वैद्यलाई जोगाऊ बाबुराम -देवप्रकाश त्रिपाठी

वैद्यलाई जोगाऊ बाबुराम -देवप्रकाश त्रिपाठी


माओवादी आन्दोलनमा विचारको स्रोतपुञ्ज मानिनुहुने मोहन वैद्य किरण आफ्नै पार्टीभित्र रक्षात्मक अवस्थामा पुग्नुभएको छ । प्रचण्डलाई अघि सारेर देशमा जनवादी क्रान्ति सम्पन्न गर्ने सपना देख्नुभएका किरण अन्ततः प्रचण्डकै कोपभाजनमा पर्नुभएको छ र अब उहाँले आफ्नै राजनीतिक भविष्यको रक्षा गर्न हम्मेहम्मे पर्ने स्थिति बनेको छ । बाइस वर्षअघि पार्टी-सत्ताको साँचो प्रचण्डलाई बुझाउँदा सम्भवतः उहाँले ‘आजको दिन’ देख्नुपर्ने कल्पना गर्नुभएको थिएन । ‘प्रचण्डको नेतृत्वमा हिंसात्मक सङ्घर्ष र त्यसपछि र्सवहारा वर्गको अधिनायकत्वमा जनवादी राज्यसत्ता’ किरणको मार्गचित्र यही थियो । तर, जनवादी सङ्घर्ष विभिन्न चरणमा विभिन्न आकार -प्रकारका मोर्चाहरूसँग सम्झौता गर्दै अघि बढ्दा क्रान्तियात्रा मात्र बिथोलिएन, आफैंले नेता बनाएका पात्रहरूसमेत पुरानो पहिचान नै मेटिनेगरी बेग्लिएका छन् । जन्मनेबित्तिकै बच्चाहरूले आफैंलाई सिकार बनाउँदै गरेको माकुराको नियति सायद यतिबेला किरण व्यहोर्दै हुनुहुन्छ । लोकतन्त्र स्थापनापछि प्रचण्डका नौरङ्गी भूमिकाबाट हैरान हुनुभएका उहाँले पार्टी सत्ताबाट प्रचण्डलाई च्यूत गर्नुपर्ने आवश्यकता बोध गर्नुभएको जानकारी सबैले पाएका हुन् । एक्लै लडेर प्रचण्डलाई साइजमा ल्याउन नसकिने भएपछि विचारको दूरी ज्यादा फराकिलो भए पनि डा. बाबुराम भट्टराई र नारायणकाजीहरूलाई समेत मोर्चाबद्ध गर्न वैद्य बाध्य हुनुभएको पनि सबैले बुझेका हुन् । प्रचण्डलाई एक्ल्याउने र शक्तिहीन तुल्याउने क्रममा धेरै नेतालाई आफ्नो मोर्चामा समेट्न वैद्य सफल हुनुभएको पनि हो । तर, डा. बाबुराम भट्टराई प्रधानमन्त्री बन्नुभएपछि वैद्यको मोर्चा बालुवाको घरझैं हुन पुगेको छ, प्रचण्ड आफ्नो गुमेको शक्ति पुनः आर्जन गर्न सफल हुने सङ्केतहरू देखिएका छन् । आफ्नै पार्टीको सत्तामा वर्चश्व गुमाउने स्थितिमा पुग्नुभएका किरणका निम्ति जनवादी राज्यसत्ता फेरि पनि आकाशको फल बनेको महसुस गरिँदै छ । माक्र्सवादको शास्त्रीय अभ्यास गर्दै माओको शैलीमा क्रान्ति सम्पन्न गर्न वैद्यबाट भएका प्रयासहरू एकपटक फेरि चरम सङ्कटमा पर्ने सम्भावना देखिएको छ । तर, यसो भन्दैमा किरणलाई दुर्बल, रुग्ण र कमजोर ठान्नु महाभूल हुनेछ । वि.