ओली-मोदी मिलनबाट प्रचण्ड दुःखी !

ओली-मोदी मिलनबाट प्रचण्ड दुःखी !


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको भेटघाट र विकसित सुमधुर सम्बन्धका कारण माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमा छटपटाहट बढेको देखिएको छ । दुई देशका प्रधानमन्त्रीबीच भएको भेट र यसक्रममा भएका उपलब्धिहरूबाट ओलीको हौसला र आत्मविश्वास बढेको भए पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने निराश बनेका छन् ।

मोदीसँग ओलीको निकटता बढेको र सहयात्री दलको नाताले आफूहरूसँग कुनै परामर्श या सल्लाह नगरिएको भनेर प्रचण्डले आफूनिकटका केही नेता तथा कार्यकर्तासँग दुःख र असन्तुष्टि प्रकट गरेको स्रोतले जनायो । तर, मोदीको हालै (वैैशाख २८–२९)को नेपाल भ्रमणले नेपालीका लागि निकै ठूलो उपलब्धि हुने सङ्केत देखिएको चौतर्फी प्रतिक्रिया आउन थालेको छ । यो भ्रमणले नेपाल–भारतबीच देखिएको केही तिक्तता मेट्न सकेको छ भने विकास–निर्माणका साझेदारी सम्झौताले नेपाललार्ई फाइदा हुने विश्वास गरिएको छ । मोदीको भ्रमणपछि दुई देशबीचको सम्बन्धमा न्यानोपन बढेको विश्लेषकहरूले बताएका छन् । दुवै देशका प्रधानमन्त्रीबीच आर्थिक विषयमा अझ विश्वासिलो सम्बन्ध बढेको जानिफकारहरूको भनाइ छ ।

मोदीको भ्रमणले अरुण तेस्रो जलविद्युत् आयोजनाको शिल्यान्यास, जनकपुर क्षेत्रको विकासका लागि एक अर्ब रुपैयाँ सहयोग, जनकपुर–अयोध्या सीधा बससेवा शुभारम्भ, रामायण सर्किटको घोषणा गरी जनकपुरलार्ई प्रमुख धार्मिक पर्यटकीय क्षेत्र बनाउने घोषणा, रक्सौल–काठमाडौं रेल सेवाको सर्भे गर्ने, भक्तपुर क्यान्सर अस्पतालमा भाभाट्रोन रेडियोथेरापी उपकरणको सहयोग, महाकाली नदीमा पुल निर्माण गर्ने, नेपालको धार्मिक पर्यटन प्रवद्र्धन गर्ने, नेपालगञ्ज, भैरहवा र विराटनगर क्षेत्रका विमानस्थल क्षेत्रमा भारततर्फको आकाश प्रयोग गर्ने सम्बन्धमा तुरुन्त अध्ययन गर्न प्राविधिकहरूलाई निर्देशन दिनेलगायतका उपलब्धि भएका छन् ।

तथापि, भ्रमणबारे केही पक्षले नकारात्मक टिप्पणी गर्दै आएका छन् । मोदीसँग नेपालको व्यापार घाटाबारे ठोस कुराकानी नभएको, काठमाडौंबाट नगरी जनकपुरबाट भ्रमण गर्दा राम्रो सन्देश नगएको, २ नम्बर प्रदेश र केन्द्रीय सरकारबीच मतभेद बढेको, नेपालको झन्डालाई विकृत बनाएर प्रस्तुत गरिएको, सरकारमा सहभागी भएका माओवादी केन्द्रका मन्त्रीहरूबाटै असन्तुष्टि व्यक्त गरिएकोजस्ता विषयलाई आलोचकहरूले मुद्दा बनाउन खोजेका छन् ।

प्रचण्डनिकट स्रोतका अनुसार मोदीको नेपाल भ्रमणमा एमालेले माओवादीसँग कुनै सल्लाह नगरेकोले गम्भीर खटपट बढेको छ । सरकारमा सहयात्री दल भएर पनि प्रधानमन्त्री ओलीले कुनै परामर्श नगर्दा आफ्नो पार्टीको महत्वलार्ई ओझेलमा पारिएको प्रचण्ड पक्षधरहरूले निष्कर्ष निकालेका छन् । बाह्रबुँदे सम्झौताका पक्षधरहरू मोदीसँग असन्तुष्ट रहेका र संविधान जारी गर्ने क्रममा उत्पन्न विवाद अझै मत्थर नभएकोले प्रचण्ड ओली–मोदी भेटप्रति झनै सशङ्कित देखिएका हुन् । प्रचण्डमा जस्तोसुकै मनोदशा पलाएको भए पनि मोदीको नेपाल भ्रमणलार्ई अपेक्षा गरिएभन्दा ठूलो उपलब्धि भएको विश्वास यतिबेला धेरैले गरेका छन् ।