महासङ्ग्राममा दुई महारथी

महासङ्ग्राममा दुई महारथी


देशको सबैभन्दा ठूलो एवम् जेठो प्रजातान्त्रिक पार्टी नेपाली काङ्ग्रेस आफ्नो ऐतिहासिक बाह्रौं महाधिवेशनमा जुटेको छ । महाधिवेशनका लागि सम्पूर्ण तयारी भइसकेको छ भने देश तथा विदेशबाट प्रतिनिधिहरू राजधानी आउने क्रम गत सातादेखि नै सुरु भएको थियो । आफ्नो इतिहासमै सर्वाधिक प्रजातान्त्रिक अभ्यास गरिरहेको काङ्ग्रेस महाधिवेशनले पार्टीलाई नयाँ गति र दिशा दिने विश्वास आमकार्यकर्ताहरूले गरेका छन् । काङ्ग्रेस नयाँ रूपमा प्रस्तुत हुनुपर्छ भन्ने विश्वाससहित यसै साताको शुक्रबारदेखि काठमाडौंमा हुने महाधिवेशनमा तीन हजारभन्दा बढी अगुवा काङ्ग्रेसजनले भाग लिनेछन् । यसपटकको महाधिवेशन नीति-निर्माणका दृष्टिले जति महत्त्वपूर्ण मानिएको छ नेतृत्व चयनका दृष्टिले पनि त्यत्तिकै महत्त्वको ठानिन्छ । काङ्ग्रेसका अधिकांश कार्यकर्ता तथा समर्थक माओवादीबाट कुनै न कुनै रूपले पीडित छन् र उनीहरू माओवादी चङ्गुलबाट देशलाई निकाल्न सक्ने नेतृत्वको खोजीमा देखिन्छन् । पार्टीमा माओवादीका सबैभन्दा आलोचक भनी चिनिनुहुने नेता खुमबहादुर खड्काले सदस्य पदमा मात्र उम्मेदवारी दिनुभएको छ भने सभापति पदका निम्ति भीमबहादुर तामाङ, शेरबहादुर देउवा र सुशील कोइराला प्रतिस्पर्धामा उत्रँदै हुनुहुन्छ । तीनमध्ये शेरबहादुर देउवा माओवादी नेताहरूको समेत टाउकाको मूल्य निर्धारण गर्दै लड्न तयार भएका नेताका रूपमा स्थापित हुनुहुन्छ भने सुशील कोइरालाले माओवादीका बारेमा सुस्पष्ट दृष्टिकोण र अडान प्रस्तुत गर्दै आउनुभएको छ । भीमबहादुर तामाङ पार्टीका एक निष्ठावान, समर्पित र प्रतिबद्ध नेता मानिनुहुन्छ । उहाँ पनि माओवादीका सवालमा स्पष्ट हुनुहुन्छ । तर, तामाङले आफ्नो टिमबाट महामन्त्रीको उम्मेदवार बनाउनुभएका नरहरि आचार्यमाथि भने माओवादी एजेण्डालाई काङ्ग्रेसमा स्थापित गराउन क्रियाशील रहनुभएको आरोप लाग्दै आएको छ । लोकतन्त्रप्रति प्रतिबद्ध मानिनुहुने आचार्य माओवादीभित्र ज्यादा रुचाइएका काङ्ग्रेस नेतामा पर्नुहुन्छ । त्यसो त अर्का निष्ठावान नेता सुशील कोइरालाको वरिपरि सधैं देखिनुहुने झापाका कृष्ण सिटौलामाथि पनि माओवादीका सहयोगीको आरोप लाग्दै आएको छ । महाधिवेशनको आसपासमा माओवादीविरुद्ध बोलेर काङ्ग्रेस कार्यकर्ताको मन जित्ने प्रयास गरिएको भए पनि सिटौलाप्रति आमकाङ्ग्रेस कार्यकर्ताहरू सकारात्मक बन्ने स्थिति छैन । विगतमा गिरिजाप्रसाद कोइरालाजस्ता उचाइदार नेतालाई समेत गुमराहमा राखेर माओवादीका पक्षमा पुर्‍याउन सफल सिटौलाले महाधिवेशनपछि सुशील कोइरालालाई पनि माओवादीको कित्तामा उभ्याउन पुर्‍याउने हो कि भन्ने आशङ्का व्याप्त छ । सिटौला सुशील कोइरालाको निकट रहेका कारण निर्वाचनमा त्यसको असर कोइरालालाई पर्नसक्ने अनुमान गर्न थालिएको छ । माओवादीका सवालमा शेरबहादुर देउवा, विमलेन्द्र निधि र खुमबहादुर खड्का अधिक स्पष्ट र आलोचक नेताका रूपमा स्थापित हुनुहुन्छ । तर, चुनावी मैदानमा खडा तीनवटै समूहको सभापतिका उम्मेदवारहरूबीच सैद्धान्तिक, वैचारिक एवम् नीतिगत मतभिन्नता भने छैन । देउवा, कोइराला र तामाङबीच मतभिन्नताको स्थिति भए पनि मतभिन्नताको अवस्था नरहेको हुँदा विचारलाई लिएर काङ्ग्रेस पार्टीमा कुनै प्रकारको विभाजन नआउने निश्चित मानिन्छ ।
