भारतबाट धपाइएपछि नेपालमा प्रवेश

भारतबाट धपाइएपछि नेपालमा प्रवेश


othernewsधर्मनिरपेक्ष छिमेकी मित्रराष्ट्र भारतले बस्न नदिएपछि इसाईहरूको बहुचर्चित सहयोगी संस्था ‘डेनिस चर्च एड’ले आफ्नो क्षेत्रीय कार्यालय नेपालमा सारेको छ । सन् असीको दशकदेखि भारतका विभिन्न राज्यमा फैलिएर सहयोग गर्दै आएको डेनिस चर्च एडले नयाँदिल्लीस्थित क्षेत्रीय कार्यालयबाट नेपाल र बंगलादेशसमेत हेर्दै आएको थियो । सन् २०१२ मा भारत सरकारले ‘अब हामीलाई तपाईंहरूको सहयोग पुग्यो, तपाईंहरूले उठाउँदै आएको मुद्दामा काम गर्न भारत सरकार र यहाँका जनता आफैँ सक्षम छन्’ भनेर धन्यवादसहितको पत्र दिएपछि यो संस्थाले आफ्नो मुकाम काठमाडौंलाई बनाउने निर्णय गरेको हो । काठमाडौंमै रहेर बंगलादेश पनि हेर्ने गरी क्षेत्रीय कार्यालयको व्यवस्थापन कार्य अहिले जोडतोडले भइरहेको छ । भारतका उडिसा, राजस्थान, पश्चिमबंगाल, बिहार, असाम, तमिलनाडु र आन्ध्र प्रदेशमा डेनिस चर्च एड कार्यरत थियो ।
गरिब र सीमान्तकृतहरूका बीचमा काम गर्ने उद्देश्य राखेको यो ‘अन्तर्राष्ट्रिय’ संस्थाले दैवी प्रकोप र खाद्य सुरक्षालाई मुख्य कार्यक्षेत्र बनाए पनि नेपालमा भने सुरक्षित वैदेशिक रोजगारलाई पनि आफ्नो कार्यक्षेत्र बनाएको छ । नेपालमा खर्च गर्न यो वर्ष (सन् २०१३) मा ६ महिनाका लागि १९ लाख ५० हजार युरो अर्थात् नेपाली रुपैयाँ २२ करोड ६२ लाख ३० हजार छुट्याइएको छ । उक्त रकमबाट १० लाख २० हजार मानिसले प्रत्यक्ष फाइदा पाउने संस्थाको वेबसाइटमा उल्लेख गरिएको छ । नेपालमा मिडियाको बिशेषगरी एफएम रेडियोहरूको तीव्र विकास गर्न र ती एफएमहरूमा कार्यक्रम विस्तार गर्नमा इसाईहरूको ठूलो भूमिका छ । राजधानी र जिल्लाका विभिन्न एफएमहरूमा क्रिश्चियनहरूको सहयोग रहँदै आएको छ । रेडियो नेपालमा समेत कार्यक्रममार्फत उनीहरूले दह्रो उपस्थिति जनाउँदै आएका छन् । असाक्षरहरूलाई समेत प्रभावित बनाउन सहज हुने भएकोले इसाईहरूले धर्म प्रचारका निम्ति एफएमलाई लक्षित गरेका हुन् । अहिले वैदेशिक रोजगारी घरघरको कहानी बनेको छ । यसले निम्त्याएका सुखद, दु:खद दुवै कुरामा खेल्न सजिलो हुने भएकोले वैदेशिक रोजगारीको आडमा धर्म प्रचार गर्नु क्रिश्चियनहरूले उपयुक्त ठानेका छन् । डेनिस चर्च एडले नेपालमा काम गर्ने क्षेत्रमध्येको एउटा वैदेशिक रोजगारी भनी उल्लेख गरेको छ जुन कुरा भारत र बंगलादेशमा गरिएका वा गरिने कार्यक्रममा समावेश छैन ।
नेपालमा गणतन्त्र आएर मुलुकलाई धर्मनिरपेक्ष घोषणा गरेयता सात हजार पाँच सय चर्चको स्थापना भइसकेको छ । विभिन्न दुर्गम जिल्लादेखि लिएर शहर हुँदै सीमा क्षेत्रहरूमा समेत चर्च बनेका छन् । हिमाली क्षेत्रहरूमा गुम्बाभन्दा चर्चको सङ्ख्या बढ्दै गएको छ । २०६८ को जनगणनामा बुद्धिष्ट धर्मावलम्बीहरूको सङ्ख्या दुई प्रतिशत कम हुनुमा क्रिश्चियन धर्मको प्रभाव बढ्नु नै एक मात्र कारण रहेको मानिन्छ । नेपालमा जनजाति र दलित वर्गलाई क्रिश्चियनहरूले विशेष लक्षित गर्ने गरेका छन् । भारतलगायतका मुलुकले प्रवेश निषेध गर्न थालेपछि नेपाल अहिले यसप्रकारका संस्थाहरूका लागि स्वर्गझैं बनेको छ । डेनिस चर्च एडको विशेष आगमनपछि नेपालमा इसाईकरणको प्रक्रिया तीव्र हुने विश्वास गरिएको छ । धर्मनिरपेक्ष भारतमा अटाउन नसकेको संस्थाले नेपालमा सहज प्रवेश पाउनुले नेपाली राजनीतिक नेतृत्व तथा निजामती सेवाको उच्च तहमा उनीहरूले बलियो पकड जमाइसकेको सङ्केत गरेको छ ।

