा राजेश र नुपूरलाई नै राखिएको थियो । अदालती प्रक्रियाका क्रममा दम्पती हिरासतमा समेत परेका थिए । तर, उनीहरूले अभियोगको खण्डन गर्दै आएका छन् । आरुषी र हेमराजको सावधानीपूर्वक हत्या गरी प्रमाण मेटिएको सीबीआईको रिपोर्टमा उल्लेख छ । सुरुमा आरुषीको शव फेला परेको र पछि हेमराजको शव कौशीमा भेटिएको थियो । दुवैको धारिलो हतियार र गल्फ स्टिकले हानिएको भए पनि कसले हान्यो यकिन प्रमाण अझै भेटिएको छैन । घटनाबारे विभिन्न आशङ्का जन्मिइरहँदा आरुषी र हेमराजबीचको शारीरिक सम्बन्धबारे समेत आशङ्काहरू उठ्यो । हत्यापछि आरुषीको गुप्ताङ्ग सफा गरिएको र शारीरिक सम्पर्कबारे प्रमाण नखुलाउन दबाब दिइएको तथ्य पत्ता लागिसकेको छ ।
घटनामा संलग्न रहेको अभियोगमा दुई नेपाली र एक भारतीयलाई सुरुमा पक्राउ गरिए पनि उनीहरू निर्दोष पाइए । उनीहरूलाई फसाउन खोजिएको तथ्यसमेत फेला प-यो । निकै लामो प्रक्रियापछि पनि अदालती प्रक्रिया निष्कर्षमा पुग्न सकेको छैन ।
यता दिल्लीमा बलात्कारको घटना फेरि चर्चामा आइरहँदा दुई नेपाली युवतीसमेत बलात्कारको सिकार भएको सार्वजनिक भएको छ । जसमध्ये सिन्धुपाल्चोक घर भएकी विवाहित युवतीमाथि यौन दुव्र्यवहार मात्र भएको दाबी गरिएको छ । अर्की १७ वर्षीया युवतीलाई चाहिँ घरमालिकका छोराले बलात्कार गरेका छन् । पैसा दिएर घटना गुपचुप राख्ने प्रयास पीडक पक्षले गरेका छन् । उदयपुर घर भएकी युवतीको गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ ।

सार्कको महासचिव बनाउन दुई महिलाका आ–आफ्नै उम्मेदवार
सार्क सम्मेलन हुन करिब पौने एक वर्ष अवधि बाँकी रहँदै सार्कको महासचिव बन्न नेपालमा दौडधुप सुरु भएको छ । यसरी दौडधुप गर्नेहरूमा श्रीधर खत्री, डा. पोषनाथ पाण्डे र डा. शम्भुराम सिंखडा रहेका छन् । पञ्चायतकालीन मन्त्री पदमबहादुर खत्रीका छोरा श्रीधर खत्रीलाई एमाओवादी अध्यक्ष प्रचण्डले रुचाएको, डा. पोषनाथ पाण्डे आरजु राणा देउवाको उम्मेदवारका रूपमा अघि बढेको र डा. शम्भुराम सिंखडालाई सुजाता कोइरालाको साथ रहेको बताइन्छ । आरजु राणाले पाण्डेलाई यसअघि राष्ट्रिय योजना आयोगको सदस्य बनाइदिएकी थिइन् भने शम्भुराम सिंखडा पञ्चायतकालमा तात्कालिक बडामहारानी ऐश्वर्यको कृपाले समाजकल्याण परिषद्का सदस्यसचिव र प्रजातन्त्र आएपछि सुजाता कोइरालाको विशेष कृपाबाट जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि बन्न सफल व्यक्ति हुन् । अन्तर्राष्ट्रियस्तरका हरेक पदको स्थायी दाबेदारका रूपमा चिनिँदै आएका पाण्डे र सिंखडा ‘माथि’ पुग्नका लागि प्रभावशाली महिलाहरूलाई उपयोग गर्न माहिर मानिन्छन् । जब कि दुवैले यसअघि जिम्मेवारी पाउँदा देशका लागि कुनै प्रभावकारी काम गरेर देखाउन सकेका छैनन् । श्रीधर खत्रीलाई पनि कार्यक्षमता र योग्यताका दृष्टिले कमजोर मानिन्छ । सार्कको महासचिव भएर प्रचण्डलाई बाहेक देशलाई खुसी तुल्याउने काम खत्रीबाट पनि होला भन्ने अपेक्षा गरिएको छैन ।
