अमेरिकालाई ‘जी–७’ का अर्थमन्त्रीको चेतावनी

अमेरिकालाई ‘जी–७’ का अर्थमन्त्रीको चेतावनी


स्टिल र एलुमिनियममा कर लगाउने अमेरिकी सरकारको निर्णयविरुद्ध युरोपेली युनियनआबद्ध अर्थमन्त्रीहरू एक भएर प्रतिकारमा उत्रिएका छन् ।

उनीहरूले अमेरिकाको सो निर्णयको विरोध गर्दै यदि एकतर्फी रूपमा त्यसो गरियो भने आफ्ना सबै आर्थिक नियम तथा नीतिहरूमा अमेरिकालाई एक्ल्याएर अघि बढ्ने धारणा मात्र राखेको नभई अमेरिकालाई त्यसका लागि तयार रहन चेतावनी पनि दिएका छन् ।

आगामी शुक्रबारदेखि अमेरिकाको उक्त निर्णय कार्यान्वयनमा आउन लागेकोले सो समय अगावै अर्थमन्त्रीहरूको यो भनाइ आएको हो । त्यसअघि जी–७ समूहका अर्थमन्त्रीहरूले अमेरिकालाई दिएको यो चेतावनीलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

अमेरिकी विदेशमन्त्री स्टिभ मनुसिनको पनि औद्योगिक राष्ट्रहरूको समूह ‘जी–७’ का अर्थमन्त्रीहरूले आलोचना गरेका छन् । अमेरिकाको उक्त नयाँ कानुनको विषयलाई लिएर उनले दिएको अभिव्यक्तिको उनीहरूले विरोध गरेका हुन् ।

ती सात देशका अर्थमन्त्रीहरूको क्यानडामा बसेको बैठकपछि शनिबार उनीहरूले सो धारणा राखेका हुन् । बैठकमा उनीहरूले संयुक्त राज्य अमेरिकासँग व्यापार युद्ध नै हुन सक्ने आरोप पनि लगाएका थिए ।

क्यानडाको विस्टलरमा भएको उक्त बैठकमा युरोपेली युनियनआबद्ध देशका साथै क्यानडाले पनि यस्तो चेतावनी दिएको बताइएको छ ।

उनीहरूले अमेरिकाको उक्त नियमको प्रतिकार गर्ने चेतावनी दिएका छन् । उता फ्रान्सका अर्थमन्त्रीले त अमेरिकासँग आगामी केही दिनमै व्यापार युद्ध शुरु हुन सक्ने अवस्था रहेको बताए ।

अमेरिकामाथि शोषण भएको छ– राष्ट्रपति ट्रम्प

उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने विगतका कैयौँ वर्षदेखि नै अरू देशहरूले व्यापारका क्षेत्रमा अमेरिकामाथि नै शोषण गरिरहेको उल्लेख गरेका छन् ।

राष्ट्रपति ट्रम्पले शनिबार आफ्नो ट्विट अकाउन्टमा उक्त करले अमेरिकी स्टिल उत्पादकहरूको पक्षमा काम मात्र गर्न खोजेको बताएका छन् । यस कानुनले उनीहरूलाई संरक्षण गर्न मात्र खोजेको उनको तर्क थियो ।

उक्त ट्विटमा उनले भनेका छन्– त्यो कानुनले ती वस्तुहरूमा अमेरिकी राष्ट्रिय सुरक्षा गर्ने र उनीहरूको संरक्षण र सहयोग मात्र गर्नेछ, अन्यथा अमेरिका यस क्षेत्रमा विगतको जस्तै शोषित नै भइरहनेछ ।

राष्ट्रपति ट्रम्पले अमेरिकी उत्पादकहरूले आगामी दिनमा युरोप र अन्यत्र पनि अवरोधहरूको सामना गर्नुपर्ने अवस्था रहेको भन्दै यस क्षेत्रमा अब अमेरिका पहिलेको तुलनामा चनाखो हुनुपर्ने अवस्था आएको पनि बताएका छन् ।

विश्वका अरू देशहरूको विरोध रहे पनि यस नियमको विषयलाई लिएर युरोपेली युनियन आबद्ध अर्थमन्त्रीहरूको यो पछिल्लो र कडा चेतावनी आएको बताइएको छ ।

यस चेतावनीपछि अमेरिकाका तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन । अमेरिकी राष्ट्रपति ट्रम्प र विदेशमन्त्रीका अभिव्यक्तिहरू हेर्दा यस निर्णयबाट अमेरिका पछि हट्न सक्ने अवस्था पनि देखिएको छैन ।