एमाले-माओवादी दुवै पार्टीका केन्द्रीय कमिटी विघटन

एमाले-माओवादी दुवै पार्टीका केन्द्रीय कमिटी विघटन


पार्टी एकीकरण गर्न जुटेका एमाले–माओवादीले आ–आफ्ना केन्द्रीय कमिटी विघटन भएको घोषणा गरेका छन् । आजै दिउँसो बसेका दुवै पार्टीका केन्द्रीय बैठकले केन्द्रका कमिटीहरू विघटन भएको घोषणा गरेका हुन् ।

दुवै पार्टीबाट गठित पार्टी एकता संयोजन समितिको बिहान बसेको बैठकले एकताको घोषणा आजै गर्ने अनुमोदन गरेको एमाले उपमहासचिव विष्णु पौडेलले जानकारी दिए । साँझसम्म एकता गर्ने तयारीमा दुवै पार्टी जुटेका छन् । राष्ट्रिय सभागृहमा एकता गर्ने र त्यहीँबाट दुवै पार्टीका नेताहरू सम्मिलित केन्द्रीय कमिटी घोषणा गर्ने तयारी चलिरहेको छ । एकीकृत पार्टीको नाम, झन्डा, चुनाव चिह्न र पार्टी सञ्चालनको हाइकमाण्ड समूहको एकैचोटि घोषणा हुने संयोजन समितिका सदस्यहरूले बताएका छन् ।

एकतापछि ९ सदस्यीय पार्टी सञ्चालन हाइकमाण्ड बन्ने भएको छ । यसको प्रवक्तामा नारायणकाजी श्रेष्ठ रहने स्रोतले जनाएको छ । एमालेका विष्णु पौडेलले हाइकमाण्डको महासचिव पाउने सम्भावना बढेको छ । हाइकमाण्ड टिममा दुवै अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, रामबबहादुर थापा बादल, ईश्वर पोखरेल र विष्णु पौडेल रहने भएका छन् ।