१२ जुनमा डोनाल्ड ट्रम्प र किम जोङ उनबीच भेटवार्ता हुने

१२ जुनमा डोनाल्ड ट्रम्प र किम जोङ उनबीच भेटवार्ता हुने


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच पहिले कै मितिमा भेटवार्ता हुने भएको छ । ट्रम्पले एकतर्फीरुपमा रद्द गरेको भेटवार्ता पुनः पूर्वनिर्धारित मिति मै हुन लागेको हो ।

शुक्रबार ह्वाइट हाउसमा ट्रम्प र किम जोङ उननिकट जनरल किम योङ चोलबीच भेटवार्ता भएपछि जुन १२ मै सिंगापुरमा भेटवार्ता गर्ने सहमति भएको हो ।
दुई देशबिचको सम्बन्ध सुधार्नका लागि आयोजना गरिएको भेटवार्ता भाडिएपछि उत्तर कोरियाका वरिष्ठ अधिकारी चोल बिहीबार बेइजिङ हुँदै न्यूयोर्क पुगेका थिए । त्यहाँ उनले सुरुमा अमेरिकी विदेशमन्त्री माइक पोम्पियोसँग भेटवार्ता गरेका थिए ।

सिंगापुरमा जुन १२ मा हुने भेटवार्तामा कोरियाली प्रायद्वीपमा युद्धलाई औपचारिक रुपमा समाप्त गर्ने विषयमा छलफल हुने कुरा ट्रम्पले संचारकर्मीहरुलाई जानकारी गराएका छन् ।

दक्षिण र उत्तर कोरियाबीच सन् १९५० देखि १९५३ सम्म युद्ध भएको थियो । तर, युद्ध समाप्ति सम्बन्धी कुनै सम्झौता भएको छैन ।