प्रतिस्पर्धामा उत्रेका सभापतिका तीन उम्मेदवारमध्ये सुशील कोइरालाको पक्षमा करिब बाह्र सय, देउवाका पक्षमा करिब आठ सय र तामाङका पक्षमा तीनदेखि चार सय प्रतिबद्ध मत रहकोे अनुमान सुरुदेखि नै गरिएको हो । यसबाहेक चारदेखि पाँच सय मत खुमबहादुर खड्काको पक्षमा पनि रहेको र उक्त मत अब शेरबहादुर देउवाका पक्षमा जाने भएपछि कोइराला र देउवाबीच अब तीव्र प्रतिस्पर्धाको स्थिति बनेको छ । क्षेत्रगत रूपमा हेर्दा कोसीपश्चिम महाकालीसम्मको तराईमा देउवा-खड्काको प्रभाव राम्रो रहेको मानिन्छ भने कोसीपर्ूवको तराईमा सुशील कोइराला मजबुत रहनुभएको विश्वास गरिन्छ । त्यस्तै गण्डकी अञ्चलदेखि पर्ूव इलामसम्मको पहाडी जिल्लामा पनि सुशील कोइराला बलियो मानिनुहुन्छ । गण्डकीपश्चिम डडेलधुरा र कालीकोटसम्म भने देउवा-खड्काको प्रभाव सर्वाधिक बलवान रहेको देखिन्छ । बरु भीमबहादुर तामाङको प्रभावक्षेत्र अन्य दुई नेताहरूको तुलनामा सङ्कुचित देखिन्छ । तामाङलाई बागमती अञ्चलका रसुवा, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक र काभ्रे तथा दोलखा, सिन्धुली र मकवानपुर जिल्लाबाट रामै्र मत जाने विश्वास गरिएको छ । यसबाहेक धेरै कम भए पनि देशका अन्य स्थानबाट पनि तामाङलाई समर्थन प्राप्त हुने देखिएको छ, तर अहिलेसम्मको स्थितिमा तामाङ सबैभन्दा कमजोर उम्मेदवारका रूपमा रहनुभएको छ । यता काठमाडौं उपत्यकाको तीनवटै जिल्लामा शेरबहादुर देउवा बलियो देखिनुभएको छ ।
उपत्यकासहित तराई र गण्डकीपश्चिमको नेपालमा आफू बलियो भएकोले देउवा सभापति पदमा विजयी बन्नेमा विश्वस्त हुनुहुन्छ । त्यस्तै देशैभरि धेरथोर प्रभाव र गण्डकीपर्ूवको पहाडी जिल्ला तथा कोसीपारिको तराईमा विशेष पकड भएका कारण आफ्नो विजयी हुनेमा सुशील कोइराला पनि ढुक्क हुनुहुन्छ । जिल्ला तथा क्षेत्रीय अधिवेशनहरूको परिणाम आउनेबित्तिकै सुशील कोइराला सर्वाधिक बलवान रहेको अनुमान धेरैले गरेका थिए । तर, समय गुज्रँदै जाँदा सुशील कोइराला समर्थक भोटको पहाडमा पहिरो चल्दै गयो र देउवाले आफ्नो स्थितिमा पहिलेभन्दा सुधार गर्ने सफलता पाउनुभयो । खुमबहादुर खड्कालाई आफ्नो टिममा मिलाउन नसक्नुलाई कोइरालाको ठूलो कमजोरीका रूपमा लिइन्छ । कोइरालाको कमजोरी बनेको यही प्रसङ्ग देउवाका निम्ति भने लाभकारी हुन पुगेको छ । त्यस्तै तराईमा विशेष प्रभावी मानिएका नेताहरू खुमबहादुर खड्का र विमलेन्द्र निधिबीचको एकता र समझदारी पनि देउवाका निम्ति विशेष हितकारी भएको छ । कोषाध्यक्षमा चित्रलेखा यादवको उम्मेदवारीले पनि तराईमा देउवाको तौल बढाउन मद्दत पुगेको छ । त्यसैगरी अन्तर्राष्ट्रिय सहानुभूति र साथ पनि देउवाको पक्षमा रहेको बताउन थालिएको छ । काङ्ग्रेसको आन्तरिक निर्वाचनमा अन्तर्राष्ट्रिय साथको कति अर्थ रहला यो बेग्लै जिज्ञासाको विषय हो । काङ्ग्रेसको महाधिवेशन यदि पर्ूवनिर्धारित मिति -भदौ)मा सम्पन्न भएको भए सुशील कोइरालालाई विजयी बन्नबाट रोक्न कसैले पनि सक्ने स्थिति थिएन । एक महिनाको यस अवधिमा देउवाले आफ्नो स्थितिमा निकै सुधार गरेका कारण निर्वाचनमा तीव्र प्रतिस्पर्धाको स्थिति बनेको छ । तर, जो विजयी भए पनि मतान्तर धेरै नहुने देखिएको छ । एक सयदेखि तीन सयबीचको मतान्तरले सभापतिमा हारजित हुने अनुमान गर्न थालिएको छ ।