सार्कको महासचिवमा हाल माल्दिभ्सले मौका पाएको छ भने नेपालमा आगामी जनवरीको आसपासतिर हुने सम्भावना रहेको सार्क सम्मेलनसँगै महासचिव चयनको मौका नेपाललाई प्राप्त हुनेछ । नेपाल सरकारले महासचिवको नाम प्रस्ताव गरेपछि सार्क सम्मेलनअघि हुने सार्क राष्ट्रका परराष्ट्रमन्त्रीहरूको बैठकले अनुमोदन गर्ने र नयाँ महासचिवले सार्क सम्मेलनसँगै आफ्नो जिम्मेवारी सम्हाल्ने छन् । नेपाल सरकारले अहिलेसम्म यस सम्बन्धमा खासै चासो देखाएको छैन । तर, योग्य, सक्रिय र सक्षम व्यक्तिको खोजी भने आगामी तीन महिनापछि सुरु हुने बताइन्छ ।
प्रचण्ड, आरजु र सुजाता कोइरालाले आ–आफ्ना उम्मेदवार अघि सारेको जानकारी सरकारी निकायलाई अहिलेसम्म नभएको बुझिन्छ । कुराको जानकारी हिसिला यमीलाई भएमा उनले पनि बीके मान या त्यस्तै अरू कसैको नाम अघि सार्न सक्ने सम्भावना छ ।

कास्कीमा चुनावी सरगर्मी, तीन क्षेत्रमा काङ्गे्रस अगाडि
चुनावको तिथि निश्चित नभए पनि कास्कीवासीमा निर्वाचनको नसा चढ्न थालिसकेको छ । चार निर्वाचन क्षेत्र रहेको कास्कीमा काङ्गे्रस र एमालेको टक्करको स्थिति रहँदै आएको भए पनि गत निर्वाचनमा माओवादीले समेत जितेको थियो । माओवादी पार्टी विभाजित भएको र उक्त दलका प्रति जनआकर्षण पनि घटिसकेको हुनाले आगामी निर्वाचनमा काङ्गे्रस र एमालेकै बीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । तथापि नेकपा–माओवादीका देवप्रसाद गुरुङले एक नम्बर क्षेत्रमा उम्मेदवारी दिने हो भने चुनाव नजिते पनि विपक्षीहरूसँग उनको कडा प्रतिस्पर्धा हुने विश्वास गरिन्छ । त्यस्तै, चार नम्बर क्षेत्रमा प्रचण्ड आफैँले उम्मेदवारी दिएको अवस्थामा बाहेक एमाओवादीका लागि सुखद् परिणाम हासिल हुने स्थिति छैन । वर्तमान अवस्था हेर्दा कास्की क्षेत्र नंं. एकमा सबैभन्दा बलियो नेपाली काङ्गे्रसका नेता तारानाथ रानाभाट मानिनुहुन्छ । यद्यपी सो क्षेत्रमा काङ्गे्रसका नेताहरू यज्ञबहादुर थापा र कृष्ण केसी पनि उम्मेदवार बन्न इच्छुक छन् । तर, चुनाव जित्न तारानाथ रानाभाटलाई जति सजिलो अरूलाई नहुने देखिन्छ । क्षेत्र नंं. एकमा केपी ओली समर्थक नेताहरू खगराज अधिकारी र मानबहादुर जीसी तथा झलनाथ समर्थक पुष्पज्योति ढुङ्गाना एमालेमा टिकटका दाबेदारका रूपमा चर्चित हुनुहुन्छ । त्यस्तै एमाओवादीका विष्णु पौडेल र एमालेबाट माओवादी बनेका लेखनाथ नगरपालिका पूर्वप्रमुख शालिकराम पौडेलमध्ये एकले पार्टीको टिकट पाउने