भारतले नेपालबाट सिक्नुपर्ने एउटा कुरा-देवप्रकाश त्रिपाठी

भारतले नेपालबाट सिक्नुपर्ने एउटा कुरा-देवप्रकाश त्रिपाठी


आफू हिँडेको बाटो ठीक, आफूले सोचेको कुरा राम्रो, आफूले ताकेको गन्तव्य उचित, आफूले रोजेको जिन्दगी सुखद, आफूले बोकेको सिद्धान्त सही, आफूले चिनेको मान्छे जाती, आफूले गरेको काम सुन्दर, आफूले भोगेको दु:ख ठूलो, आफूले गरेको सेवा महान्, आफूलाई लागेको चोट गहिरो, सामान्य मानिसको मनोविज्ञान यही हो र जीवनमा सङ्ग्रह गर्ने अनुभूति पनि यस्तै नै हो । तर, मानिस जब कम्युनिस्ट बन्ने प्रक्रिया सुरु हुन्छ त्यसपछि तिनमा थप केही गुण विकास हुन थाल्दछन् । अरू सबै नाजायज-नालायक, म मात्र ठीक भन्ने सोचको विकास हुँदै जाँदा मानिसमा अरूलाई निषेध गर्ने प्रवृत्ति मोटाउन थाल्छ । अन्यलाई निषेध गर्ने सोचको मात्रा जति बढ्दै जान्छ मान्छे त्यति नै खाँटी कम्युनिस्टमा रूपान्तरित हुन पुग्छ । वर्तमान विश्वमा खाँटी कम्युनिस्ट भन्नाले माओवादीलाई बुझने गरिन्छ । विपरीत विचार पक्षलाई सहजै स्वीकार गर्नु या तिनलाई सम्मान दिनु प्रजातन्त्रवादीमा अन्तरनिहित मूल गुण हो भने सबैलाई निषेध गर्दै आफैंलाई सर्वोपरी तुल्याउनु या ठान्नुचाहिँ माओवादी कम्युनिस्टको मूल विशेषता हो । साम्यवाद जसलाई कम्युनिस्टहरूले आफ्नो प्रमुख गन्तव्य दाबी गरेका छन्, त्यो आफैंमा एउटा सुन्दर कल्पना हो । अध्यात्मवादीहरूले मृत्युपारिको र्स्वर्गको परिकल्पना गरेजस्तै हो कम्युनिस्टका निम्ति साम्यवाद । अध्यात्मवादीहरूले मृत्युपश्चात् मात्र र्स्वर्ग प्राप्ति हुनसक्ने बताएर मानिसमा निहित मृत्युप्रतिको त्रास घटाइदिएका छन्, तर कम्युनिस्टहरूले भने कार्लमाक्र्सले परिकल्पना गरेको ‘सपनाको साम्यवाद’ प्राप्त गर्न संसारका कैयन मुलुकमा सङ्घर्ष गर्दै आएका छन् । जनताका नाममा कम्युनिस्टहरूद्वारा गरिने या गरिएका सङ्घर्षहरूमा सर्वाधिक पीडित जनता स्वयम् भएका छन्, यो बेग्लै तथ्य हो । तर, उनीहरू जिउँदै ‘र्स्वर्ग’ प्राप्त गर्न विभिन्न रूप र शैलीका हिंसात्मक सङ्घर्ष गर्दै छन् । सुन्दर गन्तव्य प्राप्त गर्ने नाममा उनीहरूले कुरूप विचार, व्यवहार र मार्ग अवलम्बन गरिरहेका छन्, जसका कारण ‘कम्युनिस्ट धर्मावलम्बी’हरूको बद्नामी विश्वव्यापी रूपमै हुन पुगेको छ । एउटा विवेकवान तर साधारण मानिसले जुन कुरालाई गम्भीर प्रकृतिको अपराध देखिरहेको हुन्छ, त्यही चिज एउटा माओवादीका दृष्टिमा महान् कार्य भइदिन्छ । आफ्ना चाहनाको परिपूर्ति गर्न जस्तोसुकै साधन प्रयोग गर्न पनि तत्पर रहनु कम्युनिस्टहरूको विशेषता हो, दु:खका साथ भन्नुपर्छ एउटा विशुद्ध अपराधीमा पनि ठीक त्यस्तै प्रवृत्ति हुन्छ । फरक यत्ति हो कि कम्युनिस्टहरू जनताका नाममा गर्छन्, अपराधीले चाहिँ आफ्नो या परिवारको खुसीका नाममा । वास्तवमा माओवादीहरूले आफ्नो गन्तव्य प्राप्त गर्न अपनाउने गरेका सोच, शैली र व्यवहारले प्रजातन्त्रप्रति समर्पित कम्युनिस्टहरूलाई समेत बद्नाम गरिरहेको छ ।