राजधानीका तीन स्थानमा धेरै अपराध
राजधानीलगायत नेपालका प्रमुख शहरहरूमा आपराधिक घटना बढ्दै गएको देखिए पनि गत वर्षको तुलनामा अपराधका घटनामा कमी आएको नेपाल प्रहरीले दाबी गरेको छ । आपराधिक कार्यलाई नियन्त्रणमा लिएर शान्ति सुरक्षा कायम गराउने कार्यमा प्रहरीले उल्लेख्य सफलता हासिल गरेको नेपाल प्रहरीले दाबी गर्दै आएको छ ।
राजधानीको बौद्ध, जोरपाटी, कपन, चाबहिल, बालाजु, वनस्थली, बसुन्धरा, सामाखुसी, स्वयभू, ललितपुरका ग्वार्कोलगायतका क्षेत्र आपराधिक गतिविधि ज्यादा हुने ठाउँँको रूपमा चिनिन्छन् । प्रहरीको रेकर्डअनुसार ती क्षेत्रमा आपराधिक कार्यहरू नभएको दिन हुँदैन त्यसैले नेपाल प्रहरीद्वारा ती क्षेत्रको सुरक्षा–व्यवस्था कडा पारिएको छ । प्रहरीले ती क्षेत्रहरूको सुरक्षा–व्यवस्था मजबुत बनाए पनि बौद्ध आसपासका क्षेत्र, ठमेल र स्वयम्भू आसपासका क्षेत्र तथा चक्रपथबाहिरका विभिन्न नयाँ बस्तीलाई बढी आपराधिक घटना हुने स्थानका रूपमा चित्रण गरी सुरक्षा–व्यवस्था निकै कडा तुल्याएको छ ।
प्रहरीले बढी आपराधिक घटना हुने भनिएका स्थानहरूमध्ये ठमेलमा क्रिश्चियनहरूको बाहुल्य रहेको छ । त्यस्तै, बौद्ध र स्वयम्भूमा बुद्धिष्टहरूको बाहुल्य छ । शान्तिका अग्रदूत गौतम बुद्धको छायामा बढी आपराधिक कार्य हुने प्रहरीको रेकर्डले उल्लेख गर्छ । प्रहरीका अनुसार यी स्थानमा आपराधिक कार्यका योजना बन्ने गरेको र त्यहीँबाट परिचालन हुने गरेको पाइन्छ । त्यस्तै, चक्रपथबाहिरका नयाँँ बस्तीहरूमा पनि पछिल्लो समय अपराधका घटना हुने गरेका छन् । ती क्षेत्रमा बलात्कार, चोरी, लुटपाटजस्ता घटना हुने गरेका छन् । प्रहरीका अनुसार बलात्कारका घटना अहिले निकै बढेको छ । कतिपय बलात्कारका घटना सार्वजनिक नगरी गोप्य रूपमै कानुनी कारबाही अघि बढाउनेसमेत गरिएको छ ।
नेपाल प्रहरीका प्रवक्ता केशव अधिकारीले प्रहरीले बौद्ध, ठमेल तथा स्वयम्भूलाई आपराधिक घटना हुने क्षेत्रमा राखे पनि प्रतिशतका अधारमा अन्य स्थानमा अपराधका घटना हुने गरेको जानकारी दिए । उनले हत्या तथा महिला हिंसाका घटना यस वर्ष बढी देखिएको जानकारी गराउँँदै ती घटनामा संलग्नलाई नियन्त्रण गर्न प्रहरी सफल भएको बताए । अपराध गरेर लुक्न सजिलो हुने स्थानमा बढी आपराधिक घटना भएको भन्दै प्रवक्ता अधिकारीले थपे, ‘सुकुम्बासी बस्ती तथा उपत्यकाबाहिरका झोर क्षेत्रमा पनि अपराधका घटना भएको देखिन्छ ।’
प्रवक्ता अधिकारीले तराईमा हुने हिंसात्मक घटना गत वर्षका तुलनामा निकै कम भएकाले पनि अघिल्लो वर्षका तुलनामा अपराधका घटनामा कमी आएको जानकारी दिए । उनले भने, ‘तर, अझै पूर्णरूपमा आपराधिक कार्यलाई नियन्त्रण गर्न सकिएको छैन, त्यसमा प्रहरी प्रयासरत छ ।’
‘चोरको हजार दाउ’ भनेजस्तो जस्तोसुकै कडा सुरक्षा–व्यवस्था गरे पनि कतै न कतैबाट अपराधका घटना हुने गरेको नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाका एसएसपी विजयलाल कायस्थ बताउँछन् । राजधानीबाहिरका धेरै शहरमा राजधानीमै बनेका योजनाअनुसार हत्या, अपहरण, चोरी, लुटपाट, हत्या, ठगीजस्ता घटना हुने गरेका पाइएको उनको भनाइ छ । उनले भने, ‘पहिलेका तुलनामा अहिले आपराधिक घटना निकै कम भएको देखिन्छ, यो नेपाल प्रहरीको सफलता हो ।’
कायस्थका अनुसार शहरको भित्री भागमा भन्दा पनि चक्रपथबाहिर बन्दै गरेका नयाँ शहरहरूमा चोरीलगायतका घटना हुने गरेका छन् । यी क्षेत्रमा बलात्कार, हत्या, लुटपाटजस्ता घटना हुने गरेका पाइएको कायस्थको भनाइ थियो । ती घटनाका योजना बौद्ध, ठमेल, स्वयम्भूजस्ता स्थानमा बन्ने गरेको देखिन्छ भने राजधानीका सुकुम्बासी बस्तीहरूमा आपराधिक कार्यमा संलग्न रहेका व्यक्ति लुक्ने गरेको र साना अपराधका घटना ती क्षेत्रमा हुने गरेको छ । ‘कुनै एक क्षेत्रमा नभई उपत्यकाका धेरै स्थानमा एकै प्रकृतिका घटना भइरहेका देखिन्छन्,’ कायस्थले घटना र विचारसँग भने, ‘त्यसैले नेपाल प्रहरीले शहरका सबै क्षेत्रलाई उत्तिकै संवेदनशील ठान्दै उच्चसुरक्षा सतर्कता अपनाइरहेको छ ।’
प्रहरीका अनुसार पछिल्लोपटक राजनीतिक नेतृत्वको आश्रयमा अपराध तथा ठगीका घटना बढी हुने गरेका छन् । ती घटनामा संलग्न भएकालाई ठूला दलका नेताहरूले संरक्षण दिएकाले धेरै अपराधी सजिलै उम्किरहेको प्रहरी अधिकारीको भनाइ छ । नेपाल प्रहरी सुरक्षा महाशाखाका एक प्रहरी नायव उपरीक्षकले भने, ‘आपराधिक कार्यमा संलग्न रहेको भन्दै प्रहरीमा उजुरी आएको तथा अपराध गरेको पुष्टि हुँदा पनि धेरै अपराधी उम्किरहेका छन् ।’ त्यसरी उम्केका आपराधिक मानसिकताका व्यक्तिले नै पुन: अपराधजन्य काम गर्ने गरेको देखिन्छ ।’
त्यस्तै राजधानीबाहिर भने आपराधिक घटनामा केही कमी आएको देखिए पनि पूर्वीतराईका जिल्लाहरूमा साना हतियारका बलमा आपराधिक कार्य हुने गरेको प्रहरीको रेकर्डमा उल्लेख छ । त्यस्तै, पश्चिम तराईमा भने चेलिबेटी बेचबिखनका घटनाले बढी प्रश्रय पाएको देखिन्छ । प्रहरीका अनुसार अपराधीको निशानामा उद्योगी–व्यवसायी देखिएका छन् । उद्योगीहरूलाई अपहरण गरी उनीहरूबाट रकम असुल्ने काम भइरहेका छन् ।

यसरी तलब खान्छन् तीन सय कर्मचारी
माओवादीको हिंसात्मक युद्वसँगै भित्रिएकँे धम्क्याएर र तर्साएर आफ्नो काम पट्याउने तथा काम नगरी मासिक तलब बुझ्ने कार्य देशको ‘सांस्कृतिक पहिचान’जस्तै बन्न पुगेको देखिन्छ । हिंसात्मक युद्धबाट शान्तिप्रक्रियामा आएसँगै माओवादीले विस्तार गरेको यसखाले संस्कारले मुलुकको हरेक क्षेत्रलाई नराम्ररी सताएको छ ।
बढ्दो राजनीतिक कारणसँगै मौलाउँँदै गएको धम्की संस्कारले अहिले गैरसरकारीभन्दा सरकारी क्षेत्रलाई बढी सताएको छ । स्थायी सरकार सञ्चालकका रूपमा समेत चिनिने निजामती कर्मचारीतन्त्रमा विभिन्न ठूला दलनिकट सङ्गठनका नेताहरूले कामै नगरी मासिक तलब बुझ्ने संस्कार विकास गर्दै लगेका छन् । उनीहरूले ‘काम गरेर होइन लुटेर खाउँ भन्ने’ संस्कार बसालेकाले अन्य साना दलहरूले पनि कर्मचारी सङ्गठन खोली आफ्नो हिस्सा खोज्न थालेका छन् ।
निजामती कर्मचारीमा मुलुकमा भए जति राजनीतिक दलबराबरजस्तै सङ्ख्यामा कर्मचारी सङ्गठन खोलिएका छन् । तर, एमाओवादी, एमाले, काङ्ग्रेस, मधेसकेन्द्रित दल तथा जनजातिनिकट कर्मचारीहरूले खोलेका सङ्गठनहरूको हालिमुहाली बढी देखिएको छ कर्मचारीतन्त्रमा । उनीहरूले विभिन्न फोरम खोली आफूलाई राष्ट्रसेवकका रूपमा परिचय गराउने गरे पनि काम गरेरभन्दा थर्काएर तलब सुविधा खानुमा विश्वास गर्ने गरेको पाइन्छ । उनीहरूले नै धम्क्याएका भरमा मासिक तलब बुझ्ने गरेका छन् ।
सामान्य प्रशासन मन्त्रालयका अनुसार सङ्गठनमा लागेकै भरमा कामै नगरी मासिक तलब बुझ्ने कर्मचारीको सङ्ख्या तीन सयभन्दा बढी छ । यसमा एमाओवादी, एमाले, काङ्ग्रेस तथा मधेसी दलनिकट सङ्गठनका कर्मचारी रहेका छन् । उनीहरूले सामान्यलगायत विभिन्न मन्त्रालय विभागबाट तलब बुझ्ने गरेका छन् । सामान्य प्रशासन मन्त्रालयका अनुसार उनीहरूले काम नगरी मासिक तलब मात्र बुझेका छैनन् कार्यालयका प्रमुखहरूलाई थर्काई आफूनिकट अन्य कर्मचारीलाई आर्थिक कारोबार बढी हुने स्थानमा सरुवा–बढुवा गर्न पनि लगाउँछन् ।
सामान्य प्रशासन मन्त्रालयका अनुसार कर्मचारी सङ्गठनका नेताहरू रुक्म लामिछाने, भोलानाथ पोखरेल, पवित्रा तिमिल्सिना, प्रवासप्रसाद शाह, यमनाथ पोखरेल, वेचनकुमार महतो, विनोदकुमार सिंह, रिता यादव, विश्वनाथ प्याकुरेल, नवराज जोशी, अम्बिका धमला, मधुसुधन शर्मा अधिकारी, मोहनकुमार घिमिरे, राधिका ढकाल, मनमोहन स्वाँरलगातय चालीसभन्दा बढी कर्मचारीले त सामान्य प्रशासनबाटै मासिक तलब बुझ्छन् । उनीहरूले मन्त्रालयमा हाजिरसमेत गर्दैनन् । त्यसैगरी वन मन्त्रालयबाट मात्र दशभन्दा बढी कर्मचारी नेताले कामै नगरी मासिक तलब बुझ्ने गरेका छन् । उनीहरूले पनि दैनिक हाजिर नै नगरी तलब बुझ्ने गरेको वन मन्त्रालयका एक लेखा अधिकृतले बताए । ती अधिकृतका अनुसार मन्त्रालयमातहत विभिन्न विभागमा पनि कर्मचारी सङ्गठनमा आबद्ध दर्जनौँ कर्मचारीले कामै नगरी तलब बुझ्ने गरेका छन् ।
उनीहरूले सरकारले नै आफूहरूलाई सो सुविधा दिएकाले तलब बुझेको एमाओवादीनिकट कर्मचारी सङ्गठनका नेता यमनाथ पोखरेलले जानकारी दिए । पोखरेलका अनुसार माओवादीनिकट कर्मचारी सङ्गठनका पन्ध्रभन्दा बढी नेताले नियमित कार्यालय नगए पनि तलब बुझ्ने गरेका छन् । उनका अनुसार माओवादीनिकट कर्मचारी सङ्गठन मात्र होइन सरकारबाट आधिकारिता प्राप्त विभिन्न आठ कर्मचारी सङ्गठनका नेता तथा पदाधिकारीले कामै नगरी मासिक तलब बुझ्ने गरेका छन् । यसैगरी नेकपा–माओवादीनिकट निजामती कर्मचारी सङ्गठनका रुक्म लामिछानेले पनि सरकारी सुविधाअनुसार नै आफूहरूले नियमित तलब बुझेको जानकारी दिए । उनले भने, ‘सङ्गठनमा लागेका पदाधिकारीलाई सरकारले दिएको सुविधाअनुसार हामीले तलब बुझेका हौँ ।’
सामान्य प्रशासन मन्त्रालय कर्मचारी प्रशासन महाशाखाका अनुसार नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र, नेपाल मधेसी निजामती कर्मचारी मञ्च, नेपाल निजामती कर्मचारी सङ्घ, राष्ट्र सेवक कर्मचारी सङ्गठन, अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक सङ्घमा आबद्ध कर्मचारी नेताले कामै नगरी तलब बुझ्ने गरेका छन् । यसैगरी ती सङ्गठनका विभिन्न जिल्लास्तरीय नेताहरूले पनि कामै नगरी तलब बुझ्ने गरेका छन् । उनीहरूले सङ्गठनका अनावश्यक माग राखी कार्यालयप्रमुखलाई धम्क्याएकै भरमा जागिर खाँदै आएका छन् । ‘कर्मचारीतन्त्रमा राजनीतीकरण हुँदै गएको र काम गरेरभन्दा ठगेर खाने जमात बढ्दै गएको छ,’ पूर्वसचिव उमेश मैनाली बताउँछन् । ‘सामान्य विषयलाई पनि राजनीतीकरण गरी अतिरञ्जित बनाउने गरिन्छ,’ उनी भन्छन्, ‘यसमा कर्मचारीभन्दा राजनीतिक दलका नेताको बढी भूमिका रहेको देखिन्छ ।’ ‘कर्मचारी सङ्गठनका नेता काम गरेरभन्दा पनि थर्काएको भरमा अन्य कर्मचारीमाथि राजनीतीकरण गरी राष्ट्रसेवाको पेसालाई बद्नाम गराइँदै छ,’ मैनालीले भने ।
मुख्यसचिव लीलामणि पौड्याल पनि कर्मचारीमा भएको राजनीतीकरणले समस्या पारेको बताउँँदै युनियनका केही कर्मचारी नेताहरूका कारण समस्या देखिएको बताउँछन् । उनले ती समस्या समाधान गर्न उच्च तहबाटै पहल भइरहेको बताए । कामै नगरी कर्मचारीले तलब बुझ्ने गरेको भन्नेबारेमा आफूलाई जानकारी नभएको पौड्यालको भनाइ थियो । पूर्वमुख्यसचिव विमलप्रसाद कोइराला कर्मचारीतन्त्रमा कामचोर कर्मचारीको बिगबिगी भएको र त्यसको समाधान गर्न निकै कठिन रहेको बताउँछन् । ‘कर्मचारीतन्त्रमा बढ्दै गएको राजनीतीकरणले जनतामा निजामती प्रशासनप्रतिको विश्वास गुम्दै छ,’ कोइरालाले भने, ‘कर्मचारी सङ्गठनमा लाग्नु भनेको काम नगरी तलब खान पाइन्छ भन्ने सन्देश फैलन थालेको छ ।’