सम्भावना छ । तर, यस क्षेत्रमा एमाओवादी तेस्रो स्थानमा रहेको मानिन्छ । मुख्य प्रतिस्पर्धा काङ्गे्रस र एमालेकै बीचमा हुने राजनीतिक परिस्थिति एक नम्बर क्षेत्रको रहेको छ । क्षेत्र नम्बर दुईमा नेपाली काङ्गे्रसका गुरु बराल, कृष्ण कार्की, महादेव गुरुङ र निर्मल कर्माचार्यलाई टिकटका प्रमुख दाबेदारका रूपमा लिइन्छ । त्यस्तै एमाओवादीका बाबुराम समर्थक नेता जितबहादुर गुरुङ र प्रचण्ड समर्थक राजकाजी गुरुङलाई सम्भावित उम्मेदवार मानिन्छ । राजकाजी पोखरा विमानस्थल प्रकरणमा पचास लाख नगद काण्डका प्रमुख पात्र हुन् । सो क्षेत्रमा नेकपा एमालेका तुलबहादुर गुरुङ, गजकुमारी गुरुङ र कृष्ण थापामध्ये एकले उम्मेदवार बन्न पाउने सम्भावना छ । उहाँहरूमध्ये कृष्ण थापा जसमाथि नगरप्रमुख हुँदा एडीबीले वातावरण, ढल तथा सडक सुधार आयोजनाका लागि उपलब्ध गराएको ३१ करोड रुपैयाँ घोटाला गरेको आरोप छ । एमालेका कृष्ण थापा र एमाओवादीका राजकाजीले उम्मेदवारी पाएमा काङ्गे्रसका निम्ति चुनाव जित्न सजिलो हुने विश्लेषण स्थानीय बासिन्दाको छ ।
तीन नम्बर निर्वाचन क्षेत्रमा नेकपा एमालेका रवीन्द्र अधिकारी निकै लोकप्रिय मानिनुहुन्छ । यद्यपी राजीव पहाडी पनि आफूलाई कम ठान्दैनन् । तर, पहाडी धन कमाउने कुरामै बढी केन्द्रित रहने गरेको आरोप एमालेकै कार्यकर्ताहरूले लगाउने गरेका छन् । यहाँ पहाडीको समेत नाम चर्चामा भए पनि अन्तत: रवीन्द्र अधिकारीले नै उम्मेदवार पाउने सम्भावना बढी देखिन्छ । यस क्षेत्रमा नेपाली काङ्गे्रसका नेताहरू सोभियतबहादुर अधिकारी, देवराज चालिसे, विष्णु बास्तोला र विन्दा रानालाई काङ्गे्रसको सम्भावित उम्मेदवारका रूपमा लिइन्छ । उहाँहरूमध्ये जसले टिकट पाए पनि मुख्य प्रतिस्पर्धा एमालेका रवीन्द्र अधिकारीसँग गर्नुपर्नेछ । अधिकारीसँग प्रतिस्पर्धा गर्न देवराज चालिसे नै चाहिने कतिपयको तर्क छ भने कतिपयले विष्णु बास्तोला या सोभियत अधिकारीका पक्षमा वकालत गर्ने गरेका छन् । त्यसैगरी एमाओवादीका तर्फबाट सो क्षेत्रमा झलकपाणि तिवारी, ज्ञानबहादुर कोइराला (फिर्के खोला काण्डका नाइके) र विश्वप्रकाश लामिछानेमध्ये एकलाई उम्मेदवार बनाइने भन्ने चर्चा छ । उहाँहरूमध्ये झलकपाणि तिवारी लोकप्रिय र बलियो मानिनुहुन्छ । तिवारी उम्मेदवार बन्नुभएमा तीन नम्बर क्षेत्रमा त्रिपक्षीय टक्करको स्थिति उत्पन्न हुने देखिन्छ ।