सन् १९१७ मा रसियाका ‘धूर्त’ भनेरसमेत चिनिने भ्लादिमिर इलिच लेनिनको नेतृत्वमा छलकपट र बल प्रयोग गरेर कम्युनिस्ट अधिनायकवादी शासन स्थापना गर्ने कार्य सम्पन्न भएपछि त्यसको विश्वव्यापी असर पर्‍यो । उक्त घटनाकै प्रभावका कारण छिमेकी राष्ट्र चाइनामा समेत माओत्सेतुङजस्ता साधारण पृष्ठभूमिका मानिसको नेतृत्वमा कम्युनिस्ट आन्दोलन फस्टायो । सन् १९४९ मा माओले आफ्नो अधिनायकवादी शासन स्थापना गरेपछि त्यसको प्रभाव नेपाललगायत चीनका अन्य छिमेकी मुलुकहरूमा पनि पर्न गयो । नेपालका केही व्यक्तिहरूले त सोही वर्ष (सन् १९४९) कम्युनिस्ट पार्टीको स्थापना भएको घोषणासमेत गरे । छिमेकी मित्रराष्ट्र भारतमा सन् १९२० मै कम्युनिस्ट पार्टीको स्थापना भएको भए पनि त्यसले स्वतन्त्रता आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सकेन । तर, स्वतन्त्र भारतमा भने आफ्नो टाउको उठाउन कम्युनिस्टहरूले त्यहाँ हिंसाको सहारा लिँदै आएका छन् । कम्युनिस्टहरू राज्य र राज्यसत्ताका दुस्मन हुन्, दार्शनिक दृष्टिले उनीहरू राज्यसत्ताप्रति कुनै आस्था र विश्वास राख्दैनन् । तर, आश्चर्यको कुरा, त्यही राज्यसत्ता प्राप्तिका लागि रगत लिन या दिन नहिच्किचाउने पनि कम्युनिस्ट नै हुन्छन् ।
सत्ता बन्दुकको नालबाट प्राप्त हुन्छ भन्ने माओको सफलतापश्चात् विश्वमा एकताक ‘गए एउटा ज्यान पाए राज्यसत्ता’ भन्ने मान्यतालाई आदर्ख बनाएर अनेकौं मुलुकमा हिंसात्मक युद्धहरू रचिए । विशेषगरी दक्षिण अमेरिकी तथा एसियाका पूर्वी र दक्षिणी मुलुकहरूमा माओवादी हिंसात्मक सङ्घर्षहरू व्यापक मात्रामा देखापरे, अझै पर्दै छन् । सर्वहाराको हातमा सम्पूर्ण सत्ता स्थापना गर्नुलाई प्रथम गन्तव्य ठान्ने माओवादीहरूले कुनै न कुनै कारणवश ‘मेनस्टि्रमिङ’ हुन नसकेका मानिसहरूलाई एकैचोटि राज्यसत्ताको मालिक बनाइदिने सपना देखाएर उक्साउने र त्यस निम्ति हातहतियार बोक्नसमेत लगाउने गर्दै आएका छन् । कम्युनिस्ट पार्टी अफ फिलिपिन्स, अल्बानिएन पार्टी अफ लेबर, कम्युनिस्ट पार्टी अफ कम्पुचिया, वर्कर्स पार्टी अफ भियतनाम, भारतीय कम्युनिस्ट पार्टी (माओवादी,) कम्युनिस्ट पार्टी अफ ब्राजिल, कम्युनिस्ट पार्टी अफ पेरू -साइनिङ पाथ), इथियोपिएन कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी माओवादीलगायतले आ-आफ्ना मुलुकमा सञ्चालन गरेका या गरिरहेका गतिविधि हेर्दा वास्तवमा राज्यसत्ताविरोधी एवम् अन्तर्राष्ट्रियवादी भनिने कम्युनिस्टहरू राज्यसत्ता प्राप्तिका निम्ति कतिसम्म क्रेजी (लालायित) हुन्छन् भन्ने तथ्य प्रस्ट देखिन्छ । राज्यसत्ताका विषयमा उनीहरूले तय गरेको दृष्टिकोणले विचार र