चिनियाँ टोलीलाई प्रचण्डले भने- ‘सम्पूर्ण शक्ति आर्थिक विकासमा’

चिनियाँ टोलीलाई प्रचण्डले भने- ‘सम्पूर्ण शक्ति आर्थिक विकासमा’


नेपाल यात्रामा रहेको चिनियाँ कम्युनिस्ट पार्टी बेइजिङका उपाध्यक्ष लिजी याङ नेतृत्वको टोलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डसँग खुमलटारमा भेट गरेको छ । बुधबार विहान भएको भेटघाटका क्रममा प्रचण्डले आफूहरुको सम्पूर्ण शक्ति देशको आर्थिक विकासमा लगाइएको दाबी गरे ।

प्रचण्डको सचिवालयले जनाएअनुसार अध्यक्ष प्रचण्डले आफूहरुको मुख्य ध्येय पर्यटन क्षेत्रको विकास गर्ने भन्ने रहेको र त्यसका लागि सम्पर्क सञ्जालको विस्तार नै मुख्य कार्यसूची रहेको अभिव्यक्ति दिए । सडक सञ्जालको विस्तार, रेलमार्गको विस्तार र सम्पर्क सञ्जालको विस्तारबाट मात्र पर्यटन क्षेत्रको विकास गर्न सकिने उनले चिनिया प्रतिनिधि मण्डलसमक्ष बताए ।

पर्यटन क्षेत्रको विकासका लागि चिनियाँ जनता र सरकारको चासोबारे प्रधानमन्त्री र सम्बन्धित मन्त्रीसँग छलफल गर्ने विश्वास उनले दिलाएको बताइएको छ । उनले प्रधानमन्त्रीका रुपमा पहिलोपटक चीन भ्रमण हुँदा तत्कालिन राष्ट्रपति हु जिन्ताओसँग यही सम्पर्क सञ्जालको विस्तारका विषयमा छलफल भएको स्मरण गर्दै आफू दोस्रो पटक प्रधानमन्त्री बनेपछि पनि यही विषयमा राष्ट्रपति सि जिङपिङसँग छलफल गरेको उल्लेख गरेका थिए ।

बताइएअनुसार चिनियाँ प्रतिनिधि मण्डलले अध्यक्ष प्रचण्डलाई नेपालको व्यावहारिक नेतृत्व भन्दै उच्च प्रशंसा गरेको थियो । उनीहरुले चिनियाँ जनताहरुको आकर्षक गन्तव्य नेपाल भएकाले नेपालको पर्यटन प्रवर्द्धनमा चिनियाँ लगानीकर्ता लोभिएको बताएका थिए ।