कास्कीको चार नम्बर क्षेत्रमा नेपाली काङ्गे्रसका रामचन्द्र त्रिपाठी सबभन्दा बलिया उम्मेदवार बन्नसक्ने विश्वास स्थानीय बासिन्दाको छ । शुक्रराज शर्माको सेप लागेर मौलाउन नपाएका त्रिपाठीको पक्षमा त्यस क्षेत्रका अधिकांश काङ्गे्रस कार्यकर्ता देखिन्छन् । संविधानसभाको गत निर्वाचनमा शुक्रराज शर्मासहित २८ जनाले सहभागिता नजनाउने भन्दै संयुक्त वक्तव्य जारी गरेकोले शर्मा विवाद र सन्देहको घेरामा पर्दै आउनुभएको छ । त्यसैले उम्मेदवारी दाबी गरे पनि शर्माले यसपटक मौका पाउने सम्भावना कम रहेको बताइन्छ । उक्त क्षेत्रमा महादेव गुरुङ, देवेन्द्रकुमार शेरचन र मनोज गुरुङसमेतको नाम सम्भावित उम्मेदवारका रूपमा लिइन्छ ।
त्यस्तै नेकपा एमालेका तर्फबाट सीता गिरी, पुन्य पौडेल र सोमनाथ प्यासीमध्ये एकले उम्मेदवारीको मौका पाउने सम्भावना छ । एमाओवादीका अध्यक्ष प्रचण्ड पनि चार नम्बर क्षेत्रमा उम्मेदवार बन्ने व्यापक हल्ला–चर्चा छ । प्रचण्डबाहेक खिमलाल देवकोटा, दुर्गा विक र धर्म गुरुङ पनि उम्मेदवार बन्ने प्रतिस्पर्धामा छन् । प्रचण्ड उम्मेदवार नबनेको अवस्थामा काङ्गे्रसका रामचन्द्र त्रिपाठीले बाजी मार्ने सम्भावना बलियो छ ।
समग्रमा कास्कीको चार क्षेत्रमा क्रमश: तारानाथ रानाभाट, महादेव गुरुङ, रवीन्द्र अधिकारी र रामचन्द्र त्रिपाठी सर्वाधिक बलिया उम्मेदवारका रूपमा देखापरेका छन् ।
‘टिच फर नेपाल’लाई अमेरिकाले सघाउने
नेपालमा शैक्षिक असमानताको अन्त्यका लागि कार्यरत विश्वविद्यालय शिक्षा हासिल गरेका तथा युवा पेसेवरहरूको अभियान ‘टिच फर नेपाल’का लागि अमेरिकी राजदूत पिटर डब्लू बोडीले ६५ लाख रुपैयाँबराबरको सहयोग घोषणा गर्नुभएको छ । शङ्कर होटलमा आयोजित सार्वजनिक शुभारम्भ कार्यक्रमका अवसरमा फिनल्यान्डका राजदूत, पूर्वउपकुलपति केदारभक्त माथेमालगायत टिच फर नेपालका नेतृत्व परिषद् तथा शुभचिन्तकहरूको उपस्थितिमा उक्त घोषणा गरिएको हो । टिच फर नेपालले वैशाख महिनाको अन्त्यदेखि ललितपुरका सरकारी विद्यालयमा ३० जना युवा नेपाली शिक्षकलाई खटाउन लागेको छ ।
‘टिच फर नेपालसँग आबद्ध शिक्षक नेपालको शैक्षिक परिदृश्य परिवर्तनका लागि शक्तिशाली संवाहकका रूपमा अग्रसर छन्’ भन्दै राजदूत बोडीले अगाडि भन्नुभयो, ‘नेपालका अत्यन्तै न्यून सेवा प्राप्त समुदायका बालबालिकाको जीवन रूपान्तरणका लागि प्रतिभाशाली युवालाई सशक्त बनाई यस कार्यक्रमले नेपाललाई समृद्धि, स्थायित्व र अवसर हासिल गर्नेतर्फ आवश्यक गतिको सिर्जना गरिदिनेछ ।’
संस्थाका प्रमुख कार्यकारी अधिकृत शिशिर खनाल र तालिमप्रमुख स्वस्तिका श्रेष्ठ दुवैले अमेरिकी विश्वविद्यालयबाट शिक्षा हासिल गरेको जानकारी दिँदै राजदूत बोडीले उनीहरूको शिक्षाप्रतिको प्रतिबद्धताबारे भन्नुभयो, ‘शिशिर खनाल र स्वस्तिका श्रेष्ठ नयाँ विचारका साथ आफ्नो राष्ट्रको भविष्यका लागि सकेसम्म ठूलो योगदान पु-याउने उद्देश्यले स्वदेश फर्केर आउने युवा नेपालीको विशिष्ट उदाहरण हुन् ।’