व्यवहारको विरोधाभाषपूर्ण अन्तर पनि कम्युनिस्टहरूको एउटा मूल विशेषता हो भन्ने सिद्ध गरेको छ । गन्तव्यप्रतिको उग्र लगावले माओवादी कम्युनिस्टहरूलाई एकप्रकारले एकोहोरो र सायद अन्धो नै बनाएको हुन्छ । होइन भने मतदान प्रक्रियाबाट प्राप्त हुनसक्ने राज्यसत्ताका लागि ठूलठूला हिंसात्मक सङ्घर्ष गर्न उनीहरू अभिपे्ररित हुने थिएनन् । बन्दुकबाट स्थापित अधिनायकवाद दिगो हुने विश्वासमा कम्युनिस्टहरू सम्भवत: यसप्रकारको नीति अवलम्बन गर्ने गर्दछन् ।
माओवादीहरू चाहे जहाँसुकैका हुन् तिनीहरू एकैप्रकारका हुन्छन् । सोच, व्यवहार, चिन्तन र शैलीगत समानताले उनीहरूलाई उस्तै देखाइरहेको हुन्छ । पेरूका गोञ्जालोदेखि भारतका चारु मजुमदार र नेपालका प्रचण्डहरूसम्मको क्रियाकलापले यस्तै प्रमाण प्रस्तुत गरेको महसुस गर्न सकिन्छ । सत्तरीको दशकका मलेसिया, थाइल्यान्ड, इन्डोनेसिया, भारत, असीको दहकको कम्पुचिया र नब्बेको दशकको पेरू तथा नेपालको पछिल्लो पन्ध्र वर्षको इतिहास केलाउने हो भने संसारभरिका माओवादीहरू एकै हुन्, जो आफ्नो गन्तव्य प्राप्त गर्न कुनै पनि प्रकारको हिंसा र धोखाघडी एवम् छलकपटको सहारा लिन्छन् भन्ने पुष्टि गर्दछ । संवाद र सहमतिका माध्यमबाट समाधान खोज्ने निष्कर्षमा पुगिसकेको इन्डोनेसियामा त्यहाँका माओवादीहरूले केही कनिष्ट सैनिक अधिकारीहरूलाई प्रयोग गरेर ३० सेप्टेम्बर १९६५ मा ६ जना वरिष्ठ जनरलहरूको हत्या गरी शासनमा सम्पूर्ण अधिकार जमाउन गरिएको प्रयास र प्रचण्ड प्रधानमन्त्री भएका बेला तत्कालिक प्रधानसेनापति रुक्मांगद कटवाललाई बलपूर्वक पदमुक्त गर्न भएको प्रयासका बीच तात्विक अन्तर भेटिँदैन । दुवैको उद्देश्य सत्तामा आफ्नो स्थिति सुदृढ तुल्याउनु थियो । सत्ता प्राप्तिका लागि रसियामा लेनिनले केरेन्स्कीलाई जसरी उपयोग गरेका थिए नेपालमा गिरिजाप्रसाद कोइरालाको र इन्डोनेसियामा सुकार्नोको उपयोग पनि ठीक त्यसैगरी भएको हो । सुहार्तोले सैन्य ‘कु’ गर्नु केही मिनेटअघिसम्म इन्डोनेसियाका माओवादी सुकार्नोलाई बलियो बनाउन जनरलहरूको हत्या गरिएको दाबी गर्दै थिए । माओवादीलाई प्रजातान्त्रिक राजनीतिको मूल धारमा ल्याउँदै छु भन्ने दाबी गरिरहनुहुने गिरिजाप्रसाद कोइरालाले आफैं माओवादी अभियानको मूलधारमा समाहित भइसकेको छु भन्ने हेक्का राख्न सकेनन् र वास्तविकता थाहै नपाई उनले देह त्याग पनि गरिसकेका छन् ।
छिमेकी मित्रराष्ट्र भारतलाई चालीस वर्षअघि पनि माओवादीले सताएको थियो । चारु मजुमदारको नेतृत्वमा सञ्चालित माओवादी गतिविधिलाई नियन्त्रण गर्न तत्कालिक भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले इन्डोनेसिया, मलेसिया र थाइल्यान्डका घटनाक्रमबाट पाठ सिक्दै बल प्रयोगको नीति लिएकी थिइन् । उनको यही प्रयासका कारण त्यहाँ चलेको हिंसात्मक युद्ध एकप्रकारले