नेकपाप्रति ओली सरकार खनिनुमा प्रचण्डको हात रहेको प्रकाण्डको खुलासा

नेकपाप्रति ओली सरकार खनिनुमा प्रचण्डको हात रहेको प्रकाण्डको खुलासा


पछिल्ला केही महिनायता सरकारले नेपाल कम्युनिष्ट पार्टीका नेता–कार्यकर्तालाई गिरफ्तार गर्ने कार्यलाई निकै प्राथमिकता र तिव्रता दिएको महसुस गरिएको छ । विप्लव नेतृत्वको सो पार्टीका विरुद्ध एमाले–माओवादी केन्द्र गठबन्धनको सरकार यसरी खनिनुको एक विशेष कारकतत्वको रूपमा प्रचण्ड रहेको ठहर नेकपाले गरेको बुझिएको छ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले यसको खुलासा गरेका छन् ।

प्रकाण्डको भनाईअनुसार नेकपा तथा यस पार्टीको नेतृत्वमा सञ्चालित एकीकृत जनक्रान्तिका विरुद्ध कथित ओली–प्रचण्ड गठबन्धन सरकार आफ्नो जन्मकालदेखि नै दमनमा उत्रिँदै आएको छ । यो गठबन्धनको ध्याउन्न नै नेकपा र एकीकृत जनक्रान्तिलाई सिध्याउनुमा रहेको उनको भनाई छ । एक विज्ञप्तिमार्फत प्रकाण्डले दाबी गरेअनुसार सरकारी गतिविधिबारे अहिलेसम्मका घटनाक्रम, तथ्य र सूचनाले दमन–अभियानको रणनीति तय गर्नेमा ओलीलाई प्रचण्डले उछिनेका छन् । नेकपा र यसले सञ्चालन गरेको ‘एकीकृत जनक्रान्ति’को हत्यामा यो ग्याङ (प्रचण्डनेतृत्वको दल)को राजनीतिक भविष्य र जीवन रहेको जस्तो व्यवहार प्रचण्डले गरेको प्रकाण्डले सङ्केत गरेका छन् ।

प्रकाण्डले दाबी गरेअनुसार सरकारी गतिविधिबारे अहिलेसम्मका घटनाक्रम, तथ्य र सूचनाले दमन–अभियानको रणनीति तय गर्नेमा ओलीलाई प्रचण्डले उछिनेका छन् ।

सरकारद्वारा देशव्यापी रूपमा गरिएको नेकपाका विभिन्न तहका नेता–कार्यकर्ताको फेहरिस्तसमेत उल्लेख गरिएको प्रकाण्डको वक्तव्यमा भनिएको छ– ‘दमनको क्रममा सरकारले गत महिना हाम्रो पार्टीका केन्द्रीय सदस्य एवम् कोशी ब्यूरो इञ्चार्ज क. किरणलगायत ८ जना कमरेडहरूलाई धनकुटाको हिलेबाट अनाहक गिरप्तार गर्यो । हाल झुठा मुद्दामा फसाएर हिरासतमा राखेको छ । भरखरै काठमाडौंबाट महिला संगठनकी महासचिव तथा काठमाडौं जिल्ला सेक्रेटरी क. धिरिन्द्रा उपाध्याय, ललितपुर जिल्ला सेक्रेटरी क. विपिन, युवा संगठनका अध्यक्ष क. विवशलगायत ६ जना कमरेडहरूलाई उपत्यकाबाट गिरप्तार गरियो । हाल ओली सरकारले ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी झट्टा मुद्दामा फसाउने प्रपञ्च गर्दैछ । क. धिरिन्द्रा र क. विवशलार्ई अमानवीय यातना दिइराखेको छ । कपिलवस्तुमा साँस्कृतिक कार्यक्रम देखाइरहेको स्थानबाट साँस्कृतिक टिमको संयोजक क. देवराज विक र जिल्ला सदस्य क. शम्भु थारु, कृपाल कोरी र मकवानपुरबाट जिल्ला सेक्रेटरी क. वाटर लगायतलाई गिरप्तार गरेको छ ।’

सरकारले आफ्नो पार्टीका विरुद्ध सञ्चालन गरेको दमन अभियान र नेता, कार्यकर्तालाई गरेको गिरप्तारीविरुद्ध सो पार्टीले संघर्ष र विरोधको रुपमा वैशाख २२ गते शनिबार नेपाल बन्दको कार्यक्रम आयोजना गरेको र बन्द कार्यक्रम पूर्ण रुपमा सफल रहेको पनि प्रकाण्डले उल्लेख गरेका छन् ।

बन्दको तयारी र कार्यन्वयनको क्रममा नवलपरासीबाट पार्टी जिल्ला सदस्य शक्ति, प्युठानबाट जिल्ला इञ्चार्ज चिन्तामणी र जिल्ला सदस्य केशव, बाग्लुङबाट जिल्ला इञ्चार्ज विकिरण र जिल्ला सदस्य समित विराटनगरबाट गणेश, जनकपुरबाट विजय, सिराहाबाट जिल्ला इञ्चार्ज अनुकूल, चितवनबाट नारायण, प्रदिप र केशव, खैरेनीबाट पाँचजना जनता, पश्चिम दाङबाट अर्जुनसहित दुईजनालगायत दर्जनौं गिरप्तारीमा परेको उनले जनाएका छन् । गिरप्तार गरिएका पार्टीका नेता र कार्यकर्तालाई रिहा गर्नुको सट्टा थप नेता, कार्यकर्ता र जनताको गिरप्तारी गरेकोप्रति सरकारको विरोध र भत्र्सना गर्दै प्रकाण्डले सीघ्र रिहाईको माग गरेका छन् । अन्यथा नेकपा ‘जनप्रतिरोध सङ्घर्ष’मा उत्रिने र त्यसको जिम्मेवार प्रचण्ड–ओली गठबन्धनको सरकारले लिनुपर्ने उनले जनाएका छन् ।