अमेरिकी सरकारद्वारा टिच फर नेपालका लागि प्रदान गरिएको आर्थिक अनुदानले संस्थालाई ३० जना शिक्षकको पहिलो समूहको प्रारम्भिक तालिम र भविष्यमा जारी रहने पेसागत विकासका साथै शिक्षकको अर्को समूहको नियुक्तिका लागि समेत सहयोग पु-याउने बताइएको छ ।
स्मरण रहोस्, अमेरिकाका तेजस्वी युवाहरूलाई निम्न आय भएका समुदायका प्राथमिक तथा माध्यमिक विद्यालयमा दुई वर्ष अवधिका लागि शिक्षकका रूपमा कार्य गर्न खटाउने उद्देश्यका साथ अमेरिकामा २५ वर्षअघि खडा गरिएको ‘टचि फर अमेरिका’कै ढाँचामा टिच फर नेपाल स्थापित भएको हो । यस्ता किसिमका कार्यक्रम बङ्गलादेश, चीन, भारत र पाकिस्तानलगायत २६ वटा अन्य राष्ट्रमा पनि कार्यान्वयन गरिएका छन् ।

पेरिसमा नेपाल प्रबद्र्धन कार्यक्रम
नेपाल तथा फ्रान्सबीच दौत्य सम्बन्ध स्थापना भएको ६४औँ वार्षिकोत्सवको अवसर पारेर गत साता पेरिसस्थित नेपाली राजदूतावास र पेरिसको १७ मेरीको मेयर कार्यालय हलमा भव्य कार्यक्रमको आयोजना गरिएको छ । फ्रान्सका लागि नेपाली राजदूत तथा युनेस्का लागि स्थायी प्रतिनिधि मोहनकृष्ण श्रेष्ठ र १७ मेरीका उपमेयर भ्यालरी नामियासले संयुक्त रूपमा पानसमा बत्ती बालेर सो कार्यक्रमको उद्घाटन गर्नुभएको थियो
‘नेपाल प्रवद्र्धन साँझ’ नाम दिइएको उक्त कार्यक्रममा श्रीमती सजना श्रेष्ठका साथमा राजदूतावासका काउन्सिलर तथा नियोग उपप्रमुख रामबाबु ढकाल, सहचारी भरत खनाल तथा राजदूतावासका अन्य सदस्यहरूले पाहुनाहरूको स्वागत गरेका थिए । कार्यक्रममा पेरिसस्थित विदेशी कूटनीतिक नियोगका अधिकारीहरू, पूर्वराजदूतहरू, अवैतनिक नेपाली वाणिज्यदूत, मेयर कार्यालयका काउन्सिलर, नेपाली सङ्घ–संस्थाका सभापति तथा पदाधिकारीहरू, आर्टिष्ट, विद्यार्थी, युनेस्कोमा कार्यरत तथा फ्रेन्च कम्पनीमा काम गर्ने प्रोफेसनलहरू, लामो समयदेखि फ्रान्समा बसोबास गरी आएका नेपाली र गिनेचुनेका फ्रेन्चहरूसमेत उपस्थित थिए ।
राजदूत श्रेष्ठद्वारा फ्रेन्च भाषामा स्वागत मन्तव्य दिइएको सो कार्यक्रममा उपमेयर नामियासले प्राकृतिक सौन्दर्यले भरिपूर्ण सुन्दर देश नेपालमा जन्मनुभएका बुद्धले दिनुभएको उपदेश विश्वभरका मानिसले ग्रहण गर्न सके विश्वकै कल्याण हुने मन्तव्य दिनुभएको थियो भने फ्रेन्च परराष्ट्र मन्त्रालयका नेपाल विभाग प्रमुख श्रीजाँ रोम्नीसियानुले नेपालको हनुमानढोकामा रहेको ढुङ्गाको शिलालेखमा पे्रmन्चभाषासमेत कुँदिएबाट दुई देशबीचको सम्बन्ध ऐतिहासिक र प्रगाढ रहेको उल्लेख गर्नुभएको थियो । कार्यक्रमा सुश्री एलिसा गुरुङ, सुश्री प्रशंंसा केसी, सुश्री फ्लोरँन्स मल्ल, विमल बसेल र बाबु थापाले आकर्षक नृत्य प्रस्तुत गरेका थिए भने नरेन्द्र बाताजु तथा श्रीमती विद्याले सितारवादन गरेका थिए ।

मकवानपुरको जनकल्याण उमाविको कायापलट हुने