सत्य सावित भयो विहङ्गमराजको भविष्यवाणी
सुविख्यात ज्योतिषी एवम् तान्त्रिक विहङ्गमराज तिमिल्सिनाले गत पुस ११ गते गर्नुभएको भविष्यवाणी ठ्याक्कै मिल्न पुगेको छ । घटना र विचारलाई अन्तर्वार्ता दिँदै तिमिल्सिनाले भन्नुभएको थियो, ‘आगामी माघ ७ गतेभित्र नेपाली काङ्गे्रसका सभापति सुशील कोइराला प्रधानमन्त्री बन्न सक्ने योग परेको छ । माघ ७ गतेसम्म कोइरालाजीको योग राम्रो छ, तर त्यसभित्र उहाँ प्रधानमन्त्री बन्न सक्नुभएन भने योग टरेर जानेछ । त्यस मितिउप्रान्त कोइरालाजीको राम्रो छैन ।’ उहाँले भन्नुभएको थियो, ‘अहिले भइरहेका नेताहरूलाई जनताले विश्वास नगर्ने स्थिति आउँछ, फलत: नयाँ नेतृत्व खोजी हुने देखन्छ । पुरानो ग्रहले अब छोड्छ र नयाँ ग्रहको सुरुवातसँगै नयाँ नेतृत्व आउँदा नेपालका लागि लाभदायक नै हुन्छ ।’
ज्योतिषी तान्त्रिक पण्डित विहङ्गमराजले ०५० सालमा सन्तनेता कृष्णप्रसाद भट्टराईको जन्मकुण्डल अध्ययन गरी उहाँले चुनाव जित्ने र प्रधानमन्त्री बन्ने सम्भावना नरहेको बताउनुभएको थियो । त्यसबेला उहाँलाई काङ्गे्रस नेता बलबहादुर केसीले भैंसेपाटीस्थित भट्टराईको निवासस्थानमा लिएर जानुभएको थियो । तिमिल्सिनाले शेरबहादुर देउवाले जीवनमा तीनपटक सजिलै प्रधानमन्त्री बन्ने र चौथोपटक बडो मुस्किलले प्रधानमन्त्री बन्ने योग रहेको भविष्यवाणी पनि गर्नुभएको थियो । नेपाली सेनाका जर्नेल नेपालभूषण चन्दलाई उहाँको कुण्डली हेरेपछि गत असारमा चन्द प्रधानसेनापति नबन्ने स्पष्ट रूपमा बताइदिनुभएको थियो । त्यसरी प्रधानसेनापति बन्न नसक्ने बताइदिएपछि चन्दले तिमिल्सिनासँगको सम्पर्क र सम्बन्ध नै विच्छेद गर्नुभएको थियो । त्यसअघि (करिब एक दशकअघि) नेपाली सेनाका सहायक रथी दिलीपशमशेर जबरालाई तिमिल्सिनाले तपाईंको जागिर सङ्कटमा पर्दै छ भनी जानकारी दिएका थिए । त्यसको केही महिनापछि नै जबराले पोखरामा एक कार्यक्रममा राजनीतिक दलहरूलाई जथाभावी गाली गरेपछि उनलाई पदमुक्त गरिएको थियो । यसैबीच पण्डित तिमिल्सिनाले काङ्गे्रस नेता रामचन्द्र पौडेल ०७१ सालदेखि ०७४ सम्ममा माथिल्लो ओहोदामा पुग्नसक्ने भविष्यवाणी गर्नुभएको छ । उहाँले खिलराज रेग्मी सरकारप्रमुख भएमा रेग्मीबाट सत्य र न्यायकै पक्षमा काम हुने र राजनीतिक मानिसबाट भन्दा रेग्मीबाट नै देशलाई राम्रो हुने ग्रहगोचर रहेको पनि बताउनुभएको छ । तर, उहाँले जेठमा निर्वाचन हुन भने असम्भव भएको स्पष्ट गर्नुभएको छ । ‘नेपालको राशि–नक्षत्र हेर्दा आगामी जेठ महिना शुभकारक देखिन्न, जेठमा चुनाव हुन ज्योतिषीय दृष्टिले मुस्किल देखिन्छ,’ विहङ्गमराजको भनाइ छ ।

प्रचण्डपुत्र अचानक मस्कोमा
नयाँ पत्नीसहित बेपत्ता भएका एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डपुत्र प्रकाश दाहाल अप्रत्यासित रूपमा मस्कोमा झुल्कँदा उनलाई देख्नेहरू चकित परे । प्रकाश मस्कोस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा मस्कोका चर्चित नेपाली व्यापारी उपेन्द्र महतोका साथ प्रकट भएका थिए । अधिकांश अपरिचितहरूको भीडमा प्रकाश रात्रिभोज अवधिभर उपेन्द्र महतोसँगै घुमिरहेका देखिन्थे । प्राप्त जनाकारीअनुसार प्रकाश केही समयअघिदेखि मस्कोस्थित महतोको ‘महलमा’ बस्दै आएका छन् । उनलाई पिता प्रचण्डले ‘व्यापारिक तालिम’का लागि महतोको जिम्मा लगाएर मस्को पठाएको बुझिन्छ । प्रकाशको चर्तिकलाले निकै विरक्तिएका प्रचण्ड र उनकी पत्नी सीता आफ्नो एक मात्र पुत्र भारतमा यत्तिकै बरालिएर बस्यो भन्दै थप चिन्तित बनेका थिए । उनीहरूको सल्लाहमा पुत्रलाई व्यापरी उपेन्द्र महतोको जिम्मा लगाइएको हो ।
उता मस्कोमा प्रचण्डपुत्र प्रकाशलाई रात्रिभोजमा सहभागी हुनेहरूले देखे पनि प्रकाशसँगै बेपत्ता भएकी विना मगर भने देखापरेकी थिइनन् । उनी प्रकाशसँगै छिन् या अन्यत्र कतै भन्नेबारेमा कुनै जानकारी छैन । यसअघि उनीहरू दुवैजना भारतमा बस्दै आएका थिए ।

