दलितसँग ‘पूजा’देखि ‘भुजा’सम्म

दलितसँग ‘पूजा’देखि ‘भुजा’सम्म


रमेश विक

नेपाली कांग्रेस गुल्मीको ५०दिने महाअभियानको दोस्रो चरणको कार्यक्रमअन्तर्गत जिल्ला विभिन्न गाउँपालिका तथा नगरपालिकामा वृहत भेला सम्पन्न भएको छ । नेपाली कांग्रेस गुल्मीले आयोजना गरेको यो महाअभियानमा जिल्ला सम्पूर्ण पदाधिकारी तथा जिल्ला प्रतिनिधिहरु समेत खटिएका छन् । यस्तै, यो महाअभियानमा नेपाली कांग्रेसका भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरु समेत खटिएका छन् ।

त्यस्तै हिजो मंगलबार कालिगण्डकी गाउँपालिकाका विभिन्न वडामा वृहत भेला सम्पन्न भएको छ । त्यस्तै आज विहान कालिगण्डकी गाँउपालिका वडा नं. ४ पूर्तिघाटमा विशेष भेला सम्पन्न भएको छ । भेलामा नेपाली कांग्रेस गुल्मीका सचिव खिलध्वज पन्थीको प्रमुख आतिथ्यता, विशेष अतिथि, नेपाली कांग्रेस गुल्मीका सदस्य गोपाल श्रेष्ठ, नेविसंघ गुल्मीका सभापति झविन्द्र पाण्डेयको रहेको थियो ।

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि पन्थीले ५० दिने महाअभियानले दलित पिछाडिएका वर्गको उत्थानका लागि सहयोग पुग्ने बताए । उनले अब परम्परागत रुपमा दलित बस्तिलाई हेरिने हेपा प्रवृत्तिको अन्त्य गरिने बताएका छन् ।

प्रमुख अतिथि पन्थीले जुन समाजमा दलितहरुलाई गरिने व्यवहार छ त्यो व्यवहारको अन्त्य गर्न समेत सम्पूर्णलाई आग्रह गरेका छन् । नेविसंघका गुल्मीका सभापति झविन्द्र पाण्डेले नेपाली कांग्रेसको महाअभियानले जिल्लाका दलित, पिपन्न बस्तिमा पुगेर उनीहरुसँग सहकार्य गरेको बताए ।

भेला सकिएलगत्तै कांग्रेसबाट विजेता वडाध्यक्ष होमबहादुर थापाको घरमा संयुक्त रुपमा त्यस गाँउका दलित साथिहरुसँगै बसेर विहानको खाना खाएका थिए । त्यस्तै सोही गाउँपालिका वडा नं. ३ जयखानीमा पनि विशेष भेला सम्पन्न भएको छ । भेलाको सम्बोधन नेपाली कांग्रेस गुल्मीका सचिव खिलध्वज पन्थीले गरेका थिए ।

जयखानीको कटौनास्थित शिवमन्दिरमा दलित तथा त्यहाँका स्थानीय वासिन्दाले संयुक्त रुपमा पूजा गरेका थिए । त्यहाँ कृष्णकुमारी सार्की, भिमलाल दर्जी, पुर्ण नेपाली, टेकबहादुर विक र देउमाया दर्जीलाई पेशाका आधारमा सम्मान गरिएको थियो ।

भेलामा नेपाली कांग्रेस कालीगण्डकी गाउँपालीकाका वडा सभापतिहरु तथा नेपाली कांग्रेसका सम्पूर्ण भातृ तथा शुभेच्छुक संस्थाका प्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।