किशुनजीको आशीर्वाद लिएर महामन्त्री खड्काद्वारा कार्यारम्भ

किशुनजीको आशीर्वाद लिएर महामन्त्री खड्काद्वारा कार्यारम्भ


नेपाली काङ्ग्रेसका नवनियुक्त महामन्त्री पुर्णबहादुर खड्काले सन्तनेता कृष्णप्रसाद भट्टराईको शालिकमा माल्यार्पण गर्दै आशीर्वाद लिएर सार्वजानिक कार्यको शुभारम्भ गर्नुभएको छ ।

जिम्मेवारी ग्रहण गरेपछि आज आईतबार अपरान्ह ललितपुरको बाँडेगाउँस्थित भट्टराई आश्रम पुगेर महामन्त्री खड्काले किसुनजीको शालिकमा धुपबत्ति र पुष्पार्पण गर्नुभएको थियो । शालिकमा पूजा गरिसकेपछि उहाँले किशुजीको शयनकक्षमा पुगेर आशिर्वाद पनि लिनुभएको थियो ।

स्मरणीय छ, नेपाली काङ्ग्रेसमा स्वच्छ छविका इमान्दार नेताका रुपमा परिचित महामन्त्री खड्काले हरेक उच्च जिम्मेवारी पाएलगत्तै किशुनजीबाट आशिर्वाद लिएर कार्यारम्भ गर्ने गर्नुभएको छ । ०४८ सालमा पहिलो पटक सांसद निर्वाचित हुँदा शपथ लिनुअघि किशुनजीको आशिर्वाद लिएर शुरु गर्नुभएको परम्परालाई महामन्त्री खड्काले राज्य ब्यवस्था समितिको सभापति र मन्त्री नियुक्ति हुँदा पनि कायम राख्नुभएको थियो ।

खड्काले गृह, सञ्चार, वाणिज्य, युवा संस्कृति तथा खेलकुद, जनसंख्या तथा वातावरण र उद्योग जस्ता मन्त्रालयको जिम्मेवारी कुशलतापुर्वक पूरा गर्नुभएको छ । जीवनमा मन्त्री पदको जिम्मेवारी नलिने सार्वजानिक घोषणा गर्नुभएका उहाँलाई सभापति शेरबहादुर देउवाको प्रस्तावमा पार्टीको कार्यसमितिले माहामन्त्रीको जिम्मेवारी सुम्पेको छ ।

जिम्मेवारी पाएपछि किशुनजीको आशिर्वाद लिने परम्परा कायम राख्दै महामन्त्री खड्का आईतबार भट्टराई आश्रम पुग्नुभएको थियो । आश्रममा किशुनजीको भौतिक देह नरहे पनि खड्काले आज उहाँको शयनकक्षमा पुगी आशिर्वाद लिनु भएको हो । सन्त नेता भट्टराईका खास अनुयायीका रुपमा चिनिनुभएका नेता खड्काले देश, जनता, प्रजातन्त्र र पार्टीको हितमा अविचलित रही इमान्दारीपूर्वक आफ्नो जिम्मेवारी पूरा गर्ने वचनबद्धता प्रकट गर्नुभएको पनि बुझिएको छ ।