सं. ०५२ सालअघि पनि वैद्य यही विचारसहित साम्यवादी आन्दोलनमा क्रियाशील हुनुहुन्थ्यो । त्यसताक वैद्यका विचारको धेरैले खिल्ली उडाउँथे र त्यस्ता विचारवाहकहरूलाई ‘दिउँसै तारा देख्ने प्रयास’ भनी होच्याइन्थ्यो । तत्कालीन मशाल समूहलाई यसरी होच्याइन्थ्यो कि ०४८ सालको संसदीय निर्वाचनमा जम्मा नौ स्थानमा विजय हासिल गर्नुलाई पनि मानिसले ठूलै उपलब्धि हासिल गरेको ठानेका थिए । त्यसअघि ०४६ को जनआन्दोलनमा दुर्बल ठानिएकै कारण काङ्ग्रेस र वाममोर्चाले राजासँगको संवाद र सम्झौतामा पनि वैद्य विचारमा आबद्ध समूह ? जसलाई त्यसबेला ‘संयुक्त राष्ट्रिय जनआन्दोलन’ को रूपमा चिनिन्थ्यो) लाई समावेश गरिरहनुपर्ने ठानेन । न कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारमा नै उक्त समूहलाई सामेल गराउन प्रयास गरियो । त्यसरी ‘अन्डरमाइन्ड’ गरिएको समूह दुई दशकभित्रै मुलुकको प्रमुख राजनीतिक दलको हैसियतमा पुगेको छ । हिजो तिनलाई ‘अन्डरमाइन्ड’ गर्नेहरूको हैसियत कसरी खस्कियो, हाम्रोसामु तथ्य स्पष्ट छ । त्यसैले सङ्ख्या या वैधानिक र राजनीतिक हैसियतका आधारमा मात्र वैद्य र उहाँको विचार समूहलाई बुझनु गम्भीर भूल हुन सक्दछ । माओवादी पार्टीमा प्रचण्ड र बाबुराम एकातिर भइदिँदा वैद्य पक्ष कमजोर देखिन सक्छ र कमजोर देखिनु स्वाभाविक छ । तर, त्यसप्रकारको विचार -समूह अस्तित्वमा रहँदासम्म कुनै पनि नाम – थरका ‘प्रचण्ड’हरूको उदय हुनसक्ने सम्भावनालाई इन्कार गर्न सकिँदैन । ०५२ सालताक सिङ्गो माओवादी पार्टीको भन्दा आज वैद्य समूहको एकल हैसियत मजबुत देखिन्छ । त्योभन्दा पनि विचारणीय पक्ष के छ भने त्यसबेला राज्यसत्ता, राजनीतिक प्रणाली र राजनीतिकर्मीहरूप्रतिको वितृष्णाको ‘स्केल’ वर्तमानमा जस्तो उच्च थिएन । मानिसमा प्रजातन्त्रप्रतिको आस्था मजबुत थियो र जनता राजनीतिक क्षेत्रप्रति आशावादी थिए । स्थिति सामान्य रहँदारहँदै माओवादीले जबर्जस्ती हिंसात्मक युद्धको थालनी गरेर तरङ्ग पैदा गरेको थियो । अहिले जनअसन्तुष्टिको चाप पहिलेको तुलनामा निकै उच्च छ । राज्यले आफ्नो प्रभाव र प्रभावकारिता गुमाएको छ । राजनीतिक दल, तिनको नेतृत्व र यिनले खडा गरेका सोचको संरचनाप्रति जनतामा तीव्र असन्तुष्टि र आक्रोश छ । हिजो एउटा माओवादीले हतियार उठाएको थियो, आज मौका पाउँदा हतियार उठाउन सयौँ समूह तम्तयार देखिन्छन् । हिंसा र बल प्रयोगद्वारा मात्र आफ्नो अभीष्ट पूरा हुनसक्छ भन्ने मान्यता स्थापित भइसकेको यस पृष्ठभूमिमा दर्जनौँ समूह हिंसात्मक सङ्घर्षमा उत्रिए भने त्यसको अन्त्य देशको विघटनपश्चात् मात्र हुनसक्ने यथार्थलाई जिम्मेवार पक्षले आजै देख्न सक्नुपर्छ । ‘वैद्यहरू जङ्गल युद्धमा जान्छन् भने जाऊन्, उनीहरू त्यसरी गए भने सकिन्छन्’ भनेर माओवादीकै नेताहरूले समेत भनेको सुन्दा आश्चर्य लाग्छ । ०५२ सालमा यिनै बाबुराम ? प्रचण्डहरू युद्धमा गएको या जाने कुरा सुन्दा सुन्नेहरूले त्यसलाई महत्त्व दिने गर्दैनथे । प्रहरी ? प्रशासन र सेनाले सबैलाई भौतिक रूपमै सिध्याइदिने आशा, कल्पना र विश्वास त्यसबेला धेरैले गर्थे । कालान्तरमा त्यसबेलाका आशा र अनुमान गलत प्रमाणित भइसकेको छ । हिजो प्रचण्डहरूलाई एकप्रकारका अदृश्य शक्तिहरूबाट साथ मिलिरहेको थियो भने अब वैद्यहरूलाई अर्कै प्रकारका शक्तिले साथ, सहयोग र र्समर्थन दिन सक्छन् भन्ने भुल्नुहुँदैन । वैद्यहरू अब जङ्गल युद्धमा जाने छैनन्, कदाचित गए भने असन्तुष्टहरूको ठूलो कित्ताले उनीहरूलाई पछ्याउने निश्चित छ, त्यसैले अब फेरि युद्ध सुरु भएमा पहिलेको भन्दा भयावह हुने र त्यसले परिणाम पनि भयानक नै ल्याउने अनुमान सहजै गर्न सकिन्छ ।
मोहन वैद्य किरणको विचार – दर्शनसँग नेपाली जनताको ठूलो हिस्सा विमति राख्दछ । वैद्य पक्षको पछिल्ला विचार र व्यवहारलाई जनसाधारणले सकारात्मक रूपमा ग्रहण गरेका पनि छैनन् । तर, किरणको स्पष्ट विचार, निष्ठा, साधारण जीवनशैली र व्यवहारले प्रचण्डमाथि भने विजय हासिल गरेको छ । बाबुरामबिनाका प्रचण्ड कैयन अर्थमा विजय गच्छदारभन्दा भिन्न होइनन् । एउटा बाबुरामको व्यक्तित्वले मात्र दशवर्षो युद्धको औचित्य धानेको हो । अब उहाँ पनि प्रधानमन्त्री भइसक्नुभएको छ, प्रधानमन्त्रीका रूपमा भट्टराई सफल बन्न सक्नुभयो भने दशवर्षो हिंसात्मक युद्ध र त्यसपछि विभिन्न कालखण्डमा भए ? गरेका सम्झौताको औचित्य प्रमाणित पनि होला । कदाचित बाबुराम भट्टराईसमेत असफल हुनुभयो र मुस्किलले आफ्नो व्यक्तित्व मात्र जोगाएर सरकारबाट बाहिरिनुभयो भने जनतामा आशाको एउटा त्यान्द्रो पनि बाँकी रहने ठानिएको छैन । तर्सथ हिजो हिंसात्मक युद्धमा रहेको सम्पूर्ण माओवादीलाई जसरी शान्तिप्रक्रियामा ल्याइयो, जसरी उनीहरूलाई मूल राजनीतिक प्रवाहमा समाविष्ट गरियो, माओवादीलाई शान्तिमार्गमा ल्याउने सन्दर्भमा अन्य शक्तिले जे – जसरी ‘कर्ुवानी’ दिनुपरेको थियो, ठीक त्यही शैलीमा प्रचण्ड ? बाबुरामको व्यवहार प्रकट हुनुपर्ने अपरिहार्यता छ । प्रचण्डको अहंकारजन्य उन्मादमा वशीभूत भएर कम्तीमा डा. बाबुराम भट्टराईले व्यवहार गर्नुहुने छैन भन्ने जनताले ठानेका छन् ।
वैद्यप्रति प्रचण्डको रिस, इर्ष्या, द्वेष हुनसक्छ र त्यसको मूल कारण बाबुरामको वर्तमान ‘पोजिसन’ हो । प्रचण्ड पार्टीमा अर्को शक्तिकेन्द्र बन्न नसकोस् भन्नेमा सचेत हुनुहुन्थ्यो र बाबुराम प्रधानमन्त्री बनेको अवस्थामा एउटा नयाँ शक्तिकेन्द्रको विकास हुनसक्छ भन्ने यथार्थलाई उहाँले धेरै राम्रोसँग बुझनुभएको थियो । त्यसैले विगतमा प्रचण्डले बाबुरामलाई शक्तिहीन बनाउन र प्रधानमन्त्री बन्न नदिन पनि निकै कसरत गर्नुभएको हो । बाबुराम प्रधानमन्त्री बन्नुमा वैद्यको योगदान महत्त्वपूर्ण रहेको छ । अब प्रधानमन्त्री बनेका बाबुरामलाई हातमा लिएर वैद्यको सेखी झार्ने खेल प्रचण्ड खेल्दै हुनुहुन्छ । शान्तिप्रक्रियालाई टुङ्गोमा पुर्‍याउने र लोकतान्त्रिक संविधान निर्माण गर्ने पवित्र उद्देश्यबाट भन्दा पनि वैद्यसँग बदला लिने मनसायबाट पे्ररित प्रचण्डका निर्णय, सुझाव र निर्देशनहरूप्रति बाबुराम पूर्णरूपले सचेत रहन आवश्यक देखिन्छ ।
