यसकारण गरेका थिए ओलीले एकता

यसकारण गरेका थिए ओलीले एकता


नसोचिएको समयमा नेकपा एमाले र माओवादीबीच (गत साता) एकीकरण भएपछि एकताको विषयलाई लिएर विभिन्न अनुमान र आशङ्का शुरु भएको छ । निर्वाचनअघि गत असोजमा दुई पार्टी एक हुने घोषणा भएपछि निर्वाचन मिति (मङ्सिर १० गते र २१ गते) भन्दा अगाडि नै पार्टी एकीकरण हुने चर्चा चलेको थियो । त्यसयता पटक–पटक एकता घोषणाको मिति तय भएर पनि एकीकरण हुन सकेको थिएन । गत वैशाख महिनाभित्र परेका लेनिन र माक्र्सजयन्तीका अवसरमा समेत एकता हुन नसकेपछि एकताका पक्षधरहरू निराश बनेका थिए । बुद्धिजीवी र आमजनतासमेतले ‘अब दुई पार्टी एक नहुने भए’ भन्ने ठान्न थालेका बेला जननेता मदन भण्डारीको स्मृति दिवस पारेर दुई पार्टी ‘एक’ भएका छन् । एकता घोषणासभामा प्रचण्डको मुखाकृति विश्लेषण गर्नेहरूले उनी प्रसन्नताका साथ एकतामा सामेल नभएको, कुनै न कुनै बाध्यताले मात्र एकता गर्नुपरेको निष्कर्ष निकालेका छन् ।

सहअध्यक्षका रूपमा केपी र प्रचण्डले पार्टीको कमाण्ड सम्हाल्ने, तीन वर्षपछि प्रचण्डले प्रधानमन्त्री पद पाउने, साङ्गठनिक संरचना सत्तरी र तीस प्रतिशतको अनुपातमा तर्जुमा गर्ने तथा आगामी महाधिवेशनबाट प्रचण्डलाई पार्टीको अध्यक्ष बनाइने भनी उच्च तहमा सम्झौता भइसकेपछि पनि प्रचण्ड पार्टी एकीकरण गर्न मानसिक रूपले तयार भएका थिएनन् ।

यसबीचमा उनले केन्द्रदेखि तल्लो तहसम्मका सम्पूर्ण निकायमा पचास प्रतिशत अंश खोजे र, यसरी सङ्गठनमा आधा अंश खोज्दा एकता प्रक्रिया सकारात्मक टुङ्गोमा नपुग्ने विश्वास प्रचण्डले गरेका थिए । तर, पहिले सत्तरी र तीस प्रतिशत अनुपातमा सहमति बनिसकेको भए पनि ओलीले लचकता देखाए, पूर्वसहमतिमा पुनर्विचार गर्न तयार भए । चालीस प्रतिशतभन्दा बढी साङ्गठनिक सहभागिता गराएर भए पनि पार्टी एकता गरिछाड्ने तत्परता केपीले लिए । तर, प्रचण्ड यसपछि पनि पार्टी एकीकरण गरिहाल्ने मानसिकतामा देखिएनन् । पार्टीको आगामी महाधिवेशनपछि आफूलाई अध्यक्ष बनाइने कुरामा प्रचण्डलाई शङ्का भयो ।

केपी ओली प्रचण्डलाई एउटै पार्टीमा नसमेटेसम्म आफ्नो नेतृत्वको सरकार चिरायु हुन नसक्ने ठान्दथे र, तत्काल प्रचण्डलाई ‘जे दिएर भए पनि’ पार्टी एकीकरण गरिहाल्ने मानसिकता उनले बनाएका थिए । ०७३ सालमा चिनियाँ राष्ट्रपति पिङको नेपाल आगमन निश्चित भएपछि प्रचण्डले आफ्नो साथ छोडेको स्मरण गर्दै ओली प्रचण्डलाई पार्टीमा नभित्र्याएसम्म चीन भ्रमणमा जान पनि सशङ्कित रहेको बुझिन्थ्यो ।

