राष्ट्रवादको ‘स्वाङ’ पार्दै सम्पदा सुम्पेको आरोप

राष्ट्रवादको ‘स्वाङ’ पार्दै सम्पदा सुम्पेको आरोप


नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले नेपालबाट दलाल पुँजीवादी संसदीय व्यवस्थाको अन्त्य भई समाजवाद स्थापना नभएसम्म आफूहरू निरन्तर सङ्घर्षमा लागिरहने उदघोष गरेका छन् । नेकपाद्वारा आह्वान गरिएको वैशाख ३० को नेपाल बन्द ‘सफल’ तुल्याउन सहयोग, समर्थन र सक्रियता दर्शाउनेहरूलाई धन्यवाद ज्ञापन गर्न एक प्रेस विज्ञप्ति जारी गर्दै विप्लवले आफ्नो पार्टी नेपाली जनता र नेपाल राष्ट्रको पूर्ण मूक्ति अभियानमा रहेको दाबी गरेका हुन् ।

२०७२ सालको संविधानको घोषणा र त्यसको कार्यान्वयनको विरुद्ध विभिन्न गतिविधि सञ्चालन गर्दै आएको नेकपाका महासचिव विप्लवले केपी ओली र प्रचण्डले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त सीमित अधिकारमाथि पनि प्रतिबन्ध लगाउन थालेको आरोप लगाएका छन् । उनकै शब्दमा ‘केपी र पीके (खड्गप्रसाद र पुष्पकमल)को गठबन्धन सरकारले आफूलाई राष्ट्रवादी भएको स्वाङ रच्दै ‘पुराना प्रभु’लाई देशको जलश्रोतलगायतका आर्थिक समृद्धिका अमूल्य आधारको रूपमा रहेका प्राकृतिक सम्पदाहरू सुम्पिरहेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा गरिएको अरुण–३ को शिलान्यास, जनकपुरमा भारतीय सेनाको आगमन, मोदीको ‘नागरिक’ अभिनन्दन, नेपाली पत्रकारहरूप्रतिको दुर्व्यवहार र यी सब कुरालाई मूकदर्शक बनेर हेर्ने नेपालका शासकहरूको क्रियाकलापले यहाँ दलाल संसदीय पुँजीवादी शक्तिहरू हदैसम्म लम्पसार परिरहेका प्रष्टिएको विप्लवले दाबी गरेका छन् ।

आफ्नो पार्टीले आह्वान गरेको नेपाल बन्द सफल भएको ठहरसहित उनले वक्तव्यको अन्त्यमा भनेका छन्– ‘यो केपी र पीकेको कथित वाम गठबनधन र उनीहरूले भन्दै आएको समाजवादउन्मुख राज्य व्यवस्थाको भ्रममा नपरी यो सत्ताको समुल नष्ट गरी वैज्ञानिक समाजवाद स्थापना गर्ने अभियानमा सरिक हुन आह्वान गर्दछौँ ।’