नेपाल–भारत आर्थिक सहयोग कार्यक्रमअन्तर्गत मित्रराष्ट्र भारतले नेपाललाई विभिन्न क्षेत्रमा प्रदान गर्दै आएको अनुदान सहयोगको शृङ्खलामा मकवानपुरको जनकल्याण उमावि पनि थपिन पुगेको छ । उक्त विद्यालयका लागि भारत सरकारले चार करोड २२ लाख आर्थिक अनुदान सहयोग उपलब्ध गराउने विषयमा गत साता सम्झौतापत्रमा हस्ताक्षर भएको छ । जनकल्याण उमाविका लागि नयाँ दुईतले भवन निर्माणार्थ सो सहयोग उपलब्ध हुन लागेको हो ।
आजभन्दा ४५ वर्षअघि सन् १९६८ मा प्राथमिक विद्यालयको रूपमा स्थापना भई सन् १९८५ मा उच्च माध्यमिक विद्यालयमा स्तरोन्नति गरिएको श्री जनकल्याण उच्च माध्यमिक विद्यालय मकवानपुरको दामन गाविसमा अवस्थित छ । सो विद्यालय भवन पुरानो भई जीर्ण बनेको र विद्यार्थी क्षमताअनुसार पूर्ण पनि नभएको परिस्थितिबीच नयाँ निर्माण हुने भवनबाट विद्यालयका एक हजार दुई सयभन्दा बढी छात्रछात्राका लागि सहज शैक्षिक वातावरण सिर्जना हुने विश्वास लिइएको छ । यसबाट जिल्लाको शैक्षिक विकासमा योगदान पुग्ने स्थानीयको कथन छ ।
उक्त विद्यालयका अतिरिक्त मकवानपुरमा तीन करोड ९८ लाखको सहयोगमा अन्य तीनवटा परियोजना सम्पन्न भइसकेका छन् भने चारवटा एम्बुलेन्स र चारवटै स्कुल बस पनि भारत सरकारले प्रदान गरेको छ । नेपालको विकास र आर्थिक उन्नतिको महत्वलाई आत्मसात् गरेको जनाउँदै आएको छिमेकी मित्रराष्ट्रले भारत–नेपाल आर्थिक सहयोग कार्यक्रमअन्तर्गत नेपालका सबै जिल्लालाई समेट्ने गरी शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासका विभिन्न चार सय २५ भन्दा बढी परियोजनाका लागि ६५ अर्ब लगानी गरेको छ ।

बज्राचार्यको एक्सनले कामचोर प्रहरी थर्कमान !
पश्चिमाञ्चल क्षेत्रका प्रहरी नायव महानिरीक्षक रमेशशेखर बज्राचार्यले कामचोर प्रहरी कर्मचारीलाई विशेष निगरानी गर्न थालेपछि जनताको काममा ढिलासुस्ती गर्ने र नगद आर्जनलाई सर्वोपरि ठान्ने प्रहरी अधिकृतहरूको निद हराम भएको बुझिएको छ । पश्चिमाञ्चलको शान्तिसुरक्षाको कमाण्ड गर्न पुगेका डीआईजी बज्राचार्यले आफूलाई दाम होइन काम चाहिएको भन्दै सङ्गठनको नाम उचो तुल्याउने अभिप्रायले प्रहरीको आचरण र व्यवहारमा आमूल परिवर्तन गर्न १६ जिल्लाका प्रमुखलाई निर्देशन दिएपछि यतिखेर नगदलाई सर्वोपरि ठान्ने प्रहरी अधिकृत डीआईजीको निगरानीमा परिने डरले त्राहिमाम भएका छन् ।