अन्त्य पनि भएको हो, तर चारु हत्याको करिब चार दशकपछि माओवादी गतिविधिले भारतमा पुन: टाउको उठाउन थाल्यो र अहिले भारतको एउटा प्रमुख समस्या बनेर माओवादी गतिविधि प्रकट भएको छ । बाह्य तथा आन्तरिक आतङ्कवादको चुनौती सामना गरिरहेको भारतका लागि माओवादी हिंसात्मक सङ्घर्ष सुरुसुरुमा सायद ‘अन्डरमाइन्ड’ गरिएको विषय थियो । छिटपुट हिंसात्मक घटना गराए पनि देशभरि प्रभाव पार्न सक्ने नठानिएका भारतका माओवादीहरूको गतिविधि पछिल्ला पाँच वर्षहरूमा अनपेक्षित ढङ्गले वृद्धि भएको देखिन्छ । पश्चिमबङ्गाल, उडिसा र आन्ध्र प्रदेशका केही भू-क्षेत्रमा सीमित रहँदै आएका माओवादीहरू अहिले भारतका सवा ६ सय जिल्लामध्ये आधी अर्थात् तीन सय एक्काइस -३२१) जिल्लामा आफ्नो उपस्थिति दर्शाउन सफल भएका छन् । नेपालमा पनि चौध वर्षअघि माओवादी हिंसात्मक सङ्घर्ष सुरु हुँदा रोल्पा-रुकुमतिरको समस्याका रूपमा लिइन्थ्यो । त्यसबेला माओवादी गतिविधिलाई नेपालमा वास्तवमै ‘अन्डरमाइन्ड’ गरिएको थियो । कुनै बेला सिंहदरबारसम्मको यात्रा तय गर्ने सामर्थ्य माओवादी हिंसात्मक युद्धमा छ भन्ने ठानिएको भए सुरुवाती दिनमै निमोठिन असम्म्भव थिएन । त्यसबेला ‘अन्डरमाइन्ड’ गरिएका कारणले पनि माओवादीहरूले फैलने मौका पाएका हुन् । सुरुवातमा माओवादीहरूको मुख्य कार्यनीति जनतामा आफ्नो नामको त्रास पैदा गर्नु हुनेछ । नाम सुनेर नै मानिस आतङ्कित हुने छवि या हैसियत बनाइसकेपछि मात्र उनीहरू आफ्नो प्रभाव विस्तारमा लाग्नेछन् । दस वर्षअघि नेपाली माओवादीहरू जुन अवस्थामा थिए भारतमा अहिले माओवादीको अवस्था ठीक त्यस्तै देखिन्छ । व्यक्तिहत्याको चरणबाट माथि उठ्दा उनीहरू सरकारी सुरक्षा निकायहरू खासगरी प्रहरीहरूलाई लक्षित गरेर आक्रमण गर्ने तहमा पुग्छन् । प्रहरीबाट खोसिएका या लुटिएका हतियारहरूको प्रयोग गर्दै अझै ठूलठूला आक्रमणको योजना बनाउन उनीहरू प्रयत्नशील रहन्छन् । नेपाल र भारतका माओवादीहरूको दर्खन, विचार, सिद्धान्त, नीति, व्यवहार, कार्यक्रम, सोच, गन्तव्य, लक्ष्य सबै एउटै हो । तर, नेपालका माओवादीहरूलाई भारतले सायद फरक ठान्यो र उसले सम्झौताका निम्ति पहल गर्‍यो । पाँच वर्षअघि नेपालका राजनीतिक दलहरूसँग माओवादीको सम्झौता गराउँदा भारतका माओवादीमा त्यसको सकारात्मक प्रभाव पर्ने र उनीहरू पनि संवादका माध्यमबाट शान्तिप्रक्रियामा सामेल हुन उत्प्रेरित हुने आशा भारतले राखेको हुँदो हो । तर, आशातीत व्यवहार भारतीय माओवादीबाट प्रस्तुत भएन । बरु नेपालमा माओवादी नेतृत्वको सरकार गठन भइसकेपछि भारतीय माओवादीहरू हिंसा र आतङ्क फैलाउन थप उत्साहित भए । संस्थापन पक्षलाई झुकाएर या पराजित गरेर मात्र नेपालका माओवादीबराबरको हैसियतमा आफूलाई पुर्‍याउन सकिने निष्कर्ष उनीहरूले निकालेका हुन सक्छन् ।
