चित्रबहादुरले गरे संघीय प्रदेश खारेजीको माग

चित्रबहादुरले गरे संघीय प्रदेश खारेजीको माग


चन्द्रकान्त खनाल, रुपन्देही

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाली जनतासँग छिमेकी भारतले माफी माग्नुपर्ने धारणा अघिसारेका छन् । नेपाललाई दबाबमा पारेर विभिन्न असमान सन्धि–सम्झौता गराएको र बेलाबेला नाकाबन्दी लगाएर पीडा दिएकोले माफी माग्नुपर्ने तर्क उनले गरे । भारतीय जनतासँग आफू र आफ्नो पार्टीको कुनै वैरभाव नभएको तर भारत राज्यले अँगाल्दै आएको गलत नीतिको विरोध गर्नुपरेको उनको तर्क छ ।

बुटवलमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले ठूलो छिमेकीको नाताले भारतले नेपालको हितमा सोच्नुपर्ने धारणा राखे । नेपाल, भुटान, बंगला देश, श्रीलंकालगायत छिमेकी साना देशलाई आफ्नो अनुकुलमा उत्पीडनमा पारेको अभिव्यक्ति दिएका केसीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका क्रममा अभिनन्दन गर्नुको औचित्य नभएको जिकीरसमेत गरे ।

भारतले नेपालको प्राकृतिक श्रोतसाधन, जल, जमिन आफ्नो पक्षमा होल्ड गरेर राख्न चाहेको आफूहरुको बुझाई रहेको उल्लेख गर्दै उनले यसको विरोध राष्ट्रिय जनमोर्चाले गर्दै आएको बताए । संविधान संशोधित हुने विषय भएपनि भारत र केही मधेशवादीले भनैजस्तै गरेर संविधानको २७४ धारा खारेज गरेर संशोधन गर्न नहुने केसीको तर्क छ ।

संघीय प्रदेश खारेज गरेर केन्द्रको अधिकार कटौती गरेर स्थानीय तहलाई बलियो बनाउनु पर्ने सुझाव दिँदै उनले सरकारले सिण्डकेट खारेज गरेर राम्रो काम गरेको भन्दै नेपालमा रहेका १४ वटा सिण्डिकेट खारेज गर्नुपर्ने र त्यसका लागि सरकारले दृढ प्रस्तुति दिनुपर्ने बताए ।