गगनले पाँच वर्षमा ५० हजार मतदातालाई काङ्ग्रेसी बनाउने !

गगनले पाँच वर्षमा ५० हजार मतदातालाई काङ्ग्रेसी बनाउने !


चन्द्रकान्त खनाल

नेपाली काङ्ग्रेसका नेता गगन थापाले आगामी निर्वाचनसम्ममा काङ्ग्रेसले १५ लाख मतदाता बढाउनुपर्ने तर्क गर्दै यसबीच आफूले ५० हजार मतदातालाई काङ्ग्रेस बनाउने दाबी गरेका छन् । नेपाली काङ्ग्रेस सैनामैना (रुपन्देही)को नगरसभालाई मुर्गियामा सम्बोधन गर्दै थापाले प्रधानमन्त्री ओलीलाई दुई तिहाईको अहंकार छाडेर जनताको पक्षमा काम गर्न सल्लाह पनि दिएका छन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता हुनु राम्रो, मिलेर जानुस् भन्ने सुझाव दिँदै थापाले भने– ‘तर अहङ्कारले भरिएको यात्रा लामो समय टिक्न सक्दैन ।’

राणा, राजा र माओवादीको बन्दुकसँग लडेको काङ्ग्रेस एमाले र माओवादी मिलेर नेकपा बन्दैमा नआत्तिने उल्लेख गर्दै आफ्नो पार्टीको नेतृत्वमा जारी भएको संविधानको सफल कार्यान्वयन नै आफूहरूको प्राथमिकता भएको बताए । नेता थापाले तत्काल महासमिति बैठक बसेर पार्टीका तल्लो तहसम्म पुनःसंरचना गर्नुपर्ने आवश्यकता पनि औंल्याए ।

कार्यक्रममा राष्ट्रिय सभाका सदस्य तथा काङ्ग्रेस नेता दुर्गाप्रसाद उपाध्याय, प्रदेश नं. ५ का प्रदेशसभा सदस्य फकरुद्दिन खाँ, काङ्ग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक, महासमिति सदस्य युवराज गिरी, काङ्ग्रेस बुटवल उपमहानगर सभापति खेलराज पाण्डे, विष्णु पोखरल, रामवली चौधरी, काङ्ग्रेस सैनामैनाका सभापति रामप्रसाद अधिकारीलगायतले मन्तव्य दिएका थिए ।