क्षेत्रको कमाण्ड सम्हालेको अत्यन्तै छोटो अवधिमा उल्लेख्य काम गर्न सफल डीआईजी बज्राचार्यले पोखरामा रहेको फुटपाथ पसललाई पूर्णरूपमा हटाएर यसअघि अन्यले गर्न नसकेको काम गरेर पोखरावासीबीच वाहवाही बटुल्न सफल भएका छन् । क्षेत्रमा पुग्नासाथ सर्वप्रथम सबै जिल्लाका घुमुवा प्रहरी हटाउन निर्देशन दिएका उनले घुमुवा प्रहरीमार्फत रकम उठाइने प्रवृत्तिलाई पूरै नियन्त्रण गर्न सफल भएको बताइन्छ । डीआईजी बज्राचार्यको चरित्रअनुसारको काम नगर्ने केही उच्च प्रहरी अधिकृत पनि उनको नजरमा परिसकेको बताइन्छ । डीआईजी बज्राचार्यको विशेष पहलमा यतिखेर पश्चिमाञ्चल क्षेत्रमा महिला हिंसा, आत्महत्या, घरेलु हिंसा, मादक पदार्थ सेवन, गुण्डागर्दी, जुवातास, लागूऔषध, वेश्यावृत्तिजस्ता सामाजिक विकृति–विसङ्गतिलाई न्यूनीकरण गर्न विशेष कदम चालिएको बुझिएको छ । भक्तपुरको प्रमुख रहँदैबाट आफ्नोभन्दा सङ्गठनको नाम उच्च राख्न सबै कर्मचारीको समाज दायित्व रहने बताउने बज्राचार्य अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा कमान्डर हुँदासमेत त्यहाँको विकृति र विसङ्गति हटाउन सफल भएका थिए । पोखरा पुगेर कार्यभार सम्हालेकै दिनदेखि भ्रष्ट प्रहरी र अपराधीकरणतर्फ लागेका व्यक्तिको आँखाको कसिङ्गर बनेका डीआईजी बज्राचार्यको पोखराका सर्वसाधारणले भने जयजयकार गरेका छन् । दिनहुँ हुने गुण्डागर्दी र फुटपाथ पसलेको दादागिरीबाट वाक्कदिक्क भएका सर्वसाधारणले डीआईजी बज्राचार्यको आगमनसँगै ढुक्क हुन पाएका छन् ।
प्रहरी कर्मचारीलाई कसैको दबाब र प्रभावमा नपरी उच्च मनोबलका साथ काम गर्न प्रोत्साहन गरेका उनले दण्ड र पुरस्कार दुवै हुने भनेपछि अहिले त्यस क्षेत्रको सुरक्षामा विशेष प्रभाव देखिँदै गएको छ । क्षेत्रमा पुग्नासाथ प्रहरी अधिकृतलाई निर्देशन दिने क्रममा दण्डहीनता, अकर्मण्यता तथा आर्थिक अनियमिताको विरुद्ध शून्यसहनशीलताको नीतिलाई अक्षरश: पालना नगर्नेलाई कारबाही गर्ने चेतावनी दिएपछि जनतालाई दु:ख दिएर अन्याय गर्नेबाटै रकम खान पल्केका प्रहरीको ओठतालु सुकेको छ । लागूऔषध देशकै रोग भएकोले त्यसलाई समाप्त पार्ने अभियानअन्तर्गत विभिन्न जिल्लाबाट यो छोटो अवधिमा सात सय ११ किलो चरेस बरामद गरिएको छ । पश्चिम क्षेत्रमा बज्राचार्यको आगमनसँगै सो क्षेत्रमा हुने अनेकौँ विकृति–विसङ्गति समाप्त भएको पोखरा बगरका एक स्थानीय बताउँछन् । डीआईजी बज्राचार्यका विषयमा प्रतिक्रिया दिँदै एउटा प्रहरी अधिकृत इमानदार बनिदिँदा हदैसम्म विकृति अन्त्य हुँदोरहेछ भन्ने अनुभूति गर्न पाएको उनको कथन छ । नेपाल प्रहरीमा तिललाई पहाड बनाएर मिडियामा छाउने प्रवृत्तिले स्थान पाइरहेका बेला डीआईजी बज्राचार्यलगायत अन्य इमानदार अधिकृतको प्रहरी सङ्गठनले आगामी दिनमा कसरी मूल्याङ्कन गर्ला, प्रतीक्षाको विषय बनेको छ ।

अदालतको फैसलाबाट बलात्कृत राईको परिवार असन्तुष्ट