एमाले युवा महाधिवेशनमा महेश, नीरज र झपटबीच भिडन्त
नेकपा एमालेको सबैभन्दा प्रभावशाली एवम् सशक्त भ्रातृ सङ्गठन मानिने युवा सङ्घ नेपालको आठौँ राष्ट्रिय महाधिवेशनको मिति जति नजिकिँदै छ त्यति एमालेका नेताहरूमा छटपटी बढेको देखिएको छ । प्रभावशाली सङ्गठन पकडमा पार्न सकिएमा पार्टी महाधिवेशनमा समेत आफ्नो स्थिति बलियो हुने ठानेर एमालेका नेताहरू युवा सङ्घको नेतृत्व आफ्नो पोल्टामा पार्नका लागि ज्यान फालेर लागेको बुझिएको छ । युवा सङ्घलाई चर्चाको शिखरमा पु¥याएको र मजबुत सङ्गठन बनाएको भन्ने निष्कर्षसहित एमालेका केही केन्द्रीय सदस्यले महेश बस्नेतलाई नै अर्को एक कार्यकाल अध्यक्ष बनाउनुपर्ने धारणा राखेका छन् भने भीम रावलले झपट रावललाई र सुरेन्द्र पाण्डेले नीरज आचार्यलाई अध्यक्ष बनाउनुपर्ने अडान राख्दै आएको बुझिएको छ । युवा सङ्घको नेतृत्व लिनका लागि चारजना युवा नेताले उम्मेदवारी घोषणा गरिसकेका छन् । केपी ओलीका विश्वासपात्र भनेरसमेत चिनिएका महेश बस्नेत, माधव नेपालका विश्वासपात्र भनिने झपट रावल, अध्यक्ष झलनाथ खनालका विश्वासपात्र भनिने नीरज आचार्य र हिरा केसीले उम्मेदवारी घोषणा गरिसकेका छन् । तीनजना युवा नेतालाई एक–अर्काको विरोधमा उचालेर बीचबाट छिर्के हान्ने दाउमा रहेका हिरा केसीले पनि भित्रभित्रै नेताहरूलाई आफूतिर आकर्षित गरिरहेको बताइन्छ । वर्तमान अध्यक्ष महेश बस्नेतले एमाओवादीको सामाजिक फाँसीवादका विरुद्ध सङ्घर्षलाई अझ बलियो बनाउनका लागि थप एक कार्यकाल नेतृत्व लिने इच्छा जाहेर गरेका छन् । सुरुका दिनमा नेतृत्व नलिने सोच बनाएका बस्नेतलाई पार्टीका जिम्मेवार नेताहरूले आगामी संविधानसभाको निर्वाचनमा वाईसीएलको आतङ्कलाई प्रतिवाद गर्नका लागि उनकै नेतृत्व आवश्यक रहेको बताएपछि बस्नेतले उम्मेदवारी घोषणा गरेको बताइन्छ । अध्यक्ष पदका अर्का दाबेदार रावलले युवाको हकहित र आत्मसम्मान बढ्नुको सट्टा अहिले सङ्गठनमा विकृति, विसङ्गति र अराजकता बढेको, सङ्घलाई राजनीतिक संस्था बनाउने लक्ष्य राखेको बताउँदै आएका छन् । हिरा केसीले पनि महाधिवेशन प्रतिनिधिसँगको संवादमा राष्ट्रिय स्वाधीनता र आर्थिक क्रान्तिको दिशामा सङ्घलाई अग्रसर गराउने बताएका छन् । वर्तमान महासचिव नीरज आचार्यले युवा सङ्घ गैरराजनीतिक चरित्रको झुण्डमा परिणत भएकाले त्यसलाई शुद्धीकरण गरी युवा आन्दोलन र अधिकारलाई स्थापित गराउन आफूले उम्मेदवारी दिएको जनाएका छन् । पार्टीका एकथरी नेताहरूले संविधानसभा निर्वाचनमा युवालाई परिचालन गर्दै वाईसीएलको आतङ्कलाई निस्तेज पार्न महेशकै भूमिका सर्वोत्कृष्ट हुने बताउँदै आएका छन् भने केहीले महेशलाई रोक्नका लागि काँडेतार लगाउने कोसिस गरेको बताइन्छ । महेशलाई नेतृत्वबाट पन्छाउनका लागि झपट रावल र नीरज आचार्यलाई मिलाएर लैजानका लागि गत शनिबार एमाले नेता भीम रावल र सुरेन्द्र पाण्डेले हार्दिक होटलमा गरेको बैठक पनि निरर्थक भएको छ । भीम रावलले झपट रावललाई अध्यक्ष बनाउनुपर्ने अड्डी लिएपछि कुरा नमिलेको बताइन्छ । रावलले नीरजलाई सदस्य बनाउने प्रस्ताव गरेपछि नीरज समूहले त्यस्तो निर्णय भएमा राम्रो नहुने चेतावनी दिएकोले दुई नेताको ‘मिलाउने प्रयास’ बालुवामा पानी हालेसरह भएको हो । एकता बनाउने प्रयासलाई सुरेन्द्र पाण्डेले नमानेका कारण भत्किएपछि रावल महेशतिरै लाग्ने सम्भावना भएको बताइन्छ । शनिबार हार्दिक होटलमा महेशविरुद्ध पत्रकार सम्मेलन गरेका रावलहरू त्यसको भोलिपल्टै भानुभक्त ढकाललाई लिएर एमालेका प्रभावशाली नेता केपी ओलीलाई भेट गर्न उहाँकै निवास पुगेको समाचार स्रोतले बताएको छ । नेता ओलीले वर्तमान राजनीतिक परिस्थितिमा बस्नेतलाई अध्यक्ष बनाउन आग्रह गरेपछि अध्यक्षका उम्मेदवारहरू आफ्नो पद सुरक्षित गर्नेतिर लागेको बताइन्छ ।
बुटवलमा एमाले अध्यक्ष झलनाथ खनालले फागुन ११ गते उद्घाटन गर्ने महाधिवेशनमा सर्वसम्मत बनाउने प्रयास काठमाडौंमै भइरहेको छ । सर्वसम्मत हुन नसकेमा अन्त्यमा बस्नेत र आचार्यबीच भिडन्त हुने र अहिले जतिसुकै बस्नेतविरुद्ध मोर्चाबन्दी गरे पनि रावलले अन्त्यमा बस्नेतलाई सहयोग गर्ने विश्वास गरिएको छ । युवा सङ्घको विधानमा चालीस वर्षपछि उम्मेदवार बन्न नपाउने प्रावधानका कारण बस्नेतको यो अन्तिम कार्यकाल हुनेछ, उनले अर्को निर्वाचन लड्न पाउने छैनन् ।

