निकट भविष्यमै प्रधानमन्त्री चीन जाने

निकट भविष्यमै प्रधानमन्त्री चीन जाने


भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र उपलब्धिबारे प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो धारणा प्रकट गरेका छन् । सार्वजनिक महत्वको विषयमा आज वक्तव्य दिँदै प्रधानमन्त्री ओलीले नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पुगेको बताए । उनले भने, ‘दुई देशबीचको सम्बन्ध पारस्परिक र समान लाभका आधारमा अघि बढाएर लैजाने वातावरण बनेको छ ।’

आफूलाई लम्पसारवादी जस्ता लाञ्छना लगाइएकोप्रति संकेत गर्दै परोक्ष रुपले खण्डनको शैलीमा उनले राष्ट्रहितलाई शिरोधार्य गरी मनमा राखिएको, कहीँ कतै नछोडिएको बताए । उनले देश र जनताको शिर निहुरिन दिने र कमजोर पार्ने काम नभएको स्पष्ट पारे ।

दुई देशबीचको सम्बन्ध बराबरीका आधार हुने तथा आवश्यकता र प्राथमिकताका आधारमा समान व्यवहार हुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अहिलेभन्दा तीन वर्षअघि नेपाल र भारतबीचको सम्बन्ध तनावको अवस्थामा थियो, त्यो स्थितिबाट नाकाबन्दीको स्थितिमा गयो, नाकाबन्दीपछि कम्तीमा आज हामी यो स्थितिमा पुगेका छौँ । हामी छिमेकीसँग राष्ट्रिय लाभका लागि सन्तुलित सम्बन्धका कुरा गर्छौं । हामी दुश्मनी कसैसँग चाहँदैनौँ, मित्रता चाहन्छौँ, कसैसँग शत्रुता, वैरभावको होइन, मित्रताको सम्बन्ध चाहन्छौँ ।’

भारतका प्रधानमन्त्री मोदीको वक्तव्यमा पनि नेपालको सार्वभौमसत्ता र अखण्डताका विषय खुलस्त प्रकट भएको ओलीको जिकीर छ । भारतीय प्रधानमन्त्री मोदीको भ्रमणका बेला भएका छलफल र सहमति दुवै देशको स्वाभिमान र साझा लाभका विषय भएकाले तत्कालै अघि बढाइने बताउँदै उनले भने, ‘ढुक्क भए हुन्छ, सबै सहमति पारदर्शी छन्, कुनै विषयमा तलमाथि भएको छैन, त्यसको जिम्मेवारी म लिन्छु ।’

नेपालका दुवै छिमेकीसँग सम्बन्ध सुमधुर र सुदृढ बनाइने र निकट भविष्यमै आफू चीन भ्रमणमा जाने खुलासा पनि ओलीले गरे ।

राष्ट्रिय हित र स्वाभिमानमा नझुकीकन सन्तुलित र सुमधुर सम्बन्ध बनाइयोस् भन्ने पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेता तथा बुद्धिजीवीप्रति धन्यवाद व्यक्त गर्दै उहाँले त्यसबाट नेपाल र भारतबीचको सम्बन्धलाई समयानुकूल र सुदृढ तुल्याउन योगदान पुगेको विश्वास व्यक्त गरे ।

काठमाडौँ–रक्सौल रेलका लागि भारतकै खर्चमा निर्माणका लागि सर्वेक्षण र जलमार्ग सञ्चालन गर्ने विषयमा कार्यदल बनाएर अघि बढ्ने सहमति भारतसँग भएको जानकारी पनि प्रधानमन्त्री ओलीले दिए ।

थप चार स्थानबाट हवाई मार्ग प्राप्त गर्ने, सीमा क्षेत्रका बाँधका नाममा बनाइएको सडकका कारण हुँदै आएको डुबान रोक्न संयुक्त कार्यदल बनाएर काम गर्ने विषय पनि भारतीय प्रधानमन्त्रीको भ्रमणका क्रममा सहमति भएको उनको भनाई छ ।

तस्बिर रासस