माओवादीहरू आफूलाई अप्ठ्यारो परेका बेलामा मात्र संवाद, शान्ति, सम्झौता, युद्धविराम या सहमतिको कुरा गर्छन् । आफूलाई लाभ पुग्ने या क्षतिबाट जोगिनुपर्ने अवस्थामा माओवादी युद्धविराम र वार्ताको प्रस्ताव अघि सार्छन् भन्ने विश्वका अनेक घटनाक्रमले पुष्टि गरेका छन् । माओत्सेतुङले चीनमा च्याङकाइसेकसँग वार्ताको नाटक रच्नुको कारण कसको हितका लागि थियो भन्ने पुष्टि इतिहासबाट नै भइसकेको छ । संवाद र सम्झौताबाट न च्याङकाइसेक राजनीतिक रूपमा लाभान्वित भए न चीनको प्रजातान्त्रिक आन्दोलन नै । पेरूमा पनि त्यहाँका माओवादीहरूले संवाद र सहमतिको नाटक खुब गरेका हुन्, तर त्यहाँ पनि संवाद या सहमतिले कुनै ‘गुल खिलाउन’ सकेन । खास अवस्थामा त्यहाँ पार्टी विभाजनसम्म हुने स्थिति बनेको भए पनि सन् १९८० मा राष्ट्रपतिको निर्वाचनमा मतपेटिका जलाएर हिंसात्मक क्रियाकलापमा संलग्न भएका माओवादीहरूले सन् १९९१ सम्म आइपुग्दा राजधानी लीमाबाहेक देशको ठूलो हिस्सामा आधिपत्य जमाइसकेका थिए । गोञ्जालोको नेतृत्वमा युद्ध सफलतातिर बढ्दा नेपालका माओवादीले पनि गहनाका रूपमा माक्र्सवाद, लेनिनवाद र माओवादको साथमा गोञ्जालो विचारधारा झुन्ड्याएर देखाएको थियो । पछि गोञ्जालो गिरफ्तारीमा परेर पिँजडामा राखिएपछि मात्र माओवादीले ‘गोञ्जालो’ गहना प्रयोग गर्न छोडेको हो । फुजीमोरी सरकारले गोञ्जालोको गिरफ्तारीलगत्तै व्यापक बल प्रयोगको नीति लिएपछि त्यहाँको माओवादी हिंसात्मक युद्ध अब विर्सजनको तहमा पुगेको छ । संवाद र सहमति इन्डोनेसियामा पनि भएको थियो । तर, ‘उपलब्धिहरूको रक्षा गर्दै क्रान्तिको नयाँ फड्को मार्ने’ नीतिअनुरूपको व्यवहार इन्डोनेसियाका माओवादीहरूले दर्शाएपछि त्यहाँ सुहार्तोले व्यापक बल प्रयोग गरेर माओवादी क्रान्ति जरैदेखि निर्मूल तुल्याएका हुन् । नेपालमा पनि माओवादीसँगको संवाद, सहमति र सम्झौताको विवेचना गर्दा क्रमश: परिणाम उनीहरूकै पक्षमा गएको देखिन्छ । हरेक वार्ता, सम्झौता या युद्धविरामपछि माओवादीहरूले आफ्नो क्रान्तिको धरातल मजबुत एवम् विस्तृत तुल्याउँछन् र राज्यले वार्ताका निम्ति आह्वान मात्र गर्दा पनि माओवादीहरूको मनोबल बढ्दो रहेछ । वि.सं. २०५८ सालमा (नौ वर्षअघि) होलेरी (रोल्पा) घटनामा माओवादीलाई विशेष सहयोग पुर्‍याएर माओवादीसँग धेरै नै नजिकको सम्बन्ध स्थापित गर्न सफल शेरबहादुर देउवाले आफू प्रधानमन्त्री भएपछि पहिलोपल्ट माओवादीसँग औपचारिक वार्ता सुरु गर्नुभयो । त्यसबेला देउवालाई माओवादी समस्याको समाधान वार्ता र सम्झौताका माध्यमबाट गरेर ‘हिरो’ होइने विश्वास थियो । माओवादीसँग वार्ता भनेको समयको बर्बादी मात्र हो भन्नेहरूलाई देउवा हकारेर पठाउने गर्नुहुन्थ्यो । माओवाद र माओवादी आन्दोलनबारे अनभिज्ञ देउवाले वास्तवमै माओवादी कस्ता हुन् भन्ने त्यसबेला थाहा पाए जब दाङको सैन्य ब्यारेकमा