रोजगारीको सिलसिलामा साउदी अरब बसी नेपाल फर्कने क्रममा अध्यागमनमा कार्यरत प्रहरी हवल्दार पर्शुराम बस्नेतद्वारा बलात्कृत सीता राईको मुद्दामा काठमाडौं जिल्ला अदालतले सुनाएको फैसलाप्रति पीडितको परिवारले असन्तुष्टि जनाएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद कोइरालाको इजलासले पीडकलाई साढे पाँच वर्ष जेल र पचास हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएपछि पीडितका परिवारजनले फैसलाप्रति असन्तुष्टि प्रकट गरेका हुन् ।
सीताका बाबुले छोरीको बेइज्जती सम्झँदा यस्तो फैसलाले झन् चित्त दुखाएको प्रतिक्रिया दिए । यस प्रकरणमा आफ्नो परिवारलाई सघाउनेहरुसँग सल्लाह गरेर पुनरावेदन गर्ने या नगर्ने विषयमा फैसला लिने उनको सोचाइ छ ।
परिवारको आर्थिक अवस्था नाजुक रहेकोले घर–परिवारलाई सुख शान्ति दिनका लागि साढे तीन वर्षअघि सीता साउदी गएकी थिइन् भने घर फर्किने क्रममा त्रिभुवन विमानस्थलमै लुटिनुका साथै उनीमाथि बलात्कारसमेत गरिएको थियो ।

लमजुङका पाँच गाविसमा धुँवारहित भान्सा
लमजुङका ग्रामीण भेगमा रहेका विभिन्न पाँचवटा गाविसलाई धुँवारहित नमुना भान्सा गाविस घोषणा गरिएको छ । लमजुङमा रहेका सबै गाविसलाई धुँवारहित भान्सा गाविस घोषणा गर्ने अभियानअनुरूप पूर्वीलमजुङको कोल्की, प्यारजुङ, गौँडा, मोहोरियाकोट र इलमपोखरी गाविसलाई धुँवारहित भान्सा गाविस घोषणा गरिएको हो ।
गाविसमा रहेका सबै घरधुरीमा सुधारिएको चुलो निर्माण गरिएपछि धुँवारहित गाविस घोषणा गरिएको हो । ‘जलवायु परिवर्तन न्यूनीकरणमा एक कदम, जैविक ऊर्जाको समूचित व्यवस्थापन’ र ‘सुधारिएको चुलो राम्रो, स्वास्थ्य जीवन हाम्रो’ भन्ने नाराका साथ गाविसलाई धुँवारहित बनाउन विभिन्न सङ्घसंस्था, गाविस र महिला समूहहरू लागिपरेका थिए ।
वैकल्पिक ऊर्जा क्षेत्र सहयोग कार्यक्रम क्षेत्रीय नवीकरणीय ऊर्जा सेवा केन्द्र, ग्रामीण सशक्तीकरण समाज तनहुँ र लुथरन वल्र्ड रिलिफको साझेदारीमा जनचेतना अभिवृद्धि र विकास अध्ययन समितिले गाउँ–गाउँमा सुधारिएको चुलो निर्माण कार्यक्रम सञ्चालन गरेको हो । उक्त संस्थाले लमजुङका २१ वटा गाविसमा सुधारिएको चुलो निर्माण अभियान सञ्चालन गरिरहेको छ ।
विश्वमा जल्दोबल्दो समस्याको रूपमा रहेको जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न सहयोग पु-याउने अभिप्रायले विगत पाँच वर्षदेखिको प्रयासमा पाँच गाविसका घरपरिवारमा धुँवारहित चुलो निर्माण भएपछि नमुना गाविस घोषणा गरिएको हो । हालसम्म लमजुङका करिब आठ हजारभन्दा बढीको घरमा सुधारिएको चुलो निर्माण गरिएको जनचेतना अभिवृद्धि र विकास अध्ययन समितिले जनाएको छ । शनिबार एक कार्यक्रम गरी जिल्ला विकास समितिका इन्जिनियर जयराम श्रेष्ठले तीनवटा गाविस गौँडा, प्यारजुङ र कोल्की गाविसलाई धुँवारहित गाविस घोषणा गरेको बताएका छन् । – छविलाल बगाले