माओवादी पार्टीभित्रको द्वन्द्व र तनावको परिणामका रूपमा डा. बाबुराम भट्टराई प्रधानमन्त्री र नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री हुनुलाई लिइन्छ । देशका र्सवाधिक लोकप्रिय नेता बाबुराम हुन् भन्ने स्पष्ट हुँदाहुँदै पनि प्रचण्डको सेपमा उहाँले कसरी पहेँलिनुपरेको थियो हामी सबैले देखेका हौँ । पार्टीमा प्रचण्डकै वर्चश्व कायम रहिरहेको भए मुलुकले आज बाबुरामलाई प्रधानमन्त्रीका रूपमा पाउन सम्भव थिएन भन्ने पनि सबैले बुझेको सत्य हो । लोकप्रियतामा जुनसुकै स्तरको उचाइ प्राप्त गरेको भए पनि प्रधानमन्त्री बनाउने बेलामा वैद्यको भूमिकालाई निर्ण्ाायक ठान्नेहरू धेरै छन् । त्यसैले यतिबेला वैद्यले बाबुराम भट्टराईमाथि ‘खोला तरेपछि लौरो बिर्सिएको’ या आफूहरूलाई सत्तामा जान भर्‍याङ मात्र बनाएको भनी आरोप लगाउँदा बाबुरामकै शुभेच्छुकहरू पनि खिन्न भएका छन् । शुभचिन्तकहरूको दृष्टिमा बाबुराम त्यो उचाइका व्यक्ति हुनुहुन्छ जसमाथि सत्ताका लागि कुनै प्रकारको सम्झौता गरेको या कसैलाई प्रयोग/उपयोग गरेको सुन्ने धर्ैय पनि देखिँदैन । वैद्यसँग बिमति हुँदाहुँदै पनि उहाँलाई समेत विश्वासमा लिनसक्दा बाबुराममाथिको जनविश्वास अरू बढ्ने अपेक्षा गर्न सकिन्छ । प्रचण्ड वैद्यसँग बदला लिन चाहनुहुन्छ र ‘धोबीघाट मोर्चा’लाई तोडफोड गर्न प्रयत्नशील हुनुहुन्छ भन्ने नेपाली जनताले बुझेका छन् । बाबुरामको भूमिका प्रचण्डको झैं अहङ्कारपूर्ण र विभिन्न स्वार्थहरूबाट पे्ररित हुनेछैन भन्ने जनविश्वासलाई कायम राख्दै सन्तुलनकारी भूमिका निर्वाह गर्न उहाँ पे्ररित हुनुभयो भने देशले अर्को प्रकारको हिंसात्मक युद्धको सामना गर्नुपर्ने छैन । नारायणकाजी श्रेष्ठहरूप्रतिको जनधारणा बाबुरामप्रतिको भन्दा नितान्त भिन्न छ । श्रेष्ठजीहरूले मन्त्री आदि बन्नका निम्ति ‘यताउता’ गर्नुभयो भने पनि त्यसलाई अस्वाभाविक मानिँदैन । तर, बाबुराम भट्टराईमाथि प्रधानमन्त्री बनेपछि वैद्यलाई छोडेर प्रचण्डतिर लहस्सिएको भनी लागेको आरोप प्रमाणित हुँदै जाने स्थिति बन्यो भने त्यसबाट बाबुरामजीको व्यक्तित्वमा समेत आँच पुग्नेछ र अन्ततः त्यसको नकारात्मक परिणाम मुलुकलाई पनि प्राप्त हुनेछ । त्यसैले ‘मरता क्या नहीँ करता’ भन्ने स्थितिमा वैद्य र उहाँका र्समर्थकलाई पुग्न नदिन डा. बाबुरामको भूमिका महत्त्वपूर्ण मात्र होइन निर्ण्ाायक हुन आवश्यक छ । आयाम थपिनेमा कुनै शङ्का गरिरहनु पर्नेछैन ।
[email protected]