‘जनप्रतिनिधि’ले गरे आफ्नै सेवा-सुविधाको चिन्ता

‘जनप्रतिनिधि’ले गरे आफ्नै सेवा-सुविधाको चिन्ता


प्रदेश र प्रदेशवासी जनताको सेवा, सुविधा र समृद्धिको लागि काम गर्ने कसम खाँदै प्रदेशसभा सदस्य बनेका ‘जनप्रतिनिधिहरू’ले आफ्नो आफ्नो पारिश्रमिक तथा सुविधा अपर्याप्त भएको गुनासो गरेका छन् । प्रदेश नं ५ का प्रदेशसभा सदस्यले मंगलबारको प्रदेशसभा बैठकमा यस्तो गुनासो गरेका हुन् ।

बैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम १०७ बमोजिम प्रदेश नं ५ का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेकमाथि सैद्धान्तिक छलफल गर्दै उनीहरुले मर्यादाक्रमका आधारमा मात्रै सेवा सुविधा आउनुपर्नेमा जोड दिए । नेकपा (माओवादी केन्द्र) संसदीय दलका सचिव तुलाराम घर्तीमगरले प्रदेशसभा सदस्यका लागि आएको पारिश्रमिक सेवा सुविधा विभेदपूर्ण भएको टिप्पणी गर्दै आफूहरूलाई स्वकीय सचिव आवश्यक रहेको र त्यसका लागि राज्यले रकम उपलब्ध गराउनुपर्ने माग गरे । पिए नभए जनताको काम गर्न असहज हुने उनको अभिव्यक्तिको आशय थियो ।

यस्तै, प्रदेशसभा सदस्य रामजी घिमिरेले प्रदेशसभा सदस्यको स्वकीय सचिवको विषय साझा माग भएको उल्लेख गर्दै प्रतिनिधिसभा सदस्यपछि प्रदेशसभा सदस्यको मर्यादाक्रम हुनुपर्ने तर्क झिके । अर्का सदस्य रमा अर्यालले प्रदेशसभा सदस्यको मर्यादाक्रम नमिलेको जनाउँदै कर्मचारीले सरकार चलाउने होइन भनी रोष प्रकट गरिन् ।

प्रदेशसभा नियमावली २०७४ को नियम १०७ बमोजिम प्रदेश नं ५ का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेकमाथि उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री शंकर पोखरेलले मर्यादाक्रम सच्चाउने विषयमा पहल गर्ने आश्वासन दिँदै अहिले आफूहरूलाई जनताले निगरानी गरिरहेकाले जनताको मनोभावना पनि बुझनुपर्छ भनी सम्झाउने प्रयत्न गरेका थिए ।

स्वकीय सचिव राख्ने विषयमा ५ नं प्रदेशबाट नै अग्रसरता लिँदा त्यसले कस्तो सन्देश प्रवाह होला भनी उनले प्रदेशसदस्यहरूलाई कुटनीतिक ढंगबाट यस्तो माग नगर्न अनुरोध गरेका थिए ।

बैठकमा प्रदेशसभा सदस्य इन्द्रजीत थारुले मन्त्रीले मात्रै चाडपर्वमा सुविधा लिने कुरा गणतान्त्रिक संस्कृतिअनुसार नभएको उल्लेख गर्दै मन फुकाएर सुविधा लिन र मन फुकाएर जनतालाई सेवा दिन आग्रह गरे भने अर्का सदस्य उत्तरकुमार ओलीले जनताप्रति उत्तरदायी भई काम गर्न पारिश्रमिक तथा सुविधा अपुग भएको टिप्पणी गरे ।

यस्तै अष्टभूजा पाठकले मर्यादाक्रमका आधारमा सुविधा नआएको आरोप लगाउँदै छलफल गरेर मात्रै अघि विधेयक बढाउन आग्रह गर्दा मुख्यमन्त्री पोखरेलले भने– ‘आफ्नो विषयमा पारिश्रमिक, सुविधा आफँै तोक्ने विषयमा अहंकार झल्किन्छ त्यसैले मर्यादालाई सेवा, सुविधासँग गाँसेर हेर्नु हुँदैन ।’

तस्बिर रासस