शिखर वार्ता स्थगितपछि विश्वमा राजनीतिक तरङ्ग

शिखर वार्ता स्थगितपछि विश्वमा राजनीतिक तरङ्ग


वासिङ्टन/ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी महिना हुने भनिएको शिखर वार्ता स्थगित भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकतर्फी रुपमा उक्त वार्ता स्थगित गरिएको सूचना बिहीबार एकाएक सार्वजनिक गरेका थिए ।

उत्तर कोरियाली राष्ट्रपति किमको आक्रोशका कारण उक्त वार्ता स्थगन गर्नुपरेको अमेरिकी राष्ट्रपति ट्रम्पले बताएको समाचारमा जनाइएको छ ।

आगामी जुन १२ तारिखमा सिंगापुरमा गर्ने तय भएको भनिएको सो वार्ता अमेरिकी राष्ट्रपति ट्रम्पले एकतर्फी रुपमा स्थगित गरेको सूचना दिएपछि उत्तर कोरिया भने दुःखी भएको बताएको छ ।

जुनमा उक्त वार्ता समयमै हुने भनी उत्तर कोरियाली नेताले केही समययता आफ्ना टिप्पणीहरूमा राख्दै आएका थिए । तैपनि दक्षिण कोरियामा जारी रहेको कोरिया अमेरिका सैन्य अभ्यासका कारण भने उनी क्रूद्ध भएका थिए।

बिहीबार नै अमेरिकाले एकतर्फी रुपमा उक्त वार्ता स्थगनको सूचना सार्वजनिक गरेका थिए। उनले उत्तर कोरियाली नेता किमलाई सम्बोधन गरिएको एउटा पत्रमा यो स्थगनबाट विश्वमा नै दीर्घकालीन रुपमा स्थापना हुने भनिएको शान्तिको ठूलो मौका गुमेको बताइएको छ ।

उक्त वार्ताको आयोजना सिंगापुरले गर्ने भनेको थियो । जुन १२ मा सिंगापुरमा हुने भनिएको सो वार्ताको विश्वव्यापी रुपमा नै ठूलो चासो रहेको थियो ।

उता उत्तर कोरियाले पारमाणविक अस्त्र परीक्षण गर्ने स्थलहरु नै नष्ट गरेको जनाएको छ । उसले ती अस्त्रहरु निर्माण र परीक्षण गर्ने गरिएका सुरुङहरू नष्ट गरेको केही घन्टामै यता अमेरिकी राष्ट्रपति ट्रम्पले भने वार्ता नै स्थगित भएको घोषणा गरेका छन् ।

राष्ट्रपति ट्रम्प र नेता किमको सम्भावित भेटपछि उत्तर कोरियाले पारमाणविक अस्त्रहरू त्याग्ने अपेक्षा गरिएको बताइएको थियो ।

हालका लागि प्रस्तावित उक्त मितिमै उक्त वार्ता स्थगित गरिएको भए पनि पछि आफू उत्तर कोरियासँग वार्ता गर्न आगामी दिनमा पनि इच्छुक रहेको ट्रम्पले बताएका छन् ।

उनले सो पत्रमा लेखेका छन्, ‘तपाईंसँग सिंगापुरमा भेटवार्ता गर्न म निकै नै उत्सुक थिएँ, तर दुःखको कुरा यहाँकोे पछिल्लो वक्तव्यका कारण हामीले धेरै पहिलादेखि योजना गरिएको भेट अहिलेका लागि हुन सकेन ।’

त्यस पत्रमा राष्ट्रपति ट्रम्पले पनि आफूहरुसँग पनि पारमाणविक अस्त्र ठूलो शक्ति र मात्रामा रहेको खुलासा गरेका छन् ।

उनले भनेका छन्, ‘कोरिया आफ्नो पारमाणविक क्षमताको कुरा गर्छ, तर हामी पनि यसमा यति शक्तिशाली छौँ कि तर म के भन्छु भने र्इश्वरसँग मेरो प्रार्थना छ, ती शक्तिहरुको प्रयोग यस पृथ्वीमा कहिल्यै पनि गर्नु नपरोस् ।’

पत्रको अन्त्यमा ट्रम्पले किमलाई आफूलाई फोन गर्न पनि आग्रह गरेका छन् । ‘यदि यस पत्रले नराम्रो नलागेमा मलाई फोन गर्नुहोला,’ ट्रम्पले लेखेका छन् ।

यस वार्ताको स्थगनले वास्तवमा भन्ने हो भने विश्वले र अझ उत्तर कोरियाले दीर्घकालीन शान्ति र समृद्धिको एउटा ठूलो मौका गुमाएको अनुभव पनि राष्ट्रपति ट्रम्पले व्यक्त गरेका छन् ।