जाँदाजाँदै गच्छदारको खाने धन्दा
‘कसलाई के धन्दा घरज्वाईलाई खानकै चिन्ता’ भनेझैं सरकार परिवर्तनको गृहकार्यसँगै गृहमन्त्री विजयकुमार गच्छदारले केही उच्च प्रहरी अधिकृतहरूको नगदी प्रलोभनमा परी प्रहरी सङ्गठनलाई दुरगामी असर गर्ने निर्णय गर्न लागेका छन् । प्राप्त जानकारी अनुसार गच्छदारले महानिरिक्षकको कार्यकाल तीनवर्षे बनाउन लागेका छन् भने तीसवर्षे सेवा अवधिलाई हटाएर बत्तिस वर्ष बनाउने तयारी पनि उनले गरेका छन् । हाल आइजीको सेवा निवृत्त हुने उमेर ५८ लाई यथावत राखिए पनि इआई र डिआईजीको अवकाश उमेर ५७, एसएसपीको ५६, एपीको ५५ तथा हवलदार र जवानकोचाहिँ ४८ बाट बढाएर ५० बनाउन खोजिएको छ । प्रहरी कर्मचारी उमेरको हद वा सेवा अवधिले मात्र सेवा निवृत्त हुने व्यवस्था पनि गर्न खोजिएको छ । गच्छदारको प्रस्तावमा आईजीपीको कार्यकाल चार वर्षबाट घटाएर तीन, एआईजीको पाँचबाट घटाएर चार, डिआईजीको पाँचबाट बढाएर छ वर्ष र एसएसपीको छबाट बढाएर सात वर्ष बनाउन प्रस्ताव गरिएको छ । गच्छदारको यो प्रस्ताव पारित भएमा डिआईजीहरू पहिले सेवा निवृत्त हुने र एआईजीहरूचाहिँ पछिसम्म सेवामा रहने अप्राकृतिक अवस्था आउने छ । गच्छदारको यस योजनामा प्रधानमन्त्री डा. बाबुराम भट्टराई समेत सकारात्मक रहनुभएको र उहाँ कुवेरसिंह रानाको कार्यकाल लम्विने कुराबाट ज्यादा आकर्षित हुनुभएको बताइन्छ । तीसवर्षे सेवा अवधिलाई बत्तिस वर्ष कायम गरी महानिरिक्षकको सेवा अवधि दुई वर्ष निर्धारण गरिएमा प्रहरी सङ्गठनमा त्यसको गम्भीर असर पर्ने बुझिएको छ । त्यति मात्र होइन कुवेर रानापछि आइजीपी हुने लाइनमा रहेका डिआईजीपीहरू उपेन्द्रकान्त अर्याल, विज्ञानराज शर्मा, सुरेन्द्रबहादुर शाह र राजेन्द्रसिंह भण्डारीलगायतको ब्याचलाई भने ठूलो अन्याय हुने देखिन्छ । तर एआइजीपीहरू नवराज ढकाल र भिष्म प्रसाईंको ब्याचलाई भने गच्छदारको निर्णयबाट ‘चिठ्ठा पर्ने’ देखिएको छ । प्रहरी संगठनमा पछिल्लो पुस्ताका डिआईजीपीहरू नवराज सिलवाल र प्रकाश अर्याल लगायतलाई योग्य र सक्षम मानिए जस्तै उपेन्द्रकान्त अर्याल, विज्ञानराज शर्मा र राजेन्द्रसिंह भण्डारीलाई पनि कार्यक्षमताका दृष्टिले अब्बल मानिन्छ । यो पुस्ताका अधिकृतहरूले गच्छदारलाई निजी लाभ पु¥याउन नसक्ने केवल देश र प्रहरी सङ्गठनलाई मात्र हित गर्न सक्ने भएकोले एउटा ब्याच नै सिध्याउने खेलमा विजय गच्छदार लागेका छन् । अहिलेसम्म प्रधानमन्त्री बाबुराम भट्टराई र गृहसचिव नविन घिमिरेको अडानले मात्र गच्छदारको इच्छा पूरा हुन सकेको छैन । तथापि गच्छदारले तीसवर्षे सेवा अवधिलाई बत्तिस वर्षे बनाएर चुनाव खर्च उठाउने प्रयास भने छोडिसकेका छैनन् । यस प्रकरणमा आइजीपी कुवेर रानाको भूमिका कमजोर देखिएकोले अधिकाङ्श उच्चप्रहरी अधिकृतहरू चिन्तित बन्न पुगेका छन् ।

फेरि सुरु भयो आन्दोलनको मौसम
पार्टीको सातौँ महाधिवेशनबाट सरकारको नेतृत्व तथा उसले गरेका निर्णयविरुद्ध शहरकेन्द्रित आन्दोलन गर्ने उद्घोष गरेको नेकपा–माओवादीले सोमबारबाट चरणबद्ध विरोधका कार्यक्रम सुरु गरेको छ । शहरकेन्द्रित आन्दोलनलाई सशक्त बनाई सडकबाटै जनतालाई अधिकारसम्पन्न बनाउने उद्देश्यका साथ सुरु गरिएको माओवादीको आन्दोलनलाई मात्रिका यादवले नेतृत्व गरेको नेकपा माओवादी तथा मणि थापाले नेतृत्व गरेको क्रान्तिकारी माओवादी पार्टी, नेकपा एकीकृतलगायतका दलहरूले साथ दिने भएका छन् ।
सशस्त्र द्वन्द्वमा हत्या गरिएका दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्याको अभियोगमा पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाइलाई पहिलो मुद्दा बनाएर आन्दोलन सुरु गरेका माओवादीले बहालवाला प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने निर्णयलाई आन्दोलनको एजेण्डा बनाएका छन् । यी दुई निर्णयविरुद्ध नेकपा माओवादीले मंगलबार नेपाल बन्दसमेत गरे । बन्दका कारण मुलुकभरको जनजीवन प्रभावित बनेको थियो ।
‘आन्दोलनका कार्यक्रम सुरु भएको जानकारी गराउँदै,’ माओवादी प्रवक्ता पम्फा भूसालले भनिन्, ‘पार्टीको आन्दोलनको कार्यक्रम सुरु भयो, अब हामी निरन्तर आन्दोलनमा उत्रनेछौँ ।’ नेपालको हितविपरीत बाबुराम नेतृत्वबाट भएको बिप्पा सम्झौता, ऊर्जासँग सम्बन्धित विभिन्न सम्झौतालगाययका विषयका विरुद्धमा आन्दोलन गरिने जानकारी गराउँदै भुसालले थपिन्, ‘वर्तमान सरकार अन्त्य गरी गोलमेच सम्मेलन वा सबै दलहरूको सहमतिमा नयाँ सरकार बनी नयाँँ संविधान बन्ने सुनिश्चित नभएसम्म आन्दोलनका कार्यक्रम रोकिँदैनन् ।’
उनले आन्दोलन भद्रअवज्ञा, मसालजुलुस, साङ्लेजुलुस, सरकारी कार्यालयहरू घेराउ, विदेशीको इसारामा चल्दै आएका एमाओवादी, एमाले, काङ्ग्रेस तथा मधेसी नेताहरूको भण्डाफोर, प्रमुख शहरका चोकचोकमा विरोधसभाजस्ता कार्यक्रम तय गरिएको जानकारी दिइन् । उनले भनिन्, ‘हामीले एकखाले आन्दोलनका खाका बनाए पनि पार्टीले नेतृत्व गरेको आन्दोलनमा अन्य पार्टीहरूको पनि सहभागिता भएकोले उनीहरूको सहमतिमा बुधबार संयुक्त बैठक बसी आन्दोलनका थप र प्रभावकारी कार्यक्रम सार्वजनिक गरिनेछ ।’ मंगलबारको नेपाल बन्द पूर्णरूपमा सफल भएको र आन्दोलनमा जनताको समर्थन रहेको देखिएकोले पनि आन्दोलनले सफलता प्राप्त गर्ने भुसालको दाबी थियो । ‘अहिले आन्दोलको विकल्प छैन, आन्दोलनबाटै वर्तमान जनताविरोधी सत्ता ढालेर छोडिन्छ,’ उनले भनिन्, ‘सरकार र उसले गरेका आन्दोलनमा हजारौँ सङ्ख्यामा जनताले सहभागिता जनाउनेछन् ।’
नेकपा माओवादीका संयोजक मातृका यादवले पनि प्रमुख दलहरूले देशलाई बन्धक बनाएकोले त्यसविरुद्धको आन्दोलन अनिवार्य भएकोले संयुक्त आन्दोलमा उत्रने निर्णय गरिएको जानकारी दिए । ‘हाम्रो आन्दोलन अनिश्चितकालीन हडताल तथा उपत्यका घेरासम्मको हुनेछ,’ उनले भने, ‘तर, हामी त्यसखाले आन्दोलनमा उत्रनु नपरोस् भन्नेमा छौँ ।’ बाबुराम र प्रचण्डले मुलुकलाई तानाशाही रूपमा जबर्जस्ती चलाउन खोजेको र जनताको पनि समर्थन नरहेकोले त्यसविरुद्ध आन्दोलनको विकल्प नदेखिएको पनि यादवको भनाइ थियो ।

किन गरियो उच्चस्तरीय संयन्त्रको कल्पना
गैरराजनीतिक निकायले सरकारप्रमुखको जिम्मेवारी निर्वाह गर्ने भएपछि राजनीतिक दलका नेताहरू नयाँ परिस्थितिमा आफ्नो भूमिकालाई लिएर चिन्तित बने । यसक्रममा उनीहरूले उच्चस्तरीय राजनीतिक संयन्त्रको परिकल्पना गरे र सोही संयन्त्रको निर्णयबमोजिम नयाँ सरकारप्रमुख चल्नुपर्ने धारणा बनाए । यद्यपि यसप्रकारको संयन्त्रलाई स्वीकार गरेर रेग्मीले सरकारप्रमुखको पद स्वीकार गर्नुहुने सम्भावना देखिन्न । यदि रेग्मीले स्वीकार गर्नुभएमा उच्चस्तरीय राजनीतिक संयन्त्रमा काङ्गे्रस, एमाले, एमाओवादी र मधेसी मोर्चाका प्रमुख नेताहरूका साथै पूर्वप्रधानमन्त्रीहरूलाई पनि समावेश गरिने भएको छ । यो अवधारणाअनुसार संयन्त्रमा ‘निवर्तमान’ प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वप्रधानमन्त्रीहरू सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, शेरबहादुर देउवा र माधवकुमार नेपाल तथा सुशील कोइराला, झलनाथ खनाल, प्रचण्ड र विजयकुमार गच्छदार रहने भएका छन् । संयन्त्रले समन्वयकारी भूमिका निर्वाह गर्दै प्रमुखलाई आवश्यक सुझाव–सल्लाह दिने र पार्टीहरूसँगको समझदारीलाई जीवित राख्ने विश्वास सम्बद्ध पक्षले गरेको छ । संयन्त्रमा सामेल हुने नेताहरूमध्ये प्रचण्ड, झलनाथ खनाल र सुशील कोइरालाको भूमिका अलिक पृथक् प्रकारको हुने ठानिए पनि बाबुराम भट्टराई, सूर्यबहादुर थापा, शेरबहादुर देउवा, माधवकुमार नेपाल, लोकेन्द्रबहादुर चन्द र विजयकुमार गच्छदारको भूमिका समन्वयकारी हुनसक्ने विश्वास गरिएको छ । उक्त संयन्त्रको वैधानिक हैसियत नहुने भएकोले संयन्त्रका सम्पूर्ण निर्णय मान्न सरकारप्रमुख बाध्य नहुने ठानिएको छ । त्यसैले संयन्त्रको परिकल्पना दलहरूले आफ्नो भूमिका जीवित राख्ने उद्देश्यबाट पे्ररित भई गरिएको भए पनि त्यसले भावी सरकारका कामहरूमा दखल पु¥याउने सम्भावना भने ज्यादै कम मात्र देखिएको छ ।

