‘मधेसप्रति ओली पूर्वाग्रही रहेको पुष्टि’

‘मधेसप्रति ओली पूर्वाग्रही रहेको पुष्टि’



– प्रणय साह (पर्सा)

मधेसप्रति प्रधानमन्त्री केपी ओली पूर्वाग्रही रहेको पुनः पुष्टि भएको आरोप लगाइएको छ । संघीय समाजवादी फोरम पर्साका जिल्ला अध्यक्ष एवम सांसद प्रदिप यादवले वीरगञ्जमा पत्रकार सम्मेलन आयोजना गरी यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

ओली सरकारले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीको अमेरिका भ्रमणमा पूर्वग्रहवश नै रोक लगाएको उनले दाबी गरे । जिल्ला अध्यक्ष यादवले मुख्यमन्त्रीको अमेरिका भ्रमणमा लगाइएको रोकको निर्णय तत्काल सच्याउन माग गर्दै संघीय समाजवादी फोरम नेपालका नेता तथा मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग्नेहरू मधेसका गद्दार भएको आरोप लगाए । ‘स्थानीय, संघीय र प्रदेशसभाको चुनावमा पर्सा जिल्लाबाट अप्रत्यासित हार ब्येहोरेका दलका नेताहरू पुनः मधेसविरोधी कार्यमा लागेकोले त्यस्ता कुतत्वबाट सावधान रहन’ उनको आग्रह थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक जनकपुर भ्रमण तथा नागरिक अभिनन्दनको क्रममा मुख्यमन्त्री गद्दीले व्यक्त गरेका विचार मधेसी जनताको आवाज तथा माग भएको दाबी गर्दै उनले मुख्यमन्त्रीले आफ्नो पहिलो क्याबिनेट बैठकबाट बन्द उद्योगहरूलाई पुनः संचालनमा ल्याउन पहल गरेकोले आत्तिएर केही कांग्रेसजन मुख्यमन्त्रीविरुद्ध भ्रम श्रृजना गर्न लागिपरेको यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।