काङ्ग्रेसलाई सामूहिक नेतृत्व प्रणालीअनुरूप चलाउनुपर्ने वैधानिक बाध्यता भएको हुनाले पहिलेजस्तो ‘सभापति नै सबै’ भन्ने स्थिति अब रहने छैन । जो सभापति बनेको अवस्थामा पनि पार्टी सामूहिक नेतृत्व-प्रणालीअनुरूप चलाउनुपर्ने भएकोले काङ्ग्रेसका महारथीहरूले मैदानमा महासङ्ग्राम नै गरे पनि निर्वाचनपछि पार्टी एकताबद्ध भएर अघि बढ्ने पूर्ण विश्वास गरिएको छ ।
काङ्ग्रेस महाधिवेशनले बीपी कोइरालाको विचारलाई मार्गदर्शक सिद्धान्तका रूपमा पुनर्स्थापित गर्नसक्ने सम्भावना छ । यदि बीपी-विचारलाई पुनर्स्थापित गर्न सक्यो भने काङ्ग्रेसले नयाँ गति र दिशा प्राप्त गर्ने निश्चित मानिएको छ ।
प्रधानमन्त्री पदका लागि संसद्मा भएको निर्वाचनमा सातौंपटकसम्म असफल भएपछि माओवादी अध्यक्ष प्रचण्ड सत्ता पाउन नयाँ रणनीति अपनाउने खतरनाक तयारीमा लाग्नुभएको जानकारी घटना र चिवारलाई प्राप्त भएको छ । जानकारीअनुसार आगामी असोज १० गते हुने निर्वाचनमा आफू विजयी बन्न सम्पूर्ण प्रयास गर्ने, त्यसमा पनि असफल भएमा पार्टीलाई सङ्घर्षमा उतार्ने योजना प्रचण्डले बनाउनुभएको छ । १० गते निर्वाचनमा भाग लिन जानुअगावै आफ्नो विजयको सुनिश्चितता खोज्ने र कदाचित सफल नहुने स्थिति भएमा कार्यकर्ताहरूलाई घेराबन्दी र उत्शृङ्खल क्रियाकलापका निम्ति सडकमा उतार्ने माओवादी योजना रहेको छ ।
आठौंपटकको निर्वाचनमा पनि असफल हुने स्थिति भएमा वैज्ञानिक ढङ्गबाट सत्ताकब्जाको योजना परित्याग गरी समानान्तर सत्ताको अभ्यासमा माओवादी लाग्ने बुझिएको छ । प्रचण्डनिकटको एक सूत्रले जनाएअनुसार कार्यकर्ताहरू र वाईसीएल सम्बद्ध लडाकुहरूलाई गाउँगाउँमा क्रियाशील तुल्याई उनीहरूलाई प्रशासनिक र अदालती कार्य आफैंले सञ्चालन गर्न लगाउने माओवादी योजना रहेको छ । त्यसैगरी माओवादीका आलोचक भनी चिनिएका विपक्षी पार्टीका कार्यकर्ताहरूलाई कुटपिट गर्ने र गाउँबाट खेद्ने सोच पनि माओवादीले बनाएको छ । यसरी स्थानीय तहबाट समानान्तर सरकारको अभ्यास गरेपछि राजनीतिक दल तथा केन्द्रीय सत्तालाई चर्को दबाब पर्ने र अन्ततः सम्पूर्ण सत्ता आफ्नै हातमा आउने विश्वास प्रचण्डमा रहेको बताइन्छ । आगामी पुस महिनासम्ममा केन्द्रीय सत्ताविरुद्ध निर्णायक चरणको सङ्घर्ष सुरु गर्ने र सङ्घर्ष सुरु गरेको सातै दिनमा परिस्थिति आफ्नो पक्षमा निर्माण हुने विश्लेषण माओवादी अध्यक्ष प्रचण्डले गर्नुभएको छ ।
यसरी माओवादी पुनः समानान्तर सत्ताको अभ्यासमा जाने सोचले उनीहरू बृहत् शान्ति-सम्झौताप्रति किञ्चित इमानदार नरहेको पुष्टि गरेको छ । उनीहरूका निम्ति शान्ति र संविधानभन्दा सत्ता नै सर्वोपरी भएको सत्य पनि यसक्रममा उजागर भएको छ । माओवादीहरू आफ्नो योजनाअनुसार फेरि पनि समानान्तर सत्ताको अभ्यासमा जुटे मुलुकमा पुनः द्वन्द्वको स्थिति सिर्जना हुने निश्चितप्रायः छ । यस गुप्त योजनाले माओवादीहरू नागरिक पार्टीमा रूपान्तरण हुन पटक्कै तयार नभएको पनि स्पष्ट गरेको छ ।