उनीहरूले हमला गरे । युद्धविराम र वार्ताअघि प्रहरीहरूमाथि लुकिछिपी आक्रमण गर्ने हैसियतका माओवादीहरू चार महिनाको युद्धविराम र वार्ताको नाटकपश्चात् सीधै सैन्य ब्यारेकमा हमला गर्न सक्ने तहमा पुगेका थिए । देउवाले माओवादीसँग संवाद गर्नुअघि र पछिको अवस्थाको सूक्ष्म विश्लेषण गर्ने हो भने निकै ठूलो अन्तर भेटिन्छ । संवादका नाममा युद्धविराम गरिएपछि पश्चिमनेपालका केही खास जिल्लामा सीमित माओवादीहरू सङ्गठन विस्तार गर्दै राजधानीदेखि पूर्वीनेपाल र तराईसम्म आफ्नो पहुँच स्थापित गर्न सफल भएका थिए । देउवाभन्दा पछि पनि पटक-पटक माओवादीसँग युद्धविराम र सम्भ्fmौताका प्रयास भए, तर हरेक विराम र संवाद माओवादीकै निम्ति लाभकारी प्रमाणित हुन पुग्यो ।
ृमाओवादीसँग संवाद, युद्धविराम या सम्झौताको प्रयास गर्दा त्यसको पहिलो असर सेना, प्रहरी, निजामती सेवा र सर्वसाधारण जनता (मतदाता) मा पर्दोरहेछ । युद्धविराम र वार्ताले माओवादीहरू सत्तामा आउन सक्छन् भन्ने विश्वास बढाउँदा सरकारी सेवाका मानिसहरू भविष्यमा सत्तामा आउन सक्ने ठानेर माओवादीसँग भित्रभित्रै सम्बन्ध बनाउन अग्रसर हुँदारहेछन् र सम्बन्ध बढाउन राज्यको सूचना उनीहरूलाई उपलब्ध गराउँदारहेछन् । युद्धविराम र संवादकै समय पारेर माओवादीले सङ्गठन विस्तार गर्ने मात्र होइन, प्रहरी, सेना र निजामती कर्मचारीमा व्यापक घूसपैठ गराउँछन् । त्यस्तै खुकुलो समय पारेर उनीहरूले हातहतियार ओसारपसार तथा खरिदकार्यलाई व्यापक बनाउँछन् । लडाकुहरूको भर्ना लिने, तालिम आदि कार्य सञ्चालन गर्ने, खाद्यान्नको व्यवस्थापन गर्ने, क्रान्तिका शुभचिन्तक र शुभेच्छुहरूसँगको सम्बन्ध विस्तार एवम् विकास गर्ने, आर्थिक स्रोतहरू सुदृढ एवम् व्यवस्थित र विस्तारित तुल्याउने, नयाँ-नयाँ सेल्टर -आश्रयस्थल)हरू पहिचान र स्थापित गर्नेलगायतका अनेकौं काम युद्धविराम र संवादको समयमा भएका हुन् । नेपालमा नेपाली माओवादीसँग भएका युद्धविराम, संवाद र सम्झौताका शृङ्खला तथा त्यसको परिणामलाई दृष्टिगत गर्ने हो भने भारतले त्यहाँका माओवादीसँग संवाद या सम्झौता गर्नु उसका लागि प्रत्युत्पादक मात्र होइन घातक नै हुनसक्ने देखिन्छ । पाँच वर्षअघि नेपालका माओवादीसँग अर्को छिमेकी मित्रराष्ट्र चाइनाको साइनो नजोडिएको समयको कुरा हुन् यी । अहिले माओवादीसँग चीनको सम्बन्ध अत्यन्त सुदृढ भइसकेको अवस्था छ । चीन माओवादीको नेर्टवर्क -सञ्जाल) बेइजिङदेखि नगरकोइलासम्म विस्तार गरेर त्यसमार्फत एसियामा आफ्नो नयाँ शक्ति र प्रभाव स्थापना गर्न चाहन्छ भने त्यसमा आश्चर्य मानिरहनुपर्ने छैन । यस्तो अवस्थामा भारतका माओवादीलाई समयमै तह लगाउन ढिला गरियो भने यसले विश्वमै तनाव र आतङ्कको स्थिति सिर्जना गर्ने सङ्केत पाउन कुनै अर्को आइतबार पर्खनुपर्ने देखिँदैन ।
[email protected]