सन्तुलित ‘छिमेक-नीति’ व्यवहारमा उतार्ने संकेत

सन्तुलित ‘छिमेक-नीति’ व्यवहारमा उतार्ने संकेत


भारतीय प्रधानमन्त्री मोदी आफ्नो भ्रमण सकेर फर्कने क्रममा आफूले उहाँसँग टेलिफोनमा कुराकानी गरेको र त्यस क्रममा प्रशंसापूर्वक ढंगले भ्रमण सफल भएको बताउँदै मोदीले दुई देशबीचको सम्बन्धलाई समुचित आधारमा अगाडि बढाउने उल्लेख गर्नुभएको प्रधानमन्त्री केपी ओलीले जानकारी दिनुभएको छ ।

राष्ट्रियसभाको आइतबारको बैठकमा भारतीय प्रधानमन्त्रीको भ्रमणबारे जानकारी दिँदै दुई देशबीचको सम्बन्धलाई पारस्परिक लाभ र समानताका आधारमा अघि बढाउने सन्दर्भमा भ्रमण सार्थक भएको उल्लेख गरेका प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण राजकीय भ्रमण दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा उठाउन उपलब्धिमूलक भएको दाबी गर्नुभएको हो ।

‘भ्रमणले उपयुक्त प्रतिफल दिनेमा म विश्वस्त छु, हामी एउटा नयाँ युगमा प्रवेश गरेका छौँ, अब द्विपक्षीय, बहुपक्षीय र सर्वपक्षीय सम्बन्धलाई ध्यानमा राखेर अन्तर्राष्ट्रिय नीति र उत्तरदायित्वलाई समेत आत्मसात् गरी स्थायित्व, विकास र समृद्धिको दिशामा सबै एक भएर अघि बढ्नुपर्छ’, प्रधानमन्त्री ओलीको भनाई छ।

भ्रमणले विगतमा देखिएका असझदारी र नमिल्दा कुरालाई सच्याएर उपयुक्त हिसाबले जान सहमत गराएको उल्लेख गर्दै उहाँले भ्रमणका क्रममा देखापरेको राष्ट्रवाद तथा जनताको सजगतापूर्ण सदभावको सराहना पनि गर्नुभयो ।

प्रधानमन्त्री ओलीका पछिल्ला अभिव्यक्तिले चीन र भारत दुवै छिमेकीलाई विश्वासमा लिई सन्तुलित तवरले अघि बढ्ने नीति अवलम्बन गर्न लागेको संकेत मिलेको राजनीतिक विश्लेषकहरुको धारणा छ ।

मुलुकको समृद्धिसँग जोडिएको काठमाडौँ–रक्सौल रेलमार्ग आगामी पाँच वर्षभित्र भारतीय लगानीमा बन्ने बताउँदै प्रधानमन्त्री ओलीले काठमाडौँ–रक्सौल रेलमार्ग सञ्चालनका लागि संयुक्त कार्यदल बनाएर छिट्टै अध्ययन शुरु गरिने उल्लेख गर्नुभयो ।

दुई देशबीचको असाधारण व्यापार घाटा कम गर्न आगामी तीन महिनाभित्र व्यापार सन्धि पुनरवलोकन गरी भारतीय बजारमा नेपाली उत्पादन निर्यात बढाउन, चिया, अदुवा, जुट, अलैँचीलगायत वस्तुको निर्यात बढाउने सहमति भएको प्रधानमन्त्रीको भनाइ थियो । उहाँले नेपाल प्रवेश गर्ने हवाई मार्ग बढाउन, तराईमा डुबान समस्या समाधान गर्न भ्रमणका क्रममा कुरा उठाएको र त्यसमा भारत सरकार सकारात्मक रहेकाले संयुक्त कार्यदल बनाई काम अघि बढाइने जानकारी दिनुभयो ।

ऊर्जा व्यापारमा रहेको असमझदारी हटाई द्विपक्षीय व्यापार प्रवर्द्धनमा समान नीति बनाउने सहमति भएको छ भन्दै प्रधानमन्त्री ओलीले पञ्चेश्वर परियोजनाको विस्तृत परियोजना प्रतिवेदन सम्पन्न गरी निर्माण प्रक्रिया अघिबढाइने जानकारी दिनुभयो । नेपालले थप बन्दरगाहको प्रयोग गर्ने विषयमा समेत छलफल भएको बताउँदै उहाँले सडक सञ्जालको विस्तार र विकासमा महत्वपूर्ण विचारविमर्श भएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीका पछिल्ला अभिव्यक्तिले चीन र भारत दुवै छिमेकीलाई विश्वासमा लिई सन्तुलित तवरले अघि बढ्ने नीति अवलम्बन गर्न लागेको संकेत मिलेको राजनीतिक विश्लेषकहरुको धारणा छ । ज्ञातव्य छ, प्रधानमन्त्री ओलीले आफू निकट भविष्यमै चीन जाने बताउनुभएको छ ।