कन्काई नहरको दुरवस्थाले हजारौँ उपभोक्ता पीडित
झापा/ नियमित मर्मत–सम्भार नहुँदा मेची अञ्चलकै ठूलो कन्काई सिँचाइ आयोजनाका उपभोक्ता मर्कामा परेका छन् । कन्काई सिँचाइ आयोजनाबाट सिञ्चित हुँदै आएकामध्ये झापाका सातवटा गाविसका ४० हजार उपभोक्ता विगत तीन वर्षदेखि सिँचाइ सुविधाबाट वञ्चित भएका र नहरको मर्मतसम्भार नहुनुको पीडा झेलिरहेका कन्काई नहर उपभोक्ता समितिका अध्यक्ष सूर्यनारायण ताजपुरियाले बताए ।
ताजपुरियाका अनुसार सिँचाइ नहुँदा कति खेतीयोग्य जमिन बाँझै पनि रहेका छन् । सतासीधाम, शिवगञ्ज पाँचगाछी, माहाभारा, बैगुनधुरा, कोरोबारी र तोपगाछीको सात हजार हेक्टरका ४१ हजार ६ सय २० उपभोक्ता नराम्ररी प्रभावित भएको ताजपुरियाले बताए । उनले भने, ‘सिँचाइ हुँदाका बखत समयमै बाली लगाउन सकिन्थ्यो । प्रतिबिघा ८० मन धान उत्पादन हुन्थ्यो । अहिले सिँचाइ अभावका कारण आधा उत्पादन घटेको छ ।’
कन्काई नहरको हेडबक्सदेखि बैगुनधुरासम्मकै नहरमा धमाधम मर्मतसम्भार र सरसफाइ भइरहेको छ । उपभोक्तले भने नियमित नहर संरक्षणका लागि मर्मतसम्भार भइदिएको भए नहरमा पानि बन्द हुने थिएन । उनीहरूका अनुसार पनि रोकिएका कारण हिउँदे र वर्षे दुवै बालीनालीको उत्पादनमा भारी गिरावट आएको छ । कन्काई नहरको पानीको स्रोत कन्काई नदी हो । नहरमा पानीको प्रवाह पाँच हजार दुई सयदेखि सात दशमलब ७४ क्युमेक्स छ ।
किसानले भने सिँचाइको वैकल्पिक व्यवस्था नगरी एकैचोटि नहरमा पानी नछाड्नुले मध्यझापाका हजारौँ किसानका आम्दानीको स्रोत टुटेको बताए । कन्काईको मूल नहर मात्र ३६ किलोमिटर लामो छ । शाखा ७४ किलोमिटर छ भने प्रशाखा एक सय १० किलोमिटर लामो छ ।

मुहानको अवस्था झन् नाजुक
कन्काई नहर जलउपभोक्ता समितिका अध्यक्ष ताजपुरियाका अनुसार १५ वर्षदेखि हेडबक्स (मुहान) को संरचनाको मर्मतसम्भार हुन सकेको छैन ।
कन्काई सिँचाइ आयोजनाका इन्जिनियर प्रदीप वान्तवाका अनुसार सरकारले नहरको संरचना पुनर्निर्माणका लागि थोरै मात्र बजेट दिनाले हेडबक्सको मर्मत हुन नसकेको हो । मेची अञ्चलकै ठूलो सिँचाइ प्रणालीको मुहानको संरचना दिनानुदिन भत्कन सक्ने अवस्थामा पुगेको छ । इन्जिनियर वान्तवाका अनुसार नदीनालाको पाँच सय मिटरनजिकबाट निर्माण सामग्री निकाल्दाको परिणाम नदी गहिरिएर कन्काई नहरको संरचनामा धक्का पुगेको हो । अहिले नहरको मुहान भएका सबै संरचना जीर्ण बनेका छन् । नदीको बाँध पनि खतरामा छ । वर्षात्का बेला कन्काईमा आएको बाढीले सो संरचनालाई धक्का दिएको हो । मुहानको अवस्था हेर्ने हो भने ढलान गरिएको संरचनामा रड निस्कन थालेका छन् ।
‘नदी पहिलेको भन्दा ३ मिटर गहिरिएको छ’, पूर्वाञ्चल सिँचाइ विकास डिभिजन नम्बर– १ का कार्यालय प्रमुख कुन्दनभक्त श्रेष्ठले मुहानका केही प्लोअरमा समस्या आउन थालेपछि मुहान पनि पुनर्निर्माणको चरणमा आएको बताए । करिब पाँच करोडको पुनर्निर्माण बजेट लाग्न सक्ने सो योजनाका लागि सर्वे हुँदै छ । कन्काई सिँचाइ प्रणालीको गैंडेस्थित कार्यालयका अनुसार आगामी वर्षदेखि हेडबक्सको काम हुन्छ ।
– विष्णु सुब्बा

अर्घाखाँची एमालेको नेतृत्व आचार्यको काँधमा
नेकपा एमाले अर्घाखाँचीको सातौँ जिल्ला अधिवेशन नयाँ नेतृत्व चयनसहित सम्पन्न भएको छ । गत शुक्रबार र शनिबार गरी दुई दिन लगाएर आयोजना गरिएको अधिवेशनमा भएको निर्वाचनको परिणामअनुसार अध्यक्षमा चेतनारायण आचार्य एक सय ७० मत ल्याई विजयी बनेका छन् भने उनका प्रतिद्वन्द्वी रामजीप्रसाद घिमिरेले एक सय ५७ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा जीवनारायण कोइराला, सचिवमा रामबहादुर चौहान र उपसचिवमा प्रेमनारायण गैरे छानिएका छन् । अध्यक्षसहित पूर्ण ४२ र वैकल्पिक १३ जना गरी ५५ जनाको कार्यसमिति चयन गरेको बताइएको छ । महिला कोटामा पुतला खनाल र लक्ष्मी गौतमको बराबरी ९८ मत प्राप्त भएपछि गोलाप्रथाबाट पुतला खनाल छानिएकी छिन् ।
निर्वाचित पदाधिकारीलाई नेकपा एमालेका केन्द्रीय नेता सोमनाथ अधिकारी प्यासीद्वारा शपथ खुवाइएको थियो भने पूर्वअध्यक्ष रामजीप्रसाद घिमिरेले कसैलाई काखा र पाखाको व्यवहार नगर्न नयाँ कार्यसमितिलाई सुझाव दिएका थिए ।

संगीतकार रामकृष्ण्ँलाई बेलायतमा महत्वपूणर््ँ एवार्ड हासिल
धादिङ मलेखुमा जन्मिएर बाल्यकालदेखि नै संगीत सिर्जनामा लागिपरेका र संगीत Ôेत्रमा केही गर्ने उद्देश्यका साथ विगत ६ वर्Èदेखि लण्डन बस्दै आएका रामकृष्ण्ँ त्रिपाठी ‘सामवेद’ले ब्रिटिस टिभी प्रोडक्सनको Ôेत्रमा प्रदान गरिने सर्वोत्कृष्ट अवार्ड ‘फ्रिलान्सर अफ दि इयर–०१२’ हासिल गरेका छन् । बेलायतमा कार्यरत तीनसय बढि टेलिभिजन तथा फिल्मकर्मीहरूको प्रतिष्पर्धामा उनले अन्तिम नोमिनेशनमा परेका अन्य पाँचजनालाई उछिन्दै सो अवार्ड प्राप्त गरेका हुन् ।
विशेÈगरि फिल्म, टेलिभिजन, रेडियो नाटक र कमर्सियल विज्ञापन Ôेत्रमा कार्यरत फ्रिलान्सरहरूमध्ये उत्कृष्ट काम गर्नेलाई सो अवार्ड दिइन्छ । टप गियर, एन इडियट अवोर्ड, द एप्रेनटाइस, द वन्ली वे इज इसेक्स् जस्ता ठूला प्रोजेक्टमा काम गरिसकेका युवा संगीतकार त्रिपाठीले बीबीसी, डिस्कभरी, नेशनल जियोग्राफी, आइटिभी, च्यानल फोरजस्ता माध्यमहरूमा समेत काम गरिसकेका छन् । बेडफोर्डसायर युनिभसिर्टीबाट टेलिभिजन प्रोडक्शनमा तीनवर्Èे बीए अनर्स गरेका उनी हाल बेलायतको नेशनल फिल्म एण्ड टेलिभिजन स्कुलमा डिजिटल पोष्ट प्रोडक्शनमा छात्रवृत्तिमा एमए अध्ययनरत छन् ।

