सरकारी दमनको विरुद्धमा विद्यार्थी सङ्गठनको ‘हस्तक्षेपकारी कार्यक्रम’

सरकारी दमनको विरुद्धमा विद्यार्थी सङ्गठनको ‘हस्तक्षेपकारी कार्यक्रम’


जुझारु विद्यार्थी सङ्गठनहरूले ५४औं विद्यार्थी दिवस राजधानीमा भव्यताका साथ सम्पन्न गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी)को अगुवाईमा क्रान्तिकारी धारका केही अन्य विद्यार्थी सङ्गठनहरू समेतको तदारुकतामा हिजो मंगलबार आयोजित विद्यार्थी दिवसको अवसरमा जुन सङ्ख्यामा विद्यार्थीहरूको उपस्थिति थियो, यसले ओली सरकारलाई अत्यासमा पारेको सम्बद्ध पक्षले दाबी गरेको छ ।

आयोजक अखिल (क्रान्तिकारी) लगायत विद्यार्थी सङ्गठनहरूले ‘हस्तक्षेपकारी कार्यक्रम’को रूपमा मनाएको सो कार्यक्रममा ६–७ हजार भन्दा ज्यादाको उपस्थिति रहेको थियो भने नेकपाका उपल्लो स्तरका नेता नै कार्यक्रममा सहभागी रहेका थिए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवम् जनपरिषद् केन्द्रका प्रमुख सन्तोष बुढा नै प्रमुख अतिथिका रूपमा उपस्थित भई विद्यार्थी दिवसलाई सम्बोधन गरेका थिए । ‘माओवादी जनयुद्ध’को आरम्भकालदेखि नै महत्वपूर्ण भूमिका निर्वाह गरेका सन्तोष बुढाले कार्यक्रममा उपस्थित व्यापक जनमासलाई सम्बोधन गर्दै भने– वर्तमान ‘दलाल संसदीय राज्यसत्ता’बाट शैक्षिक अधिकार सम्भव छैन ।

नेता बुढाले वर्तमान सरकारले चर्को राष्ट्रघात गरेको, नेकपाका नेता–कार्यकर्तामाथि झुठा मुद्दा र दमन चर्काएको, भारतीय सेनालाई नेपाल प्रवेशको माहोल सिर्जना गरिदिएको जस्ता आरोप लगाउँदै त्यसको विरोधमा हस्तक्षेपकारी कार्यक्रमको रूपमा विद्यार्थी दिवस मनाइनु सामयिक विषय बनेको बताए ।

नेकपाका नेता–कार्यकर्ता एवम् समर्थकहरूमाथि सरकारले व्यापक दमन तथा धरपकड चलाइरहेको परिवेशमा परिवर्तनकामी विद्यार्थीहरूको व्यापक उपस्थितिका राजधानीमा आयोजित वृहत एवम् भव्य बन्न कार्यक्रममा नेता सन्तोषले राज्यले निःशुल्क प्रदान गर्नुपर्ने शिक्षालाई वर्तमान शासकहरूले महँगोमा बिक्री गरेर जनताको ढाड भाँचेको तर्क गरे । मौलिक अधिकारको रूपमा रहेको शिक्षालाई शैक्षिक दलालहरूले सर्वसाधारण जनताको हातबाट खोसेर एनजीओ र आईएनजीओलाई बुझाएको तर्क गर्दै उनले भने– ‘वर्तमान दलाल राज्यसत्ता नभत्काएसम्म जनताले निःशुल्क शिक्षा प्राप्त गर्न नसक्ने भएकोले वैज्ञानिक समाजवादी राज्यसत्ता अपरिहार्य छ ।’

उनले उच्च तह, प्राविधिकलगायत सबैखाले शिक्षा निःशुल्क गर्ने व्यवस्था वैज्ञानिक समाजवादमा हुने दाबी गर्दै त्यसनिम्ति नेकपाले एकीकृत जनक्रान्तिको माध्यमबाट वैज्ञानिक समाजवादी राज्यसत्ता स्थापना गर्न संघर्ष चलाइरहेको जानकारी दिए ।

सो कार्यक्रमको अध्यक्षता गरेका अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवी ढकालले निःशुल्क शिक्षाका लागि जस्तोसुकै तहका आन्दोलन गर्न अखिल क्रान्तिकारी हमेसा तयार रहेको बताए । दलाल सरकारको महँगो शिक्षा नमान्ने, जनतालाई निःशुल्क शिक्षा दिलाउन बलिदान दिने ओजपूर्ण अभिव्यक्तिका साथ अध्यक्ष ढकालले चर्को शुल्क लिइरहेका विद्यालयहरू सूचीमा परेका र छिट्टै जनताको साथ लिई कारवाही अगाडि बढाइने खुलासा गरे ।

नयाँ शक्ति विद्यार्थी संगठनका श्यामबाबु गौतम, समाजबादी पार्टीका विवेक राई, अखिल पाँचौँका कपिल पोखरेललगायतका विद्यार्थी नेताहरुले सम्बोधन गरेको सो कार्यक्रममा सन्तोषी भट्टराईले स्वागत भाषण गरेकी थिइन् भने सभा सञ्चालन नरेन्द्र विकले गरेका थिए ।