सुरक्षा सामग्रीसहित भारतीय सुरक्षा अधिकारी जनकपुरमा

सुरक्षा सामग्रीसहित भारतीय सुरक्षा अधिकारी जनकपुरमा


भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको नेपाल भ्रमण विकास सन्दर्भमा कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरिएको छ । जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय प्रधानमन्त्रीको जनकपुरधाम भ्रमणका दिन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त रूपमा दुईटा परियोजनाको शुभारम्भ गर्नुहुने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा अयोध्या बस सेवा र रामायण परिपथ परियोजनाको शुभारम्भ गर्नुहुने कार्यक्रम रहेको जानकारी दिँदै परराष्ट्रमन्त्री ज्ञवालीले जानकी मन्दिर परिसरमा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा परियोजनाको शुभारम्भ गर्नुहुने बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओली जानकी मन्दिरको कार्यक्रम सम्पन्नपछि काठमाडौँं फर्किने र भारतीय प्रधानमन्त्री मोदी चाहिँ जनकपुर उपमहानगरपालिकाद्वारा आयोजित नागरिक अभिनन्दन समारोहमा सहभागी हुनुहुने कार्यक्रम तालिका रहेको मन्त्री ज्ञवालीको भनाई छ । जनकपुरधाममा भारतीय प्रधानमन्त्री मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्नुहुने बताइएको छ ।

भारतीय प्रधानमन्त्री मोदी यही वैशाख २८ गते जनकपुरधाम आउनु हुने कार्यक्रम छ । सो दिन उहाँ जानकी मन्दिरमा पूजाअर्चना गरी र बाह्रबिगाहा रङ्गभूमि मैदानमा आयोजना हुने नागरिक अभिनन्दन समारोहमा सहभागी हुनुहुने जनाइएको छ । कार्यक्रमलाई दृष्टिगत गरी भारतीय सुरक्षा अधिकारी र सुरक्षा सामग्री आजै जनकपुरधाम आइसकेको राससले जनाएको छ ।