ओली अहिले नै पार्टीका अध्यक्ष र प्रधानमन्त्री रहेको, तर आफू ‘उधारो’मा सहमति गर्न बाध्य हुनुपरेकोले प्रचण्ड तत्काल एकता गरिहाल्न तयार नभएको ठहर उनका निकटवर्तीहरूले गरेका थिए । प्रचण्डमा आफ्नै समूहभित्रबाट पार्टी एकीकरण नगर्न दबाब पैदा होस् भन्ने चाहना एकातिर देखिन्थ्यो भने अर्कोतर्फ महाधिवेशनपछि अध्यक्ष बनाइने ग्यारेन्टी भए पार्टी एकीकरण गर्नुपर्छ भन्ने सोच पनि उनमा थियो । अचानक गर्नुपरेको एकताले प्रचण्डमा हार्दिक प्रसन्नता पैदा गरेको मानिँदैन र उनको मुहारमा समेत आशङ्का र भय छचल्किरहेको महसुस जानकारहरूले गरेका छन् ।

अर्कोतर्फ केपी ओली भने प्रचण्डलाई एउटै पार्टीमा नसमेटेसम्म आफ्नो नेतृत्वको सरकार चिरायु हुन नसक्ने ठान्दथे र, तत्काल प्रचण्डलाई ‘जे दिएर भए पनि’ पार्टी एकीकरण गरिहाल्ने मानसिकता उनले बनाएका थिए । २०७३ सालमा चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल आगमन निश्चित भएपछि प्रचण्डले आफ्नो साथ छोडेको स्मरण गर्दै ओली प्रचण्डलाई पार्टीमा नभित्र्याएसम्म चीन भ्रमणमा जान पनि सशङ्कित रहेको बुझिन्थ्यो ।

जेठ ३ गते दुई पार्टी एक भएर नेपाल कम्युनिस्ट पार्टी गठन भएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाने कूटनीतिक प्रक्रिया अघि बढाइएको छ । ओली आगामी असारमा चीन भ्रमणमा जाने भएका छन् । यस प्रकरणले वास्तवमा केपी ओली पार्टी एकीकरण किन चाहन्थे भन्ने स्पष्ट गरेको छ । प्रचण्डका कारण आफ्नो सरकार असुरक्षित रहने स्थिति नभएको भए केपी ओलीको प्राथमिकतामा पार्टी एकीकरण नपर्ने विश्वास ओलीकै निकटवर्तीहरूले प्रकट गरेका छन् ।

केपी ओलीले पछिल्लो समयमा छिमेकी मुलुकहरू भारत र चीनको तुलनामा पश्चिमा केही मुलुकलाई कम महत्व दिने गरेको ठानिन्छ । खासगरी युरोपियन युनियन र ओलीबीचको सम्बन्ध पहिलेको तुलनामा चिसिएको छ । निर्वाचन पर्यवेक्षण प्रतिवेदनमा ईयूले खसआर्यलाई आरक्षण नदिन दिएको सुझावप्रति गम्भीर आपत्ति जनाउँदै त्यसको प्रतिवाद गरेपछि ओली र ईयूबीचको सम्बन्ध चिसिएको हो । युरोपियन युनियन ओलीको सरकार विस्थापित गर्ने हैसियत राख्दैन र, ओलीसँग मधुर सम्बन्ध पुनस्र्थापित हुने विश्वासमा ईयू रहेको पनि ठानिँदैन । यस्तो स्थितिमा ईयूले ओलीलाई निकट निगरानी र नियन्त्रणमा राख्न पनि माओवादी–एमाले एकता अनिवार्य ठानेको बुझिन्छ ।

स्मरणीय छ, प्रचण्डले ईयूको आपत्तिजनक प्रतिवेदनबारे अहिलेसम्म एक शब्द उच्चारण गरेका छैनन् । ईयू र ओलीबीचको सम्बन्धमा चिसोपन बढेका बेला पार्टी एकीकरण गर्न बाध्य भएकोले यो एकताबाट प्रचण्ड हार्दिक रूपले खुसी हुन नसकेको विश्वास विश्लेषकहरूको छ ।

जुनसुकै कारणले भए पनि दुई पार्टीबीच एकता भएको छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणपछि प्रचण्ड र ओलीबीच तनाव पैदा हुन सक्ने सम्भावना देखिएको भए पनि कदाचित अब उक्त पार्टी विभाजित भएमा त्यसबाट सबैभन्दा ठूलो क्षति प्रचण्डलाई पुग्ने ठानिएको छ ।