नेपालविरुद्ध बोल्नेलाई कारवाही

नेपालविरुद्ध बोल्नेलाई कारवाही


भारतीय जनता पार्टीका सांसद कीर्ति आजादलाई पार्टीले स्पष्टिकरण सोधेको छ । हिजो मंगलबार दिउँसो बसेको बीजेपी बैठकले आजादलाई स्पष्टिकरण सोधेको भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेले ट्वीटमार्फत जानकारी दिएका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा कीर्ति आजादले जनकपुरलाई भारतमा गाभ्नुपर्ने सुझाव ट्वीटरमार्फत दिएका थिए । दुई देशबीचको सम्बन्धमै खलल पुग्ने यस्तो गम्भीर अभिव्यक्ति दिएको विषयलाई लिएर नेपालमा तीव्र विरोध भइरहेको छ । आजादलाई भाजपाले कारवाही गर्नुपर्ने माग सबै राजनीतिक दलहरूका साथै आमनागरिक तप्काबाट समेत उठिरहेको छ । भाजपा पार्टी निकटसुत्रका अनुसार आजादलाई निलम्बन गर्ने तयारी हुँदैछ, यसका लागि भाजपाको विदेश विभाग प्रमुखबाट उनलाई स्पष्टिकरण सोधिएको छ ।

मोदीलाई अभिनन्दन गर्ने समारोहमा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले नेपालको सार्वभौमसत्तामा आँच पुग्नेगरी संविधान र नेपाल सरकारको आलोचना गरेर लिखित वक्तब्य सार्वजनिक गरेपछि विरोध शुरु भएको थियो । मुख्यमन्त्री राउतको समर्थनमा भारतीय सांसदले ट्वीट गर्दै जनकपुरलाई भारतमा गाभ्नुपर्ने अत्यन्त विाादास्पद अभिव्यक्ति सार्वजनिक गरेका थिए । राउतको वक्तब्यलाई लिएर नेपालभित्र ठुलो विरोध जारी छ । राउतलाई कारवाही गर्नुपर्ने सत्तापक्षीय र विपक्षी दलहरुले माग उठाएका छन् ।