पौडेलले गरे अनौठो दाबी : संघीय लोकतान्त्रिक गणतन्त्र बीपीकै नीति

पौडेलले गरे अनौठो दाबी : संघीय लोकतान्त्रिक गणतन्त्र बीपीकै नीति


नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बीपीको सिद्धान्त र विचारका जगमा नेपालको परिवर्तन वर्तमान अवस्थामा आइपुगेको बताउनुभएको छ । विपी कोइराला अध्ययन प्रतिष्ठान प्रदेश नं ४ द्वारा आज यहाँ आयोजित ‘आजको सन्दर्भमा विपीको विचार’ विषयक अन्तरसंवाद कार्यक्रममा उहाँले बीपीले तत्कालीन अवस्थामा चाहेको शासन व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्र नै भएको बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेसले विपीको बाटो नछाडेको उल्लेख गर्दै त्यही बाटोबाटै सिंहदरबारको अधिकार गाउँँमा पुगेको धारणा व्यक्त गर्नुभयो ।

“नेपालमा ७० वर्षसम्म लाग्न नसकेको राजनीतिक टुङ्गो संविधानसभाका माध्यमबाट लागेको छ,” उहाँले भन्नुभयो, “जनताको पक्षमा संविधान निर्माण भएको छ, विपीको समाजवाद निमुखालाई न्याय, विमुखालाई आय थियो, राजनीतिक पार्टीको र सरकारको एजेण्डा पनि अब त्यही नै हुने छ ।”

नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले विपीको सिद्धान्त एवं आदर्श वर्तमानमा पनि उत्तिकै सान्दर्भिक एवं आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा नेपाल महिला संघ कास्कीका अध्यक्ष कोपिला रानाभाट, नेपाली काँग्रेसका क्षेत्रीय सभापति पोषनाथ शर्मा, कार्यक्रम संयोजक लक्ष्मी पाण्डे लगायतले विपीका विचारलाई जनतामाझ लैजान सके मात्र पनि नेपाली काँग्रेसका पक्षमा जनलहर बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

तस्बिर रासस