मूल्यवृद्धि फिर्ता लिन विद्यार्थी संगठनहरूको माग

मूल्यवृद्धि फिर्ता लिन विद्यार्थी संगठनहरूको माग


नेपाल आयल निगममा भएको चुहावट र भ्रष्टाचारको नियन्त्रण गर्नेतिर नलागी जनताको ढाड सेक्ने गरी पटक–पटक मूल्यवृद्धि गरिएको भन्दै सातवटा विद्यार्थी संगठनले मूल्यवृद्धि तत्काल फिर्ता लिन आग्रह गरेका छन् । सातवटा विद्यार्थी संगठनहरूले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै माग सुनुवाई नभए सरकारविरुद्ध कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् ।

अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवी ढकाल, राजपा विद्यार्थी संगठनका अध्यक्ष मनिष मिश्र, नयाँशक्ति विद्यार्थी युनियनका अध्यक्ष श्यामबाबु गौतम, अनेरास्ववियू (पाँचौँ)का अध्यक्ष घनश्याम मिश्र, समाजवादी विद्यार्थी संगठनका अध्यक्ष विवेक राई, अखिल (क्रान्तिकारी)का उपाध्यक्ष विष्णु नेम्वाङ र राष्ट्रिय विद्यार्थी संघका अध्यक्ष ताराप्रसाद अर्यालले जारी गरेको संयुक्त विज्ञप्तिमा विद्यार्थी नेताहरूलाई पक्राउ गरिएकोमा भत्र्सना पनि गरिएको छ ।

पेटोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिइयोस्,

निजी स्कुलले गरेको अवान्छित शुल्कवृद्धि घटाइयोस्,

विभिन्न अभियोगमा पक्राउ गरिएका विद्यार्थी नेताहरुलाई रिहा गरियोस्,

सीमा अतिक्रमणको विरोधमा गिरफ्तार गरिएकाहरुको तत्काल रिहाई होस्,

निजी शैक्षिक संस्थामा भएको शुल्कवृद्धि फिर्ताको आन्दोलनका क्रममा प्रिमियर स्कुलमा गरिएको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरी अनेरास्ववियु (पाँचौँ)का अध्यक्ष घनश्याम मिश्र, अखिल (क्रान्तिकारी)का गोविन्द विष्ट र प्रकाश विकलाई पक्राउ गरिएकोमा विद्यार्थी संगठनहरूले आपत्ति प्रकट गरेका हुन् । ओली नेतृत्वको सरकारलाई ‘दलाल सरकार’को संज्ञा दिँदै सरकारको सर्वसत्तावादी अभ्यासविरुद्ध सशक्त आन्दोलन गर्ने निर्णय विद्यार्थी संगठनहरूको बैठकले लिएको उल्लेख गर्दै संयुक्त तालाबन्दीका क्रममा पक्राउ परेका अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य वीरेन्द्र शाहको रिहाईको माग पनि गरिएको छ ।

यस्तै, कञ्चनपुर जिल्लामा सीमा अतिक्रमणको विरुद्ध प्रदर्शन गर्दा गिरफ्तार गरिएका अनेरास्ववियू (क्रान्तिकारी)का रामबहादुर महरा र तारा पन्तलगायत ११ जनालाई तत्काल रिहा गर्न माग गरिएको छ भने आंशिक प्राध्यापकको आन्दोलनको कारण त्रिविमा अवरोध भएको पढाई सञ्चालन गर्न माग गर्दा नयाँशक्ति विद्यार्थी युनियनका सचिव हेमराज थापालगायतलाई पक्राउ गरिएको घटनालाई निकै गम्भीर रूपमा लिइएको विद्यार्थी संगठनहरूले जनाएका छन् ।