ट्रम्प-किम वार्ता निर्धारित समयमै

ट्रम्प-किम वार्ता निर्धारित समयमै


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी महिना हुन लागेको शिखर वार्ताको तयारीका लागि केही अमेरिकी अधिकारीहरु सम्मिलित प्रतिनिधिमण्डल उत्तर कोरिया पुगेको छ । आगामी जुन १२ मा सिंगापुरमा हुने भनिएको सो शिखर वार्ता निर्धारित समयमै हुने भएपछि त्यसको आन्तरिक तयारी सुरु भएका दुवैतर्फका अधिकारीहले जनाएका छन् ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व निर्धारित समयको वार्ता नहुने भएको भनी घोषणा गरेपछि त्यसप्रति आफू निकै दुःखी भएको बताएको उत्तर कोरियाले पनि वार्ताको आवश्यक तयारी सुरु भएको जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार ट्वीट गर्दै धनेका छन्- अमेरिकाको एक प्रतिनिधिमण्डल आज उत्तर कोरिया पुगेको छ, यसले आगामी उक्त वार्ताको तयारीका आवश्यक कुराकानी गर्नेछ ।

उनले यस ट्वीटमा उत्तर कोरियाको निकै प्रसंशा पनि गरेका छन् । उनले भनेका छन्- मेरो अनुभवका आधारमा भन्दैछु कि उत्तर कोरियासँग आफ्नो देशको सम्पन्नताका लागि निकै ठूलो अवसर छ र यसबाट उसको अभूतपूर्व परिवर्तन हुन सक्छ ।

यस विषयमा उत्तर कोरियाली नेता किम जोङ उन ‘कन्भिन्स’ हुनुभएको छ, यसबारे हामीले कुराकानी पनि गरिसकेका छौँ- उनले भनेका छन् ।

तर सो प्रतिनिधिमण्डलमा को वा कुन तहका अधिकारीहरु सहभागी छन् भन्ने बारेमा भने केही बताइएको छैन । तर अमेरिकी प्रमुख अखबार वासिङ्टन पोष्टको आइतबारको संस्करणमा उक्त भ्रमणको पुष्टि गरिएको छ ।

उक्त अखबारले अमेरिकी अधिकारी सम्मिलित एक प्रतिनिधिमण्डल उत्तर कोरिया पुगेको छ र उक्त देशको उत्तरी भागमा रहेको सैन्यबिहीन क्षेत्रमा दुई देशका अधिकारीहरुले भेटवार्ता थालेका छन् । त्यस वार्ता सोमबार र मङ्गलबारसम्म पनि निरन्तर रहन सक्ने पनि उक्त छापाले पुष्टि गरेको बताइएको छ ।

यसअघि एकतर्फी रुपमा उक्त वार्ता स्थगित गरिएको सूचना विहीबार एकाएक सार्वजनिक भएको दुई दिनपछि शनिबार फेरि सोही मितिमै वार्ता हुनेमा आफू ढुक्क रहेको पनि राष्ट्रपति ट्रम्पले बताएका थिए ।

शनिबार साँझ ह्वाइट हाउसमा उपस्थित भएका सम्वाददाताहरुसमक्ष उनले भने– हामी पूर्व निर्धारित मितिमै वार्ता गर्नेमा ढुक्क भएका छौँ, जुन १२ मा नै हामी सिंगापुरमा भेट्नेछौँ, म उत्सुक छु र मलाई लाग्छ यसप्रति उत्तर कोरिया पनि इच्छुक छ ।

यसअघि गएको विहीबार मात्र उत्तर कोरियाली नेता किमको आक्रोश र अमेरिकाप्रतिको शत्रुतापूर्ण व्यवहारका कारण वार्ता स्थगन गर्नुपरेको बताएका राष्ट्रपति ट्रम्पले आइतबारको ट्वीटमा भने उत्तर कोरिया वार्ताप्रति निकै संवेदनशील रहेको जनाएका छन् ।

आइतबार ट्वीटगर्दै राष्ट्रपति ट्रम्पले भनेका छन्- उत्तर कोरियासँग आफ्नो देशको विकासका लागि कैयौँ सम्भावनाहरु छन्, मलाई लाग्छ यदि यी सबै सम्भावनाहरुको सदुपयोग गरेमा उत्तर कोरिया एक दिन ठूलो आर्थिक सम्पन्न तथा वित्तीय राष्ट्र बन्ने छ ।

राष्ट्रपति ट्रम्पले यस सम्भावनालाई उत्तरका नेता किमले स्वीकार गरेका र यस विषयमा उनी आफ्ना विचारहरुप्रति सहमत भएको बताएका पनि एएफपीले जनाएको छ ।

उता दक्षिण कोरियाले भने उत्तर कोरियासँग वार्ताका लागि निकै दबाब दिएको थियो । उसले निर्धारित समयमै वार्ता गर्न उत्तर कोरिया र अमेरिकालाई आग्रह गरेको थियो ।

यसै प्रयास बमोजिम नै दक्षिण कोरिया र उत्तर कोरियाबीच शनिबार अकस्मात भेटवार्ता भएको छ । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन र उत्तरका नेता किम जोङ उनबीच शनिबार सीमा क्षेत्रमा रहेको पानुमजोममा भेट भएको हो ।

यी दुई नेताले गत अप्रिल २७ मा एक महत्वपूर्ण शान्ति सम्झौता गरेका छन् । उक्त सम्झौतालाई एक महत्वपूर्ण उपलब्धिका रुपमा लिइएको छ । किनभने सन् १९५३ मा दुई कोरिया छुट्टिएपछि पहिलो पटक राष्ट्रपति तहमा यसरी शिखर भेट र वार्ता भएको छ ।

दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसले उक्त वार्ताका क्रममा आजसम्म विकसित सकारात्मक वातावरणलाई जोगाइराख्न आगामी दिनमा पनि वार्ताका प्रयासहरुलाई जारी राख्ने सहमति भएको जनाएको छ ।