‘खतरामुक्त जिल्ला’मा पटक–पटक किन भेटिँदै छ बम ?
पश्चिम लमजुङको भोर्लेटारमा सोमबार दिउँसो शक्तिशाली बम फेलापरेको छ । भोर्लेटार गाउँ विकास समितिको वडा नं. ६ अर्चले भन्ने स्थानमा आईईडी नामक गिलास आकारको बम फेलापरेको भोर्लेटार इलाका प्रहरी चौकीले जानकारी दिएको छ । माओवादी सशस्त्र युद्धको समय ०५८ सालमा सो क्षेत्रमा तत्कालीन शाही नेपाली सेनाको ब्यारेक बसेको थियो । सो ब्यारेक बस्दा गाडिएको बम फेलापरेको स्थानीयले बताएका छन् । भोर्लेटारबाट दमौली जाने बाटोसँगै झन्डै नौ मिटर पर स्थानीय वेदप्रसाद पौडेलको बारीमा चैते धान लगाउनका लागि खन्ने क्रममा प्रेम विकले बम देखेका थिए । नेपाली सेनाको लमजुङस्थित पशुपतिप्रसाद गणका गणपति डिकबहादुर थापाले खेतमा आईईडी नामक विस्फोटक पदार्थ भेटिएको पुष्टि गरेका छन् ।
भोर्लेटारको सोही क्षेत्रमा योसमेत गरी तीनपटक बम देखिएपछि स्थानीय बासिन्दा आतङ्कित बनेका छन् । सोही स्थानमा गत वर्षको जेठ १० गते दुईवटा र फागुन १७ गते एउटा बम फेलापरेको थियो । दुई वर्षअघि नेपाली सेनाले ब्यारेक छाड्दा संयुक्त राष्ट्रसङ्घीय मिसन अनमिनको रोहवरमा सबै बम हटाएर सेनाको क्याम्प सारिएको भनिए पनि अहिले सोही स्थानमा बम फेलापरेपछि स्थानीय बासिन्दा आतङ्कित बनेका हुन् ।
दुई वर्षअघिदेखि नै नेपाल बारुदी धरापमुक्त (माइन फिल्ड फ्री) घोषणा गरिएको थियो । माओवादीको एक दशक लामो सशस्त्र विद्रोहका क्रममा देशका विभिन्न ५३ स्थानमा रहेका ब्यारेक र अन्य कार्यालयवरिपरि नेपाली सेनाले सुरÔाका लागि बिच्छ्याएका बमहरू हटाइएको भनिए पनि भोर्लेटारमा पुन: बम भेटिएपछि सरकारी घोषणाप्रति शङ्का उत्पन्न भएको स्थानीयवासीले बताएका छन् । गत वर्ष पनि यसैबेला सो स्थानमा पटक–पटक बम विस्फोट हुने गरेको थियो । बम विस्फोटमा परी सेनाहरू घाइते भएका थिए भने एकपटक चर्न गएको बाख्रासमेत मरेको थियो ।
संयुक्त राष्ट्रसङ्घीय मिसन (अनमिन) को माइन एक्सन कमिटी (एमएसी) सँग मिलेर नेपाली सेनाले भोर्लेटार ब्यारेकमा रहेका माइन, बम तथा अन्य धरापहरू हटाएर सो क्षेत्र स्थानीयवासीलाई बुझाएको थियो । तर, पुन: सो क्षेत्रमा शक्तिशाली आईईडी नामक गिलास आकारको बम फेलापरेपछि स्थानीयवासी त्रसित बनेका छन् । द्वन्द्वकालमा सेनाको ब्यारेक रहेको स्थान र अन्य स्थानमा जथाभावी छाडेको बारुदी धराप र बमको खतरा भने अहिले पनि उस्तै रहेकाले सर्वसाधारणहरू चिन्तित बनेका हुन् ।
यसअघि लमजुङको जिल्ला प्रहरी कार्यालय, जिल्ला कारागार, नेपाली सेनाको भिरपुस्तुन पोस्ट र भोर्लेटार सैनिक पोस्टमा राखिएका माइन सेनाको डिस्पोजल टोलीले निष्क्रिय बनाएको दाबीका साथ लमजुङलाई पनि खतरामुक्त जिल्लाको रूपमा घोषणा गरिएको थियो । जिल्लालाई खतरामुक्त घोषणा गरेपछि सेनाले विभिन्न स्थानमा थापिएका बारुदी सुरुङ तथा छरिएका विस्फोटक पदार्थबाट कसरी बच्ने, विस्फोटक पदार्थ भेटिएमा के गर्ने, कहाँ सम्पर्क गर्ने, विस्फोटक पदार्थ कस्ता र कति प्रकारका हुन्छन्, लमजुङ कुन–कुन स्थानमा छरिएको हुन सक्छ भन्ने विषयमा विद्यार्थी र शिक्षकलाई प्रशिक्षणसमेत दिएको थियो ।
– छविलाल बगाले

महानगरको जिम्मा कायस्थलाई
राप्रपा नेपालको काठमाडौं महानगरपालिका समितिको अधिवेशन हालै सम्पन्न भएको छ । अधिवेशनले उमेश कायस्थको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति चयन गरेको छ । अधिवेशनले १५ फागुनमा काठमाडौंको वसन्तपुरमा पार्टीले गर्न लागेको विरोधसभालाई भव्य रूपमा सफल पार्न सक्रिय रूपमा लागिपर्ने निर्णय गरेको राप्रपा नेपालका प्रचार विभाव प्रमुख राजाराम श्रेष्ठले जानकारी दिए ।

बेलायतबासी एनआरएनद्वारा अक्षय कोष स्थापना
परदेशमा रहेका नेपालीबाट आफू जन्मेको ठाउँमा सहयोग गर्ने क्रम बढ्दो छ । यसै क्रममा हाल बेलायत बस्दै आएका शिवजी श्रेष्ठले आफ्नो जन्मभूमि ओखलढुङ्गास्थित जालपा माध्यमिक विद्यालय, गैरीगाउँमा आफ्ना दिवंगत हजुरबुबा प्रजातन्त्र सेनानी सूर्यबहादुर श्रेष्ठ (वि.सं. २००७ सालको क्रान्तिमा राणा सरकारबाट सर्वस्वहरणमा परेका) तथा हजुरआमा श्रीमाया श्रेष्ठको पुण्यस्मृतिमा एक लाख रुपैयाँको ‘सूर्यश्री अक्षय कोष’ स्थापना गर्नुभएको छ । वसन्तपञ्चमीको अवसरमा सोही विद्यालयमा आयोजित एक समारोहमा श्रेष्ठका पिता होमबहादुर श्रेष्ठ तथा माता प्रेमकुमारी श्रेष्ठले संयुक्त रूपमा जिल्ला शिक्षा कार्यालय ओखलढुङ्गाका जिशिअ केदारकुमार गिरीलाई एक लाखको चेक हस्तान्तरण गर्नुभयो । जिशिअ गिरीले सो चेक विद्यालय सञ्चालक समितिका अध्यक्ष फणीन्द्र केसीलाई हस्तान्तरण गर्नुभएको थियो ।
सो अवसरमा बोल्नुहुँदै जिशिअ गिरीले परदेशमा रहे पनि देश र जन्मभूमि सम्झनु पवित्र कार्य रहेको बताउनुभयो भने कोषका संस्थापक होमबहादुर श्रेष्ठले भविष्यका कर्णधार जन्माउने स्थल भएको हुँदा विद्यालयको कोष बढाउँदै लगिने प्रतिबद्धता जनाउनुभयो । विद्यालयका प्रधानाध्यापक रत्न केसीद्वारा सञ्चालित कार्यक्रममा ओखलढुङ्गाका सरकारी वकिल एकराज अधिकारी, श्रेस्तेदार धनबहादुर कार्की, जिल्ला निर्वाचन कार्यालयका प्रमुख, जिल्लास्थित विभिन्न राजनीतिक पार्टीका प्रतिनिधि, दाताका परिवार केन्द्र श्रेष्ठ, शिक्षक, विद्यार्थी तथा स्थानीय अभिभावकको उपस्थिति थियो । कार्यक्रमका बीच दाता दम्पतीको भव्य सम्मान पनि गरिएको थियो ।
ओखलढुङ्गामा जन्मिएर हाल बेलायतको वेल्समा बसोबास गर्दै आउनुभएका शिवजीले यसअघि पनि नेपालका बाढीपीडित, अनाथ बालबालिकाहरूलाई सहयोग प्रदान गर्दै आउनुभएको छ । – हेमराज लम्साल