उता हालै मात्र अमेरिकी उपराष्ट्रपति माइक पेन्सले उत्तर कोरियाको अन्त्य लिबियाको जस्तो हुन पनि सक्ने भनी गरेको टिप्पणीप्रति उत्तर कोरियाले कडा आपत्ति जनाएको छ ।

उत्तर कोरियाली उपविदेशमन्त्री चो सुन हुइले उक्त भनाइप्रति आपत्ति जनाएको समाचार बिहीबार मात्र आएको थियो । अमेरिकी उपराष्ट्रपतिको भनाइ अत्यन्तै गैरजिम्मेवारपूर्ण रहेको उनको भनाइ छ ।

कुनै पनि समय वार्तामा बस्न तयार छौँ : उत्तर कोरिया

उता उत्तर कोरियाले शान्तिका लागि निकै प्रयास गरेको, अमेरिकासँग पनि वार्ताको तयारी गरेको भए पनि यसको मूल्याङ्कन नभएको जनाएको छ ।

उत्तर कोरियाले यसअघि पनि दक्षिण कोरियासँग गरेको बृहत् शान्ति सम्झौताबमोजिम नै आणविक अस्त्र उत्पादन तथा परीक्षणस्थल नष्ट गरेको तर यसको मूल्याङ्कन अमेरिकाले नगरेको बताएको छ ।

उत्तर कोरियाले पछिल्लो समयमा गरेको प्रयासहरु र सदासयतालाई अमेरिकाले भने हाम्रो कमजोरीका रुपमा लिएको उत्तर कोरियाले बताएको छ ।

तैपनि उत्तर कोरियाले अमेरिकासँग कुनै पनि समयमा वार्तामा बस्न तयार छौँ भनेको छ ।

उत्तर कोरियाले आफूहरु कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि तयार भइसकेकोले अब यसका लागि अमेरिका र दक्षिण कोरियासँग वार्तामा बस्न आफूहरु तयार नै रहेको बताएको छ।

फकाउँदै दक्षिण कोरिया

उता दक्षिण कोरियाले भने उत्तर कोरियासँग वार्ताका लागि अर्को मिति तोक्ने तयारीमा लागेको बताएको छ ।

यी दुई देशबीच यही मे १६ मा मन्त्रीस्तरको बैठकको आयोजना गरेकोमा त्यसको एक दिन अघि उत्तर कोरियाले सो वार्तामा बस्न नसक्ने भनी पत्र पठाएको थियो ।

दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसले शुक्रबार दिएको जानकारीअनुसार छिट्टै नै अर्को वार्ताका लागि उसले उत्तर कोरियालाई सम्पर्कमै राखेको छ र अर्को मितिको वार्ताका लागि शुक्रबार सम्पर्क गर्नेछ ।

शान्ति सम्झौता एक महत्वपूर्ण उपलब्धि भएकोले वार्ताबाट पछि नहट्न दक्षिण कोरियाले जोड दिनेछ । दक्षिण कोरियाले अर्को वार्ताको मिति तोक्ने तयारी गरेको राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसले जनाएको छ ।

तर, यस विषयमा उत्तरको भने कुनै प्रतिक्रिया आएको छैन । उत्तर कोरियाले उक्त सैन्य अभ्यासको अन्त्य नगरिँदासम्म वार्तामा नबस्ने बताएको छ ।

उता अमेरिकाले बिहीबार शिखर वार्ता स्थगित गरेपछिको अवस्थामा दक्षिण कोरियासँग उत्तरले तुरुन्तै अर्को वार्तामा बस्न सहमति जनाउने छ या के गर्नेछ भन्ने बारेमा भने केही बताइएको छैन ।

अमेरिका–दक्षिण कोरिया फोनवार्ता

यसैबीच शुक्रबार सोलबाट प्राप्त समाचारमा दक्षिण कोरिया र अमेरिकाका विदेशमन्त्रीबीच फोन वार्ता भएको जनाइएको छ ।

दक्षिण कोरियाली विदेशमन्त्री काङ कियुङ र अमेरिकी विदेशमन्त्री माइक पम्पेओबीच शुक्रबार बिहान फोनवार्ता भएको प्राप्त समाचारमा जनाइएको छ ।

उहाँहरुबीच बिहीबार अकस्मात् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँग आगामी जुनमा सिंगापुरमा हुन लागेको शिखर वार्ता स्थगित गरेको जनाएको समाचार आएपछि त्यसका विषयमा विकसित परिस्थितिबारे उक्त फोनवार्ता भएको अनुमान गरिएको छ ।

तस्बिर एएफपी रासस