व्यवसायीकै योजनामा सुनचाँदी व्यवसायीको हत्या प्रयास
अर्घाखाँचीको अडगुडी–१ रिब्दी एक्लेभीरस्थित दहखोलामा सोमबार साँझ सदरमुकाम सन्धिखर्कबाट बुटवलतर्फ जाँदै गरेका सुनचाँदी व्यवसायी ताराबहादुर सुनुवारमाथि गोली प्रहार भएको छ । खन गाविस लुटिपोखरी घर भई हाल सन्धिखर्क सदरमुकाममा सुनचाँदी पसल गर्दै आएका सुनुवार छातीमा लागेको गोलीका कारण गम्भीर घाइते भएका छन् । उनको बुटवल अञ्चल अस्पतालमा उपचार भइरहेको छ । सुनुवारलाई पछिल्तिर राखेर मोटरसाइकल चलाएका सन्धिखर्कका सरिता अडियो–भिडियो सेन्टरका मालिक रुद्रप्रसाद पराजुलीसमेत घटनामा सामान्य घाइते भएका छन् । यसरी दिनदहाडै गोली हानी कानुन हातमा लिने पोखराथोक–५ घर भई कपिलवस्तुको तौलिहवा–३ बस्ने वर्ष २४ को विमल भन्ने लक्ष्मण सुनुवार र उनका साथी तिलौराकोट–४ निवासी २५ वर्षीय राजु आचार्यलाई स्थानीय पाली प्रहरी चौकीले घटनाको दुई घण्टाभित्रै पक्राउ गरेको थियो ।
घटना र विचारको जानकारीमा आएअनुसार घाइते ताराबहादुर सुनुवार र रुद्रप्रसाद पराजुली एउटै घरको अगलबगलमा पसल चलाउने व्यवसायी हुन् । गत सोमवार पराजुलीको लु. ६ प ६७४ नम्बरको पल्सर मोटरसाइकलमा बुटवल जानका लागि सन्धिखर्कबाट उनीहरु हिँडेका थिए । पराजुलीले चलाएको मोटरसाइकलको पछाीड बसी दुवैजना चाक्ला पुगे । तराईतर्फबाट लु. १२ प ८६१३ नम्बरको यामाहा मोटरसाइकलमा आएका लक्ष्मण सुनुवार र राजु आचार्यसँग भेट भयो । उनीहरुबीच पूर्वपरिचय रहेकोले चारैजना चाक्लावाट सन्धिखर्क फर्किने क्रममा नरपानीमा चिया पिई तारा सुनुवारलाई लिएर रुद्रप्रसाद पराजुली अघि बढे । लक्ष्मण सुनुवार राजु आचार्यलाई बोकेर पराजुलीको पछाडि लागेका थिए ।
दहखोला जंगलमा पुगिसकेपछि रुद्र पराजुलीले आफ्नो मोटरसाइकल रोके र मोवाइलमा कुराकानी गरेजस्तो बहाना बनाए । त्यसै क्रममा लक्ष्मण सुनुवारको मोटरसाइकल आइपुग्यो र उनको पछाडि बसेका राजु आचार्यले ताराबहादुर सुनुवारलाई छातीको बायाँभागबाट गोली चलाइयो भने लक्ष्मण सुनुवारले रुद्रको बाइकलाई भीरतर्फ पल्टाइदियो । एक राउन्डबाहेक गोली चल्न सकेन । त्यत्तिकैमा ताराबहादुरका साथी रुद्रले ‘चाँडो मार’ भन्दै चिच्याए तर गोली चल्न सकेन । घाइते ताराबहादुर ज्यान बचाउन भीरतर्फ दौडिए र गोली चलाउने राजु आचार्य लक्ष्मण सुनुवारको साथमा फरार भए । नजिकै मानिसहरु भएको कारण उनीहरुले तुरुन्त प्रहरी नायव उपरीक्षक हिराबहादुर पाण्डेलाई फोन गरी सूचना दिए । हत्याको प्रयास गरिएको खबर पाउना साथ पाण्डेले चारै नाका घेरी पाँच मिनेटभित्र नरपानीका प्रहरी घटना घटेको ठाउँमा पठाए र घाइते ताराबहादुर सुनुवार र रुद्रप्रसाद पराजुलीलाई जिल्ला अस्पताल सन्धिखर्कमा ल्याउन सफल भए । अर्कोतर्फ स्थानीय पाली चौकी घटना घटेको ठीक सवाघन्टामा विमल भनिने लक्ष्मण सुनुवार र राजु आचार्यलाई पक्राउ गर्न सफल भयो ।
गोली प्रहार गरेको ठाउँमा फेलापरेको ब्यागमा लक्ष्मण सुनुवारको लाइसेन्स प्रहरीले भेट्टाएको थियो भने पालीमा दुईजनालाई पक्रने क्रममा २ लाख ३ सय नगद, सुन काट्ने फलामे कैँची, सुन जोख्ने डिजिटल तराजु, रुद्रप्रसाद पराजुलीको जग्गाधनी प्रमाणपत्र, पराजुलीकै नागरिकता अनि नोकिया मोबाइल सेट र एउटा ब्याग प्रहरीले फेलापारेको थियो । मंगलवार बिहान ७ बजे गोली चलेको स्थानमा खोजतलास गर्ने क्रममा मेड इन इटली लेखेको सेतो रङ्गको पेस्तोल, तीन राउन्ड गोली र एक राउन्ड खोका जिल्ला प्रहरी कार्यालय सन्धिखर्कले फेलापारेको कुरा प्रहरी नायव निरीक्षक मोहनकुमार खड्काले जानकारी गराएका छन् । घटना घटेको सवाघन्टाभित्रै अपराधीलाई कब्जामा लिन सफल प्रहरी नायव उपरीक्षक हिराबहादुर पाण्डे र उनको अर्घाखाँची टिमलाई जिल्लावासीहरुले स्यावासी दिएका छन् । दशैँको मुखमा जिल्ला आएका पाण्डेले चाडपर्वहरुमा पनि शान्ति कायम गर्न सफल भएका थिए । – मुक्तिनाथ भुसाल

यातायात मजदुर सङ्घमा प्रधान
दमक/ नेपाली काङ्ग्रेसनिकट नेपाल यातायात मजदुर सङ्घ पूर्वाञ्चल क्षेत्रीय समितिको अध्यक्षमा पूर्णकुमार प्रधान चुनिएका छन् । झापाको दमकमा सम्पन्न दोस्रो क्षेत्रीय अधिवेशनले प्रधानको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा यादवकुमार ओली, सचिवमा गोपालप्रसाद खराल, सहसचिवमा अशोककुमार शाह र कोषाध्यक्षमा विष्णु खत्री चुनिएका छन् । यसैगरी सदस्यहरूमा मनोहरि घिमिरे, गोपाल थापा, मुकेश कुँवर, गणेश भण्डारी, कृष्ण धिमाल र गोपाल श्रेष्ठ चुनिएका छन् । निर्वाचित पदाधिकारीहरूलाई निर्वाचन समितिका आयुक्त सङ्घका पूर्व झापा अध्यक्ष प्रह्लाद श्रेष्ठले शपथग्रहण गराएका थिए । सो अवसरमा नवनिर्वाचित अध्यक्ष प्रधानले पेसागत सुरक्षाका लागि लागिपर्ने बताएका थिए ।

शङ्करको अग्निपरीक्षा
उपन्यासकार शङ्कर भारतीले लेखेको पहिलो उपन्यास लेखेको चालीस वर्षपछि उपन्यासकार भारतीको पाँचाँै कृतिका रूपमा सार्वजनिक भएको छ । शङ्कर भारतीको अग्निपरीक्षालाई नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रकाशित गरेको हो । उपन्यास समाज नेपालको आयोजनामा सोमबार सम्पन्न अन्तरक्रिया कार्यक्रममा समालोचकहरूको दह्रिलो उपस्थिति रहेको थियो ।
उपन्यासकार भारतीको नवीनतम् पुस्तक अग्निपरीक्षामाथि समालोचकहरू रत्नमणि, रजनी ढकाल, डा. रामप्रसाद ज्ञवाली, डा. कुमार कोइराला, डा. रामदयाल राकेश, डा. जीवेन्द्रदेव गिरी तथा वरिष्ठ समालोचक राजेन्द्र सुवेदीले शिष्ट शैलीमा खरो टिप्पणी गरेका थिए । चालीस वर्षपूर्वको परिवेशमा लेखिएको उपन्यास भएका कारण पनि उक्त कृतिमाथि खरो टिप्पणी आएको थियो ।
वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रमको सभापतित्व कवि वियोगी बुढाथोकीले गरेका थिए । श्रीओम श्रेष्ठद्वारा सञ्चालित कार्यक्रममा उपन्यासकार भारतीले उक्त उपन्यास आफू चौध–पन्ध्र वर्षको हुँदा लेखेको बताएका थिए ।